Showing posts with label Short-story. Show all posts
Showing posts with label Short-story. Show all posts

Saturday, May 16, 2015

दुई मित्रहरु (कथा)


कमलप्रसाद चाहंदैनथे कि यो सांझ उनका भन्सारमा कामगर्ने भूतपूर्व साथीहरुले गोजि तताउन असफल भएका मानव सम्पर्कहरु प्रति कटाक्ष गर्ने गरे जस्तो 'फोकटमा जाओस्' । खासमा यसै गर्छु भन्ने उनको लक्ष्य पनि थिएन र तयारीको क्रममा पगित्रो इन्तजामको सम्भावना पनि थिएन । दुई अधवैशेहरुलाई दुई स–साना भोड्काका सिसि र सेकुवाको आल्मोनियम फोइलमा बेरिएको एउटा पोको काफि थियो । उनले सलादको बारेमा पनि सोचेका थिए – बैशाखे बतासको हलुङ्गोपनमा एकजोडा पुष्ट गांजरका गाढा रंग थेप्चा –गोला टुक्राहरुमा घनीभूत भई टेबलमाथिको प्लेटमा प्रतिक्षारत थिए । तरकारी बजारमा क्रेट–क्रेटमा सजाइएका क्राँक्रा र पोटिला देखिने टमाटरहरुको ताजापनमाथि संका गर्दै उनी त्यसै त्यसै पाईला पाईला थपिएर उनको डेरा आईपुगेका थिए । भन्नै पर्दा यहां उनी एक्लै बस्थे । उनकी श्रीमतीको भर्खरै महिनौको किमोथेराफि र कष्टपछि मृत्य भएको थियो र उनको छोरो स्कुलको अन्तिम बर्षमा एस्.एल्.सि. परीक्षाको फलामे गेट पार गर्ने तयारीमा थियो ।
साँझको फैलिंदो छांयामा कमलप्रसादको दोस्रो तलाको झ्यालबाट सिथिलताको झ्यामलाङे लहरो आंगनमा खसिरहेझैं लाग्थ्यो । कम्पाउण्डको ईट्टे पर्खालमा टांसिएको मलिन क्याक्टसको कांडादार शरीरमा उनको डल्लो दृष्टि घोचियो । अनि तर्काएको दृष्टि हावामा कहीं अन्धकारमा अडिरहेको थोप्लाथाप्ली झुत्ताहरुमा, सायद रातमा आउने बत्तीका किराहरुमा, थचक्क बस्न खोज्यो र हुनसक्छ एकएक जोडा पखेंटाहरुमा छरिएर विलीन भयो । यसरी ट्वाल्ल हेर्नुको कुनै तुक थिएन । उनलाई लाग्यो अरु समयमा त यो बेकारीपन मात्र ठहरिन सक्थ्यो, र यो पहिलेको धारणा अहिलेमा थोपरिन सफल भएको थियो । त्यो सुकिलो मापदण्ड– धेरै टाढाबाट । कमलप्रसादले झ्यालको पल्लालाई अड्याउने टेको हटाएर ताने अनि छेस्किनी लगाए ।

कुशुम्, कत्ति एक्लो छाडिदियौ मलाई ! निकै लामो समयमा उनले पीडाको गहिरो र सङ्लो निश्वास ताने मनभित्रको यो गहिरो ध्वनि सुनेर । आफू अगाडीको ऐनामा हेरे तर त्यसले देखाउने प्रतिबिम्बमा उनको खासै चाख थिएन। क्षणभरलाई तिर्खाएझैँ भए र फिल्टरबाट एक गिलास पानी भरे, सुरुप्प अलिकति पिए, तिर्खा नलागेको निक्र्यौलमा पुगे, अनि थचक्क सोफामा बसे । अगाडीको ऐनामा दृष्टि नपु¥याउन होस पु¥याउँदै । रविले कल आउला भनी सोचेको थियो वा थिएन केही बिचार नगरी उनले भर्खरै छोरालाई किनिदिएको मोबाइल फानको नम्बरमा डायल गरे ।
कस्तो चल्दैछ ?
त्यस्तो मरिमेट्न पर्दैन है ।
था’छ नि अंकभन्दा बुझ्नु महत्वपूर्ण हुन्छ भन्ने कुरा ?

अनि एकै श्वासमा– ठीकैछमेरो ।
अनि दुईटा दीर्घ खुइय । ल, बेलैमा सुत्ने गर्नु ! होस्टेलमा मन परेन भने भन् है !
फोनमा वार्ताभरि रवि एकोहोरो “हुन्छ, हुन्छ” र भिन्नता थप्न एउटाएउटा विनीत “हस् ”थपिरहेको थियो । सरल, समथल, र – सिमसार । कमलप्रसादले आफ्ना शव्दहरुले ठोस, काठे, स्पष्ट आकारसहित सिमसारमा तैरिएको , त्यतै हराएको महसुस गरे –डुङ्गाजस्तै । डुङ्गा धेरै हलुङ्गो थियो डुब्नलाई, सिमसार धेरै धमिलिएको गहिराइभित्र हेर्नलाई ।
कुराकानीले उनको बेचैनी घटेन । कुनै परीक्षाको तयारीमा बसेजस्तो उनमा हलुका किसिमको भयको प्रवेश भयो । के गर्दैछन् उनी यो मुर्दाझैँ चहक हराएको कोठामा ? प्लेटका टुक्राटाक्री सलाद कुनै यु.एफ्.ओ. बाट छुटेर पृथ्वीमा अलपत्र परेका बस्तुझैँ देखिए । कमलप्रसादलाई लाग्नथाल्यो उनी कुनै अर्को व्यक्तिको आतिथ्यभन्दा स्वयम् आफू आतिथ्य भोग्न कतै गइरहेका छन् । यी सबै लघुघटनाहरुको सिलसिला उनी, बाहिर कतैबाट सिनेमाको पर्दामा हेरेको महसुस गर्न बाध्य थिए । प्रत्येक सोच, सानोभन्दा सानो, त्यसबारे धारणा बनाउँदै, चलचित्रको अन्त्यमा यसो होला भन्ठान्दै, तर कताकता मनभित्र आफूलाई के हुन्छ वा हुनसक्छ भन्नेको सम्पूर्ण नालीबेली प्रष्ट भएको अनुभूति ।

ढोकामा ढक्ढक् सुनेर उनी यो  पारोको बाष्फ बनेको मुडबाट एक्कासी एकत्रित भइ फुर्तिलो चाँदनी तरल बने अनि धूमिल कोठाको नरम छायाँमा सुल्किएर ढोकासम्म पुगे ।
                                       
  -0-0-0- 

म त कोठामा कोही छैन कि भन्ने ठान्न लाग्याथें ! किन यस्तो अँध्यारो, सर? शेखरले सोफामा बस्तै सोध्यो । 

यो पछिल्लो प्रश्न कामचलाऊ सोधाइ थियो । उनीहरु बीचको वार्तालापमा धेरै बर्षहरुकौ आपसी अनभिज्ञता पसेर शव्दहरुलाई भित्रबाट खोक्रो तुल्याइरहेको भान हुन्थ्यो । बाइस बर्ष । बाइसहजार निर्णय, निषेध र कामना । बाइसहजार स–साना सोच र संवेदनाले उनीहरु रङ्ग बदलिएका चट्टान भइसकेका थिए, समयको भङ्गालोमा बगेर यति तल आएर फेरि भेटिंदा तिनीहरुमा जिन्दगीको नदीको वहाव केकसरी व्यतित भइरहेछ त्यो छाम्न फुकीफुकी पाइला चाल्न बाध्य  । इलामबाट विराटनगर पढ्न आउनु सानो कुरा थिएन । एस्.एल्.सी. सक्नु झन् ठूलो कुरा थियो गाउँमा, तर पछि परिवार सदरमुकाम सरेपछि प्रगतिको सिँढीमा निकै खुड्कीला थपिए –जताततै काठमाण्डौ, दार्जिलिंग गइ पढेर आएका, पढ्न गएका, एम्.ए. सम्म पढेका देखिन थाले । चियाका डाँडामा उठेका स्याँठे वाफमा हेर्दाखेरि एक दिन किशोर संवेदनाको सङ्ग्लो अभिव्यक्ति उसले शेखरको समीपमा पोखेको थियो –तराइ झर्नै पर्ला मित्र ! याँ त कुहिरोभित्रै हराइन्छ । जतिजति अल्लारे बादलका ऊनी जत्था एउटा हरित डाँडोको गाढापनलाई क्षणभरलाई मेटाएरै, क्षणभर पछि हटेर, सूर्यलाई टल्केर सपाट निखार्दै जान दिएको हेरिरहेथ्यो, उसलाई अदम्य कुत्कुतीले  मनमनै कम्पित गराइरहेथ्यो– कस्तो होला सम्म हुन्छ भनिने तराई ? त्याँ आकास कति छ्याङ्ग होला ? कुहिरोमै हराइन्छ भन्दा उसमा अर्धबोधको आत्मस्वीकारले थप अनिश्चयलाई भोजन गराइरहेको थियो । उसको बुबालाई त छोराको यात्रा अझ गौरवको श्रोत थियो । हिरण्यप्रसादले सोचे अरु केही गाईबस्तु पाल्छु, लक्ष्मी भित्र््याउँछु, छोरोलाई सरस्वती जुटाउँछु, माथि उठाउन तल,धेरै तल, मच्छड लाग्ने, झरी जमेर पानी छ्याल्लब््याल्ल भइ अनन्त सिमसार जस्तो हुने, गर्मीमा बिहानसम्म गर्मी हुने, आफूले पनि दक्षिणमा जोगबनी बोर्डरमा हिन्दुस्तानी पसलेकामा मालमत्ता किन्न दुई–चार सालमा एकपटकजसो आउने गरको, आउँदा एक रात बसस्टेसन छेउको रातको आठआनासम्ममा बस्नखान दिने लजहरुमा रात बिताएको, बिराटनगर पठाउँछु । शेखरका बा कलकत्ताबाट आएका थिए बर्षदिन अगाडी । हिरण्यप्रसादको मनसुवा ठीक ठानी दुई केटालाई डेरा खोजेर बिराटनगरमा मेलोमेसो मिलाइदिएर आउन राजी भए । बाहरुका कुराकानी छोराहरुले आँगनछेउको धुपीको बोट पछाडिबाट चुईंक्क आवाज ननिकाली सुनेका थिए । बार्दलीमा बसेर चामल निफन्दै गरेकी आमाले केही नबुझेझैँ गरेर निफन्दाको स¥याक्स¥याक् संगीतको सिलसिला ठप्प पारेर आधा घन्टाभन्दा बढी सुनेकी थिइन् । पछि यी निर्णायक नाइकेहरु आ–आफ्ना पुत्रप्रतिका उन्नत स्वप्नबारे स्पष्ट मार्गचित्र कोर्न सक्नुको सन्तुष्टि र संकल्पले ओजवान् महसुस गर्दै एकाएक गम्भीर देखिएका थिए । शेखरका बा घरतिर लागेपछि शेखर पनि उतै लागेको थियो ।कमलप्रसादलाई एकाएक शरीरभरि धुपीका पातहरु उम्रिएझैँ भएथ्यो ! उभिँदा कुनै अस्पष्ट भावनाले रन्न भएर त्यही प्यारो धुपीले एकाएक हिँड्न थालेजस्ता गरी जकडिएका पाइला सार्दै ऊ आँगनमा देखापरेको थियो मानौं कुनै आफन्तकोमा टाढाबाट यात्रा गरेर झमक्क साँझमा टुप्लुक्क आइपुगेको होस् । आमाको स¥याक्स¥याक् फेरि एकपटक जागृत भएर छिप्पिएको अँधेरीमा विश्रान्ति लिँदा, कमलप्रसादलाई दैलोबाट भित्र पस्ता बाको दृष्टिले उसको पछाडिपट्टि किनकिन हलुको श्पर्श गरेजस्तै लागेथ्यो– फर्केर हेर्दा धुपी छेवैमा, आँगनको डिलमा बिँडीको रातोरातो विन्दु हावामा तैरिइरहेको थियो अघि डाँडामा बिलाउन लाग्दाको सूर्यझैँ ।
-0-0-0- 


“किन यस्तो अँध्यारो सर?”

असामान्य लाग्नुको रहस्य कस्सिएको बट्टाको बिर्को खुलेझैँ प्वाट्ट आवाजसहित खुल्यो र बर्षौंको बासी हावा नाकले चाख्यो, फोक्सोले सोहो¥यो, मजगले बुझ्यो । उसले के गर्दैछौ यार् ? भनेको थिएन । बर्षहरुले त्यो आत्मियता मक्काइदिएछन् । उनीहरु फेरि पुनःपरिचयको अवस्थामा आइपुगेका थिए । बाटो पक्रिन कोसिस गरिरहेका थिए । पहिलेको मित्रताको तहसम्म पुग्न । उनीहरु बीच के–के आएको थियो –उमेर? पेशा? प्रतिष्ठा? बसाईँ?  बर्षौँसम्म कमलप्रसादलाई शेखरको बारेमा यत्ति थाहा रहेथ्यो –बिराटनगरमा कुनै स्कुल चलाएर बसेको छ, बिहे गरेको छ, छोराछोरी छन्, कति छन् भन्ने थाहा छैन, घर पनि बनाएको छ त्यसैले पैसा पनि राम्रै कमाएको हुनुपर्छ । तर यी पनि यकिन जानकारीका अंश नभइ आधा यकिन र आधा अनुमानका एकमुष्ट नरम जगल्टो थिए । यो आकारविहीन जगल्टोबाट उसले शेखरलाई मूर्तिझैँ थाहा पाउनुपर्ने थियो । तर मूर्तिमा प्राण हुनेमा मूर्तिको स्पष्टता हुँदैन ।

एक्कासी कोठा झलमल्ल भयो । कमलप्रसादको वर्तमान जिन्दगीको वैभव प्रकाशित भयो शेखरको आँखाभरि । शेखर जिउँदोजाग्दो प्रकाशित भयो कमलप्रसादको लागि । अघिको माहोलबाट अलि स्पष्ट भङ्गिमा र तीब्र भावनाहरुको तहमा पाए उनीहरुले आफूलाई । बत्ती आउनुको अचानकताले अघिको नीरब स्वतन्त्रताको बाष्फीकरण भएको थियो ।

शेखरले कमलप्रसादलाई बायाँपट्टि कुर्सीमा बसिरहेको देख्यो –उति पेट नलागेको, केश आधा फुलिसकेको, आखिभौं भुक्क परेका, आँखाका छेउका मुजा सघन भइ ट्युबलाइटको प्रकाशमा प्रष्टिएका । कमलप्रसादले फिस्स हाँसे । शेखरले प्रत्युत्तरमा हाँस्ता उनले सम्झिए उसको त्यो बिराटनगर झर्दाको साथीको भुक्के गाला, ठूला दाँत, काटिएको चिउँडो । फ्रेन्च कट दाह्रीले उसको सम्झनाको भूभागमा नाङ्गो भइ बसेको साथीको चिउँडो बालीले छोपिएको खेतझैँ चिन्न मुस्किल पा¥यो । यो बाली पनि पाकेको थियो तिलचामले ।

कमलप्रसाद : तिलचामले भइयो सर् !
शेखर : हो ! उतिबेला के लाग्थ्यो र ?

