Sunday, September 29, 2013

प्रयोगशालामा प्रेम


यसपल्ट हामी एबनर्मल तरिकाले क्याफे पसेका थियौं । कफीे पिउन एघार बजे कुनैहिसाबले पनि नर्मल थिएन । तर म उसलाई कुराकानीमा अल्झाउन चाहन्थें । छ महिनादेखि ऊ र मबीच गफगाफ ( जसमा इमेल, इन्स्ट्यान्ट मेसेज, टेलिफोन र प्रत्यक्ष भेटघाटबाट हुने कुराकानी, सबै पर्नसक्छन् ) एक किसिमको शीतयुद्धको स्याँठमा परेर ठप्प भएको थियो । अनौठो त के थियो भने यसलाई शीतयुद्ध नै भनेर बिल्ला भिराउन न त ऊ न त मनै राजी देखिन्थ्यौं, किनकी अहिले मैले अपर्झट मित्रपार्कनेर उसलाई भेटेर ‘कतै बसेर कुरा गरौं न’ भन्नासाथ ऊ सहजपूर्वक पछि लागेकी थिई ।

खालीखाली क्याफेमा सहज हुँदै उसले सुरुमै ममाथि टिप्पणी गरिहाली—‘मोटाउनु भएछ ।’ उसले यसो भन्दा उसका ‘इम्पर्सनल ’ आँखाहरुमा म मुस्कुराउन खोजें, तर त्यहाँ उति प्रोत्साहन देखिएन । बरू उसको स्वरुप नियाल्नतिर लागें । अलिक साँवलोपन बढेको छ तराइको घामबाट र निधारको देब्रे कुनातिर पर्ने गरेका विशेष खोपिल्टा अलिक सघन देखिन्छन् । मलाई उसको हालको व्यस्थताबारे सोध्ने इच्छा भयो, यस मानेमा कि कुराकानीलाई रफ्तार दिन आवश्यक थियो । मेरोे नियाल्याइबाट उसलाई असहज नहोस् भन्ने अभिप्राय पनि थिया,े र सोधें—‘अचेल के लेख्तै हुनुहुन्छ ?’

‘इतिहास ।’ उसका आँखीभौं निधारलाई घचेट्दै माथि उठे । उसले हाँसो दवाउने कसरत गरेकी थिई ।

यो उसको सदाबहार र सतही उत्तर हुन्थ्यो—‘इतिहास लेख्तैछु ।’ उसको दर्शन नै थियो कि केवल इतिहास लेख्न सकिन्छ । जति नै भविष्योदर्शी विचार भए पनि त्यसलाई स्वरुप दिने ‘मेटेरियल’ विगतकै हुन्छ भन्ने कुरा उसले जहीँ पनि जमघट हुनासाथ भन्ने गरेकी छे । यस मानेमा सतही उत्तर दिएर उसले लेखकीय ‘एङ्जाइटी’ अथवा  प्रसव भय देखाइरहेकी थिई । ऊ ठ्याक्कै लेखिरहेको कुराबारे वोल्न हिच्किचाइरहेकी थिई किनकी बोल्दा बगिन्छ र संचय गरेर राखेको वैचारिक र भावनात्मक जल सिर्जनाको घडाभन्दा बाहिरै पोखिइसक्छ । अनि मैले नै सोधें प्रसंग मोड्न भनेर —‘के पढ्दै हुनुहुन्छ ?’

