Tuesday, July 29, 2014

पल्टनेकी श्रीमती

पल्टनेकी श्रीमती


केसभरी पीठोझैँ बादलका छिटा खसिरहेको
यो अपरान्ह मेरो आह्लादको आयूझैँ हलुङ्गो छ,
हामीबीचको प्रेमको  मलिन कान्ति
सम्झनाहरुबीचबाट झकाउँदै उठ्दै गरिरहँदा,
यो पर्खाइमा मेरो विश्वास
कठै, घामविहीन ओइलाइरहेको छ !

निरक्षर बर्षात् छ धूलझैँ
जस्ताको छानोमा गिर्नु मात्र छ,
रोदनको रँडाको सुनिन्न,
हार्नु छ भवितव्यले भवितव्य जिन्दगीबाट छुट्टिन्न,
उफ् आवाज नै स्खलित छ आँसुको !

म के चपेटूँ दृश्यसून्य भएर रङ्गहरु !
के भरुँ भोको ढिकीझैँ ढुकढुकीमा
रक्तसंचारित हुने भावतरङ्गहरु !
कहाँ पल्टूँ थोरै निद्रा समेटेर हाँसोको
भोलिलाई नयनका पर्दा उघारी बोलाउन ?

तैपनि भन्दैछु, एकैपल्टको हाँसो हुन्नँ बाबै !
बाँसको फूल ! केराको फल !— जिउन्नँ !!
मेरा यौवनका जराहरु धेरै याम उभ्याउन
पलपलका हाँगामा फक्रिन उक्साइरहेका छन्,
“तँ उक्सेकी तृण होइनस्,
दीर्घ पुष्पदार वृक्ष होस्” भनिरहेछन्,
“आकास छेड्नु पर्दैन,
धर्ती पक्रेर ढकमक्क बन् !”
मैले मन थामे पनि उत्साहले उनीहरु
मेरो आगतभरीको कालप्रक्षेपण नाप्दैछन्—
 तँ यति याम फुल्न सक्छेस्,
यति काल छेक अनि फल हुल्नसक्छेस् पोल्टामा,
तैँले सिर्जेर जमिनमा
यति जीवनमा नवीन स्मृति बन्नसक्छेस् !

सायद त्यसैले अहिले
यो बादलबीचको फैलँदो छिद्रमा
म देख्दैछु विवेकको उज्यालो उदय,
सूर्य तापेर अलिक हरित भएका पुर्जाहरुमा
म स्वीकार्दै छु विनीत विदाइको विजय,
म व्यूँझिँदैछु आत्मसमर्पणको उँघाईबाट
आफ्नै बगैँचामा एकछिन भ्रमर भइ रमणमा रत्तिन
मनभरी वसन्त बगाइ
दृष्टिभरी जिजिविशा जगाइ . . .

No comments:

Post a Comment