Wednesday, July 10, 2013

कति सभ्य छौं हामी ?







प्रश्न दार्शनिक लाग्न सक्छ तर मेरो चाख सामान्य अनुभूतिको हो । विशेषणपद “सभ्यता” को मानवशास्त्रीय र समाजशास्त्रीय नालिवेली खुट्याउनु भन्दा पनि सामान्यतया वुझिने ‘परिपक्वता’ को खुट्याईमा केन्द्रित हुन चाहन्छु । एउटा सामान्य वालकले पनि सडकमा विरोध पदर्शनको परिणाम स्वरुप घटित हुने विध्वंशको दैनन्दिकीबाट आहत भएर गर्न सक्ने  प्रश्न — कति असभ्य भएका मान्छेहरु ? — को भावनाको समीप रहेर ‘सभ्यता’ को एउटा त्यान्द्रो पक्रिन खोज्दैछु ।

हाम्रा सामाजिक एवं मानवशास्त्रीय विज्ञानका ठेलीहरुले हामीलाई बारम्बार वताई रहन्छन् — “मानव समाज अघि वढिरहेको छ, सभ्य हुदै गईरहेको छ, दश हजार वर्ष अघिको गुफा मानव त के दुई सय वर्ष अघिको सामाजिक र भौगोलिक संकुचनको वेडीबाट फुक्दै आशातीत उन्नयन साकार पारिसकेको छ ।” तर फेरि समाजमै क्षुव्ध परिघोषको यस्तो तरङ्ग पनि तरङ्गित भईरहेकै हुन्छ — “इतिहासबाट पाठ सिकिएन ! एउटै गल्ती दोहोरिईरहेको छ । मान्छेहरु उत्तिकै वर्वर र असभ्य छन् ।”  यी दुई चिन्तनका धराहरुवीच हाम्रा विचारहरु कतै रुमल्लिई रहेका होलान् । यी सबैखाले चिन्तनहरुको भित्री तरङ्ग निर्माण गर्ने वा तय गर्ने एउटा प्रमुख प्रश्न हो — ”कति सभ्य छौं हामी ?” यो सामाजिक दूरावस्था प्रतिको दिक्दारीको अभिव्यक्ति मात्र हुँदो हो त त्यसले गहिरो अर्थ राख्न सक्ने थिएन होला । तर यो प्रश्न आफ्नो तीव्रताको उत्तेजक उठान सहित हरेक व्यक्तिको स्वकेन्द्रित अन्तरङ्ग ‘आत्म नियाल्याई’ बन्न उद्घत रहन्छ र प्रत्येक कालखण्डमा व्यक्ति–व्यक्ति शापेक्ष र विशिष्ट रहँदै चाहि नचाहि समाजको साझा सम्पत्ति बनिरहन्छ । अतः — कति सभ्य छौं हामी ?

स्वाभाविकै छ एउटा व्यक्ति त्यति नै सभ्य हुन्छ जति उसको सामाजिक संस्कारको छाप उसको सोच र व्यवहारमा परेको हुन्छ । संस्कार समाजको ज्ञान र अनुभवको ऐतिहासिक सङ्ग्रह र तात्कालिन सामाजिक वास्तविकता र आवश्यकताले निर्धारित परिफलन भएकोले यो नवीन हुँदा हुँदै पनि ऐतिहासिक हुन्छ, वर्तमान पिंढीको संशोधनको निमित्त खुला भए पनि कैयौं पिंढीको जीवनबोधको ओजले परिष्कृत र अटल हुन्छ । अतः सांस्कृतिक रुपमा जीवन्त कुनै पनि समाजमा सामाजिक संस्कार निरन्तर उद्विकसित भई रहन्छ, निरन्तर वहसरछलफल (डिस्कोर्स ) मा रही रहन्छ । यसमा उति विमति नहोला तर प्रश्न छ समाजमा देखिइरहने असभ्य व्यवहारको अडिग निरन्तरताको, पुनरावृत्तिको । गुत्थी ‘समाज’ को यो झुप्पो र विशालतालाई व्यक्तिको लघुता वा एकाईमा खोतल्दा केही हदसम्म खुल्ला । त्यसको एउटा सहज जमर्को गरौं । 

जब तपाई कुनै कृत्यलाई “बर्बर”, “पासविक”, “अमानवीय” वा “मध्ययुगीन” जस्ता विशेषणहरुले चित्रित गर्नु हुन्छ त्यसवेला तपाईले त्यस्तो कृत्यलाई वर्तमान समाजमा असुहाउँदो, विगत र मानवीय परिवक्वताको दृष्टिकोणले सापेक्षित रुपमा अघिल्लो चरणको व्यवहारको झल्को पाउनु भएको हुन्छ । तपाईंको विष्मयको स्वाभाविक कारण हो यस्तो मान्यता — जे कुरा समाजले निश्चितताका साथ एक पटक जानिसकेको छ त्यसले सो घटना घटित भएउत्तरका सबैलाई स्पष्ट पाठ दिनुपर्छ । यो पाठको प्रभाव अहिलेको कर्ममा नदेखिनु नै तपाईँको नजरमा “असभ्यता” हो, पक्कै पनि (आखिर विरोधीको भौतिक सफायाको बर्बर समाजकालीन परम्परा र अहिले देखिने हिंसात्मक विरोधबीचको समानतावोधले नै त मानवीय असभ्यताको ठम्याईलाई बारम्बार सान्दर्भिकता दिईरहन्छ वर्तमान विश्वमा) ।