पुराना कुरा
अरु प्रसंगहरुको बेलिविस्तार लगाइँदै गइनेछ तर त्यसभन्दा अगाडी हामी कसरी यति ठाडो प्रश्न गराइको तहसम्म मित्रवत् हुनपुगेका थियौं भन्नेमा पृष्ठभूमि खोल्नु पर्ला । लगभग दुई बर्ष अघि काठमाडौंमा चलिरहने अनेक साहित्यिक भेलामध्ये एउटामा उसलाई मैले पहिलो पटक भेटेको थिएँ । त्यहाँ उसले कविता सुनाएकी थिई । र जहीँ पनि पुरुष भीड बढी भएको ठाउँमा हुने गरेजस्तै मञ्चमा चढ्दा र ओर्लदा सिट्ठी र  तालीको चर्को उल्लासबीच ऊ मेरो दृष्टिमा पातली, फुर्तिली र नवीन व्यक्तिको रुपमा दर्ता भएकी थिई । यसरी दर्ता भएकी उसलाई आफू वरपर उत्ताउलिएर कोलाहल गरिरहेको श्रोतादिर्घाबाट अलग्गिएर हतारहतार परिचयको पासोमा पारीहाल्न म दिलोज्यानले लागेको थिएँ । संयोगले एउटा गजलकार साथीले उसलाई त्यहाँ ल्याएको रहेछ, उसैमार्फत् परिचय गरें। परिचय के गरें र, उनिने अवसर हत्याएँ भुवादार स्मृतिको जगल्टोमा । फेरि मेरो परिचय उही साथीले नै गराइदिई हाल्यो पनि —‘शिवजीको पहिलो कथासंग्रह दुई महिना अघि प्रकाशित भएको थियो ।’ अनि कृतिको नाम बताइसक्दा उसले मिडीयामा सुनेको तर पढ्न नभ्याइसकेको भन्दै मेरो फ्लप भएको साहित्यिक डे्व्यूलाई मन राखिदिनलाई नै भनेर सम्भवतः  इज्जत दिएकी थिई, जस्तो कि अपरिचितहरूले विना लोभलालच दिने गर्दछन् प्रथम भेटमा । त्यसपछि भने हाम्रो भेटघाट बढ्दै गयो । काठमाडौं खासै ठूलो नगर पनि त होइन । गजलका मण्डली र तिनमा रन्किने, झन्किने र गुञ्जिने गेयात्मक तरङ्गका सेरोफेरोमा भातृत्वको खोजीमा आएका हामी एकै स्थानमा टुप्लुकिइरहन्थ्यौं ।
साँझ र सनिबारहरू साहित्यिक गमघटको निम्ति अनुकूल रहन्थे । म स्कुले शिक्षक भएकोले दिनको समय उसै पनि अटेसमटेस रहन्थ्यो । ऊ भने कीर्तिपुर बस्थी, सहरको सघनताभन्दा टाढा, अंग्रेजीमा डिग्री गर्न । उसको झोलामा कुनै न कुनै अंग्रेजी क्यलासिक सधै रहन्थ्यो । ऊ नेपाली साहित्य प्रशस्तै पढ्थी र कुनै वादविवाद उठे त्यसमा होमिइहाल्थी । एकपटक अनामनगरको गजलमण्डलीबाट निस्किएपछि चिया पसलमा देवकोटासम्बन्धी गफ सुरु हुँदा उसले गरेको तर्क स्मरणीय छ । त्यसबेला ऊ काफ्का पढ्दै रहिछ । साथीहरुले मुनामदनबारे अनेक टिकाटिप्पणी गर्दा निकै बेरदेखि चुपचाप रहेकी उसले एक्कासी आफ्नो ब्यागबाट ‘मेटामोर्फोसिस’ निकाली र त्यसमा रहेको भूमिकाका केही हरप पढी, अनि भन्न थाली—‘मर्ने बेलामा काफ्काले आफ्ना नजिकका मित्रलाई सम्पूर्ण अप्रकाशित कृतिहरू नष्ट गरिदिने बाचा गराएका थिए । तर उनका ती मित्रले त्यो बाचा कायम राख्न सकेनन्  र तीन असमाप्त उपन्यासहरु उनको मृत्योपरान्त प्रकाशित भए । यसमा साथीहरुले, देवकोटाले जीवनको अन्त्यतिर प्रस्तुत गरेको अभिव्यक्तिसँग तुलना गरेर हेर्नसक्नुहुन्छ । उनले मुनामदनबाहेक सबै कृति डढाइदिए हुन्छ भन्दा मानिसको आफ्नो जीवनमाथिको  नियन्त्रणको चाहना देखिन्छ ।’

