यो विस्तार
सम्झनाको एउटा सलाइ काँटी
मभित्र कोरेर हँसाइदियौ न्यानो मुस्कान
गगनदर्शी यी आँखामा
एक जोडी तारा चम्काएर,
म बीचको विराट खालीपनमा
तैरिइ तैरिइ हराएँ
भेट्टिनुको उन्मुक्ततामा ।
सुन्दरताको अर्थ रहेन ।
हुनुको जन्म भयो,
नहुनु पूरा भयो ।
शरीर नबोकेको आवाज
शरीरभरीको ओजन भयो,
गन्ध भयो, गीत भयो ।
आपसी अवतारण भयो ।
केवल खवरको संप्रेषण सबै भयो ।
लौ जीवनकै विप्रेषण जिउने जाँगर भयो !
यो के चमत्कार भयो !
म त एउटा ढङ्गको ढुङ्गामा खोपिन्छु भन्दैथेँ
निश्वासको कचौरोभरी बोकेर समय —
अनायासै तरल विस्तारको आविष्कार भयो !
No comments:
Post a Comment