तर यसबारे उनीहरुले हजार पटक सोचेका हुन्थे –बूढो भइने, मरिने, हराइने, त्यो भयङ्कर अनिश्चितता । सोचेको बारे स्वयम् अवगत नै नभइ सोचेका हुन्थे, पाका अनुहारहरु हेर्दा, नवजात शिशुहरुको खालीपन देख्दा, मलामीहरुको व्यर्थ लस्कर देख्ता । तर फेरि पनि पुरानै बानी भएको थियो यो स्वाभाविकतालाई आश्चर्यको सानो कलेवर दिन । अनि सबैको बानीले एउटा सहमतिको सत्य जीवित गराउँथ्यो यो कमलो आश्चर्यको ।
कमलप्रसादले टि.भी. खोले र समाचार लगाए । बढ्दो गर्मीका खबर, पश्चिमका पहाडी जिल्लामा समयअघि नै झाडा सुरु भएको खबर । समयअघि नै । त्यहाँ विपद्को अपेक्षा यहाँको स्वभाविक जीवनदर्शन भएको थियो– राजधानीको । काठमाण्डौमा झाडा फैलिए के हुन्थ्यो होला यो सोचको लर्कोलाई ? यो केन्द्रीयताको मिथक त्यो महामारीले आफूसँगै लग्थ्यो होला? अलिकति भत्किन्थ्यो होला, अलिकति ताछिन्थ्यो होला, अलिकति कोतरिन्थ्यो होला । अन्त्यमा आफ्नै मन दुख्थ्यो होला भएको एउटा आड पनि दुर्बल देखिँदा । स्वप्नको सहर– काठमाण्डौ । पहिले उत्तिकै थियो, अहिले उत्तिकै छ । स्वप्नको प्रवृत्ति रहेसम्म सहरहरुको आवश्यकता निमिट्यान्न नहोला ।
-0-0-0- 
बिराटनगर झर्दा तातो अँगेनोछेउको एक्कासी प्रवेशजस्तो भएको थियो सुरुमा । पछि त्यो तातो शरीरको निरन्तर तातोपनझैँ बाह्यता बन्यो । यो तापको हलुङ्गोपनमा धेरै कुरा तैरिँदै आउँथे, तिखारिन्थे । बाहिरको तातोले सायद पहाडी सिरेटोको चिसो भोक जगाउँथ्यो ! डेरामा बस्ताको महिनाहरुमा शेखर पिँडुलामा प्याट्ट पारेर लत्पतिएको रातो टाटो देखाउँदै भन्थ्यो –लु मधेसको मच्छडलाई इलामको चिसो चाइयाथ्यो, माथि नै पु¥याइदिएँ ! मान्छेहरु अहिल्यै पहाडबाट  झरेर अब मनतातो लाग्थे –तिनका आवेगहरु पहाडमा जस्तो स्पष्ट हुन्नथे । नितरन्तर एकतमासले अलापिरहन सक्थे–
पाखेहरु ! ट्वाइलेट राम्ररी बगाउन जान्दैनन् !
ल्वाँतेहरु ! झाडा पक्का टाइममा दिँदैनन् ! माग्नैपर्ने !
ग्वाँतेहरु ! जे पनि ट्वाल्ल परेर हेर्न जानेका छन् !
मधिसे र पाखे – उस्तै, उस्तै !
घरपटी आमैलाई उनीहरुले दिदी भन्थे, थिइन् पनि तीस आसपासकी । घरमा एक जना कालो वर्णको बालक उनको वरिपरी रुमल्लिइरहेको हुन्थ्यो –छायाँझैँ । गहुँगोरो व्यक्तिको कालो छायाँ । हुन त त्यो छायाँ भन्नु मात्र थियो, आफ्नो आकार दिने वस्तुभन्दा धेरै सजीव, धेरै चपल । तर कुनै अदृश्य संकल्पले ऊ छायाँ बन्न तत्पर देखिन्थ्यो, त्यही उसको काम थियो । झ्यालबाट कमलप्रसादले गणितका समस्याहरुबाट एक पल बाहिर हेर्दा घरी ऊ कलबाट सकिनसकी पानी खिँचेर कपडा धोइरहेको देखिन्थ्यो, घरी त्यही अघि खिँचेर छेउको हिले खाडलमा जमाएको पानीलाई छेउको करेशाबारीमा आफूजत्तिकै अग्लो कोदालीले कुलो लगाइरहेको हुन्थ्यो । कमलप्रसाद एक्कासी सम्झिन पुग्थे– बा दुध दुहँुदै होलान् ! आमा भान्सामा, आँगनमा, धारामा, दैलामा,. . . . मलिन न्यास्रिएको मनको एउटा अंश बिराटनगरको यही झ्यालछेउमा . . .

शेखर प्रसस्त बोल्दथ्यो । ऊ सजिलो सिक्का थियो, परिवत्र्य । क्याम्पसमा उसले साथीहरु बनाउँथ्यो अनि आफ्नो नयाँ सम्पत्ति कमलप्रसादसँग हँसिलो, उदात्त भएर बाँड्थ्यो– उनी हुन् हाम्रा भोजपुरका अमृत । ल परिचय गरौं साथी हो !
अरुकहाँ उस्तो अप्ठ्यारो नभएको खबर हुन्थ्यो –
मेरा त घरपटी आमैबाबै जाति छन् । पैसा पनि भा’को बेला दिए हुन्छ । बिमल भन्थ्यो ।
घरपटिको छोरो र म हिमाल सिनेमामा फिल्म हेर्न गइराख्छौँ ।
घरपटीकी छोरी खुब आँखा गाढ्छे यार् । मधेसमा त के हो के हो ! आकाश भन्थ्यो ।
मैले नै भन्दिएँ –बेगारी हुइनँ, सातादिन तलमाथिको के कुरा ! दिइहाल्छु नि ! अनि त आमै ङीच्च हाँस्तै लागिन् ।
अनि क्याम्पस अगाडीको होटलमा–
यो समोसा भन्ने चिज पेट पोले पनि खान मन लागिहाल्ने !
धोतीहरुले के खालको पिरो हाल्छन् हाल्छन् !
त्यही त गाउँमा त्यत्रो अकबरे क¥याप्प टोक्दा पनि बिहान केही सास्ती पर्दैन यार् !
गललल्ल हाँसोको फोहोरा । पहाडका खहरेको तरङ्ग, सङ्लो पानीको तेवर । त्यो तेवरमा बगेर आउने गाली । कमलप्रसाद यो भेलबीच किनाराको द्रष्टा देखिन्थे, शान्त ।
बाटाभरी रिक्साहरु साँघुरो पिचमा अडिन खोज्दै खड्याङखुडुङ गुड्दै जान्थे, तिनमा सुइखुट्टे श्रम ढुकढुकी बन्दै च्वाईं, च्वाईं, च्वाईं ।
उता घरमा ठेकीमा मही मथिन्थ्यो ह्वाईं ह्वाईं ह्वाईं ।
यी दुई समानन्तर संसारबीच कमलप्रसाद पूर्वेली वतासझैँ निरन्तर चलिरहन्थे सिर्रसिर्रसिर्र ।
पछि एउटा विद्युतीय हावा डेरामा चल्नथाल्यो । त्यो हावाको झोंका ह्वात्त आउँथ्यो र चार दिनभित्र उकुसमुकुुसिएको हुण्डरीझैँ केही घन्टा मडारिन्थ्यो, मगज खल्बल्याउँथ्यो र घृणा, क्षोभ, क्रोध र ग्लानि सबै घोलिएको उम्लँदो खोलेको मनस्थिति दिएर विदा हुन्थ्यो, फेरि केही दिनमै आएर अर्को डोज दिन ।

–    साथीहरु, हाम्रो देश किन यस्तो गरिब छ, था’छ ? एउटा विस्तृत सन्नाटा ।
–    किनकि यहाँ सामन्तबाद छ । दमनकारी पञ्चायती व्यवस्था छ । एकतन्त्रीय राजतन्त्र छ । किनकि प्रजातन्त्र छैन । किनकि–
किनकी बर्षभरि खेतमा डढ्ने र कक्रिनेले कनिका पनि ऋणले किनेर खान्छन् र बचाएको जिन्दगी फेरि त्यसैगरी डढ्न र कक्रिन लिलाम गर्न पुग्छन्, किनकि काठमाण्डौमा बस्ने काँतरहरु सिंहदरबार र साही महलबाट वरिपरीभन्दा पर देशै देख्तैनन्, किनकि तिमी र मजस्ता पढ्न पाएकाहरु अझ सुकिलोमुकिलो भएर यही फत्तुरको राज्यको कारिन्दा हुने स्वर्णिम सपना देख्छौँ जसले उल्टै आँखा तिर्मिराउनुपर्ने हो, किनकी हामी चुपचाप आफ्नो दुनो सोझ्याउनमै सफलता देख्छौँ, शिक्षित भएको भन्छौँ, घरमा नोकरचाकर राख्ने चाहना बोक्छौँ, आफैँ चाकरभन्दा बढी केही नभएको भन्ने कुरा भूलेर, किनकी हाम्रा ईश्वर उर्जाका केन्द्रविन्दु उही घरपटीले के ध्वाँस लायो, छिमेकीले कस्तो छाना टल्कायो, कुटुम्बले कस्तो रुप सजायो भन्ने बेतुकका मध्यमवर्गिय ईश्र्या र पाखण्डमा लगानी हुन्छन् । किनकी हामी निदाएका छौँ । किनकी हामी उठेका पनि निदाएझैँ गर्न बाध्य छौँ । किनकी हामीलाई मान्छेभन्दा भूतमा विश्वास गर्न मनलाग्छ यतिसम्म कि हाम्रा व्यवहार नै एक–अर्काप्रति पिशाचको जस्तो बन्न पुग्छ । हामी मिहिनेत गर्नको अल्छीले कृत्रिम उच्चता र नीचताको परम्परागत परिभाषा मगजमा घनले सरि ठोकेर घृणा र तिरस्कारले मातेझैँ रन्किइ हिँड्छौँ र यसलाई धार्मिकता, संस्कार र सचेतता भन्छौँ । किनकी हामी असभ्य छौँ, सभ्यताको भेषमा बर्बरता लुकाइराख्छौँ । अलिकति यो बर्बर आवेगलाई सच्चा दिवालहरु भत्काउन मुखरित गरे मात्र हाम्रो मुक्ती सम्भव छ यो जुनीमा . . .
अझ पछि पछि हुण्डरीहरु एकअर्कासँग लड्न आउँथे–
ती कम्युनिष्टहरु सबै भत्काउँ भन्छन् । तिनले धर्म मान्दैनन् । आज यस्लाई काटूँ भन्छन्, भोलि आफू–आफैँ माराकाट गर्छन् ।
ती कांग्रेसीहरु राजाका मतियार हुन् । हाम्लाई त जेलमा मानैै खोज्छन् । तिन्लाई जेलमा मोज हुन्छ । सबका सब गाउँका जमिन्दारहरु तिनका पार्टीभरि टाउके भा’का छन् ।

शेखर कम्युनिष्ट भयो । अबेर रातमा डेरा आउन थाल्यो । कम्रेड फलानोले आज गोप्य प्रशिक्षण दिनुभयो –वसन्तमा तोरीबारीभरी पराग पिएर अटेसमटेस भएको मौरीको जस्तो मुखाकृति र आउभाउ हुन्थ्यो उसको ।
के बताउँछन् त्यस्तो ? –कमलप्रसादलाई खुल्दुली नभा’को होइन । तर उनले यो उथलपुथलको माहोलमा एउटा ठोस काम भेट्टाएका थिए तल्लीनताको लागि –लोकसेवा आयोगको जागिर खुलेको थाहा पाएर खरदार तहमा भिड्न लागेका थिए । शेखर वर्गसंघर्षमा होमिंदै थियो , उनी व्यक्तिगत संघर्षमा गमिंदै थिए ।
प्रमाणपत्र तहको दोस्रो बर्षको परीक्षा शेखरले दिएन । ऊ कहाँ छ भन्ने नै कमलप्रसादलाई थाहा नभएको महिनौं भइसकेको थियो । परीक्षाको नतिजा निस्किँदा उनको नाम गोरखापत्रमा लिखित पास गर्नेहरुको सूचीमा आएको थियो । धनकुटा गएर परीक्षा दिनु व्यर्थ भएन ।

-0-0-0- 
कमलप्रसादले झ्याल खोले अनि सिर्रसिर्र बतासलाई भित्र हम्किन दिए ।
शेखरले सोध्यो, “कमल सर, अनि छोरा कति मा अरे ?”
“एस्.एल्.सी. दिन लागेको छ । तपाईंका नि छोरीहरु छन् हैन दुईजना ?”
“हो सर् ! जेठी आठमा, सानी छमा । पहिले आफ्नै स्कुलमा राखेको थिएँ, अहिले घरै छेउको बोर्डिङ्गमा हाल्देको छु ।”
शेखरले राजनीति गर्दा निकै सास्ती भोगेको थियो । भूमिगत भए पछि बर्षदिन नपुग्दै झापामा एउटा थारु बस्तीको धान भकारीमा प्रहरीले माछा मारेका थिए उसलाई । महिनादिन कुटाइ खाएर हिरासतमै मर्नेबाँच्ने दोसाँधमा पुगेपछि परिवारले थाहा पाएका थिए । शेखरका बाले कसलाई भनेनन्, कसका हात चिल्याएनन्, कोसँग हारगुहार गरेनन् भन्नेको लेखाजोखा छैन । छ महिनाजति पछि बल्लतल्ल जेलमा भेट्नसम्म अनुमति पाएका थिए । छोरोको कन्तबिजोक देखेर झण्डै जेलमै ढलेका थिए अरे ! कमलप्रसादलाई उनका बाले यो सब बताएका थिए दशैंमा घर गएको बेला । शेखरको घरमा पुग्दा कमलप्रसाद पनि दोषी महसुस गर्नपुगेका थिए ।े प्वाक्कै केही नभनीहाले पनि शेखरका बाबुको अनुहारमा छोरोको दुर्दशाको दुःखको छापभन्दा बढी अरु पनि कमलप्रसादले आभाष पाएका थिए मानौं उनी रुष्ट छन् उसलाई सकुशल देखेर, विक्षिप्त छन् उसले आफ्नो छोरोलाई बिग्रिन दिएको देखेर । प्रहरी र कमलप्रसाद एउटै कित्तामा उभिएका थिए उनको दृष्टिमा पलभरलाई ।
तैपनि कमलप्रसादले सोधिछाडेका थिए –“शेखरलाई कहाँ राखेका छन्, बा ?”
त्यो कम्पित र सहानुभूतिशील स्वरमा निश्छल भावना पाएर होला शेखरका बा पग्लेका थिए पलभरमै । उनका आँखाबाट बरर आँसु झरेका थिए ।
“सातादिन अगाडीसम्म चितवनमा राखेका थे। अहिले काठमाण्डु सारे भन्छन् बाबु ।”

 -0-0-0- 
एकै चोटि ०४६ सालको राजनैतिक आँधीले शेखरलाई पार्टीका अन्य तल्ला र माथिल्ला नेताहरुसित बाहिर निकालेको थियो । निस्किँदा माहोल धेरै परिवर्तित थियो । पहिले राजनीति गर्नु भनेको ज्यान र बाँकी सबै कुरा दाउमा राख्नु हुन्थ्यो । अहिले राजनीतिमात्र गर्न पनि सकिन्थ्यो, जानेदेखिन् । जेलमै बसेर ब्याचलरसम्म पढिसकेको शेखरलाई अब राजनीति धेरै जान्ने रस मरेको थियो । पार्टीमा पहुँच र चिनजानको आडमा उसले केही पार्टनरहरु मिलाएर स्कुल खोल्यो बिराटनगरमा । बिराटनगर फेरि नयाँ सहर बन्दैथ्यो पहाडबाट मान्छेहरु झरिरहनाले । राजनीतिले खुकुल्याएको वातावरणमा अब साधारण जनता पनि ‘चम्किलो’ र ‘विश्वभरि बिक्ने’ अंग्रेजीमा आफ्ना सन्ततिहरुलाई पढाउन चाहन्थे । फेरि अंग्रेजी भाषामा शिक्षकहरुको अभाव थिएन । भुटानबाट लखेटिएर हजारौंको संख्यामा बेरोजगार शरणार्थी भइ बसेका थिए । उनीहरु कामचलाउ अंग्रेजी जान्दथे, प्राथमिक तहमा विद्यार्थीलाई पढाउन सक्थे, वा पढाउन अवसर पाउँथे । ती शिक्षित शरणार्थी युवाको हविगतमा फेरि पनि आफ्ना निर्णयको तुष्टि पाउँदै अभिभावकहरु भन्थे –“यिनै शरणार्थीले नि त अंग्रेजी जानेर कम्तीमा बिजोक कटा’का छन् !”