ऊ एकछिन रोकिइ र निधारलाई गाँठो पार्दै आफ्नो धारा प्रवाहलाई जारी राखी—‘मुनामदन उनकै जीवनकालमा अत्यन्तै जनप्रिय र उत्कृष्ट कृति मानिसकिएको थियो । अरु काव्यकृति बढी वौद्धिक र क्लिस्ट थिए । तिनको भावी पुस्ताले के मूल्यांकन गर्ला, उनलाई सम्भवतः चिन्ता थियो । जीवनभर नास्तिक रहेका उनी, पछि मृत्योपरान्तको अज्ञात्को भयबाट ग्रस्त भए, लेखे–‘आखिर श्रीकृष्ण रहेछ एक . . .’ उनी एकखाले निश्चितता चाहन्थे जसबाट आफ्नो कृतित्वबारे स्वयंमा स्पष्ट हुनसकून्, कि तिनबाट उनको जीवनको एकखाले अर्थ लागोस् । तर त्यो सुविधा त कसैलाई पनि कहीँबाट प्राप्य छैन । काफ्काको स्थिति अझ नाजुक थियो । जीवनकालमा उनको साहित्यिक व्यक्तित्वले उतिसारो उचाइ पाइसकेको थिएन । मृत्यु नजिकिँदै जाँदा उनका धेरै कृति प्रकाशित हुन, समाप्त हुन, बाँकी नै थिए । त्यसैले तिनबारे केकस्तो प्रतिक्रिया रहला  भन्ने उनले थाहा पाउन सक्ने थिएनन् । यो असक्षमता उनको क्षयरोगले ग्रस्त मानसिकतामा ठूलो भार थियो । उनले बरु आफ्नो भौतिक जीवनभन्दा लामो आयू बाँच्ने सम्भावना भएका सिर्जनालाई नै नष्ट गर्ने सम्मको कठोर निर्णय लिन पुगे । अज्ञात्लाई उनले आफूभन्दा माथि पर्न दिन चाहेनन् । ’

मैले सोधेथें—‘तर त्यस्ताखाले अभिव्यक्तिहरुको त उल्टो आशय पो हुन्छ होला त ! नष्ट गराउने बाचा गराएर काफ्काले आफ्ना पुस्तकहरु प्रकाशित हुने ग्यारेण्टी गराउन पुगे । देवकोटाले मुनामदनको उचाइ बढाउन पुगे, होइन र ?’ केही साथीहरु मानौं सहमतिमा मुस्कुराएथे ।

तर उसले तुरुन्तै फर्काइहाली—‘ ती त ऐतिहासिक विडम्बना हुन् । उनीहरुको मृत्योपरान्त उनीहरुका अभिव्यक्तिको के असर प¥यो भन्ने भन्दा पनि तात्कालिन सन्दर्भ र सत्यलाई हामीले हेर्नुपर्ने हुन्छ । काफ्का क्षयले जीर्ण थिए, देवकोटा क्यान्सरले । जीवनको अन्त्य निश्चितप्राय भइसक्दाका अभिव्यक्ति हुन् ती ।’


ऊ एकाध गजल र कविता लेख्नेवाहेक के गर्छे भन्ने मलाई थाहा थिएन । मैलेजस्तो केही संकलन गरेर छपाइहाल्ने हतारो पनि गरिरहेकी थिइन । म आफैं पुस्तक छपाउनाले ऋणमा डुबेको थिएँ । कितावका प्रति सित्तैमा धेरै बाँडिएको .अवस्था थियो । किन्नलाई म न त राजधानीको ‘साहित्यिक समुदायमा’ नवीन फेनोमेनन मानिएको थिएं न त दिग्गजहरुबाट मीडियामा प्राप्त हुने प्रसंसा र सुभकामनाका शब्दले मेरो ईमेजमा हावा भरिएको थियो । यस अर्थमा मेरो साहित्यिक कद मेरो भौतिक कदभन्दा फरक थिएन । एकसरो पातलो ज्यानमा उतिसारो व्यायामको नियमितता नहुँदा पुटुक्क भुँडी लाग्न थालेको । यस्तोमा साथीभाइ जिस्क्याउँछन्—‘तीन महिनाको गर्भ त बसेछ गाट्ठे !’ तब गजक्क परेर उत्तर दिइन्छ—‘चोरेर, ठगेर खा’को होइन, परिश्रमले कमाएर खाइ ला’को भुँडी हो । किन एक्र्ससाइज गरेर फ्याँक्नू ?’




