Thursday, September 11, 2014

मेरो साथीको बारेमा एउटा गलत कविता


मेरो साथीको बारेमा एउटा गलत कविता

मेरो एउटा साथी छ
जो मायामा विल्कुल अगाडी रहन चाहन्छ,
कसैले उसलाई ऊ आफैँले भन्दा अधिक माया गरेको
ऊ सहनै सक्तैन,
भन्दछ, —“त्यो विल्कुल मेरो एकाधिकार हो !”
ऊ यसलाई कस्तै खाले हुँकार मान्दैन,
केवल आफ्नो जिउने अन्तिम आधार,
जस्तो कि सूर्यको,
आफूमा अनगिन्ती विष्फोट गराएर बलिरहने ।
तर यो त मेरो हेराइ हो
जसमा म सूर्यले पनि उसलाई हराएको देख्छु ।

म भन्छु उसलाई,
तँ मरिरहेछस्,
तेरो आत्मप्रेम भष्मासुरको वरदान हो ...
निर्जीव चिजहरुको नियम
सजीवहरुमा चल्दैन ...
तँ अनेक चिज र चेष्टाको यस्तो संगम होस्
मानौं समयको नदीमा बग्ने पानी,
जुन जताबाट पनि वग्न सक्छ
जुन जहीँ पनि वग्न सक्छ, सोसिन सक्छ,
किनाराबीचको सहज राजमार्गबाट
अनायास खोसिन सक्छ,
तैंले पानीको नियति स्वीकार्नै पर्छ ।

हामीबीचको सामिप्य,
सिक्काको दुई पाटा,
कहिल्यै एकले अर्कालाई नदेख्ने,
हामीबीचको वार्ता
मादलका दुई गाला,
संगीत, एउटै ढुकढुकी ।
एकले अर्कोलाई सुनाउने तँछाडमछाडमा,
एकले अर्कोलाई सुन्ने तँछाडमछाडमा
एकले अर्कोलाई सधैँ बहिरा ।

मेरो त्यस्तो साथी
मेरो अनन्य मित्र कसरी भो ?
जो स्वयं बाँडिन चाहँदैन,
उसको थाहा मलाई कसरी भो ?
कतै ऊ मेरो सर्वप्रिय दुश्मन त होइन,
जसलाई मैले बचाउनै पर्छ आफू बाँच्न,
उज्यालोलाई अन्धकारजस्तो,
हुनुलाई नहुनुजस्तो ?

ए मेरो साथी,
तँ आफूलाई जोगाइराख् जत्ति नै,
तँ सिध्दिनलाई नै होस बनेको
मैनवत्तीको मैनजस्तो,
अरु पनि चाहँदा हुन् आफ्नै लागि बल्न,
ती मूर्ख बनिरहेछन्,
बलेर तेरो मैनको अंश देखाइरहेछन्,
भएको मैन खेर जान नदिएस् !
बलेस् तँ पनि !
सबै बलेर सिध्दिइसकेपछि
अन्धकारको सग्लो दृश्य उतार्न
एक्लै के बल्छस् जगत्मा ?

ऊ मेरो ऐनाबाट मतिर फर्केर
मुस्कुराउँछ,
सत्ते ! म भन्नै सक्तिनँ मलाई कति दुख्छ
उसले मलाई नदेखेको,
उसले मलाई नसुनेको,
र,
उसको मुस्कान त्यस्तो बेजोड भएको ।

Sept 11, 2014

No comments:

Post a Comment