भृकुटी मण्डपभित्रको
लत्ताकपडा लगायतका सामग्रीहरु बेच्ने खुद्रा पसलहरुको लामो सुरुङमार्गमा हिंड्नु मेरो
निम्ति रमाइलो र सुविधा दुवै हुने गरेको छ । त्रिपालहरुको लामो छानामुनि हिँडिरहँदा
त्यहाँ न जाडोको सिरेटो चल्छ न घामको तिरिमिरी आँखामा टट्टिन्छ । न बर्षात्ले निथ्रुक्क
भिजाउने हिम्मत गर्नसक्छ, न बाहिरको सडककोजस्तो होहल्ला र धुवाँधुलो खप्नुपर्छ । त्यसैले
लाइब्रेरीबाट फर्कदा खचाखच नेपाल यातायात चढ्नलाई बस स्ट्याण्डतिर जाँदा म प्रदर्शनी
मार्गमा यही पसलैपसलको सुरुङबाट निस्किने गर्छु ।
पसलेहरुलाई
चाहिँ मैले त्यहाँ हिँड्नुले कुनै काइदा पर्दैन । थोरै मात्र पनि शिर छेउपट्टि फर्कियो
भने घडीहरु शिशाको फ्रेममा सजाएर राखेकी अधबैसे महिलाले भनिहाल्छिन्—‘घडी हेर्ने हो
दाइ ?’ धत् ! मैले त धुलोबाट बच्न लगाएको मास्क अझै खोलेको रहेनछु । उनलाई मेरो उमेरको
अड्कल लगाउन मुस्किल परेकोले ‘दाई’ भनिन् । मास्क फुकालेर गोजीमा हालिसक्दा म दुबैपट्टि
करीब दश–दशवटा पसल छाडेर अगाडी आइसकेको हुन्छु । त्यहाँ पेटीको पसल रुँगेर एउटा ठिटो
मुडामा बसेको छ । उसले केही भन्न खोज्दै थियो, मचाहिँ सुरुसुरु हिंडिरहेँ । तर मोजा,
रुमाल, आदि बेच्न बसेकी पसल्नीले भनिन्—‘मोजा हेरौं भाइ ।’
यो पसलेहरुको
‘एरिया’ भएकोले म सम्भावित क्रेताको परिचय बोकेर भित्रबाहिर गरेको हुन्छु । म उनीहरुको
बोलावट ,‘सामान हेरौं है’ भन्ने सानो स्वरमा अभिव्यक्त विनीत आह्वान सजिलैसँग वेवास्ता
गर्दै अघि बढ्न सक्छु । खैर, त्यहाँ थोरै भए पनि शक्तिशाली प्रतीत हुन्छु । तर यो साँच्चै
यति विस्तारमा सोच्न लायकको शक्ति हो त ? कसैगरी उनीहरुमध्ये एउटाको स्वरले वा वेच्नलाई
सजाएर राखेका सामानले वा मेरै आवश्यकताले मलाई एउटा पसलको अगाडी ठक्क रोकाएको भए के
हुन्थ्यो ? धेरैलाई थाहा छ (‘सबै’ नभनिहालौं किनकी पैसा प्रसस्त हुनेहरु वा भएजस्तो
अभिनय गर्न रुचाउने कतिपयचाहिँ अलि महंगा र ‘एक्जोटिक’ सामान किन्न ठूला मलतिर दौडिइहाल्ने
पनि त गर्दछन् !) यी पसलहरुमा भरमार ‘बार्गेनिङ’ चल्छ । बार्गेनिङ गर्न खप्पीस एकजना
महिला नातेदार भन्थिन् रु १८०० पर्ने भनेको माल उनले पाँच मिनेटभित्रै अढाइसयमा किनेर
देखाइदिइन् । उनीसँग साथै रहेका संगीहरु तीनछक्क परे अरे । त्यस्तो छ भृकुटीमण्डपको
किंवदन्तीय छवि बार्गेनिङको सेरोफेरोमा ! तर खाली दिमाग न हो, यो कल्पनाको माध्यमबाट
आफू अनुपस्थित घटनाको चपरीमा गड्यौलालेझैँ चिप्लिइ पस्न खोज्छ । ती बजारिय क्रेयदक्षतामा
अब्बल मेरी दिदी पर्ने नातेदारले कस्तो अदव र सन्तुलित आत्मविश्वासयुक्त व्यक्तित्व
प्रस्तुत गर्दै आफूलाई सो बार्गेनिङको मैदानमा उतारिन् होला ?