—‘के पढ्दै हुनुहुन्छ ?’
उसले केही उत्तर दिइन बरु सीधा अनुहारमा हेरी । लाग्दथ्यो यतिञ्जेल ऊ अन्तै कतै थिई, अव ठीक मेरो सामू नै छे र भन्दैछे —‘ए शिव, तँलाई साँच्चै यस्तै प्रश्न गरिरहन मन छ ?’ मैले आँखा निहुराएर टेबुलको बीचतिर बसेको कप उठाउन हात अघि बढाएँ । मानौं म मूर्खझैं शव्दहीन शब्दहरुमा भनिरहेको छु—‘ किन, यो प्रश्न ठीक छैन र? यसरी सोध्न मिल्दैन र ?’ उसले मेरो हातलाई हलुका स्पर्श गरी । यसबीच हामीहरुले एकै शब्द बोलेनौं, तर भन्न सकिन्थ्यो हामीबीच संवेदनाका सागरहरु उर्लिरहे । कफी सिध्याएर रु १०० को एउटा हरियो नोट टक्रयाउनासाथ मैले उसको हात समाएँ र आफ्नो डेरातर्फ डोहो¥याएँ ।

झ्यालहरु, गन्धहरु
म बस्ने कोठाको अनुहार बाटोबाट यस्तो भित्तोको रुपमा देखिन्छ जसका स्वयम्भूकाझैं दुई आँखारुपी झ्यालहरु छन् । भित्ताको रंग निलो वा हरियो दुवै भन्न मिल्ने खालको छ । अरुबेला फुर्सदिला वा सून्य सोचका क्षणहरुमा म यी झ्यालमध्ये कुनै एकको पल्लाबाट घरको गेटसम्म ल्याइपु¥याउने छाप्रेढुंगा ओछ्याइएको गल्लीमा हिँड्ने मानिसहरु, तिनका वरिपरी सल्वलाइरहने, पुच्छर हल्लाइरहन,े कुकुरहरु नियाल्ने गर्थेँ । छेउछाउका अरु घरहरुका गेटमा मानिसहरु पसेको हेर्नु र तिनका बन्द कोठाहरुभित्रका रमिताबारे कल्पना  गर्नु मेरो ‘अमेचर’ शौख थियो । यस्तो विलासिताको भोगचलन गर्दा मेरो पछाडी घरीघरी चुलोमा बसाएको कुकरको सिट्ठि बज्थ्यो, दुध ताप्केको डिल कटेर उम्लिइजान्थ्यो अथवा खाना पकाउँदा पकाउँदै नुन सकिएको भन्दै पल्लो कोठाकी दिदी एकदुई चिम्टी नुन सापट माग्न आइपुग्थिन् । म बेहोसीबाट झस्किन, र झ्यालछेऊ सटिएको खाटबाट र कल्पनाभूमिको उचाइबाट एकैसाथ, तल ओर्लिन बाध्य हुन्थें । आज उसलाई हातैले डोहो¥याएर विस्तारै गेट खोल्दै घरभित्र पस्तै गर्दा मलाइर्, विहानविहानै छिमेकका घरहरूबाट घरमालिकहरुले आफ्ना पालुवा पहेरेदारहरुलाई नरम छालाको डोरी समाइ लघुसंका वा सके मलत्यागकै निम्ति कतै चौरतिर लगरिहेको दृश्यको सम्झना आयो । किन ? म भन्न सक्तिन, न त जान्न नै चाहन्छु ।

