Sunday, August 17, 2014

उनी ईंटका टुक्राले पुरिएकी भेटिइन्

उनी ईंटका टुक्राले पुरिएकी भेटिइन्


“नानी, त्यो छेउछाउको जंगल
बाघको बाग हो, चितुवाको चरन हो
ठूलो विरालोको विरासत हो,
त्यहाँ गट्टा खेल्न नजानू,
झिस्मिसे र गोधूलिहरुमा
घरभन्दा टाढा नरहनू,
ङ्याँक्न सक्छन् तिमीलाई,
दाजुको हात समात्नु,
बाबुको साथ रहनू,
आमाको काख नछोड्नु,
नानी, एक्लै खेल्न नजानू साथीहरुसँग ... ....
यता हामी बस्नेचाहिँ हाम्रो आफ्नो
प्यारो न्यानो
मानिसहरुको जंगल हो,
यहाँ सम्बन्धहरुका लहराले
आत्मियताका सुगन्धी फूल बोक्छन्
यहाँ विश्वासको पोषणले
मानव बचेरा स्वतन्त्र भइ उड्छन्,
यतै बस्नुपर्छ नानी,
यतै फल्नुपर्छ, फूल्नुपर्छ,
उताको जंगल हामीले लाखौं बर्ष
कठोर संघर्ष
गरेर खेपेर
छोडेका हौं,
नानी यतै बस्नुपर्छ ।”


ईँटमा पातहरुको अस्तु हुन्छ,
 पातहरुले सोसेको सूर्य हुन्छ,
ईंटका टुक्रा आगोको फूलका
कति हजार कोमल दल बोक्छन्,
ईंटका टुक्रा आगोको रक्त बोक्छन्,
ईंट मानव जंगलका दरिला जरा मात्र होइनन्,
ईंट चिहान हुन्, चिहान् बनाउँछन्,
नरम माटो कठोर भएर ईंट
हावामा खाल्डा खन्छन्,
उनी ईंटले खनेको खाल्डोमा भेटिइन् ।

आगोका फूलका दलहरु करोडौंकरोडले
उनी पुरिएकी थिइन्,
पुष्पले यसरी थिचिएकाले होला
उनी केही बोलिरहेकी थिइनन्,
हावाको खाल्डोमा सुतेकीले सायद
उनले फोक्सालाई दुःख दिइनन्,
उनले ईंटलाई स्वीकारेझैँ देखियो―
उनका नशामा ईंटका राता बालुवा कण जमेका थिए ।

“नानी, एकपल्ट बोलिदेऊ
चितुवाहरुको भेद खोलिदेऊ
आठबर्षे जीवनबाट
मृत्युको बाहुपास तोडिदेऊ !
तिमीलाई सुनाएको परीकथाको
यो अन्त्य भाग पनि सुनिदेऊ !
यो जमिनमा तिम्रो शरीरले
यसरी लमतन्न लेखेको हरप
जुरुक्क उठेर मेटिदेऊ !
नानी, एक पल्ट बोलिदेऊ !”
17 August 2014

8-year-old ‘gang-raped’, murdered 

No comments:

Post a Comment