Monday, September 8, 2014

त्यो पुतली

त्यो पुतली

एउटा प्रत्यक्ष कुराकानी
जस्तो कि माटोसँग बर्षातको,
जस्तो कि हर्ष अकस्मातको
हिँड्दाहिँड्दै वुट्यानहरुबीच एउटा पुतली आई
एकै छिन काँधमा बस्ताको,
के तपाईँको सर्ट अलिक बुट्टेदार भैदियो ?
एउटा प्रकृतिको तुच्छ प्राणलाई क्षणभरलाई झुक्याइदियो ?
अनि त्यो सदालाई त्यहीँ अवतरित भैदियो,
फुत्त उडेर चरोझैँ गएन भने ?
सुन्दर भुवाझैँ वत्तिएर पन्सेन भने ?

मेरो काँधमा पुतली बसेर
भन्न थाल्यो काँध उसको हो ।
भन्नै पर्दा त्यसो त भनेन,
तर उडेर पनि गएन।
म हिंसा नमान्ने मान्छे,
त्यो पुतलीमा रत्तिभर झुसिलकिरा देख्न सकिनँ,
न त परजिवी जुका,
किनकी त्यसले खानाको त के कुरा
उसको सुन्दर शरीरप्रति उतिसारो ध्यान नदिनूको पनि
त्यस्तो नराम्रो मानेन ।
मसँग मच्छड मार्ने विद्युतीय व्याट नभएको होइन,
केवल आफ्नै काँधमा प्रहारको विचार ठीकझैँ सुझेन,
प्याट्ट पार्न हत्केला नभएको होइन,
स्वयम्लाई धाप मार्न मनासिब लागेन,
बस्! त्यो पुतली मार्न मलाई जुरेन ।


कुनै झन्झट पनि थिएन पुतलीको साथ।
मैले कपडा फुकाल्दा ऊ उड्थ्यो कोठाभरि,
नुहाइसकेपछिको हिलो त्वचामा बस्दैनथ्यो
कुत्कुताउने स्पर्श दिन,
मेरा काँधमा त्यसै बस्तैनथ्यो मैले केही नविच्छ्याएसम्म ।
म सुत्दा शिरको भुवामा नरम टेक्थ्यो,
शिरमै सिरक ओढाए,
खाटको अग्लो डिलमा पुग्थ्यो,
तर रहन्थ्यो छेवैमा ।

सम्भोगको बेला श्रीमतीले भनिन्
त्यो पुतली हेरिरहेछ,
मैलाई भने खिन्नता भैदियो
उनले पुतलीलाई हेरिबसिन् ।

खासमा पुतली कस्तो थियो देख्ता
त्यो म भन्न सक्तिनँ ।
ऐना अगाडी उभिएर हेर्दा
प्रतिबिम्बले उति देखाउँदैनथ्यो ।
भन्न सक्थें खास केही थिएन,
केवल सुन्दर ।
कसरी ?
त्यो त प्रश्न नै हुने थिएन ।

पुतलीलाई मैले पालिरहेको थिइनँ,
विहानबेलुका कुकुरलाईझैँ डुलाउन लग्नुपर्दैनथ्यो उसलाई,
केटाकेटीलाईझैँ ख्वाउनुप्याउनु पर्दैनथ्यो,
बडो आत्मनिर्भर थियो ।
बाहिर हिँड्दा मेरो लुगामा फगत् एउटा बुट्टा भइदिन्थ्यो,
कसैले देखिहाले प्रश्नसम्म बन्दैनथ्यो ।
पुतली विल्कुल हलुंगो थियो ।



हाटमा तरकारी र फलफुल छानिरहँदा
ऊ जेमा बस्थ्यो त्यो म किन्थें,
ऊ काम पनि लागिरहेको थियो ।

अफिसमा ऊ मोनिटरको माथि बसेर हेथ्र्यो,
म घन्टौं उसलाई विर्सिएर हराइरहेको,
सायद ऊ मलाई हेरेर हराउँदै हुन्थ्यो ।


हाकिमको टेबुलमा मैले फिँजाएको कागजमा
एकचोटि ऊ विस्कुनझैँ थपक्क बसिदियो,
मलाई कम्ती डर भएन ऊ प्याट्ट पारिएला भन्ने !
म त पुरै उसकै वरिपरी घुमिरहन्थें ।

यस्तो भैदियो म पुतलीविना हलचल गर्न नसक्ने भएँ,
मानौं मेरो जीवनको ऊ मुदित नजर भैदियो,
तपस्वीको तपस्याजस्तो ।
बजारमा एक दिन एउटा फुस्रे अनुहार भएको बालकले मेरो कोट तान्दा
ऊ भुर्र उडेर बसिदियो उसको केशमा,
अनि विल्कुल भैदियो केसकै रंग !

अत्तालिएँ म, कसरी उसलाई चिनूँ ? कसरी उसलाई टिपूँ ?
ऊ स्वयं फूलका काखकाखमा उडिहिँड्ने,
फूल त थिएन !
म हनुमानलाई त्यही बालकको केशरासि
मानौं सञ्जीवनी पहाड भैदियो,
मैले पुतलीको निम्ति उसलाई घर ल्याएँ ।
श्रीमती अवाक भइन्, छिमेकी सतर्क ।
त्यो बालक हप्तादिनमै कतै गयो गुनासो नगरिकन,
अनि पुतली फेरि मेरै काँधमा आइ बस्न थाल्यो ।

अचेल श्रीमती पनि गुनासो गर्दिनन्,
घरीघरी उनको गालाको भिरालोमा गइ बसिदिन्छ
उनले चालै नपाइ,
उनले थाहै नपाइ मेरो पुतली स्वीकारिन् क्यार ।

मचाहिँ डराइरहन्छु
जति नै भरपर्दो पनि
त्यो पुतलीलाई केही भैदेला भन्ने,
त्यसलाई खाइदिनसक्ने माउसुली, भ्यागुता, छेपारा
कतैबाट आइदेलान् भन्ने,
श्रीमतीको  उक्सेको पेटमा दौडिने उसलाई
बेपर्वाहीको विषले मारिदेला भन्ने ।
जीवनमा दुर्लभ हुने प्रत्यक्ष कुराकानी
कोपिलाझैँ चुँडिएला भन्ने ।
यसमा मलाई बडो आफैँसँग डर लाग्छ ।

9 Sept 2014

No comments:

Post a Comment