शेखरले आफ्नै स्कुलमा काम गरिरहेकी एउटी भुटानी केटीसँग बिहे ग¥यो । भावनाको बान्की परेको अनुहार र वेदनामय जीवनकथा उसको कथामा जोडिन प्रेरणाका कारण बने । शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्चायोगले जुटाइदिएको शिविरका छाप्राबाट ऊ उसको डेरामा सरी । उमेको सिँढी उक्लिँदै जाँदा शेखरलाई पनि त्यो समय आइ खड्कियो जब पारिवारिक सुखको न्यानोलाई कोरल्न एउटा हदसम्म खुलापन चाहिन्छ, एउटा चौघेराको संरक्षण चाहिन्छ ।
पहिले बर्गसंघर्षमा जुन अन्वेषकको जस्तो आस्था र उत्साह लिएर ऊ अञ्जान सीमानाहरु भत्काउन र पहिल्याउन लागेको थियो त्यही तन्मयता अब उसले अर्थोपार्जनमा लगाउन थाल्यो । खेतीकिशानी गर्ने गाउँगाउँका आँगनमा चुनाबी अभियानमाझैँ आफ्नो विद्यालयको प्रचारप्रसारमा दौडियो ।
“लु हितमान ज्यू, तपाईंको छोराछोरीलाई मेरो स्कुलमा हाल्नोस्, एक जनाको म पैसा लिन्नँ !”
“हेर्नुस् ! अंग्रजीमा पढाइ हुन्छ । जमाना बदलिएको छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षा चाहिन्छ भविष्यमा टिक्नलाई ।”
“म के कमाउँला र ? त्यत्रो जेल बसेको मान्छे म ! साधारण मान्छेलाई गुणस्तरिय शिक्षा दिएर आँट हाल्दिन तम्सेको हुँ । ”
बाटाहरु बन्नथाले –काला, अलकत्रे । सबैले भन्नथाले “परिवर्तन यही हो !”
ती बाटाको टलकमा टल्केर दक्षिणको सीमानाबाट व्यवसायिक आँखाहरु गुड्दै आउनथाले । जे भए पनि कमैले त्यो महङ्घो आई.सी. बोकेर आउँथे, धेरैचाहिँ यहीँको पातलो  एन्.सीं का गड्डाले मोटाएर एन्.सी. जत्तिकै भारी बन्थे र बैंकहरुलाई चकटी बनाएर भ्यात्त बस्थे । ती चकटीहरु टक्टक्याउने कस्को आँट ? तर पनि धानखेतहरु घडेरी भएका थिए, सुनौला बालाहरु उम्रिन आवश्यक नभएपछि सुनको भाउमा गएका थिए । घडेरी मीठो शब्द बन्यो, परिवर्तनको शब्द ।
विकास=घडेरी
शेखरले अन्ततः घडेरी किन्यो, प्रकृतिको रहलपहल हरियो खौरेर शहरी उनाउ छाला उम्रेको  विराटनगरको एउटा फैलँदो क्षेत्रमा । उसलाई थाहा थियो यो छाला पुरानिँदै जाँदा ऊ विराटनगरको फुक्दै गएको छातिको केन्द्रमै उभिएको हुनेछ । उसको जस्तै अरु पनि घरहरु बन्दै गए । उसका जस्तै अरु धेरै स्कुल खुल्दै गए । अंग्रेजी अझै पनि महङ्घै वस्तु थियो तथापि उत्पादनलाई मागले प्रशस्तै घचेचेकै थियो । यसबीच धेरैले शंका गर्न थाले –यी सबै पसल हुन् । पसल भनेको सुनेर रन्थनिनेहरुले मुख फर्काउन थाले –सेवा ! आफ्नो अडानमा यकिन भने दुईटै पक्षमा थिएन । शेखर पसल र सेवा बीच मनमनै रुमल्लिए पनि व्यवहारमा चाहिँ निर्धक्कसँग आफ्नो मौलिक र तलमाथि हुनै नसक्ने प्राथमिकतामा चल्न थाल्यो –
(क) प्राथमिक ः पसलले प्रेरणा र पुरस्कार जस्ता गुण वहन गरेर सेवाको सम्भावनाको सृजना गर्दछ । अतः यो पहिलो आवश्यकता र अरु सबै कुराको आधार हो । त्यसमाथि यसले किनबेचको दोहोरो पक्षीयतालाई स्वीकार्दछ । किन्न कसैलाई थोडी दबाब दिएको हो ?
(ख) द्धितीय ः सेवालाई प्राथमिक तर्कले नै बहन गरिसकेको हुनाले यसबारे सोच्नु अनावश्य र अव्यवहारिक छ ।
शेखरको पेशागत मनोविज्ञान अन्ततः रेखीय भइछाड्यो जसरी उसको गृहभूगोल अब सीधा र समथल हुनगएको थियो विराटनगरको फक्रँदो छातिमा ।

 -0-0-0-
समय ठप्पझैँ हुनसक्छ भन्ने अनुभूति कमलप्रसादले जागिरको सुरुवाती दिनहरुमै अप्रत्यासित रुपमा भोग्न पाए । बाहिर सबै थोक तुफानी रफ्तारमा चलायमान हुन लागे, प्रजातन्त्र फेरि तीन दशकको कैदबाट फुत्त फुत्केर घाम ताप्न बाहिर आयो । यो जीवले पुरानो फोक्सोले नयाँ श्वास फेर्ने जमर्को गर्दा घरी सकस हुन्थ्यो, घरी हुक्का पारखीले हुक्कामा पाएको जस्तो आनन्दको उत्कर्ष प्राप्त हुन्थ्यो । कमलप्रसाद समयको यो भङ्घालोको घरी बीचमा घरी किनारमा भएको पाउँथे आफूलाई । धनकुटामा हुलाकमा काम गर्दाका यी दिनहरुमा सबैथोक नौला लाग्दथे तर मनभित्र यो सबैप्रति एउटा असीम संका घर गरिरहन्थ्यो, त्यसको ब्रह्माण्ड विस्तार गरिरहन्थ्यो । राजनैतिक मत र विमतिका खिचातानीमा मथिएर उनले पनि लेनिन पढे, माक्र्स पढे, रुसो, कान्ट र कौटिल्यसम्म भ्याए । जति आफू अल्पभाषी बन्दै गए उति रेडियो र पुस्तकपत्रिकासमेतबाट अनेक आवाजहरुको निम्ति भोक बढाउँदै लगे । तर उनीभित्रको त्यो शंकाले जितिरह्यो, कहिले तुष्टि पाउनसकेन । अन्त्यमा उनी आफ्नो आवाजसहित त्यही शंकाको सर्वविलयकारी सन्नाटामा दमित भए । उनी दैनिकीले बाँच्ने जीव बने । कार्यालय छेउको डेराबाट ९ः४५मा अफिसतिर लाग्थे, १० बजे हाजिरी गर्थे, ४ बजे फकिन्थे । दिनभर चिठीको व्यवस्थापनले व्यस्त बनाउँथ्यो । मध्यान्हमा चियानास्ता गर्दा अरु स्टाफहरुसँग समसामयिक कुराकानी हुन्थ्यो तर जब कुनै गम्भीर वा आवेशमय राजनैतिक वा दार्शनिक अवधारणा पोख्ने दिशामा गफगाफ लाग्थ्यो उनले औसतखाले पट्यार महसुस गर्ने बानीको विकास गरिसकेका थिए । बिराटनगर बस्ताका दिनहरुमा उनले महसुस गर्ने गरेको असुरक्षा र लघुताभाष अहिले महसुस नगर्नाले पनि हुनसक्छ उनलाई अब आफ्नो अस्तित्वको चौघेराहरु, परिमितिहरुभन्दा बाहिरका कस्तै कुराहरुले पनि छुन सक्तैनथे । ती चौघेरा कसरी बनेका छन्, उनको स्वकेन्द्रभन्दा कति वरपर फैलिएका छन्, त्यसबारे चाहिँ उनी सोच्न चाहँदैनथे । बस् ती चौघेराहरु छन् भन्ने अनुभूति उनको लागि काफी थियो । तर यी चौघेराहरुले बाहिरका हुण्डरी धेरै याम नथेग्न सक्थे पनि होलान् र कमलप्रसाद भित्री संवेदनामा छोइएर कुनै दरिलो प्रतिक्रियासहित बाहिर निस्किन्थे पनि होलान्, केवल एउटा व्यक्तिको आगमनले उनको जीवनको यो गतिलाई यथावस्थामा जोगाइरहन ठूलो टेवा पु¥यायो ।
कमलप्रसादले डेरा बसेको घरमा अर्को एउटा व्यक्ति डेरा बस्न आयो । एक दिन कोठामा पस्ने अनुमति माग्दै उसले सोध्यो – “चेस खेल्नुहुन्छ ?” त्यसपछिका हरेक सनिबार उनीहरु सेता–काला वर्गहरुको खेलमैदानमा खुब एकाग्रताकासाथ आफ्ना समशक्तिवान् पल्टनहरु भिडाउन थाले । प्रवेशसँग बढेको कमलप्रसादको यो मित्रता उनीहरुको अर्को साझा लक्ष्य निर्माण गर्न निर्णयकारी बन्यो ः अधिकृत तहमा पुग्ने । लोकसेवा आयोगको परीक्षाको फारम भर्न गएपछि उनीहरु भोकनिन्द्रा बिर्सेर अधिकृत तहको पाठ्यक्रम अनुरुप अध्ययनमा तल्लीन हुन थाले । धनकुटा आएर आर्थिक स्थायीत्वको चैनमा माकुराको जालोमाझैँ स्थिर भइ बसेका कमलप्रसादको मन प्रवेशको महत्वाकांक्षी प्रवृत्तिले संक्रमित भइ प्रतिस्पर्धा गर्ने भावनाले आन्दोलित भयो । चिनजान हुँदाका सुरुवाती हप्ताहरुमा घन्टौँ चेस खेलेर विताउने यो जोडी अब मुस्किल प्रश्नहरु खोज्दै एकअर्कालाई सोध्दै गर्न थाले ।
प्रवेश महोत्तरीतिरको युवा थियो  जसको परिवारमा सरकारी जागिर खानु र त्यसका पदीय खुड्कीलो चढ्नुलाई केवल सामाजिक–आर्थिक उत्थान नभइ कुनै धार्मिक महत्व राख्ने स्वर्णिम सिँढीका पवित्र तह उक्लिनुझैँ हेरिन्थ्यो । दिक्कलाग्दो एकनासे दैनिकीमा लठ्ठिएर जमेको कमलप्रसादको मनस्थितिलाई प्रवेशको उदेकलाग्दो दत्तचित्तताले अत्यन्त स्वागतयोग्य नवीन अध्यायमा पाइला टेकाउन अनयासै उत्प्रेरित गर्न पुग्यो । हुलाकमै महोत्तरीबाट सरुवा भएर आएको प्रवेश र कमलप्रसाद सँगै खानपिन गर्नेदेखि लिएर परीक्षाको तयारी गर्दा पाठसमेत योजनाबद्ध तबरले भाग लगाएर पढ्न थाले । एकदिन कमलप्रसाद इतिहास पढेर प्रश्नहरुसहित तयार हुन्थे भने त्यसदिन प्रवेशको भूगोल पढ्ने पालो हुन्थ्यो । अघिल्लो दिन भूलोल पढेर तयार भएका कमलप्रसाद आज प्रवेशका भूगोलका प्रश्नहरुको प्रहार खप्न तयार हुन्थे अनि प्रवेश उनका ईतिहासका प्रश्नहरुको ।
प्रश्नहरु सकिएपछि छिप्पिँदै गएको रातमा प्रवेशको कोठाको पातलो जुटको झल्ला ओछ्याइएको भुईँमाथि चकटीमा पलेंटी कसेर बसेका यी दुईबीच अलिक व्यक्तिगत कुराकानी चल्नथाले ।
“प्रवेशजी, तपाईँ एक्लो छोरो पर्नु भयो क्यार हैन ?”
प्रवेशले दुब्लो शरीर सोझ्याउँदै उसको मोटो चश्माबाट हेर्दै भन्यो –
“एक्लो छोरो हुँ ! तर एउटी बहिनी छे, आमा हुनुहुन्छ ।”
बाबुको  उल्लेख नपाएर कौतुहलतामा अलिक सावधानी नतौलिइ कमलप्रसादले बाबुको बारेमा सोधेका थिए ।
प्रवेशले सविस्तार धेरै कुरा बतायो, कमलप्रसाद धीर श्रोता भइ सुन्दै गए । प्रवेश जन्मेको बर्षदिन नबित्दै उसका बाबु वेपत्ता भएछन् । कहाँ गए, के भयो कसैले यकिन गर्न सकेन ।  पुनः गर्भवती भएकी भएकी उसकी सोझी आमाले आफन्त, चिनजान सबैलाई गुहारेर उनका श्रीमानको खोजीपत्तो लगाउन हारगुहार गरिन् । पछि एक जना जान्नेबुझ्ने आफन्तले पत्ता लगाउँदै जाँदा प्रवेशका बा भूमिगत राजनीतिमा सक्रिय रहेछन् र  त्यसै आशंकामा एउटा प्रहरी कारवाहीमा मारिएका हुनसक्ने भन्ने भनक पाए । साधारण खेतीकिसानी र घरायसी सरसामानको खुद्रा व्यापार गर्ने आफ्ना श्रीमान्बारे यस्तो जानकारी पारै केही बुझ्नै नसकेर जिल्लिइरहेकी उसकी आमा एकाएक घरमा प्रहरीको एउटा जत्था आएर अनेकखाले  नबुझिने धम्कीहरु दिँदा साह«ै भयभीत हुनपुगिन् । तथापि, श्रीमान्को मृत्युपश्चात् पारिवारिक सम्पत्तिबाट आफन्तहरुको जालझेलले प्रताडित भएर आफ्ना दुई सन्तान कष्टले हुर्काउँदा उनले अलिअलि गर्दै आफ्नो समाजमा सरकारी पद र प्रतिष्ठाको झण्डैझण्डै छुनै नसकिने उचाइबोध गर्न थालिन् । छोरोलाई उच्च पदको हाकिम् बनाउने उनको अभिलाषा उनको विधवा जीवनकै एक मात्र लक्ष्य र रङ्ग बन्नपुग्यो । अहिले आएर प्रवेशले साँच्चै त्यो मातृस्वप्नलाई वहन गर्ने दृढता देखाएको थाहा पाएर कमलप्रसाद भावुक भए । कमलप्रसादलाई उनको साथीको लक्ष्य किटान अघि आफ्नोचाहिँ दिशाबोधविहीन र गहिराइविहीन लाग्यो ।

