Tuesday, July 29, 2014

गमला फुटाल्नु (एउटा अवकाशप्राप्त फौजीको मनोदशा)

 गमला फुटाल्नु                                                                                                                                                 
 (एउटा अवकाशप्राप्त फौजीको मनोदशा)


यो साँझ संगीनले बोझिल थिएन,
मेरो कल्पनालाई उड्नैपर्ने तोड थिएन, थकान थिएन,
सायद त्यसैले म एउटा पस्नी र कुटो लिएर निस्केँ
मैले दूर राख्दै आएको छेवैको बगैँचामा
(मैले बगैँचा वा करेसा कुनै भन्न नहुने हो,
त्यहाँ न कोमलता थियो न फलनको परिश्रमी लगाव)।
रिसाएका गमलालाई घेरेको थियो वालसुलभ झारको झुण्डले,
बर्षाको अनवरत तृष्णातृप्ति पाएर, सुइरा टाउका उठाएर
ब्यूँझाउँथे उँचो कुलमा कैदी मलिन चेहराहरुलाई ः
मैले देख्नसक्थेँ ईश्र्याले जल्ने उर्जा पनि जुटेको थिएन तिनलाई,
बाटुला, निर्मम भुईँमा बजारिएथे तिनका कोलम्बस जराहरु,
वाहिर खुला, घना, विकास र विलासका सम्भावनाले घातक रसिलो जमिन र जल
मिलेर जिस्काउँथे बादलको घुम्टोबाट चियाउने प्रेमीलाई,
घरी लज्जा र लमतन्न फैलिएको विलासी आलस्य,
अथवा यदाकदा जवानीमा जुट्ने शीतलव कान्ति ।
वेपर्वाहमा सन्ध्याले विहानी अंगालेको थियो,
पर्वाहको होसियारीमा प्रभातले निशा संगालेको थियो ।
             

मैले पिएको समयले म र वृक्षहरुबीचको दूरी व्यापक थियो,
प्रत्येक पाइला एउटा कडा व्यायाम, अघि बढ्नु नै एउटा आसन,
यो सानो सोच सागर, यो दृष्टिप्रसार तीर्थाटन,
अनि लेउको पहिलो स्पर्श वालसुलभ अचम्म र उल्लास ।
केही कुत्कुताउँथ्यो मनभित्रको भोकोलाई हरित झ्याङको ओसिलो आग्रह
स्वासमा निल्दा प्रणय बन्थ्यो न कि केवल व्यतित हुनु,
पस्नीको पाषाणता असंगत बन्थ्यो जीवीत जरा, रसिला गुँदहरुमा,
गमलाहरु दृष्टिमा पाछ्दथे, जवानीको पल्टन, रुखो नियमन ।
मेरा हाडहरुभित्र खलबल मच्चियो, आक्रोशको पृथ्वीकम्प
मेरो खप्पर गमलामा अवतरित भयो, त्रासद विकल्प
मेरा औंला अंकुराएका तीखा तृणका मुनामा धँसे
मेरो वजन पुतलीहरुको विरत् विहारमा तैरिन लाग्यो
र पिटिदिएँ कोरलिएको चल्लाझैँ फटफटाएर कुमाले माटो,
र खोलिदिएँ मुर्छाएका जराहरुले जित्नलाई स्थलसागर ।

कुटो, पस्नी र गमलाका ठूलासाना बिटा− भग्नावशेष !
अर्को दिन छिमेकीहरुले आँगनमा लापरवाही देख्नेथे,
उनीहरुका गृह वरिपरि रङ्गीचङ्गी सज्जा छ
उनीहरुका आँखामा मैले नसिक्नुको नमज्जा छ,
म र मेरो घर उरण्ठेउलो हाँस्य हुनेथ्यो उनीहरुलाई,
हरेक साँझ झारमा लेटेको देख्नु, कस्तो लहड हो?
अब आँखाहरु ठोक्किँदा मुस्कान फ्याँक्न खोज्छु,
वाल्यकालको खेल हो, यो उमेरमा पनि भकुण्डोझैँ पक्रेर फिर्ता गर्छन्,
निरन्तर खेल हो, खेलिरहेको छु सीमित यामहरुको मैदानमा
जसरी लेटिरहेको छु बदलिरहेको घाँसमा,
सुँघिरहेको छु आफ्नो छालाभन्दा बाहिरको गन्ध,
ग्रहण गरिरहेको छु यो छातिभन्दा पनि वाहिर धड्किने संगीतहरु ।

No comments:

Post a Comment