जति बेला म ढोकाको ताल्चा खोल्दै थिएँ मेरो मोबाइल बज्यो र फोन रिसिभ गर्न खोज्दा चिप्लेर हातबाट झ¥यो । म हतास भएको हुनुपर्छ, मेरा हात कापिँरहेका थिए होलान् । धड्कन तेज थियो होला । र यो सब सतहमा नदेखियोस् भनेर म बेजोड प्रयत्न गरिरहेको थिएँ होला । फलस्वरुप जस्तो कि भूकम्पमा हुन्छ, त्यस्तै भइरहेथ्यो । हलचल तलतल गहिराइमा थियो, कम्पन झन्झन् सतहमा बढेको थियो ।
कोठाभित्र पस्ता दुईथरी गन्धहरु एक्कासी अनुभूत भए । एउटा उसको शरीरको पफर््यूमको, अर्को भान्सा र वेडरुम एउटै भएको पुरुष डेरावालको बन्द कोठा खोल्दा आउने तिख्खर ‘फ्यूम’ को । भन्नाले जस्तो कि बैज्ञानिकहरुको रसायनहरु उम्लिरहेको प्रयोगशाला हुन्छ, अलिकति त्यस किसिमको प्रतीत भइरहेथ्यो मेरो कोठा एकाएक आज । मैले कोठामा उसलाई कहाँ बस्ने भन्ने निर्देशित पनि नगरीकन हतारिएर झ्यालका पल्लाहरु  उघारें । लाग्थ्यो आज यी चार दिवालले बनेको यो घनलाई सघन दृष्टिले यी झ्यालहरु मेरै विगतका आँखा बनेर हेरिरहेका छन्, प्रयोगशालामा मञ्चित भइरहेको प्रयोगझैं ।

बेडबाहेक कोठामा बस्नलाई कम्प्यूटर टेवलको कुर्सी थियो । घुम्ने कुर्सीमा एक फन्का मारेर, खाटमा बसेको मलाई एक पटक सामना गरी उसले । अनि काखको ब्याग खोलेर पर्सबाट रु ५० को न निलो न हरियो नोट निकाली । त्यसलाई टेवलको छेउमा राखिदिई । उसका दायाँ र वायाँपट्टि उभिएका किताबका ¥याकहरुबाट एउटाएउटा किताब निकाल्दै हेर्न थाली । एउटा पुस्तक हेरेर ¥याकमा पुनसर््थापित गरेपछि ऊ कुर्सीमा एक फन्को घुम्थी । यसरी उसले सात पटक घुमेकी हुनुपर्छ, म त्यति एकाग्र भएर नियालीरहेको थिएँ । यो सबै ऊ यसरी आफैंमा हराएर गरिरहेकी थिई मानौं सानी केटीले गुडियाको खेल खेलिरहेकी होस्, विल्कुल संसारदेखि हराएर । यसबीच उसलाई अनेकथरी किताबका पानामा मनमोजी तवरले घोत्लिएको हेरिरहँदा म शब्दहीन, कुनै ईशारा, संकेत, आह्वान, केही गर्न असक्षम र जडवत् बनेको थिएँ । दुईटा कुरा मनमा खेलिरहेका थिए —एउटा, अघि क्याफेबाट मैले उसलाई डोहो¥याएको थिइनँ, वरु त्यसो गर्ने उसको अमूक आदेशको पालना गरिरहेको रहेछु ;अर्को, मैले उसलाई नसोधी कफीको दुई कपको रु १०० तिरेको थिएँ जसमा उसको हिस्सा उसले यहाँ आएर व्यहोर्दै थिई । तेस्रो पनि कुरा मनमा खेलेको थियो तर त्यो अमूर्त थियो—अव के गर्ने भन्ने प्रश्न को अन्योल ।