परीक्षाहरु आए र गए । प्रवेशमाथि असफलताको मार निकै कडासँग पर्न थाल्यो । असफलता उसलाई क्यान्सरलेझैँ खान थाल्यो । ऊ हरदिन हरप्रयत्नलाई संशय र भयसाथ हेर्नथाल्यो । सुरुसुरुमा आफ्नो साथीमा यस्तो चाला देखापर्दा कमलप्रसादले ठट्टामा उडाउन खोजे तर प्रवेशको मानसिकता भयले अत्यन्त संकुचित हुँदै जानथाल्यो । उसलाई खानमा मन भएन र अझ दुब्लाउन थाल्यो । रातभर पढ्नाले दिनभर अनिदो अनुहार र राता आँखा देखाएर हिँड्दा मानिसहरु उसलाई शंकाको दृष्टिले हेर्नथाले । अफिसमा कसैकसैले मजाक उडाएको सुनेर कमलप्रसाद क्रोधत हुन्थे ।
“यो प्रवेश बडो चम्बु छ । आँखा भुङ्ग्रोझैँ होउञ्जेल पिउँदोरै’छ तर साला एक रत्ति गनाउँदैन !”
हुँदाहुँदा प्रवेश सामान्य सरसफाइमा समेत चुक्न थाल्यो । महिनौं ननुहाउने र कसैसँग नबोल्ने गर्न थाल्यो । सल्लाह र सुझाव दिँदादिँदा थाकेपछि कमलप्रसादले प्रवेशको घरको ठेगानामा चिट्ठी पठाए ।

चिट्ठी पठाएको चार दिनपछि साँझमा आफ्नो कोठामा खाना तयार गरिरहेका कमलप्रसादको ढोकामा कसैले ढक्ढक्यायो । छेस्किनी नलगाइ केवल ढप्क्याइएको ढोकाको दैलोमा एउटी युवती उभिएकी थिइ । उसले कमलप्रसादले उसतर्फ हेर्नासाथ मुस्कुराउँदै नमस्कार गरी ।
 “म प्रवेश दादाकी बहिनी कुशुम । यहाँको चिठ्ठी पाएर दाजुको बारेमा थाहा पाएँ ।”
कुशुमलाई भित्र आउन अनुरोध गर्दै स्टोभलाई दम दिन छाडेर उठ्दा कमलप्रसाद सन्ध्याको गाढा रङ्गमा सुरक्षित मान्दै लजाए । आफ्नो साथीको चिन्ताभन्दा पहिलो पटक कुनै युवती आफ्नो उदासीको कुहिरो रुमल्लियरहने कोठामा प्रवेश गरेको घटनालाई ग्रहण गर्न लागिपरेको पाए कमलप्रसादले आफूलाई । झिमिक्कै साँझ परेर स्टोभको हुँकारमय उज्यालोबाहेक कोठा अन्धकारमय भएकोले उनले त्यो युवतीलाई स्पष्ट प्रकासमा हेर्न भनेर मैनबत्ती बाले ।
“प्रवेशजी एकाएक लोकसेवाको परीक्षालाई गर्–कि–मर शैलीले हेर्न थाल्नुभो । अचेल खानपिउन नै छोडेपछि भने मैले चिठ्ठी लेख्नु नै उचित ठानें । ” कमलप्रसादले कुराकानीलाई गम्भीर र त्यसमा आफूलाई सान्दर्भिक बनाउन थाले । कुशुम उनका प्रत्येक हिच्किचाहटमय अल्पविरामयुक्त वाक्यांसहरुको शिलशिलामा एकाग्रता र सम्मानसूचक “हजुर” भन्दै जान्थी ।  प्रवेशका बारेमा उनले भनेका प्रत्येक कुराभन्दा पनि कुशुमले ती सुनेर जनाउने प्रतिक्रिया, उसका भावभङ्गिमा कमलप्रसादका लागि पहिलो चाखको विषयवस्तु बन्न पुगे । कुरा गर्दै जाँदा कमलप्रसादलाई यो कोमल नारिमा अनावश्यक पीरको बोझ नहालिदिने चाहना प्रखर भएर आयो र उनी यथार्थ र तर्कपरक कुरा गर्न भन्दा पनि आत्मविश्वासी र आस्विस्ति दिलाउने खालका कुरा गर्न थाले । उनले सबैथोक बताइरहँदा कुशुम आफू बसेको स्थानमा अद्भूत गाम्भीर्यको आभा प्रवाहित गर्दै कमलप्रसादलाई रहस्यमयी आनन्दको प्रतिज्ञाले आकर्षित गरिरहेको विशिष्ट व्यक्तित्वको प्रतिमूर्ति प्रतीत भइ । आफ्ना एक मात्र दाजुको दुर्दशाले आफूमाथि मिल्काएको हतासा दबाएर संयमित भइ धनकुटा आउनुको लक्ष्य प्राप्तिमा एउटा भरपर्दो सहयोगी जुटाउने प्रयत्नमा रहेकी यो तरुण युवतीलाई के थाहा यस अञ्जान पुरुषको मनभित्र उसको आगमन र बातचितले गराएको हलचल !
कमलप्रसादले प्रवेश र कुशुम दुबैलाई आफ्नै भान्सामा खाना तयार गरे । कुशुमले सहयोग गर्ने इच्छा देखाए पनि उनले सहसा इन्कार गरिदिए । पालैपालो एक–अर्काको भान्सामा खाना खाने गरेका भए तापति पछिल्लो महिनादेखि त्यो क्रम रोकिएको थियो र प्रवेश सधैँ कमलप्रसादको पाककलाको शरणपर्दै आएको थियो । यो सन्ध्या कुशुमको आगमनले कमलप्रसाद आफ्नो पाककलाबारे अतिरिक्त सचेत र संवेदनशील भएका थिए ।

भोलिपल्ट बिहान प्रवेश सबेरै उठेर कुनै पुस्तक च्यापेर कुना परेपछि कुशुमले पुनः कमलप्रसादको ढोकामा विस्तारै ढक्ढक्याइ र उनको ध्याना खिँची । उसलाई दैलोमा अघिल्लो सन्ध्यामाझैँ देखेर कमलप्रसादले भित्र बोलाए । बिहानै जागेदेखिको यस पलको प्रतीक्षा अहिले सोचे अनुरुप पूरा हुँदा उनले महसुस गरेको भित्री उद्धेलन सकभर लुकाउने प्रयत्न गर्दै उनले कुराकानी सुरु गरे ।
“आमालाई निकै चिन्ता भयो होला । मैले चिठ्ठीमा धेरै प्रष्ट्याउन पनि मनासिब ठानिनँ ।”
“उहाँ त चिठ्ठी पाउनेवित्तिकै हिँड्न हतारिनु भा’को थ्यो । तर मैले म जान्छु, सामान्य कुरै होला भनेर थामथुम् पारें । यहाँ दाजुको चाला यस्तो छ ।”
कमलप्रसादलाई थाहा थियो एउटी युवतीलाई एक्लै यति टाढा आउने निर्णय दिन पक्कै उसकी आमालाई कति गाह«ो परेको थियो । मनमनै उनी कुशुमको आत्मविश्वासले प्रभावित भए ।
“आमालाई आ.वा. गरेर ठिकै छ भनिदिनु पर्ने ।”
यसो भनेर कुशुम शिर नत पारी कुर्सीको खुट्टाहरुतिर हेर्न थाली । यति धेरै सहयोग गरिसकेको मान्छेसँग पुनः सहयोग माग्न हिच्किचाएको कुरा कमलप्रसादले बुझ्न लेसमात्र पनि ढिलो गरेनन् ।
“धन्दा नमान्नुहोस्, चिया खाएर म तपाईँसँग दूरसञ्चारको कार्यालय साथी जानेछु ।”
कुशुमले अरु व्यक्तिलेझैँ कम परिचित मान्छेसँग सहयोग माग्ने अनि तत्कालै “तपाईंलाई दुःख दिएँ है” भनेर चासो देखाउने ढोंग गरिन । केवल शिर उठाइ अनि एक पल कमलप्रसादका आँखामा आफ्ना आँखा जुँधाइ । कमलप्रसादले उत्तेजित स्पन्दनबीच ती आँखाको भावमा स्पष्ट देखे, विश्वास र आभार ।
“म चिया तयार गर्छु ” भन्दै ऊ ढोका तानेर फुत्त प्रवेशको कोठातिर लागि ।

 -0-0-0-
कुशुमले आफ्नो दाजुको हेरचाह गर्न आएको हप्तादिन वितिसक्दा पनि प्रवेशमा कुनै सुधार देखिनुको सट्टा उल्टै विपरित गति लिन थाल्यो । कुशुम आए पछि त अझ दिनभर कोठाबाट बाहिरै ननिस्किने, बोल्दै नबोल्ने, उदास र दुखित अनुहार लिएर ओच्छयानमा लम्पसार परिरहन थाल्यो । उसलाई खाना खान पनि अनेकौँ पटक घच्घच्याउनुपथ्र्यो । यसबीच कमलप्रसादले आफ्नो साथीको अवस्थामा सुधार ल्याउन भरसक्य मद्दत गरिरहे । कहिले उनलाई खाना खान मनाउन त कहिले चेस खेल्न बोलाएर उसलाई कोठा बाहिर निस्क्नि उत्प्रेरित गर्न उनी र कुशुम अत्यन्त उत्साहित भएर उसको अगाडी अफिसमा भएका नयाँ गतिविधि, धनकुटा बजारमा चलिरहेको कुनै मेला आदि प्रसंगबारे कुरा गर्थे । तर प्रवेश उदासी र निराशा खोपिएको प्रस्तर मूर्तिझैँ उही चुपचाप रही आफ्नो वरिपरी भारी अन्धकार फैलाएर धुम्धुम्ती बसिरहन्थ्यो । दुई–दुई दिनमा आमालाई आ.वा. गरेर सान्त्वना दिइरहन कुशुमलाई कमलप्रसाद साथी गइरहन्थे । जाँदाआउँदा बाटोमा उनीहरुका बीचमा वित्ने शब्दविहीन पलहरु अनयासै दिनप्रतिदिन न्याना बन्दै गइरहेका थिए । घरीघरी कमलप्रसाद आफ्नो साथीको अवस्थाप्रति दुखित हुनुभन्दा पनि उसको त्यो अवस्थाले उनलाई कुशुमको सान्निध्य जुटाइदिएकोमा आफ्नो भाग्यप्रति कृतज्ञ भइरहेको पाउँथे र यसले उनलाई लज्ज्ति र दोषीझैँ बनाउँथ्यो ।

