Tuesday, July 29, 2014

एक हर्षाश्रु

एक हर्षाश्रु

हेर न चिचिलो प्रभात साँझमा पाकेको,
तपस्या गर्ने रहर नै भङ्ग गर्दै
चरीहरुले मनभरी रहस्य उघारेका,
अनि लम्कँदो ब्रह्माण्डको अर्धैय आत्मा
मेरो आँखामा एकै पलमा अटाएको
र, म भावतरङ्गका रेसारेसा समेटेर
तिम्रो सिङ्गो अनुभूति बन्न प्रयत्नशील
क्षणभरलाई !

यहाँ छोएरै केही नसकिने देख्छु प्रिये,
जान्नु कसरी ? —रहस्य ! नजान्नु झनै त्यसो,
तर मृत्युमा समेत जीवनको गुरुत्वाकर्षले
सोच त के स्वप्नबाटसमेत तिमीले तान्छ्यौ क्यार,
कहालीको खाटा स्मरणबाट पनि उक्किइसकेको छ
कोरलिएको अण्डाझैँ
तिमीले गर्भेको यो नवजीवनमा !

ए रिसायौ हैन मेरो बोलीमा रात छिप्पेको देखेर !
नरिसाउ है, अब यो छालाको थकान तल
माटोको शान्त संगीत सुनौँ
यी कल्याणी पुष्पका केशसुगन्धीवयली सुँघौँ
हाम्रा ढुकढुकी यी पैतालातलको
तृणमा रमाएको हेरौँ
भर्खरै जागेको जूनले
सप्तर्षिको सप्को समाएको हेरौँ
मेरी प्रिये ! यो अथाह अन्धताको आँखामा मिलौँ
ऐक्यताको एक हर्षाश्रु बनेर !

No comments:

Post a Comment