Thursday, July 31, 2014

के कविता बन्थ्यो होला ?

के कविता बन्थ्यो होला ?

भोकाले भोकको बारेमा नबोल्नु पर्ने भए,
रोगीले आरोग्यको लोभ नखोल्नु पर्ने भए,
पेलिनेले पेलानको प्रमाण नपस्किनुपर्ने भए,
प्रेमी मनले हरेक ढुकढुकीमा नझस्किनु पर्ने भए,
न कविता बन्थ्यो न त्यस्तो भाव वहन्थ्यो होला ।

कुरा रित्ता आनन्दका हुन्थे होला,
पोखरीझैँ जम्थे होला हाम्रा परिवर्तनका पाइला ।
उग्राउँथ्यौं होला भाग्यवादको सूर्यतल
शौहार्दको आलस्यमय विस्कुन भई ।

तर ताराबाजी लै लै देखि हरेक मगजमा
यो वा त्यो को समर्थन वा विरोधमा
नाराबाजी लेखिएको छ ।
यहाँ गोलीको खाटो मात्र होइन सिउँदोको टाटो पनि राजनीतिक छ ।
ह्वीलचेयर नचल्ने बाटोसमेत तानाशाही छ ।
यो सब नहुन्थ्यो त
मनोगत ‘मोड’ मा चल्ने कलमले के कहन्थ्यो होला ?

केवल ईश्वर नै मात्र भइदिएको भए,
मिथकहरूमा जस्तो हाम्रा मगजहरूमा पनि
हामी कसलाई उभ्याउन समयको कठघरामा
के नै लेख्थ्यौं होला ?
जहीँ पनि आफू अनुपस्थित
ईश्वरचाहिँ प्रस्तुत गराई
आफ्नो कहानीमा आफ्नै कहावत कहीँ पाउँथ्यौं होला ?

कोही कुण्ठित नहुन्थ्यो,
कुण्ठा स्वीकार्नै नपरी थेरापी नचाहिएको भए,
कसैलाई जीवनको क्षणभङ्गुरताको अनवरत छायाँले नलखेट्थ्यो,
दौडिँदादौडिँदै ताली र गालीको अलिकति सिँयाल नचाहिएको भए,
त्यो सिँयाल रसाएका नरसाएका अरु आँखालाई आस्वस्तिको  थोरैतिनो रुमाल नभैदिएको भए,
को कविता बुन्थ्यो र को नै सुन्थ्यो होला ?

भाषाको लेउमा म्याराथुन को दौडन्थ्यो होला ?
थोरै आशाको किनारा नदेखिन्थ्यो त
निराशाको बाढीमा को पौडन्थ्यो होला ?
औजार चलाउने सीपजत्तिकै
उपमा उब्जाउने आदतमा कीर्ति नहुन्थ्यो
त यो शौखिन स्खलन को सहन्थ्यो होला ?

म त सोधेरै थाक्तिनँ
के कविता बन्थ्यो होला ?

31/07/2014

No comments:

Post a Comment