एक साँझ कार्यालयबाट फर्किरहेको बेला उनले कुशुमलाई बाटामा आफूतिर आइरहेको भेटे ।
“आज प्रवेशजीको विदा दुई महिनासम्मको लागि भनेर मिलाइदिएँ । अहिले कता हिँड्नुभएको ?”
हातमा एउटा कामकाजी झोला बोकेकी कुशुमले भनी,“तल्तिर यसो मासु किन्न जान लागेकी थिएँ । आज दिउँसो दाजुले धेरैबेर कुरा गर्नुभयो । परीक्षाको बारेमा पनि केही भन्नुभएन । मात्र हाम्रो सानाको कुरा गर्नुभो । अनि फेरि थाकेझैँ ओछ्यानमा पल्टिहाल्नुभो । यसो तागत देला भनेर मासु लिन हिँडेकी ।”
कमलप्रसादले यो विवरणमा हर्ष मान्नुपर्ने कारण देखेनन् । कुशुमलाई प्रवेशको त्यस्तो व्यवहारले कस्तो प्रभाव पारेको थियो त्यो पनि खुट्याउन सकेनन् । कुशुम आफैँ अन्योलित लाग्दथी । फ्याट्टै भन्न नसके पनि ती दुबै प्रवेशको निराशा सामान्य रुपले वादल लागेको दिन मात्र नभइ विक्षिप्तताको सदाबहार मौषम बनेको कुरामा पक्कापक्की भइसकेका थिए । कमलप्रसाद अघिल्लो दिनदेखि प्रवेशलाई उपचारको निम्ति लैजाने सोच बनाउन कुशुमलाई भन्न खोज्दै थिए तर कुशुमलाई अनाहकमा अत्याउन नचाहेर तथा कथम्कदाचित् आफ्नो दाजुबारे तल्लो मूल्याङ्कन गरेको ठान्दै ऊ क्षुब्द होली भन्ने डरले त्यसो भन्न सकेका थिएनन् ।
“मासु पसल देख्नु भएको छ त ?” कमलप्रसादले सोधे ।
“तलतिर बाटैमा छ भन्थिन् घरभेटी आमा ।”
“हिँड्नुस् न त म पनि बेकामे नै छु ।”
डेरा फर्किंदा अँध्यारो हुन लागेको थियो । घरपटी आमै आँगनमा छिमेकका प्रौढ महिलाहरुसँग बत्ती कात्दै गाउँको मन्दिरमा लगाइन आँटेको पूजाका तयारीका बारेमा के–के कुरा गर्दै थिइन् । कमलप्रसादलाई पछ्याउँदै कुशुम पनि सिंढीको  खुड्कीलो लसुलुसु चढी र दुबै माथिल्लो तलामा पुगे । उनीहरु दुबै अचेल घरपटी र छिमेकीहरुका खिसिटिउरी र चियोचर्चोका केन्द्रविन्दु बन्न लागेका थिए । त्यसैले अरुले देख्ने गरी उति बोलचाल गर्दैनथे । आमनेसामने ढोका भएका उनीहरुका कोठाहरु भने ती दुबैलाई दुई–कोठे घरको साझा र समान अंगझैँ लाग्नथालेका थिए । प्रवेशले ढोका बन्द गरेर बसेको देखेर कुशुम छक्क परी र ढक्ढक्याउन थाली । निकै बेरसम्म पनि ढोका नखोलेपछि कुशुम विचलित भएर कमलप्रसादको कोठाबाट उसलाई बोलाएर ल्याई । दुबैले धेरै पटक बोलाए पनि प्रवेशले चुईंक्क आवाज निकालेन । गाढा हुँदै गएको सन्ध्याको अन्धकारले उनीहरुलाई भयको बाक्लो कुहिरो बनेर छपक्कै छोप्यो ।
ढोकामा आग्लो लगाएको थिएन। बलियोगरी दुईचार पटक धकेल्नासाथ कमलो छेस्किनी टुट्यो र ढोका कोठाका भित्तामा बज्रेर खुल्यो । अनि विरलै उज्यालो पसको त्यो कोठामा जुन दृश्य उनीहरुले देखे त्यसले उनीहरु दुबैको हंस अपर्झट ह¥यो । मानिसलाई विपत्ति र शोकले छुन लेसमात्र प्रष्ट हुँदा पनि पुग्दोरहेछ । त्यो कोठा जति नै अन्धकारमा डुबेको भए पनि माथि काठको विममा डोरीको सुर्कनोबाट घाँटी अँठिएर झुण्डिएको शरीर प्रवेशकै भएकोमा कुनै शंका थिएन । त्यसै गरी, त्यो नश्वर काया प्राणविहीन भइ चिसिइसकेकोमा कुनै दुविधा थिएन । तल जरामुनि बञ्चरोले छिनालेपछि विस्तारै हावामा खस्तै भुईंमा गड्याम्म लड्न लागेकी, रुखजस्ती कुशुमलाई पाखुराले च्यापेर बाहिर निकाल्दै कमलप्रसाद बार्दलीमा पुगेर फोक्सोभरि भरिएको मृत्युको आहतलाई बिँडीको धुवाँलाईझैँ फ्याँक्न बडबडाए । उनका शब्दहरु आकारविहीन, धुवाँझैँ आँगनभरी, छेउछाउ फैलिएर अलिअलि सबैका फोक्सामा पस्तै, पोल्दै ।

 -0-0-0-
पहिलो सन्तान जन्मिँदा शेखरले जीवनको गतिले अब नयाँ मियो पाएको अनुभूति ग¥यो । कोशी अञ्चल अस्पतालको बेडमा आफ्नी आमा छेउ निदाएकी बच्चीलाई पहिलोपटक देख्ता उसका आँखाबाट हर्षका आँसु बगे । यो जटिल भावनाले उसलाई जबरजस्त हाँकिरहेको थियो र ऊ आत्मनियन्त्रणविहीनझैँ भएर प्रभावित बन्न पुगेको थियो । त्यस दिन पछि उसलाई उसका पाइलासमेत अलि च्याप्टो र जमिनमा बसेका अनुभूत हुनथाले । तर उसको यो आह्लाद यसरी शुद्ध सन्तुष्टिको र निर्धक्क पारिवारिक मंगलको घमाइलो दिनमात्र भइरहन सकेन । सुत्केरी भएको महिनौंसम्म पनि भावनाको मनोदशा उज्यालिएन, शेखरप्रति ऊ धुम्म कुहिरो लागेको हिउँद बनिदिई । छोरीको आगमनले नयाँ जिम्मेवारीहरुमा व्यस्त बनेकी उनीहरुलाई आफूहरु एक–अर्काप्रति चिसिँदै गएको अनुभूति हुँदाहुँदै पनि एक–अर्कासँग यसबारे खुलेर छलफल पनि गर्न सकेनन् ।
झण्डै बर्षदिनसम्म शारीरिक योगबाट बञ्चित रहेपछि कुनै अपर्झट घटनाझैँ एक रात उनीहरुले पुरानो आत्मियताको भाका पक्रिए र प्रेमको यज्ञमा आगो सल्काए । तर यो यज्ञाग्निले अस्पष्टतामा लुकेको जेजति आशा थियो, त्यो सबै समाप्त पारिदियो । उनीहरुको बीचमा न पराल थियो न आगो । बर्षदिनको उष्णताले भिजेका दाउराझैँ आगो बाल्दा धुवाँले दुबै निसास्सिए ।
 
भावना दोस्रो सन्तानले गर्भवती हुँदा शेखर र उसको दाम्पत्य जीवन दैनिक त्राडना बन्ने स्तरमा पुगिसकेको थियो । चर्काचर्की र सहज मिलापका े सम्भावना नै नदेखेर निराश भइरहेको शेखर स्कुलमै धेरै व्यस्त हुन थाल्यो । उसलाई साँझबिहानका क्षणहरुमा छोरीको हेरचाहमा बाहेक अरु सबै कुरामा कुनै गह«ुङ्गो भारले थिचेको अनुभूति हुन्थ्यो । भावनाको मनमा उसप्रति लेसमात्र पनि प्रेम बाँकी रहेको उसलाई आशा थिएन । तर यो भन्दा पनि बढी उसलाई त  आफ्नो हृदयमा समेत निर्विकल्प पीडा खेप्दा बसेको उनीहरुको पिरती गलत समयमा गलत योग साबीत भएको थियो । के त्यो साँच्चै प्रेम थियो ? शेखर अक्सर यो प्रश्नले ग्रसित हुन्थ्यो, “तँ आँसु पुछ्ने हात र ढुकढुकी सुनिदिने कान भइस् । तँ भोकमा भान्साको आस्वासन भइस् ।” अनि फेरि विवेकले तराजुलाई स्थिर बनाउन लगाउँथ्यो— “एउटा दुर्बल फूल सुम्सुम्याएर आफूलाई बलियो ठम्याइस् । आनन्दित भइस् । यसैलाई प्रेम ठान्ने भूल गरिस् । आफ्नै मनलाई सुम्सुम्याइरहिस् ।”
 
दोस्रो सन्तान पनि छोरी नै जन्मिइ । बिवाहित हुँदाका सुरुवाती दिनहरुमा शेखर र भावनाले दुई सन्तान जन्माउने निश्चय गरेका थिए । त्यो निश्चय साकार भइसक्दा विडम्बनावस् उनीहरुका बीचमा यो उपलब्धिको पूरापूरा हर्षमय बोध गर्नलाई ऐक्यता नै बाँकी थिएन। पुनः त्यो नवजात शिशुलाई अस्पतालको सैय्याबाट उठाउँदा शेखर पूरै अन्योलित भएको थियो । तर आफूलाई सम्हाल्दै, कोठै थर्काएर रोइरहेकी बच्चीलाई हत्केलामा अड्याएर उसले मुस्कुराउँदै सोचेथ्यो, “विस्तारै, विस्तारै बादल हट्नेछ । विस्तारै, विस्तारै भवितव्य टर्नेछ । विस्तारै आकाश छ्याङ्ग हुनेछ ।”
 
उसले छोरीको नाम स्नेहा राख्यो हृदयको उत्कट कामनाले भरिएर ः बर्षाकी बहिनी स्नेहा ।
शेखरले अन्ततः घर बनाउने पैसा जोरजाम ग¥यो । उसले चाहेजस्तो गरी उसको दाम्पत्य जीवन सौहार्द र आत्मियताको अग्लो लिकमा कहिल्यै उक्लिन सकेन । उल्टै यही कामकाजी चालामाला उनीहरु अफिसमा काम गर्ने एउटै विभागका कारिन्दाझैँ श्रीमान्श्रीमती भएर बर्षा र स्नेहालाई हुर्काउन थाले ।स्नेहालाई स्कुल हाल्दिनासाथ भावना घरबाहिर सक्रिय हुनथाली । भुटानी शरणार्थीको हितसम्बन्धमा कार्यक्रमहरुमा सहभागी हुने र समूहहरुमा आबद्ध हुनथाली । छोरीहरुको हेरचाहमा शेखर नै बढीभन्दा बढी अभिभावकत्व वहन गर्न थाल्यो । अनौठो लाग्थ्यो उसलाई कि ऊ भावनासँग यसबारे विवाद गर्न भन्दा कृतज्ञता महसुुस गर्न थालेको थियो । छोरीहरुसँग ऊ गाँठो परेको आफूलाई बेरोकटोक खुकाल्न सक्थ्यो । बर्षाले बाबु र  आमाबीचको खालीपनलाई अनुभूत गर्न थालेकी थिई र उसका प्रश्नहरु अलिक सावधानीपूर्ण हुन्थे । एक दिन  करेशामा पानी पटाइरहेको बेला उसले सोधी—
“बाबा, मम्मीले बारीमा पानी पटाउन मिल्दैन है ?”
“किन छोरी ? कसले भन्यो ?”
 अनि एक छिन गम खाएर —“मम्मी त भुटानी अरे नि त !”
 -0-0-0-


सुब्बामा पास हुनु सजिलो कुरा थिएन तर कमलप्रसादलाई सुब्बा नहुनु अझ कठिन प्रतीत भयो र उनका सैयौं दिनहरु त्यही नहुनुको अवज्ञा साकार पार्न हजार तथ्य र तरङ्गहरुको जाग्रत स्वप्न भए । जब पास भएको खबर पाए उनी पुनः अर्को दौडाहामा निस्किए । काठमाण्डौ आएर परीक्षा दिंदा उनले निश्चय गरिसकेका थिए कि उनको त्यो सफलतासँग अर्को डोरी पनि गाँठो पर्नु पर्छ, कुशुमको जिन्दगी उनको जिन्दगीको डोरीमा बाँधिनुपर्छ । धनकुटामा कुशुमको गमन जुनखाले निश्तब्ध आकस्मिकतामा हुनपुग्यो, त्यसको प्रतिध्वनिले कमलप्रसादलाई भित्रैदेखि हल्लाइदियो । महिनौंसम्म उनीहरुका बीच सोधखोज, पत्राचार हुन सकेन । जीवनमा घटेको विनाशको एउटा हुरीले उसलाई स्वात्तै उडाएर लग्यो कमलप्रसादबाट । यो अपर्झटको विछोडले, यो विछोड गराउने हुरीको तोडले कमलप्रसाद सन्न भएका थिए । जसोतसो दाहसंस्कार गराउँदा, प्रहरी सोधपुछलाई टारिसक्दा, त्यो डेरा, त्यो सानो पहाडी सहर बसिसाध्य रहेन ।

काठमाण्डौको डेराबाट महोत्तरी पत्र पठाएपछि उत्तर आउन चार दिन लाग्यो । उनले के लेखेका थिए ? ती अक्षर यी चार दिनमा दश टाउके रावणझैँ अनेक टोनका स्वरको अनुहार लिएर उनका मगजभरी लाखे नाचिरहे । घरीघरी त प्रतीक्षाको खुल्दुली र हुटहुटीले बल्किएर उनी उत्तर आउनुको ढिलाइ उनीप्रतिको दुत्कार भन्ने अर्थ लगाउन पुग्थे र हिनताबोधले थिचिन्थे । घरी चिठ्ठी आउनुको अवधि औसतमा यत्ति नै हो भन्ने निश्चय गरेर धैर्यताको अधीनस्थ हुन्थे । अनेक तर्कनाहरुको पीङमा मच्चिँदामच्चिँदै चिठ्ठी आयो र उनी दौडे काठमाण्डौको चिसो छिँडीको गुप्तबासबाट महोत्तरीको न्यानो फैलावटतर्फ । उत्तर छोटो थियो तर हृदय झलमल्ल बनाउने, अलिक कुटिल, अलिक हसाउने ।
“. . . बिर्सिनुभो भन्ने ठान्दैथिएँ । भेट त के होला र ! . . .”

कुशुमको घरको छेउमा मकैबारी हुर्किएर काँधभन्दा अग्ला भइसकेका थिए । एकापट्टि फराकिलो आलीमा कमलप्रसाद र कुशुम हात समाएर एक–उक पाइला संयुक्त श्वाशप्रश्वाशझैँ चलिरहेका थिए । साँझमा किराहरु कराउने, वस्तुभाउ फर्काउने बेला हुन लागेको थियो । हावामा थोरै उष्ण ताप थियो । कमलप्रसाद आज कुशुमकै घरमा बास बस्तै थिए । कुशुमकी आमाले नै अनुरोध गर्नुभएको थियो । वहाँको भङ्गिमामा कमलप्रसादप्रति कृतज्ञता झल्किन्थ्यो । कमलप्रसाद त्यस्तो भावना कुशुममा देख्न चाहदैनथे । उनलाई सबै कुराको निक्र्यौलमा पुग्नुभन्दा अगाडी कुशुमसँग यसबारे हृदय सफा पार्नु थियो । तर अहिले कुशुमको हात आफ्नो हातमा लिएर हिँडिरहँदा उनी कुरा सुरु गर्न अक्मकाइरहेका थिए । एकाएक कुशुम आलीमा थचक्क बसी र कमलप्रसादलाई पनि बस्न ईशारा गरी ।
“कुशुम, तिमी र मबाट मात्रै . .  .।” कमलप्रसाद पुनः अक्मकाए । कुशुमले उनका तिर अनुहार फर्काइ तर भुईँमा हेरिरही । “हामीबीचबाट मात्रै नयाँ सुरुवात मानौं न है ?” कुशुमले कमलप्रसादको हातलाई जोडले दबाइ । यो दबाबले सबै हिच्किचाहट भगाइदियो । यो दबाबमा समर्पण र बुझाइ दुबै थियो । कमलप्रसाद कुशुमको समीप आए र उसको केशलाई मुसार्दै आफ्नो छातिमा टँसाए । उसको केशरासिलाई चुमे र भने, “ म छिट्टै जन्ती लिएर आउँछु । ” कुशुमले शिर उठाएर कमलप्रसादका अश्रुमय आँखामा आफ्नो अश्रुमय मुहार प्रकाशित गर्दै भनी, “छिट्टै गर्नुहोस् ।” अनि उनलाई गम्लङ्ग अंगालो हालेर निक्कैबेर रोई ।
कमलप्रसाद कुशुमको घरमा ती रात बास बसे । अरु दुई साँझ कुशुम र कमलप्रसादले नवप्रेमीप्रमिकाझैँ अनेक बातचित गरेर बिताए । हप्तादिनमा बिहेको कुरा छिनियो र इलामबाट जन्ती आउने निश्चय भयो । विवाहका परम्परागत रिवाज पूरा गरेर एक हप्तापछि यो युगल जोडी काठमाण्डौ लाग्यो ।