उनले सीधै
रु १८०० भनेको सामानलाई ‘दुईसयमा दिने ?’ भनी सोधिन् होला ?
दिदीले त्यसो
भनेको सम्भावना धेरै छ किनकी उनले त्यति नभनी अढाइसयमा त्यो सामान किन्ने कतै सम्भव
देखिंदैन । तर उनले त्यसरी सोध्नासाथ त्यो पसलेको अनुहारमा कस्तो परिवर्तन आयो ? उसले
कस्तो प्रतिक्रिया देखायो ? के भन्यो ? उसले साँच्चै रिसाएर ‘कुरै नगर्नोस् !’ भन्न
सक्ने सम्भावना म देख्तिनँ । किनकी उसले अन्ततः सामान बेचेरै छोड्यो, त्यो पनि सुरुमा
उसले बताएको भन्दा असाध्यै कम मोलमा ।
यो बार्गेनिङको
एउटा घटना सुनाउनलाई एउटा औसत रित्तो गफभन्दा बाहेक अरु केही नलाग्न सक्छ । हो पनि
! एकजना बोलीमा खप्पीस क्रेताले विक्रेतालाई ‘सामान किन्दिनँ है’ भनी धम्क्याउनुदेखि
‘हामी सधैँ आइरहने ग्राहकलाई त हलुङ्गो हुनुप¥यो नि !’ भन्नेसम्मका विनयजन्य उद्गारहरुका
हत्कण्डा अपनाएर कुशल क्रय गरेको औसत घटना नै त हो ! तर त्यो दुई–चार मिनेटको बोलीमा
कति शक्तिको खेल प्रदर्शित हुन्छ, समझदारीको दोहोरी खेलिन्छ, अभिनययुक्त र हार्दिकतायुक्त
शाब्दीक साटासाट गरिन्छ, त्यो पक्कै हाम्रो समग्र जीवनकै भित्री बनोट हो ! यदि त्यसो
होइन भने हाम्रो जीवन पनि त्यही बार्गेनिंगजस्तै रित्तो खेलभन्दा बढी केही होइन ।
हामीलाई सत्ताको
निम्ति चलेका घम्साघम्सी, सहमतिको नामको बार्गेनिङका खबरहरुले सधै प्रेशद्धारा वहन
हुने बाढी बनेर बगाइरहन्छन् । तर सडकको एउटाएउटा सानोभन्दा सानो मानवीय अन्तक्र्रियामा
मैले बार्गेनिङको महाकथा घटेको देखेको छु । तपाईँलाई लाग्नसक्छ म एउटा कुरालाई तन्काउन
नसकिने हदसम्म तन्काइरहको छु, छातालाई आकाश हो भन्ने किसिमको घोषणा गरिहेको छु । मैले
भन्न खोजेको यति मात्र हो ः छाताको मुन्तिर होस् या बादलु आकाशको मुन्तिर, मान्छेले
अनुभूत गर्ने, गर्न पाउने, मुनि हुनुको अनुभव मुनि हुनुको नै हो ।(तर ‘छाता ओढेपछि
म बादल बर्षिए पनि ओत पाएकोले बादलमाथि भएको अनुभूत गर्छु’ भनेर विजयभावको साथ नहाँसिदिनुहोला
! कृपया विनोदप्रिय पाठकले त्यसरी अर्को अर्थ नलगाइदिनुहोला ।)
मान्छे भएर
घटित भइ मैले गरेका वा नगरेका क्रियाकलाप, बोलेका वा मनमनै चपाएका वा बोल्नुपर्छ भनेर
मजगमा उत्पन्न हुनै नसकेका अज्ञात् बाक्यहरु, यी सबै दृश्यअदृश्य शक्तिका चाकाचुलीमा
अनेक वजनसाथ र उचाइसम्म मच्चिइरहेका पाउँछु म । के भएको हुन्छ मलाई जब अफिसमा कम्प्युटरमा
एकचित्त भइरहेको बखत अचानक मेरो हाकिम मेरो अगाडी टुप्लुकिन्छ ? म कुर्सीमा अडेस लागेको
बसेको पोस्चरबाट एकाएक सीधा ढाड पार्न पुग्छु, मुहारमा एउटा सतर्कतापूर्ण मुस्कान उपस्थित
गराउँछु, उसका प्रत्येक शब्दमा अतिरिक्त एकाग्रतासाथ सुनेझैँ प्रस्तुत हुन्छु । यहाँ
शक्तिको चाकाचुलीमा म अत्यन्त कम वजनसाथ उपस्थित भएँ होला ? यहाँ सन्तुलनको विन्दु
समथल भन्दा मलाई तल पार्ने गरी स्थीर भयो होला !
