हे अनवरत् स्फुरण
एउटा गज्जबको संगीत बजाइदे !
प्रकृति–आत्मबाट टिपेर तेज
दृष्टि–द्रष्टव्य चम्काइदे !
छिपेको, छानिएको निर्धक्क बगाइदे !
तेरो अविच्छिन्न लर्कोमा
सामानसोचहरु सारा अटाइदे ।
मलाई पगालेर मभन्दा पार
मलाई वारिबाट देखाइदे ।।
मलाई चल्न मन छ,
पलपलबाट हट्न मन छ ।
ग्रेगरले शीत पिउने विहानीहरुमा
भानुको उदय चमत्कारको लाली पर्दा
मेरो हृदयलाई विनीत भावले वेर्दछ,
के म निल्दै हिँड्दछु
श्वासश्वासमा जीवनप्रसार ?
पर्याबाट ? उडीउडी मिहिन
दैनन्दिकी चर्याबाट ?
मलाई आकाशले उडाउँछ,
धरतीले हिडाउँछ
भने छु म कति माथि ?
हुँ म कति तल ?
नाप खुम्चिन्छ , नाप हार्दछ,
हाँसोले पिसिन्छु,
तर गणितले मार्दछ ?
यो विराट जीवनतरङ्गले
मलाई एकलव्य स्फूर्ति दिन्छ,
भने म हंश सम्हालुँ कि हर्ष ?
टिक्दिनँ— थाहा छ ।
बिक्दिनँ— कसलाई चाह छ ?
मिट्दिनँ— कोही मान्न सक्छ ?
किन्तु मिट्नुमा त मजा छ ।
वालुकण गिरि चढेको
पत्थरमा गढेको, कहीं कथा छ ?
तर असम्भवहरुमै त आहूति
स्वप्नहरुको अथाह छ ।
“लहडी लय, लहडी रीत,
पट्ट फुट्नु ओख्खरको प्रीत,
दर्दमा वोकेर मीठासको मति
हर्ष अनि जुट्ला कति कति !”
यसो भन्दै मन्त्रिएर भोगिन्न
आँशु आँखा थापेर मागिन्न ।
बुझ्नेहरुलाई समझ नै बोझ,
ज्ञानले सोचमा स्वार्थ टाँगिन्नँ ?
तर यो फुकाइ वेफिक्री छ
नाडीमा भेल बोकेको कोशीधमनी छ
प्रतिपलको परिणतिभोकमा प्रेमभाव रमणी छ
अनावृत लवज अदृश्य ओठहरुमा संगीतवसीभूत श्रवणी छ,
भने चालचालमा नरम् वन्हि
उद्योगअँगेनोमा कस्तो भोजन जननी छ ?
हे एकान्तिक साथी
तेरो साथले जीवन जोगाइदे,
सिक्रीहरुले अडिएको शिरलाई
अज्ञ–शुद्ध उल्लासले उठाइदे
पिँधिपिँधि पत्थर पिउने मगजलाई
संज्ञानसोधसंहितीले सुल्झाइदे
नत्र हाँसोहरुमा हेलिनेछु
भित्र वाहिर,
नत्र अनैक्यित नै हराउनेछु
आविष्कारसाथ,
जिएको मात्रै, जागृति नदेखिएको
जन्मान्तमा पनि जनावर !