 -0-0-0-
विहान उठेपछि कमलप्रसादले नै सुरुवात गर्दै भने— “शेखर, म तिमीलाई तिमी नै भन्छु है ।” शेखरले पनि ठूलो बोझ हरेको जस्तो गरी खुइय ग¥यो र भन्यो —“हुन्छ यार् ।” उनीहरु वरण्डामा बसेर चिया पिइरहेका थिए । एकैछिनमा पत्रिका ल्याउने केटोले गेटबाहिरबाट पत्रिका हु¥याएर आँगनमा फ्याँक्यो । कमलप्रसाद दौडिए जस्तो गरी तल गएर पत्रिका लिएर आए । त्यसका चार पानामध्ये दुई आफूले पढ्न थाले, दुई शेखरलाई दिए । बर्षौं अगाडी बिराटनगरमा डेरा बस्ता परीक्षाको नोट बाँडेर पढेको सम्झना भयो दुबैलाई । दुबैले खुलेर कुरा गर्न थाले त्यस बेलाका, यो बेलाका, सबै बेलाका, बिना शिलशिला, बिना हतार ।
    (समाप्त)







                                                         

Sunday, September 29, 2013

प्रयोगशालामा प्रेम


यसपल्ट हामी एबनर्मल तरिकाले क्याफे पसेका थियौं । कफीे पिउन एघार बजे कुनैहिसाबले पनि नर्मल थिएन । तर म उसलाई कुराकानीमा अल्झाउन चाहन्थें । छ महिनादेखि ऊ र मबीच गफगाफ ( जसमा इमेल, इन्स्ट्यान्ट मेसेज, टेलिफोन र प्रत्यक्ष भेटघाटबाट हुने कुराकानी, सबै पर्नसक्छन् ) एक किसिमको शीतयुद्धको स्याँठमा परेर ठप्प भएको थियो । अनौठो त के थियो भने यसलाई शीतयुद्ध नै भनेर बिल्ला भिराउन न त ऊ न त मनै राजी देखिन्थ्यौं, किनकी अहिले मैले अपर्झट मित्रपार्कनेर उसलाई भेटेर ‘कतै बसेर कुरा गरौं न’ भन्नासाथ ऊ सहजपूर्वक पछि लागेकी थिई ।

खालीखाली क्याफेमा सहज हुँदै उसले सुरुमै ममाथि टिप्पणी गरिहाली—‘मोटाउनु भएछ ।’ उसले यसो भन्दा उसका ‘इम्पर्सनल ’ आँखाहरुमा म मुस्कुराउन खोजें, तर त्यहाँ उति प्रोत्साहन देखिएन । बरू उसको स्वरुप नियाल्नतिर लागें । अलिक साँवलोपन बढेको छ तराइको घामबाट र निधारको देब्रे कुनातिर पर्ने गरेका विशेष खोपिल्टा अलिक सघन देखिन्छन् । मलाई उसको हालको व्यस्थताबारे सोध्ने इच्छा भयो, यस मानेमा कि कुराकानीलाई रफ्तार दिन आवश्यक थियो । मेरोे नियाल्याइबाट उसलाई असहज नहोस् भन्ने अभिप्राय पनि थिया,े र सोधें—‘अचेल के लेख्तै हुनुहुन्छ ?’

‘इतिहास ।’ उसका आँखीभौं निधारलाई घचेट्दै माथि उठे । उसले हाँसो दवाउने कसरत गरेकी थिई ।

यो उसको सदाबहार र सतही उत्तर हुन्थ्यो—‘इतिहास लेख्तैछु ।’ उसको दर्शन नै थियो कि केवल इतिहास लेख्न सकिन्छ । जति नै भविष्योदर्शी विचार भए पनि त्यसलाई स्वरुप दिने ‘मेटेरियल’ विगतकै हुन्छ भन्ने कुरा उसले जहीँ पनि जमघट हुनासाथ भन्ने गरेकी छे । यस मानेमा सतही उत्तर दिएर उसले लेखकीय ‘एङ्जाइटी’ अथवा  प्रसव भय देखाइरहेकी थिई । ऊ ठ्याक्कै लेखिरहेको कुराबारे वोल्न हिच्किचाइरहेकी थिई किनकी बोल्दा बगिन्छ र संचय गरेर राखेको वैचारिक र भावनात्मक जल सिर्जनाको घडाभन्दा बाहिरै पोखिइसक्छ । अनि मैले नै सोधें प्रसंग मोड्न भनेर —‘के पढ्दै हुनुहुन्छ ?’

पुराना कुरा
अरु प्रसंगहरुको बेलिविस्तार लगाइँदै गइनेछ तर त्यसभन्दा अगाडी हामी कसरी यति ठाडो प्रश्न गराइको तहसम्म मित्रवत् हुनपुगेका थियौं भन्नेमा पृष्ठभूमि खोल्नु पर्ला । लगभग दुई बर्ष अघि काठमाडौंमा चलिरहने अनेक साहित्यिक भेलामध्ये एउटामा उसलाई मैले पहिलो पटक भेटेको थिएँ । त्यहाँ उसले कविता सुनाएकी थिई । र जहीँ पनि पुरुष भीड बढी भएको ठाउँमा हुने गरेजस्तै मञ्चमा चढ्दा र ओर्लदा सिट्ठी र  तालीको चर्को उल्लासबीच ऊ मेरो दृष्टिमा पातली, फुर्तिली र नवीन व्यक्तिको रुपमा दर्ता भएकी थिई । यसरी दर्ता भएकी उसलाई आफू वरपर उत्ताउलिएर कोलाहल गरिरहेको श्रोतादिर्घाबाट अलग्गिएर हतारहतार परिचयको पासोमा पारीहाल्न म दिलोज्यानले लागेको थिएँ । संयोगले एउटा गजलकार साथीले उसलाई त्यहाँ ल्याएको रहेछ, उसैमार्फत् परिचय गरें। परिचय के गरें र, उनिने अवसर हत्याएँ भुवादार स्मृतिको जगल्टोमा । फेरि मेरो परिचय उही साथीले नै गराइदिई हाल्यो पनि —‘शिवजीको पहिलो कथासंग्रह दुई महिना अघि प्रकाशित भएको थियो ।’ अनि कृतिको नाम बताइसक्दा उसले मिडीयामा सुनेको तर पढ्न नभ्याइसकेको भन्दै मेरो फ्लप भएको साहित्यिक डे्व्यूलाई मन राखिदिनलाई नै भनेर सम्भवतः  इज्जत दिएकी थिई, जस्तो कि अपरिचितहरूले विना लोभलालच दिने गर्दछन् प्रथम भेटमा । त्यसपछि भने हाम्रो भेटघाट बढ्दै गयो । काठमाडौं खासै ठूलो नगर पनि त होइन । गजलका मण्डली र तिनमा रन्किने, झन्किने र गुञ्जिने गेयात्मक तरङ्गका सेरोफेरोमा भातृत्वको खोजीमा आएका हामी एकै स्थानमा टुप्लुकिइरहन्थ्यौं ।
साँझ र सनिबारहरू साहित्यिक गमघटको निम्ति अनुकूल रहन्थे । म स्कुले शिक्षक भएकोले दिनको समय उसै पनि अटेसमटेस रहन्थ्यो । ऊ भने कीर्तिपुर बस्थी, सहरको सघनताभन्दा टाढा, अंग्रेजीमा डिग्री गर्न । उसको झोलामा कुनै न कुनै अंग्रेजी क्यलासिक सधै रहन्थ्यो । ऊ नेपाली साहित्य प्रशस्तै पढ्थी र कुनै वादविवाद उठे त्यसमा होमिइहाल्थी । एकपटक अनामनगरको गजलमण्डलीबाट निस्किएपछि चिया पसलमा देवकोटासम्बन्धी गफ सुरु हुँदा उसले गरेको तर्क स्मरणीय छ । त्यसबेला ऊ काफ्का पढ्दै रहिछ । साथीहरुले मुनामदनबारे अनेक टिकाटिप्पणी गर्दा निकै बेरदेखि चुपचाप रहेकी उसले एक्कासी आफ्नो ब्यागबाट ‘मेटामोर्फोसिस’ निकाली र त्यसमा रहेको भूमिकाका केही हरप पढी, अनि भन्न थाली—‘मर्ने बेलामा काफ्काले आफ्ना नजिकका मित्रलाई सम्पूर्ण अप्रकाशित कृतिहरू नष्ट गरिदिने बाचा गराएका थिए । तर उनका ती मित्रले त्यो बाचा कायम राख्न सकेनन्  र तीन असमाप्त उपन्यासहरु उनको मृत्योपरान्त प्रकाशित भए । यसमा साथीहरुले, देवकोटाले जीवनको अन्त्यतिर प्रस्तुत गरेको अभिव्यक्तिसँग तुलना गरेर हेर्नसक्नुहुन्छ । उनले मुनामदनबाहेक सबै कृति डढाइदिए हुन्छ भन्दा मानिसको आफ्नो जीवनमाथिको  नियन्त्रणको चाहना देखिन्छ ।’

ऊ एकछिन रोकिइ र निधारलाई गाँठो पार्दै आफ्नो धारा प्रवाहलाई जारी राखी—‘मुनामदन उनकै जीवनकालमा अत्यन्तै जनप्रिय र उत्कृष्ट कृति मानिसकिएको थियो । अरु काव्यकृति बढी वौद्धिक र क्लिस्ट थिए । तिनको भावी पुस्ताले के मूल्यांकन गर्ला, उनलाई सम्भवतः चिन्ता थियो । जीवनभर नास्तिक रहेका उनी, पछि मृत्योपरान्तको अज्ञात्को भयबाट ग्रस्त भए, लेखे–‘आखिर श्रीकृष्ण रहेछ एक . . .’ उनी एकखाले निश्चितता चाहन्थे जसबाट आफ्नो कृतित्वबारे स्वयंमा स्पष्ट हुनसकून्, कि तिनबाट उनको जीवनको एकखाले अर्थ लागोस् । तर त्यो सुविधा त कसैलाई पनि कहीँबाट प्राप्य छैन । काफ्काको स्थिति अझ नाजुक थियो । जीवनकालमा उनको साहित्यिक व्यक्तित्वले उतिसारो उचाइ पाइसकेको थिएन । मृत्यु नजिकिँदै जाँदा उनका धेरै कृति प्रकाशित हुन, समाप्त हुन, बाँकी नै थिए । त्यसैले तिनबारे केकस्तो प्रतिक्रिया रहला  भन्ने उनले थाहा पाउन सक्ने थिएनन् । यो असक्षमता उनको क्षयरोगले ग्रस्त मानसिकतामा ठूलो भार थियो । उनले बरु आफ्नो भौतिक जीवनभन्दा लामो आयू बाँच्ने सम्भावना भएका सिर्जनालाई नै नष्ट गर्ने सम्मको कठोर निर्णय लिन पुगे । अज्ञात्लाई उनले आफूभन्दा माथि पर्न दिन चाहेनन् । ’

मैले सोधेथें—‘तर त्यस्ताखाले अभिव्यक्तिहरुको त उल्टो आशय पो हुन्छ होला त ! नष्ट गराउने बाचा गराएर काफ्काले आफ्ना पुस्तकहरु प्रकाशित हुने ग्यारेण्टी गराउन पुगे । देवकोटाले मुनामदनको उचाइ बढाउन पुगे, होइन र ?’ केही साथीहरु मानौं सहमतिमा मुस्कुराएथे ।

तर उसले तुरुन्तै फर्काइहाली—‘ ती त ऐतिहासिक विडम्बना हुन् । उनीहरुको मृत्योपरान्त उनीहरुका अभिव्यक्तिको के असर प¥यो भन्ने भन्दा पनि तात्कालिन सन्दर्भ र सत्यलाई हामीले हेर्नुपर्ने हुन्छ । काफ्का क्षयले जीर्ण थिए, देवकोटा क्यान्सरले । जीवनको अन्त्य निश्चितप्राय भइसक्दाका अभिव्यक्ति हुन् ती ।’


ऊ एकाध गजल र कविता लेख्नेवाहेक के गर्छे भन्ने मलाई थाहा थिएन । मैलेजस्तो केही संकलन गरेर छपाइहाल्ने हतारो पनि गरिरहेकी थिइन । म आफैं पुस्तक छपाउनाले ऋणमा डुबेको थिएँ । कितावका प्रति सित्तैमा धेरै बाँडिएको .अवस्था थियो । किन्नलाई म न त राजधानीको ‘साहित्यिक समुदायमा’ नवीन फेनोमेनन मानिएको थिएं न त दिग्गजहरुबाट मीडियामा प्राप्त हुने प्रसंसा र सुभकामनाका शब्दले मेरो ईमेजमा हावा भरिएको थियो । यस अर्थमा मेरो साहित्यिक कद मेरो भौतिक कदभन्दा फरक थिएन । एकसरो पातलो ज्यानमा उतिसारो व्यायामको नियमितता नहुँदा पुटुक्क भुँडी लाग्न थालेको । यस्तोमा साथीभाइ जिस्क्याउँछन्—‘तीन महिनाको गर्भ त बसेछ गाट्ठे !’ तब गजक्क परेर उत्तर दिइन्छ—‘चोरेर, ठगेर खा’को होइन, परिश्रमले कमाएर खाइ ला’को भुँडी हो । किन एक्र्ससाइज गरेर फ्याँक्नू ?’




