Tuesday, July 29, 2014

बादल हट्दा

बादल हट्दा
                                                  
सन्ध्याको तीरमा सुन्तले वाढीमा तैरिन्छु
स्मृतिहरुका वहना खियाउँदै, पसिनाले तिर्खाउँदै ।
नुनिलो मह तप्किन्छ, आँखाहरु हार्दछन्
हाँसोको प्रतीज्ञा,
हेर्न खोज्दछन् उमङ्गको हरियो ऐनामा
वाटाभरिका असारे रोपाईँहरु र
खोटविहीन सँगीतनिसृत लामबद्घ लिपिको आख्यान ।

आज दिनभर अनवरत सम्भोगले
लहलहाएका वालीहरुमा
घाम र पानी थकित छन् !
सप्तरङ्गी आभामा देखिएका सम्भावनाका पल्टन
यात्री मानसपटलमा
नवीन सिक्काझैँ गाढा छन् !
यो टङ्कण र ट्यारट्यार् !
यो तृप्ति र आशाको आन्तरिक स्फुरण !
यो स्थीरता र संश्लेषण !

विकराल वादल विगत भएको छ, हाल हाँसो हो,
तर म हिजो केवल वाढी देख्थेँ क्षितिजपारी,
आज फैलिएको छ ढलपल प्रमेय पुष्टि आँखाभरी ।
अहिले धरतीको ढुकढुकी समातेर उभिएको छु गर्भाधारी !
मिर्मिरेमा पूर्वतिर प्रमोदित फल फलाउन,
उत्पे्ररित पाउहरुलाई उकालो बाटो हिँडाउन ।                                        

No comments:

Post a Comment