प्रत्येक मान्छेको जीवन एक पटकलाई हुन्छ (हाम्रा आध्यात्मिक ग्रन्थ र चिन्तनले वताईरहने अनेक जीवनको अनन्त लर्कोको अवधारणालाई एक छिन छेउ लगाऊँ) । उसले वाल्यावस्थादेखि सिक्न सक्नेजति सिक्छ, अनुभूत गर्छ, जान्दछ, बुझ्दछ, आफ्नो चिन्तन, कर्म र भावनाहरुलाई व्यवस्थित औ संशोधित गर्दै लैजान्छ, त्यसबाट गुज्रिन्छ । यस अर्थ हरेक व्यक्ति व्यक्तिगत रुपमा सभ्यतातर्फ उन्मुखताको उसको एक्लो, नितान्त भिन्न पथमा हिंड्दछ । ऊ जस्तो सामाजिक परिवेशमा जन्मिन र हुर्किन पुग्छ, त्यो समाजको ऐतिहासिक जीवनसंग मिसिएको उसको मौलिक जीवन हुन्छ । समाजको ऐतिहासिक जीवन नदी हो भने ऊ त्यसको एक अल्पकालीन धार हो । एउटा वर्षाको भेल हो आफ्नो जलराशी र दिशावोध सहितको । यही मौलिक जीवनमा उसले केही अंश समाजको सामुहिक स्मरणबाट प्राप्त गर्दछ भने धेरै चाहिँ उसले आफू बाँच्नुको दैनन्दिकी बास्तविकताको प्रत्यक्ष भोगाईबाट प्राप्त गर्दछ । तसर्थ, विश्वको चरम् आधुनिक ठहरिएको समाजमा होस् वा संसारकै पिछलग्गु समुदायमा होस् हरेक व्यक्ति एउटा वैयक्तिक उद्विकासबाट गुज्रिइरहेको हुन्छ । उसको आफ्नै बर्बर अवस्था हुन्छ, आफ्नै सभ्यतातर्फको संक्रमणको मिहिन कहानी हुन्छ । यस कहानी भित्र नै सामाजिक स्मरणले दर्शाउने आदिम भूलहरु परिवक्वताको पथमा आईपर्ने स्वाभाविकताका साथ घटित भइरहन्छन् । पिंढी दर पिंढी आफूलाई नवीकृत गरिरहने समाजमा एउटा पिंढीबाट अर्को पिंढी सर्लक्कै छुट्टिन नसक्नाले नै सम्भवतः सामाजिक स्मरणमा अभिबृद्धि हुदै जान्छ । यदि एउटा पिंढीले अर्को पिंढीलाई पूर्णतया भौतिक विस्थापन गर्नु पर्ने वाध्यता रहन्थ्यो त समाज हरेकपल्ट आफुलाई शुन्य विन्दूबाट उभ्याउने अनन्त शिशिफसको मिथकमा जकडिन्थ्यो होला । तर दशौं हजार वर्षदेखि मोटामोटी रुपमा मानवताले ऐतिहासिक अटूटता कायम राखिराखेकै छ । त्यसैले मानव समाजमा देखिने, हरेक युगमा नवीकृत भईरहने बर्बर प्रबृत्ति (सापेक्षित) एउटा अनिवार्य नियति हो विकासको बाटोमा हिंड्नुको । छोरा छोरीले पनि जीवनको त्यो निश्चित अवस्थाको पाठ गल्ती नगरी सिक्दैनन् जीवनको जुन ज्ञान तिनका बाबु र आमाले गल्ती गरेरै सिकेका थिए । तथापि, अघि भनिएको सामाजिक स्मरणको निरन्तर लर्को कायम रहिरहनुको लाभ नै यही छ कि नयाँ पुस्ताले त्यसबाट दृष्टान्त पाओस् र प्रयोग र परीक्षणको चेष्टालाई चेतनाको सुधारिएको सिराबाट प्रक्षेपण गर्न सकोस् आगतभरी । मानवीय जीवन वा वैयक्तिकतामा अन्तर्निहित यस्तो परिपक्वताको अनुक्रम वा सिलसिला अवश्यंभावी छ, अनवरत छ । समस्या यसले समाजमा निश्चित कालखण्डमा अपनाउन सक्ने विनाशकारी एवं प्रतिगमनकारी स्वरुपलाई लिएर हो । चिन्ताको घडी त्यसवेला आउँछ जब सामाजिक अभ्यास वा प्रयोग स्वयं समाजको प्रगतिको धारलाई रोक्न वा सुकाउन उद्धत हुनपुग्छ । इतिहासमा फर्किएर हेर्दा हामी पाउँछौँ यो पटक पटक सम्भव भएको छ । त्यसको कारणहरु खोतल्नु यस लेखेको अभिप्राय नभएकोले शीर्षकमै केन्द्रित हुन चाहन्छु ।