अन्योल
सामाजिक विज्ञानका धेरै अध्ययनका मोडेलहरुमा तत्व वा ‘भेरिएबल’हरूबीचको सम्बन्धलाई गणितीय समीकरणमा राखेर हेर्ने चलन हुन्छ । एकपटकमा एउटा तत्व वा भरिएबललाई चलाएर अरु सबैलाई स्थीर राखी त्यसको व्यवहारको अध्ययन गरिन्छ । यस पटक यो स्थीर राखिएको चर वा भेरिएबल म थिएँ, र स्वचालितझैँ ऊ थिई सक्रिय । तर सामाजिक विज्ञानका मोडेलमा ‘तत्वको सक्रियता नियाल्ने’ भन्ने पूर्वनिश्चितता हुन्छ । हाम्रो सवालमा भने म विल्कुल योजनाविहीन र उसको निर्देशको पर्खाइमा रहेझैं थिएँ । उसले यो संकेत कतिवेला दिन्छे भन्ने थाहा नहुनु नै मेरो हकमा अन्योल थियो ।

भन्नलाई म परीकथाको त्यो परी भएको थिएँ जो राजकुमारको स्पर्शबाट अनन्त स्वप्नबाट जाग्नलाई प्रतीक्षारत हुन्छे । उसले हातमा  केहीबेरदेखि लिएको पुस्तकबाट आँखा हटाइ, पढिरहेको पानामा औंला राखेर चुरोट चेपेझैँ पुस्तकलाई चेपी, अनि टेबुलमा अघि राखेको रु ५० को नोट त्यहाँ बुकमार्कर बनाएर राखिदिई । अनि त्यसपछिका केही सेकेन्ड कसरी बिते भन्ने मलाई पत्तो रहेन, पत्तो हुन लाग्दा ऊ मेरो काखमा थचक्क बसेकी थिई जसरी बसमा यात्रुहरुका काखमा सिट नपाउँदा केटाकेटी बस्छन् ।

मानौं परीकथाको त्यो परीलाईझैँ भएको होस्, म संवेगहरुको भर्भराउँदो फोहोरा अनुभूत गर्न थालें । उसले मेरा दुबै हात आफ्नो नितम्बमा ल्याएर आफ्नो वरिपरी वाहुपास बनाइ । विस्तारै मेरा औंलालाई आफ्नो वक्षस्थलमा स्पर्श गराउन लागी । यो कतिञ्जेल जारी रह्यो म भन्न सक्तिनँ ।
एक्कासी ऊ मेरो शरीरबाट अलग्गिइ र उभिएर मलाई सामना गरी । उसका आँखा आवेगले ग्रस्त र मेरो ऐनाझैँ थिए । अनि मानौं हामी दुबैलाई आजसम्म कुनै ठूलो अन्याय हुँदै आएको होस्, मानौं यसो नगरेसम्म हाम्रो सुद्धीबुद्धिको अव कुनै ठेगान रहनेछैन, त्यसरी उसले चुम्बन गर्न लागी, त्यसरी हामीले चुम्बन र ‘फोरप्ले’ सुरु ग¥यौं ।
उत्कर्षको बेला हामी दुवैका आँखामा आँसु थिए । एकैसाथ हृदयमा हलुंगोपन र गह्रुङ्गोपन थियो । हलुंगोपन विगतको दृष्टिकोणबाट महसुस हुन्थ्यो, गह्रुङ्गोपन आगतको बाक्लो अनिश्चितताको कुहिरेमण्डलबाट आइरहेको थियो ।
उसले लुगा लगाइ र केही नभनीकन झ्याल छेउ गएर वाहिर हेर्न लागी । यसपटक ऊ जाँदा मैले झ्यालबाहिर हेरिनँ, लाग्थ्यो झ्यालका आँखा अझै भित्रै फर्किएका थिए ।

एक महिनापछि
ऊ मेरो कोठामा आएर त्यो समर्पण सम्भव भएको लगभग एक महिनापछि एक चर्चित साहित्यिक पत्रिकामा उसको एउटा कथा छापियो । उसको तस्वीर अलि भिन्न थियो । कपाल छोटो थियो । कथाको अन्तिममा लेखकको ठेगाना लेख्ने चलन हुन्छ, जसानुसार लेखिएको थियो ‘हाल काठमाण्डौमा ।’