तर संका उठ्छ
ः उमेरले, पैसाले, पदले ठूलो वा सानो ठम्याएर स्वाभाविक रुपले सम्बन्धहरु क्रियाशील
हुन्छन्, आफ्नो सन्तुलन र सामञ्जस्य पहिल्याउँछन्, भेट्टाउँछन् ।
त्यसो भए
कार्यालयबाट बाहिर निस्किनासाथ कतिपटक प्रोढहरुसँग बाटोमा ठोक्किँदा पछाडी फर्केर एकै
पल्ट ‘माफ गर्नुस् है’ भन्नेसम्मको भद्रता नदेखाइ किन म सुरुसुरु हिँडेको छु त ? खैर,
आफ्नो अभद्रताको विस्कुन लगाइ कति निर्लज्जता प्रस्तुत गरुँ ? कति उद्दण्डता बाहिर
देखाउँ ? तथापि यो प्रश्न लिसोझैँ टाँसिइरहन्छ ।
द्धन्दवादको,
विपरित शक्तिहरुको द्धन्दबाट अन्ततः प्राप्त हुने संश्लेषणको निमयलाई होइन, भन्नलाई
होइन । कुरा त्यतिमा आएर टुङ्गिए पनि टुङ्गो लाग्नुपूर्वका बाङ्गाटिङ्गा र बाटै नपर्ने
छुट्टा आवेग र भावनाहरुको पनि हो । सतत् तार्किकताको रेखामा चलिरहँदा पनि ती रेखा पलपलमा
बक्रिय, बाङ्गो देखिनुका अनुभवहरुको कुरा हो ।
एउटा साँझ
भृकुटी मण्डपको उही पसलेमार्गबाट निस्किएर घर पुग्नै लाग्दा चोकमा आइपुगी मटन मोमो
खाने चौचौ निको पार्न एउटा चमेनामा पसेँ । मोमो मीठै थियो । सुपजस्तो अचार किफायत गर्नुभन्दा
थपीथपी मगाएँ, खाएँ । मोमो पनि थपेँ । बाहिर निस्किँदा सडकछेउ तरकारी बेच्ने र किन्नेको
घमासान बार्गेनिङ्ग चलिरहको, गाडीको हर्नको कोलाहल थियो । बाटो कटेर पल्लो छेउतिर जाँदा
बीचैमा ट्राफिक प्रहरीले च्याप्प हात पक्रेर रोक्यो र हलुको गरी धकेल्यो । थामिएर हेर्दा
अर्कोतर्पmबाट मतिर एउटा टेम्पो बेगसाथ आइरहेको रहेछ । धुवाँबाट बच्न मास्क लगाएको
थिएँ अनुहारमा, ट्राफिक प्रहरीको अनुहारमा पनि मास्क थियो । हामीले एक–अर्काको अनुहारको
भङ्गिमा कति बुझ्यौं ? उसका आँखामा सहज रुपले आफ्नो ड्युटी गरिरहेको ध्वाँस झल्किन्थ्यो
? मेरा आँखामा कृतज्ञता र क्रोधको मुन्टो निमोठिएको अनुभूतिमिश्रित रनभूल्लता ?
सडकपार गरेर
मेरो गल्लीतिर टेक्दा मेरो छवैबाट एउटा कुकुर निसंकोच आयो । एक्कासी त्यो बेस्सरी करायो
। हेर्दा त्यस्को खुट्टो मेरो जुत्ताको कडा सोलले किच्चिएछ । निकैबेर मलाई अघिको नास्ता
वमन होलाझैँ भइरह्यो, कानमा त्यो छिमेकको कुकुरको चित्कार रिङ्गिरह्यो ।
No comments:
Post a Comment