Monday, August 4, 2014

मलाई प्रश्न सोधेको मन पर्दैन

मलाई प्रश्न सोधेको मन पर्दैन


मलाई प्रश्न सोधेको मन पर्दैन ।
जस्तो कसैले श्वास खेर फाल्छ —
के राम्रो, भक्कानो वा खित्का ?
निरर्थकताले म गल्दछु ।
लाग्दछ वैज्ञानिकलाई सोधिएको होस्—
तातो राम्रो या चिसो ?
अझ मनपर्दैन प्रश्न भइदिएको,
प्रश्नउत्तरको प्याराडाइम बनाइबनाइ
यस्तो र उस्तोको लागि
यस्तो  र उस्तो सहिदिएको !
किन सहेको ?
पटमूर्खको विद्धता उग्रिएझैँ लाग्छ—
जीवन जिउनै सकिएन !
मानौं जीवनको विकल्प होस् ।

स्वगत्, सार्वभौम संकल्प हो भन्न मनलाग्छ जीवन ।
स्वच्छन्द हुनु यसको कोसिस !
हो, यस्तो उत्तर दिन खोज्नुको औडाहा मनपर्दैन ।
तर उठ्छ, कोसिस कस्तो ?
चरोको विस्टाबाट टमाटर उम्रिनुजस्तो ।
टमाटरले विष्टा भूलाइदिनू,
विस्टाले टमाटर उठाइदिनू ?
रुपान्तरणको रौनक !
बस् ! फक्लेटा छुट्टिएर जानुको संकल्प ।
समुद्रले वतास चढेर आइ
हरेका बर्षात्मा त्यो सारथि विर्सेजस्तो ।
नवजात, निर्दोश ।
धरती, नवप्रेमिकालाई, हरेक अंगमा रागले सिँचेजस्तो ।
स्वादझैँ वेहोस ।
अर्को गृष्ममा नटिपिउञ्जेल !
वादलका कम्मलमा उनीका झुत्ता नसिइउञ्जेल !

त कोही उँघ्दै भन्छ जीवन जागरण हो ।
कोही जागेझैँ स्वप्नसागर !
उत्तर यसरी प्रश्न ।

मलाई प्रश्नवाचकको घुमाउरो काया मनपर्दैन ।
त्यो विन्दु विस्ट्याउँछ ।
निर्बोध सन्तोषको सङ्गलोपन धमिल्याउँछ ।
मगजमा अपच बढाउँछ ।
सम्भावनाको अथाह सतह जति फैलाउँछ
उति गहिराइ न्यून गराउँछ ।

खासमा मलाई हाँसो र खित्काबारे सोचेको मनपर्दैन ।
सोचेर तिनको स्वतन्त्र प्रसार रोकेको मन पर्दैन ।
खासमा मलाई मैले ममात्र बोकेको मनपर्दैन ।
सृष्टिको केवल आफूलाई केन्द्र तोकेको मनपर्दैन ।
अन्योलको कस्तो सौर्य आँधि हुँ कार्वोनको यो कायामा ?
मलाई टिकाउने कोषहरुको हरपलको कसिलो कोसिसमा
म सिंगो यसरी आफैँबाट टक्टकिन खोजेको
मलाई विल्कुल मन पर्दैन ।
केवल मन नपर्नू
मेरो जीवन धान्ने सत्य हुनु
मलाई जीवनलाई मृत्युसरि मनपर्दैन ।

No comments:

Post a Comment