जब कथा पढ्न थालें म पुरै झस्किएं । कथा सीधै आत्मवृत्तान्तात्मक शैलीमा कसैलाई सम्बोधन गरेर लेखिएको प्रेम पत्रको स्वरुपमा थियो । जुन घटना र निजात्मक भावनाहरु क्थामा वर्णन गरिएका थिए त्यसबाट स्पष्ट हुन्थ्यो ती मतिर निर्देश गरिएका थिए ।

‘. . . त्यस दिन हामीले अचानक बाटोमा भेट्नु एउटा संयोग थियो होला तर म क्याफे पस्ने निर्णय गरेदेखि नै यस अवसरलाई नियोजित किसिमले मोडिरहेकी थिएँ । हामीबीचको सन्नाटामा पेण्डुलम बनेको सम्बन्धलाई क्रियात्मक क्याइम्याक्स, निकास, अथवा, जेसुकै भनौं, निष्कर्षमा पु¥याउन चाहन्थें ं . . धेरै औपचारिक शिक्षा प्राप्त गरिएको छ, सामाजिक–साँस्किृतिक श्वासप्रश्वास गरिएको छ, यसबीच एउटा वास्तविक परीक्षण गर्न चाहन्थें . . .’ अनि सीधा सम्बोधन सुरु हुन्थ्यो—‘ . . .तिम्रो कोठामा पसेपछि मैले बुझें कि प्रेम गम्भीर जिम्मेवारी हुन्छ जसमा आफ्नो विवेक विल्कुल निर्वाध चल्न सक्नुपर्छ, स्वतन्त्र बन्न सक्नुपर्छ आफू . . . अनि लाग्यो एउटा खेलझैं खेल्नुपर्छ, किनकी गम्भीरताले धेरै कुराको माग गर्दछ जुन आवश्यक हुन्नथे . . . त्यो एउटा छुट्टा घटनाबाट, जसमा मैले पचासको नोट किताबमा घुसारें, म प्रत्येक चाललाई अनुमान र आँकलनभन्दा पर लैजान चाहन्थें जुन असाध्यै कठिन थियो, यति भन्न सक्छु त्यो पूर्वविचारित थिएन, सत्ते स्वतस्फूर्त त्यस्तो गरेकी थिएँ मैले कि मानौं म कन्भिन्स्ड थिएँ कसैगरी कि त्यो क्षणमा मैले त्यसो नगर्दा अर्को पल जसरी वित्नगो त्यसरी वित्ने थिएन, अनि अर्को पल, अनि अर्को पल, अनि अर्को पल त्यसरी वित्ने थिएनन् . . . र घटनाहरुको सिलसिला जसरी अघि बढ्यो, त्यसरी अघि बढ्ने पनि थिएन . .’  त्यो कथा थियो र त्यसकारण, एकैसाथ, कसैप्रति सम्बोधित भएको त्यति नठानिन सक्थ्यो, जति ठानिन सक्थ्यो । यी समानान्तर सत्यहरुबीच म कथाको हरफहरुबाट आफ्नो धारणा तयार गर्दै स्वचालित मनोगतिमा पढिरहेको थिएँ । ‘ . . . हो, हामीबीच पहिले अनेक पटक कटाक्षमय कुराकानी भएका हुन् जसमा हामी दुवै स्पष्टताबाट भाग्नुलाई रोमाञ्चकारी मानिरहेका हुन्थ्यौं, जुन हामीले बुझ्दै पनि गएका थियौ कि विल्कुलै वेतुकको कुरा थियो, किनकी छोटो चोलामा आत्मियताका कतिपय कुराहरुमा क्षणिक नै भए पनि स्पष्टताका गोरेटा आवश्यक पर्दा रहेछन् . . . म आफ्नै प्रयोगले आधा परीक्षित भएँ, अब आधा तिम्रो मौनताको ढोकाबाट प्रस्फुटन हुने पहिलो ध्वनिले बताउनेछ . . . म मेरो झ्यालको पर्दा पन्साएर गल्लीतर्फ हरिरहेकी छु र सोच्दैछुँ तिमीकहाँ यी शब्दहरु प्रतीक्षाको सन्देश बोकेर मूर्त हुनेछन् ।’ मलाई लाग्यो, निमेषभर, कि कोही साँच्चै ढोका अगाडी उभिइरहेको छ । हाँस उठ्दो पूरा ।

