Wednesday, July 16, 2014

विश्वविद्यालय पस्ता

विश्वविद्यालय पस्ता

सहरका प्रत्येक नशामा, जोर्नीमा
शिक्षाका खुद्रा पसलमा खुट्टा खासै अडिँदैनथे
तिनले के गति सोसून् ?
ठाडा भित्ताहरु !
बर्षात्का तीर पनि छर्रा उडाएर तर्किन्थे !
उसै तरुण मनले लाहाछाप पायो
स्नातक सक्नुको सार्वजनिक सिद्धि !

लखरलखर डुल्ने पैताला
भर्खरभर्खर खुल्ने फैसला,
यत्तिले नाप्यो के बुद्घि ?

होहल्लाझैँ कीर्तिको ज्ञानकुञ्ज गुञ्जियो
कानमा, ध्यानमा, मनमा !
ए ! अब सोच्नु के ?
सहरको कब्जियती पेटमा गड्गडाउँदै
एक लठ्ठी भाँचेजस्तो मोडमा मोडिइ
पस्तै छायाँदार परिसरमा
पखाल्दै अघिको शहरी धूलो पहिरनबाट
सिर्रसिर्र चल्दो शीतल पवनमा
चटाउँदै आँखा, ओजनदार आइसक्रिमझैँ
परपर कम्पाउण्डमा ठडिएका हिमालहरुमा,
टक् टक् चिल्लो जुत्ता टड्काइ
पत्रेढुङ्गाका कार्पेटमा
तपस्या गर्न पसें वनतिर
लौ पुगें कत्रो कुटीमा !

सपनासरि सुविस्ताले पुगेको छु,
सुनको ढ्याक बनी फर्कूँ !

No comments:

Post a Comment