Tuesday, July 29, 2014

कुनाको जीव

कुनाको जीव



कुनाको जीव भएको छु, भित्ताहरुको बन्दी
आज हाडहरुमा कता न कताको स्याँठ पस्ता पो थाहा हुँदैछ
म त लुगाले गुडिया भएँछु
एक्लो आफ्नो संसारको
तातो चुम्बन भन्दा परको ।
व्यग्र अंगालोबाट बञ्चित
चुहुनै नसक्ने आँसुको अड्डा भएँछु ।

एकनासका धर्साबद्घ लिपिका लस्करहरुमा लुक्दालुक्दै लावण्य खोजीमा
लिप्त भएँछु विलुप्तिमा,
मैले अमूर्तताका आयामहरुका अन्वेषणमा अल्मिलिएर
अग्ला अग्ला पहाड उमारेंछु आफ्नाहरुबीच
आँखा बरिपरी, आँगनभरी, आकाश छोपिनेगरी ।
अहिले उदासीनताको सिरेटोमा
शीत भरिने भाँडो भएको छु,
बिर्कोविहीन, बर्कोविहीन ।

कल्पनाले कुपोषित भएँछु,
कोकिलको क्रन्दन अब कविता उमार्दैन, कमलले अब कागज कुर्दैन,
र त भोकमा भावनाको भवन भग्न छ
र त शिरमा स्वार्थी शोक छ,
सत्यको सुविधा नत्याग्ने संकल्प
असंतृप्त छ अभ्यासको आगतभरी ।
मर्न सकुँला त साँच्चै
बाँचेर नपुगनपुग यसैगरी ?

No comments:

Post a Comment