Tuesday, July 29, 2014

खाली पन्ना

खाली पन्ना



खाली पन्ना अगाडी पर्दैमा
तपाईँ के लेख्नुहुन्छ ?
जब पुस्तैनी भोक तपाईँको
रत्त दगुर्ने, दगुर्न सक्ने, समानान्तर सडकहरुभरी
अहम्को मूर्ति खडा गर्न चोक खोजिरहन्छ,
जब इच्छाहरुलाई जिन्दगीको झाडुले
दुखाइदुखाइ बढार्छ र भन्दछ पनि—
संगीत कस्तो सुनिन्छ,
क्यार्र् क्यार्र् ?

तपाईँ आफू हुनुभरिको आकाशभरी
छाएको, स्वीकार्नुहुन्छ त्यो छाता न्यायको
र घोचिरहनुहुन्छ विवेकको सियोले
आफ्नो मथिङ्गललाई,
चिमोटिरहनुहुन्छ आफ्ना कर्णगुफाहरुमा
प्रतिध्वनि अरुका स्वरहरुको,
र हाँसिरहनुहुन्छ विवेकको विपर्यास बनेर
निद्रासमेत कति कति !?

र त पसिना छुट्छ ः
खाली पन्ना पनि सम्भव छ कतै ?
जीवनमा कहाँ पाइन्छ काँचो माटो
जुन पहाडले थिचिनु वा तराइमा निथ्रिनुको भेदले
मुक्त र एकनासको छ,
जसमा कति युगमा वृक्षको पोष पर्नु वा
खडेरीले प्रसवित हुनुको वजन अनुपस्थित रहन्छ,
जहाँ खुकुलिनु र साँघुरिनुको
आफ्नै अभिन्न जेनेटिक पुल छ,
अनुपातमा फरक
र आगतमा ।

खाली पन्नाका समानान्तर रेखाहरु छली हुन्छन् ः
उस्तै देखिए’नि भिन्न हुन्छन्,
भिन्न भएर पनि उस्तै हुन्छन् ।
खाली पन्ना जगत्को गजब स्लेट हो
हरेक पुछाइमा सपाट देखिने
तर निरन्तर मैलिइरहने !
खाली पन्ना चुम्बकीय क्षेत्र हो
आफूमा लौहभण्डार हेरी पगाली होसियारीपूर्वक
मसी बनाएर बगाउनुपर्ने ।


No comments:

Post a Comment