—‘के पढ्दै हुनुहुन्छ ?’
उसले केही उत्तर दिइन बरु सीधा अनुहारमा हेरी । लाग्दथ्यो यतिञ्जेल ऊ अन्तै कतै थिई, अव ठीक मेरो सामू नै छे र भन्दैछे —‘ए शिव, तँलाई साँच्चै यस्तै प्रश्न गरिरहन मन छ ?’ मैले आँखा निहुराएर टेबुलको बीचतिर बसेको कप उठाउन हात अघि बढाएँ । मानौं म मूर्खझैं शव्दहीन शब्दहरुमा भनिरहेको छु—‘ किन, यो प्रश्न ठीक छैन र? यसरी सोध्न मिल्दैन र ?’ उसले मेरो हातलाई हलुका स्पर्श गरी । यसबीच हामीहरुले एकै शब्द बोलेनौं, तर भन्न सकिन्थ्यो हामीबीच संवेदनाका सागरहरु उर्लिरहे । कफी सिध्याएर रु १०० को एउटा हरियो नोट टक्रयाउनासाथ मैले उसको हात समाएँ र आफ्नो डेरातर्फ डोहो¥याएँ ।

झ्यालहरु, गन्धहरु
म बस्ने कोठाको अनुहार बाटोबाट यस्तो भित्तोको रुपमा देखिन्छ जसका स्वयम्भूकाझैं दुई आँखारुपी झ्यालहरु छन् । भित्ताको रंग निलो वा हरियो दुवै भन्न मिल्ने खालको छ । अरुबेला फुर्सदिला वा सून्य सोचका क्षणहरुमा म यी झ्यालमध्ये कुनै एकको पल्लाबाट घरको गेटसम्म ल्याइपु¥याउने छाप्रेढुंगा ओछ्याइएको गल्लीमा हिँड्ने मानिसहरु, तिनका वरिपरी सल्वलाइरहने, पुच्छर हल्लाइरहन,े कुकुरहरु नियाल्ने गर्थेँ । छेउछाउका अरु घरहरुका गेटमा मानिसहरु पसेको हेर्नु र तिनका बन्द कोठाहरुभित्रका रमिताबारे कल्पना  गर्नु मेरो ‘अमेचर’ शौख थियो । यस्तो विलासिताको भोगचलन गर्दा मेरो पछाडी घरीघरी चुलोमा बसाएको कुकरको सिट्ठि बज्थ्यो, दुध ताप्केको डिल कटेर उम्लिइजान्थ्यो अथवा खाना पकाउँदा पकाउँदै नुन सकिएको भन्दै पल्लो कोठाकी दिदी एकदुई चिम्टी नुन सापट माग्न आइपुग्थिन् । म बेहोसीबाट झस्किन, र झ्यालछेऊ सटिएको खाटबाट र कल्पनाभूमिको उचाइबाट एकैसाथ, तल ओर्लिन बाध्य हुन्थें । आज उसलाई हातैले डोहो¥याएर विस्तारै गेट खोल्दै घरभित्र पस्तै गर्दा मलाइर्, विहानविहानै छिमेकका घरहरूबाट घरमालिकहरुले आफ्ना पालुवा पहेरेदारहरुलाई नरम छालाको डोरी समाइ लघुसंका वा सके मलत्यागकै निम्ति कतै चौरतिर लगरिहेको दृश्यको सम्झना आयो । किन ? म भन्न सक्तिन, न त जान्न नै चाहन्छु ।

जति बेला म ढोकाको ताल्चा खोल्दै थिएँ मेरो मोबाइल बज्यो र फोन रिसिभ गर्न खोज्दा चिप्लेर हातबाट झ¥यो । म हतास भएको हुनुपर्छ, मेरा हात कापिँरहेका थिए होलान् । धड्कन तेज थियो होला । र यो सब सतहमा नदेखियोस् भनेर म बेजोड प्रयत्न गरिरहेको थिएँ होला । फलस्वरुप जस्तो कि भूकम्पमा हुन्छ, त्यस्तै भइरहेथ्यो । हलचल तलतल गहिराइमा थियो, कम्पन झन्झन् सतहमा बढेको थियो ।
कोठाभित्र पस्ता दुईथरी गन्धहरु एक्कासी अनुभूत भए । एउटा उसको शरीरको पफर््यूमको, अर्को भान्सा र वेडरुम एउटै भएको पुरुष डेरावालको बन्द कोठा खोल्दा आउने तिख्खर ‘फ्यूम’ को । भन्नाले जस्तो कि बैज्ञानिकहरुको रसायनहरु उम्लिरहेको प्रयोगशाला हुन्छ, अलिकति त्यस किसिमको प्रतीत भइरहेथ्यो मेरो कोठा एकाएक आज । मैले कोठामा उसलाई कहाँ बस्ने भन्ने निर्देशित पनि नगरीकन हतारिएर झ्यालका पल्लाहरु  उघारें । लाग्थ्यो आज यी चार दिवालले बनेको यो घनलाई सघन दृष्टिले यी झ्यालहरु मेरै विगतका आँखा बनेर हेरिरहेका छन्, प्रयोगशालामा मञ्चित भइरहेको प्रयोगझैं ।

बेडबाहेक कोठामा बस्नलाई कम्प्यूटर टेवलको कुर्सी थियो । घुम्ने कुर्सीमा एक फन्का मारेर, खाटमा बसेको मलाई एक पटक सामना गरी उसले । अनि काखको ब्याग खोलेर पर्सबाट रु ५० को न निलो न हरियो नोट निकाली । त्यसलाई टेवलको छेउमा राखिदिई । उसका दायाँ र वायाँपट्टि उभिएका किताबका ¥याकहरुबाट एउटाएउटा किताब निकाल्दै हेर्न थाली । एउटा पुस्तक हेरेर ¥याकमा पुनसर््थापित गरेपछि ऊ कुर्सीमा एक फन्को घुम्थी । यसरी उसले सात पटक घुमेकी हुनुपर्छ, म त्यति एकाग्र भएर नियालीरहेको थिएँ । यो सबै ऊ यसरी आफैंमा हराएर गरिरहेकी थिई मानौं सानी केटीले गुडियाको खेल खेलिरहेकी होस्, विल्कुल संसारदेखि हराएर । यसबीच उसलाई अनेकथरी किताबका पानामा मनमोजी तवरले घोत्लिएको हेरिरहँदा म शब्दहीन, कुनै ईशारा, संकेत, आह्वान, केही गर्न असक्षम र जडवत् बनेको थिएँ । दुईटा कुरा मनमा खेलिरहेका थिए —एउटा, अघि क्याफेबाट मैले उसलाई डोहो¥याएको थिइनँ, वरु त्यसो गर्ने उसको अमूक आदेशको पालना गरिरहेको रहेछु ;अर्को, मैले उसलाई नसोधी कफीको दुई कपको रु १०० तिरेको थिएँ जसमा उसको हिस्सा उसले यहाँ आएर व्यहोर्दै थिई । तेस्रो पनि कुरा मनमा खेलेको थियो तर त्यो अमूर्त थियो—अव के गर्ने भन्ने प्रश्न को अन्योल ।

अन्योल
सामाजिक विज्ञानका धेरै अध्ययनका मोडेलहरुमा तत्व वा ‘भेरिएबल’हरूबीचको सम्बन्धलाई गणितीय समीकरणमा राखेर हेर्ने चलन हुन्छ । एकपटकमा एउटा तत्व वा भरिएबललाई चलाएर अरु सबैलाई स्थीर राखी त्यसको व्यवहारको अध्ययन गरिन्छ । यस पटक यो स्थीर राखिएको चर वा भेरिएबल म थिएँ, र स्वचालितझैँ ऊ थिई सक्रिय । तर सामाजिक विज्ञानका मोडेलमा ‘तत्वको सक्रियता नियाल्ने’ भन्ने पूर्वनिश्चितता हुन्छ । हाम्रो सवालमा भने म विल्कुल योजनाविहीन र उसको निर्देशको पर्खाइमा रहेझैं थिएँ । उसले यो संकेत कतिवेला दिन्छे भन्ने थाहा नहुनु नै मेरो हकमा अन्योल थियो ।

भन्नलाई म परीकथाको त्यो परी भएको थिएँ जो राजकुमारको स्पर्शबाट अनन्त स्वप्नबाट जाग्नलाई प्रतीक्षारत हुन्छे । उसले हातमा  केहीबेरदेखि लिएको पुस्तकबाट आँखा हटाइ, पढिरहेको पानामा औंला राखेर चुरोट चेपेझैँ पुस्तकलाई चेपी, अनि टेबुलमा अघि राखेको रु ५० को नोट त्यहाँ बुकमार्कर बनाएर राखिदिई । अनि त्यसपछिका केही सेकेन्ड कसरी बिते भन्ने मलाई पत्तो रहेन, पत्तो हुन लाग्दा ऊ मेरो काखमा थचक्क बसेकी थिई जसरी बसमा यात्रुहरुका काखमा सिट नपाउँदा केटाकेटी बस्छन् ।

मानौं परीकथाको त्यो परीलाईझैँ भएको होस्, म संवेगहरुको भर्भराउँदो फोहोरा अनुभूत गर्न थालें । उसले मेरा दुबै हात आफ्नो नितम्बमा ल्याएर आफ्नो वरिपरी वाहुपास बनाइ । विस्तारै मेरा औंलालाई आफ्नो वक्षस्थलमा स्पर्श गराउन लागी । यो कतिञ्जेल जारी रह्यो म भन्न सक्तिनँ ।
एक्कासी ऊ मेरो शरीरबाट अलग्गिइ र उभिएर मलाई सामना गरी । उसका आँखा आवेगले ग्रस्त र मेरो ऐनाझैँ थिए । अनि मानौं हामी दुबैलाई आजसम्म कुनै ठूलो अन्याय हुँदै आएको होस्, मानौं यसो नगरेसम्म हाम्रो सुद्धीबुद्धिको अव कुनै ठेगान रहनेछैन, त्यसरी उसले चुम्बन गर्न लागी, त्यसरी हामीले चुम्बन र ‘फोरप्ले’ सुरु ग¥यौं ।
उत्कर्षको बेला हामी दुवैका आँखामा आँसु थिए । एकैसाथ हृदयमा हलुंगोपन र गह्रुङ्गोपन थियो । हलुंगोपन विगतको दृष्टिकोणबाट महसुस हुन्थ्यो, गह्रुङ्गोपन आगतको बाक्लो अनिश्चितताको कुहिरेमण्डलबाट आइरहेको थियो ।
उसले लुगा लगाइ र केही नभनीकन झ्याल छेउ गएर वाहिर हेर्न लागी । यसपटक ऊ जाँदा मैले झ्यालबाहिर हेरिनँ, लाग्थ्यो झ्यालका आँखा अझै भित्रै फर्किएका थिए ।

एक महिनापछि
ऊ मेरो कोठामा आएर त्यो समर्पण सम्भव भएको लगभग एक महिनापछि एक चर्चित साहित्यिक पत्रिकामा उसको एउटा कथा छापियो । उसको तस्वीर अलि भिन्न थियो । कपाल छोटो थियो । कथाको अन्तिममा लेखकको ठेगाना लेख्ने चलन हुन्छ, जसानुसार लेखिएको थियो ‘हाल काठमाण्डौमा ।’

जब कथा पढ्न थालें म पुरै झस्किएं । कथा सीधै आत्मवृत्तान्तात्मक शैलीमा कसैलाई सम्बोधन गरेर लेखिएको प्रेम पत्रको स्वरुपमा थियो । जुन घटना र निजात्मक भावनाहरु क्थामा वर्णन गरिएका थिए त्यसबाट स्पष्ट हुन्थ्यो ती मतिर निर्देश गरिएका थिए ।

‘. . . त्यस दिन हामीले अचानक बाटोमा भेट्नु एउटा संयोग थियो होला तर म क्याफे पस्ने निर्णय गरेदेखि नै यस अवसरलाई नियोजित किसिमले मोडिरहेकी थिएँ । हामीबीचको सन्नाटामा पेण्डुलम बनेको सम्बन्धलाई क्रियात्मक क्याइम्याक्स, निकास, अथवा, जेसुकै भनौं, निष्कर्षमा पु¥याउन चाहन्थें ं . . धेरै औपचारिक शिक्षा प्राप्त गरिएको छ, सामाजिक–साँस्किृतिक श्वासप्रश्वास गरिएको छ, यसबीच एउटा वास्तविक परीक्षण गर्न चाहन्थें . . .’ अनि सीधा सम्बोधन सुरु हुन्थ्यो—‘ . . .तिम्रो कोठामा पसेपछि मैले बुझें कि प्रेम गम्भीर जिम्मेवारी हुन्छ जसमा आफ्नो विवेक विल्कुल निर्वाध चल्न सक्नुपर्छ, स्वतन्त्र बन्न सक्नुपर्छ आफू . . . अनि लाग्यो एउटा खेलझैं खेल्नुपर्छ, किनकी गम्भीरताले धेरै कुराको माग गर्दछ जुन आवश्यक हुन्नथे . . . त्यो एउटा छुट्टा घटनाबाट, जसमा मैले पचासको नोट किताबमा घुसारें, म प्रत्येक चाललाई अनुमान र आँकलनभन्दा पर लैजान चाहन्थें जुन असाध्यै कठिन थियो, यति भन्न सक्छु त्यो पूर्वविचारित थिएन, सत्ते स्वतस्फूर्त त्यस्तो गरेकी थिएँ मैले कि मानौं म कन्भिन्स्ड थिएँ कसैगरी कि त्यो क्षणमा मैले त्यसो नगर्दा अर्को पल जसरी वित्नगो त्यसरी वित्ने थिएन, अनि अर्को पल, अनि अर्को पल, अनि अर्को पल त्यसरी वित्ने थिएनन् . . . र घटनाहरुको सिलसिला जसरी अघि बढ्यो, त्यसरी अघि बढ्ने पनि थिएन . .’  त्यो कथा थियो र त्यसकारण, एकैसाथ, कसैप्रति सम्बोधित भएको त्यति नठानिन सक्थ्यो, जति ठानिन सक्थ्यो । यी समानान्तर सत्यहरुबीच म कथाको हरफहरुबाट आफ्नो धारणा तयार गर्दै स्वचालित मनोगतिमा पढिरहेको थिएँ । ‘ . . . हो, हामीबीच पहिले अनेक पटक कटाक्षमय कुराकानी भएका हुन् जसमा हामी दुवै स्पष्टताबाट भाग्नुलाई रोमाञ्चकारी मानिरहेका हुन्थ्यौं, जुन हामीले बुझ्दै पनि गएका थियौ कि विल्कुलै वेतुकको कुरा थियो, किनकी छोटो चोलामा आत्मियताका कतिपय कुराहरुमा क्षणिक नै भए पनि स्पष्टताका गोरेटा आवश्यक पर्दा रहेछन् . . . म आफ्नै प्रयोगले आधा परीक्षित भएँ, अब आधा तिम्रो मौनताको ढोकाबाट प्रस्फुटन हुने पहिलो ध्वनिले बताउनेछ . . . म मेरो झ्यालको पर्दा पन्साएर गल्लीतर्फ हरिरहेकी छु र सोच्दैछुँ तिमीकहाँ यी शब्दहरु प्रतीक्षाको सन्देश बोकेर मूर्त हुनेछन् ।’ मलाई लाग्यो, निमेषभर, कि कोही साँच्चै ढोका अगाडी उभिइरहेको छ । हाँस उठ्दो पूरा ।

