Saturday, August 2, 2014

मलाई एक्लै छाडिदिनुहोस् ! म काव्यलाई मिल्काएर आउँछु ।

मलाई एक्लै छाडिदिनुहोस् ! म काव्यलाई मिल्काएर आउँछु ।

अधुरो बाँचिरहेको छु ।
यो जिन्दगी नै हुनुपर्छ ।
अन्यथा किन यस्तो गुन्जायस ?
थाहा पाउन सक्नु, त्योभन्दा अरु के खोज्नु ?
यै दर्शनको पहिलो विज्ञप्ति हुनुपर्छ ।
मूर्ख भएर हाँसिरहेको छु ।
मूर्खता बेजोड आख्यान हुनुपर्छ ।
नडुबेको भए विज्ञताले त कतिञ्जेल टिक्नदेला
सत्य पन्छाई हाँस्य ?
सत्य थाहा नहुनु, त्यो भन्दा अरु के खोज्नु ?
सुखको यही परम् सत्य हुनुपर्छ . . . . .

यसलाई कविता मान्नु,
सिवाय मूर्खता के हुनसक्छ ?
यसमा दर्शनको लयात्मक लेपन नदेख्नु
प्रयोगको प्रसार नभेट्नु
कुनै विद्धता सिद्ध गर्छ ?
उपमा–सिल्प नहुँदैमा, न्यून मानिस त कोही हुँदैन ।
यसो भनी सीपै विना कोही उच्च हुन सक्छ ?
कोरा कुरा कोरेर कागजमा
कतै काव्यको रचना हुनसक्छ ?
कच्चा कुरा कहँदै क्रोधले
कतै काव्यको भत्सर्ना हुनसक्छ ?
कठिन कुरा लेख्दैमा कलमले
कठोर गुत्थी कहीँ सुल्झिहाल्छ ?
विषद् कविता लेख्दैमा कुनै विषयमा
त्यो विषयमा संसार बदलिहाल्छ ?
बदलिहाल्यो भने विषय र विश्व,
काव्य कति कला र कति राजनीति हुन्छ ?
एउटा यति कम हुँदा अर्को कति बढी हुन्छ ?

केलाई कविता मान्नु ? केलाई नमान्नू ?
त्यो बोधहीन बादलले हान्ने बाँकटे
जसले एकै पलमा गृष्म हरिदिन्छ ।
त्यो ..... त्यो ..... त्यो ......
खैर छोडिदिउँ !

केलाई किन कविता मान्न वा नमान्नमा कतिञ्जेल लाग्नु ?
माने के हुन्छ नमाने के हुन्छ ?
श्रेय कमाउने सकिएलान्, काव्य सकिन्छ ?
‘सवारी निषेध’ लाई कविता माने ‘मुनामदन’ मर्दछ ?
मरिहाले मुना मर्ली,
त्यो मृत्युले ऊ त्यो बाटो हिँडेकी सग्ली महिलालाई
कुनै फरक पर्दछ ?

रुपक, उपमा, लय
तीनै झण्डै फर्केछन् फेरि !
म त तिनलाई प्रवासमा ठेल्दाठेल्दा थाकिसकें ।
यो शब्दको लास कुनै सुगन्धी रास बन्नुहुन्न,
म यसलाई छरपष्ट पार्न, सढाउन लागिसकें ।
मलाई एक्लै छाडिदिनुहोस् !
म काव्यलाई मिल्काएर आउँछु ।



No comments:

Post a Comment