कति सभ्य छौं त हामी ? अथवा म कति सभ्य छु ? यस प्रश्न हरेक व्यक्तिले आफ्नो स्वतन्त्रताको अभिव्यक्ति गर्ने क्रममा उसले देखाउने व्यवहारलाई लिएर आपँैmसँग तर्क गर्नु पर्ने विचारणीय कुरा हो । भीडमा वा कुनैखाले हुलमा हुत्तिइरहेको र आत्मचिन्तनको जिम्मेवारीबाट निबृत्तझँै भएर आफ्नो कार्यलाई तार्किक वेवास्तासाथ सम्पन्न गरिरहेको कुनै पनि व्यक्तिले सतर्कताको साथ आफैँलाई सोध्नुपर्ने प्रश्न हो यो — यो कर्ममा कत्तिको विवेक छ ? कत्तिको परिपक्वता छ ? अथवा आवेगात्मक प्रदर्शनको अन्य कुनै विकल्प होला ? हामीले पनि सधैँ मानिआएको कुरा यही छ कि एउटा बालक वा व्यक्ति तब “परिपक्व” हुन्छ जब उसले क्षणिक आवेग र चाहनालाई दूरगामी हितलाई मध्यनजर गरेर वशमा राख्ने दक्षता प्रदर्शन गर्न थाल्दछ वा सक्दछ । तर आत्मनियन्त्रणको यो उपायले मात्र वाञ्छनीय परिणाम ल्याउन सक्ने कुरामा संकाको निम्ति भने प्रशस्त स्थान अवश्य नै रहन्छ । वेलायती विद्वान् वट्र्रान्ड रसेल आफ्नो सहजतापूर्वक आत्मस्वीकार्य चिन्तनको विपरित धाराबाट त्यसलाई सामना गर्दै निक्र्यौलमा पुग्न अभिप्रेरित गर्दथे । आफ्नो सोच र कर्मको विवेकशीलताको मूल्यांकन सम्भवतः आफैँ भित्र सहिष्णुतालाई हुर्काउने प्रयत्नले नै सम्भव होला । तपाई जव आफैँभित्र असहिष्णुताको उदय भईरहेको महशुस गर्नु हुन्छ तव तपाईले गर्न लाग्नु भएको कर्ममाथि विवेकपूर्ण संकाको सुविधा उपयोग गर्न आवश्यक हुन्छ । एकै छिन शान्त भएर सोच्दा तपाईले तत्काल गर्न सही ठह¥याएको कार्य जुन चिन्तनको धाराबाट उत्प्रेरित छ, त्यसको विपरित सोचको पल्ला पो भारी पर्छ कि ? यसरी हिंसा र पछुतोको सम्भावनालाई धेरै हदसम्म न्यूनीकृत गर्न सकिन्छ कि ? यसरी हाम्रा व्यक्तिगत र सामाजिक गतिविधिलाई ‘सेल्फ–सेन्सर’ गर्ने इच्छाशक्ति देखाउँदा सहजै अनुमान गर्न सकिने उही गल्ती कम दोहोरिन्थ्यो की ? परिपक्व कार्यको एउटा उदाहरणले अरु उदाहरणहरुलाई जन्माउने अवसर पाउथ्यो कि ?

वर्तमान राजनैतिक विकासक्रम केवल सामाजिक चेतको विकासक्रमको अभिव्यक्ति मात्र होईन यो राजनैतिक नेतृत्व स्वयंको परिपक्वताको सिलसिलाको परिफलन हो । नेता, साधारण व्यक्ति, आदि भन्नु त खोल मात्रै हुन् । सबैको भित्र एउटा व्यक्ति हुन्छ पहिचानको अनेकता अनुभूत गर्ने । तर्कको खेल वाहिर गिट्टी वालुवाको सडक र बन्दुकको पड्काईमा मात्र चल्दैन, अझ सघनताको साथ व्यक्ति भित्रै चल्न सक्दछ । चिन्तनले व्यवहार घटित गर्ने हुँदा चिन्तनमा उदारता ल्याउन सहिष्णुता र आत्मखण्डनको अभ्यास नगरेसम्म, अलिकति आफैँ नै अनिश्चयको पोखरीमा डुबुल्की मार्न हिम्मत नगरेसम्म, सांसारिक यथार्थको कुनै पनि विषयमा निश्चित हुन सकिन्न । अवश्यै पनि अन्यौलित मगज भित्र केही समय द्वन्द्व चर्किनु नै संकुचित तर आफ्नो साँघुरो सोचमा विश्वस्त मगजले भौतिक विनाश निम्त्याउनु भन्दा बढी स्वीकार्य हुन्छ । त्यसैले “कति सभ्य छौं हामी ?” भन्नु भन्दा पहिले अर्को प्रश्न गर्नु लाभकारी रहला ः कति चिन्तनशील छौं हामी ?