‘बुकमार्कर’को कुटिल खेल
कथाको अन्त्य पढिसक्दा बारम्बार मेरो मगज बुकमार्करको घटनामा आएर अल्झिरहेथ्यो । त्यो कितावतर्फ यत्तिका दिन मेरो ध्यान गएकै रहेनछ । ¥याकबाट टिपेर हेर्दा देखें उसले घुम्ने कुर्सीमा बसी अन्तिम फन्को लगाइ पाना पल्टाएको पुस्तक ध्रुवचन्द्र गौतमको कथासंग्रह रहेछ । त्यहाँ उसले जहाँ रु ५० को नोट घुसारिदिएकी थिई, कथा ‘आगन्तुक १, आगन्तुक २’ पर्दथ्यो । त्यो कथा दुई साथी आफ्नो युवाकालको तेस्रो साथीलाई भेट्न गइरहेका हुन्छन् धेरैे बर्षपछि । त्यो तेस्रो साथी सम्पन्न र प्रतिष्ठित भइसकेको हुन्छ जब कि यी दुई खासै गति पर्न सकेका हुँदैनन् । मैले घत लागेका केही लाइन रेखाङ्कन गरेको थिएँ पेन्सिलले, त्यहाँ त्यो पचासको नोट चेपिएको थियो । ती हरफ यसप्रकार थिए—‘ हामी दुईजना र यो शिवे एक अर्कालाई हेर्न थाल्यौं । बूढो देखिन थालेछौं । उसको फेरि त्यस्तो देखिएन । १०–५ बर्ष अझै थरीथरीका जलपरी, धान्लाजस्तो छ । मान्छे उमेरले मात्र बूढो हुन्छ भन्ने कुरालाई उसले गलत सावित गरिदिएको थियो । हामीलाई प्रसन्नता पनि भयो, हाम्रो एक आत्मीय मित्र अझै युवा देखिन्छ । हामीभन्दा २÷३ बर्ष जेठै थियो। हामी भने यति झुरझार भइसक्यौ कि ठिटीहरु कतै सिट नपाए काखमा बस्न पनि निर्लिप्त भएर स्वीकार गरुन् । पछि हामीलाई बदमास भनेर काख छाडेर भाग्थे यसमा सन्देह थिएन। कारण, तिनीहरु जुन निर्लिप्तताका साथ वस्ता हुन्, त्यो त हामीसँगै पक्कै हुँदैन थियो अनि त्यसपछि . . . भैगो यसलाई नलम्ब्याऊँ ।’

गौतमको यो ह्यूमर अनुच्छेदप्रति नाक खुम्च्याउँदै ‘ऊ’ अर्थात् शर्मिलाले एक पटक मैले नेपालमा महिला आख्यानकारहरुले ‘हाँस्य’को प्रचुर उपयोग गर्न नसकेको, वरु बढी उत्पीडनकेन्द्रित न्यारेसनमा नै अधिक निर्भरता देखाएको भनी टिप्पणी गर्दा भनेकी थिई—‘यी यसरी हाँस्य समेत पुरुष कब्जामा छ, पुरुषले हाँस्ने गरी स्थापित गरिएको छ , महिला जहीँ पनि हाँसिन्छे मात्र ।’ एक महिना अघि मेरो कोठामा उसले घुम्ने मेचमा बसेर पढेको यो अनुच्छेद मानौं हामीबीचको दूरीलाई काउँकुती लगाइलगाइ हँसाइरहेको थियो, तदनुरुपले म वेचैन भएँ ।

अर्को मञ्चन

अनि मैले उसलाई फोन गरें जसपश्चात् म हिडें उसले वताएको ठेगानातर्फ । मैले पढेका कतिपय हाँसउठ्दा साहित्यिक प्रसंगहरु मनमा तछाँडमछाँड गरिरहेथे अव शिघ्र मञ्चन हुने आशामा ।

Wednesday, August 21, 2013

चाकाचुली



भृकुटी मण्डपभित्रको लत्ताकपडा लगायतका सामग्रीहरु बेच्ने खुद्रा पसलहरुको लामो सुरुङमार्गमा हिंड्नु मेरो निम्ति रमाइलो र सुविधा दुवै हुने गरेको छ । त्रिपालहरुको लामो छानामुनि हिँडिरहँदा त्यहाँ न जाडोको सिरेटो चल्छ न घामको तिरिमिरी आँखामा टट्टिन्छ । न बर्षात्ले निथ्रुक्क भिजाउने हिम्मत गर्नसक्छ, न बाहिरको सडककोजस्तो होहल्ला र धुवाँधुलो खप्नुपर्छ । त्यसैले लाइब्रेरीबाट फर्कदा खचाखच नेपाल यातायात चढ्नलाई बस स्ट्याण्डतिर जाँदा म प्रदर्शनी मार्गमा यही पसलैपसलको सुरुङबाट निस्किने गर्छु ।

पसलेहरुलाई चाहिँ मैले त्यहाँ हिँड्नुले कुनै काइदा पर्दैन । थोरै मात्र पनि शिर छेउपट्टि फर्कियो भने घडीहरु शिशाको फ्रेममा सजाएर राखेकी अधबैसे महिलाले भनिहाल्छिन्—‘घडी हेर्ने हो दाइ ?’ धत् ! मैले त धुलोबाट बच्न लगाएको मास्क अझै खोलेको रहेनछु । उनलाई मेरो उमेरको अड्कल लगाउन मुस्किल परेकोले ‘दाई’ भनिन् । मास्क फुकालेर गोजीमा हालिसक्दा म दुबैपट्टि करीब दश–दशवटा पसल छाडेर अगाडी आइसकेको हुन्छु । त्यहाँ पेटीको पसल रुँगेर एउटा ठिटो मुडामा बसेको छ । उसले केही भन्न खोज्दै थियो, मचाहिँ सुरुसुरु हिंडिरहेँ । तर मोजा, रुमाल, आदि बेच्न बसेकी पसल्नीले भनिन्—‘मोजा हेरौं भाइ ।’

यो पसलेहरुको ‘एरिया’ भएकोले म सम्भावित क्रेताको परिचय बोकेर भित्रबाहिर गरेको हुन्छु । म उनीहरुको बोलावट ,‘सामान हेरौं है’ भन्ने सानो स्वरमा अभिव्यक्त विनीत आह्वान सजिलैसँग वेवास्ता गर्दै अघि बढ्न सक्छु । खैर, त्यहाँ थोरै भए पनि शक्तिशाली प्रतीत हुन्छु । तर यो साँच्चै यति विस्तारमा सोच्न लायकको शक्ति हो त ? कसैगरी उनीहरुमध्ये एउटाको स्वरले वा वेच्नलाई सजाएर राखेका सामानले वा मेरै आवश्यकताले मलाई एउटा पसलको अगाडी ठक्क रोकाएको भए के हुन्थ्यो ? धेरैलाई थाहा छ (‘सबै’ नभनिहालौं किनकी पैसा प्रसस्त हुनेहरु वा भएजस्तो अभिनय गर्न रुचाउने कतिपयचाहिँ अलि महंगा र ‘एक्जोटिक’ सामान किन्न ठूला मलतिर दौडिइहाल्ने पनि त गर्दछन् !) यी पसलहरुमा भरमार ‘बार्गेनिङ’ चल्छ । बार्गेनिङ गर्न खप्पीस एकजना महिला नातेदार भन्थिन् रु १८०० पर्ने भनेको माल उनले पाँच मिनेटभित्रै अढाइसयमा किनेर देखाइदिइन् । उनीसँग साथै रहेका संगीहरु तीनछक्क परे अरे । त्यस्तो छ भृकुटीमण्डपको किंवदन्तीय छवि बार्गेनिङको सेरोफेरोमा ! तर खाली दिमाग न हो, यो कल्पनाको माध्यमबाट आफू अनुपस्थित घटनाको चपरीमा गड्यौलालेझैँ चिप्लिइ पस्न खोज्छ । ती बजारिय क्रेयदक्षतामा अब्बल मेरी दिदी पर्ने नातेदारले कस्तो अदव र सन्तुलित आत्मविश्वासयुक्त व्यक्तित्व प्रस्तुत गर्दै आफूलाई सो बार्गेनिङको मैदानमा उतारिन् होला ?

उनले सीधै रु १८०० भनेको सामानलाई ‘दुईसयमा दिने ?’ भनी सोधिन् होला ?

दिदीले त्यसो भनेको सम्भावना धेरै छ किनकी उनले त्यति नभनी अढाइसयमा त्यो सामान किन्ने कतै सम्भव देखिंदैन । तर उनले त्यसरी सोध्नासाथ त्यो पसलेको अनुहारमा कस्तो परिवर्तन आयो ? उसले कस्तो प्रतिक्रिया देखायो ? के भन्यो ? उसले साँच्चै रिसाएर ‘कुरै नगर्नोस् !’ भन्न सक्ने सम्भावना म देख्तिनँ । किनकी उसले अन्ततः सामान बेचेरै छोड्यो, त्यो पनि सुरुमा उसले बताएको भन्दा असाध्यै कम मोलमा ।

यो बार्गेनिङको एउटा घटना सुनाउनलाई एउटा औसत रित्तो गफभन्दा बाहेक अरु केही नलाग्न सक्छ । हो पनि ! एकजना बोलीमा खप्पीस क्रेताले विक्रेतालाई ‘सामान किन्दिनँ है’ भनी धम्क्याउनुदेखि ‘हामी सधैँ आइरहने ग्राहकलाई त हलुङ्गो हुनुप¥यो नि !’ भन्नेसम्मका विनयजन्य उद्गारहरुका हत्कण्डा अपनाएर कुशल क्रय गरेको औसत घटना नै त हो ! तर त्यो दुई–चार मिनेटको बोलीमा कति शक्तिको खेल प्रदर्शित हुन्छ, समझदारीको दोहोरी खेलिन्छ, अभिनययुक्त र हार्दिकतायुक्त शाब्दीक साटासाट गरिन्छ, त्यो पक्कै हाम्रो समग्र जीवनकै भित्री बनोट हो ! यदि त्यसो होइन भने हाम्रो जीवन पनि त्यही बार्गेनिंगजस्तै रित्तो खेलभन्दा बढी केही होइन ।
हामीलाई सत्ताको निम्ति चलेका घम्साघम्सी, सहमतिको नामको बार्गेनिङका खबरहरुले सधै प्रेशद्धारा वहन हुने बाढी बनेर बगाइरहन्छन् । तर सडकको एउटाएउटा सानोभन्दा सानो मानवीय अन्तक्र्रियामा मैले बार्गेनिङको महाकथा घटेको देखेको छु । तपाईँलाई लाग्नसक्छ म एउटा कुरालाई तन्काउन नसकिने हदसम्म तन्काइरहको छु, छातालाई आकाश हो भन्ने किसिमको घोषणा गरिहेको छु । मैले भन्न खोजेको यति मात्र हो ः छाताको मुन्तिर होस् या बादलु आकाशको मुन्तिर, मान्छेले अनुभूत गर्ने, गर्न पाउने, मुनि हुनुको अनुभव मुनि हुनुको नै हो ।(तर ‘छाता ओढेपछि म बादल बर्षिए पनि ओत पाएकोले बादलमाथि भएको अनुभूत गर्छु’ भनेर विजयभावको साथ नहाँसिदिनुहोला ! कृपया विनोदप्रिय पाठकले त्यसरी अर्को अर्थ नलगाइदिनुहोला ।)

मान्छे भएर घटित भइ मैले गरेका वा नगरेका क्रियाकलाप, बोलेका वा मनमनै चपाएका वा बोल्नुपर्छ भनेर मजगमा उत्पन्न हुनै नसकेका अज्ञात् बाक्यहरु, यी सबै दृश्यअदृश्य शक्तिका चाकाचुलीमा अनेक वजनसाथ र उचाइसम्म मच्चिइरहेका पाउँछु म । के भएको हुन्छ मलाई जब अफिसमा कम्प्युटरमा एकचित्त भइरहेको बखत अचानक मेरो हाकिम मेरो अगाडी टुप्लुकिन्छ ? म कुर्सीमा अडेस लागेको बसेको पोस्चरबाट एकाएक सीधा ढाड पार्न पुग्छु, मुहारमा एउटा सतर्कतापूर्ण मुस्कान उपस्थित गराउँछु, उसका प्रत्येक शब्दमा अतिरिक्त एकाग्रतासाथ सुनेझैँ प्रस्तुत हुन्छु । यहाँ शक्तिको चाकाचुलीमा म अत्यन्त कम वजनसाथ उपस्थित भएँ होला ? यहाँ सन्तुलनको विन्दु समथल भन्दा मलाई तल पार्ने गरी स्थीर भयो होला !
तर संका उठ्छ ः उमेरले, पैसाले, पदले ठूलो वा सानो ठम्याएर स्वाभाविक रुपले सम्बन्धहरु क्रियाशील हुन्छन्, आफ्नो सन्तुलन र सामञ्जस्य पहिल्याउँछन्, भेट्टाउँछन् ।

त्यसो भए कार्यालयबाट बाहिर निस्किनासाथ कतिपटक प्रोढहरुसँग बाटोमा ठोक्किँदा पछाडी फर्केर एकै पल्ट ‘माफ गर्नुस् है’ भन्नेसम्मको भद्रता नदेखाइ किन म सुरुसुरु हिँडेको छु त ? खैर, आफ्नो अभद्रताको विस्कुन लगाइ कति निर्लज्जता प्रस्तुत गरुँ ? कति उद्दण्डता बाहिर देखाउँ ? तथापि यो प्रश्न लिसोझैँ टाँसिइरहन्छ ।
द्धन्दवादको, विपरित शक्तिहरुको द्धन्दबाट अन्ततः प्राप्त हुने संश्लेषणको निमयलाई होइन, भन्नलाई होइन । कुरा त्यतिमा आएर टुङ्गिए पनि टुङ्गो लाग्नुपूर्वका बाङ्गाटिङ्गा र बाटै नपर्ने छुट्टा आवेग र भावनाहरुको पनि हो । सतत् तार्किकताको रेखामा चलिरहँदा पनि ती रेखा पलपलमा बक्रिय, बाङ्गो देखिनुका अनुभवहरुको कुरा हो ।

एउटा साँझ भृकुटी मण्डपको उही पसलेमार्गबाट निस्किएर घर पुग्नै लाग्दा चोकमा आइपुगी मटन मोमो खाने चौचौ निको पार्न एउटा चमेनामा पसेँ । मोमो मीठै थियो । सुपजस्तो अचार किफायत गर्नुभन्दा थपीथपी मगाएँ, खाएँ । मोमो पनि थपेँ । बाहिर निस्किँदा सडकछेउ तरकारी बेच्ने र किन्नेको घमासान बार्गेनिङ्ग चलिरहको, गाडीको हर्नको कोलाहल थियो । बाटो कटेर पल्लो छेउतिर जाँदा बीचैमा ट्राफिक प्रहरीले च्याप्प हात पक्रेर रोक्यो र हलुको गरी धकेल्यो । थामिएर हेर्दा अर्कोतर्पmबाट मतिर एउटा टेम्पो बेगसाथ आइरहेको रहेछ । धुवाँबाट बच्न मास्क लगाएको थिएँ अनुहारमा, ट्राफिक प्रहरीको अनुहारमा पनि मास्क थियो । हामीले एक–अर्काको अनुहारको भङ्गिमा कति बुझ्यौं ? उसका आँखामा सहज रुपले आफ्नो ड्युटी गरिरहेको ध्वाँस झल्किन्थ्यो ? मेरा आँखामा कृतज्ञता र क्रोधको मुन्टो निमोठिएको अनुभूतिमिश्रित रनभूल्लता ? 

सडकपार गरेर मेरो गल्लीतिर टेक्दा मेरो छवैबाट एउटा कुकुर निसंकोच आयो । एक्कासी त्यो बेस्सरी करायो । हेर्दा त्यस्को खुट्टो मेरो जुत्ताको कडा सोलले किच्चिएछ । निकैबेर मलाई अघिको नास्ता वमन होलाझैँ भइरह्यो, कानमा त्यो छिमेकको कुकुरको चित्कार रिङ्गिरह्यो ।