‘बुकमार्कर’को कुटिल खेल
कथाको अन्त्य पढिसक्दा बारम्बार मेरो मगज बुकमार्करको घटनामा आएर अल्झिरहेथ्यो । त्यो कितावतर्फ यत्तिका दिन मेरो ध्यान गएकै रहेनछ । ¥याकबाट टिपेर हेर्दा देखें उसले घुम्ने कुर्सीमा बसी अन्तिम फन्को लगाइ पाना पल्टाएको पुस्तक ध्रुवचन्द्र गौतमको कथासंग्रह रहेछ । त्यहाँ उसले जहाँ रु ५० को नोट घुसारिदिएकी थिई, कथा ‘आगन्तुक १, आगन्तुक २’ पर्दथ्यो । त्यो कथा दुई साथी आफ्नो युवाकालको तेस्रो साथीलाई भेट्न गइरहेका हुन्छन् धेरैे बर्षपछि । त्यो तेस्रो साथी सम्पन्न र प्रतिष्ठित भइसकेको हुन्छ जब कि यी दुई खासै गति पर्न सकेका हुँदैनन् । मैले घत लागेका केही लाइन रेखाङ्कन गरेको थिएँ पेन्सिलले, त्यहाँ त्यो पचासको नोट चेपिएको थियो । ती हरफ यसप्रकार थिए—‘ हामी दुईजना र यो शिवे एक अर्कालाई हेर्न थाल्यौं । बूढो देखिन थालेछौं । उसको फेरि त्यस्तो देखिएन । १०–५ बर्ष अझै थरीथरीका जलपरी, धान्लाजस्तो छ । मान्छे उमेरले मात्र बूढो हुन्छ भन्ने कुरालाई उसले गलत सावित गरिदिएको थियो । हामीलाई प्रसन्नता पनि भयो, हाम्रो एक आत्मीय मित्र अझै युवा देखिन्छ । हामीभन्दा २÷३ बर्ष जेठै थियो। हामी भने यति झुरझार भइसक्यौ कि ठिटीहरु कतै सिट नपाए काखमा बस्न पनि निर्लिप्त भएर स्वीकार गरुन् । पछि हामीलाई बदमास भनेर काख छाडेर भाग्थे यसमा सन्देह थिएन। कारण, तिनीहरु जुन निर्लिप्तताका साथ वस्ता हुन्, त्यो त हामीसँगै पक्कै हुँदैन थियो अनि त्यसपछि . . . भैगो यसलाई नलम्ब्याऊँ ।’

गौतमको यो ह्यूमर अनुच्छेदप्रति नाक खुम्च्याउँदै ‘ऊ’ अर्थात् शर्मिलाले एक पटक मैले नेपालमा महिला आख्यानकारहरुले ‘हाँस्य’को प्रचुर उपयोग गर्न नसकेको, वरु बढी उत्पीडनकेन्द्रित न्यारेसनमा नै अधिक निर्भरता देखाएको भनी टिप्पणी गर्दा भनेकी थिई—‘यी यसरी हाँस्य समेत पुरुष कब्जामा छ, पुरुषले हाँस्ने गरी स्थापित गरिएको छ , महिला जहीँ पनि हाँसिन्छे मात्र ।’ एक महिना अघि मेरो कोठामा उसले घुम्ने मेचमा बसेर पढेको यो अनुच्छेद मानौं हामीबीचको दूरीलाई काउँकुती लगाइलगाइ हँसाइरहेको थियो, तदनुरुपले म वेचैन भएँ ।

अर्को मञ्चन

अनि मैले उसलाई फोन गरें जसपश्चात् म हिडें उसले वताएको ठेगानातर्फ । मैले पढेका कतिपय हाँसउठ्दा साहित्यिक प्रसंगहरु मनमा तछाँडमछाँड गरिरहेथे अव शिघ्र मञ्चन हुने आशामा ।