Tuesday, February 17, 2015

एकपल्ट बोल पार्वती, मसँग !

पार्वती ! तिम्रो व्रतले
मैले पुन : आफैँलाई पाएको छु,
हिमालजस्तो अटल तन्मयतामा
महिनौंसम्म विशुद्ध आफैँलाई चाहेको छु,
अहिले तिमीमा पसेर
दान गरिएको आत्माझैँ विलीन भइ
पुरुष–नारिको किनाराबीचको
शक्तीपुञ्ज प्रणय भएको छु ।
आफ्नो रतिरागले आफूलाई खोज्दैछु
सिर्जनाका छरपष्ट जंगल बगानहरुमा
हरियाली कल्पनाका प्रभातहरु
घरी एउटा भक्त उभ्याएर
घरी एउटा द्वीप निभाएर
जलाएर केही व्यूताउन,
धुवाँमा एकैछिन आफूलाई सुँघ्दैछु !


अनन्तसम्मको यो द्रवित अट्टाहस
नरहरुको अतृप्तिझैँ
मेरा कानहरुमा टड्कारो बज्दछ,
यी यै एउटा क्षुद्रको आत्म निभाएर
हेर बजाउँदछु
डम डम डम डम डमरु
हेर काँप्दछु निस्सारको ठण्डीले
ऐ उण् ऋ लृक् . . .
यी हेर यी लट्टाहरुमा गाढा कोइला निर्झर
मेरा बाहूमा सल्बलाइरहेका
लीलाका नदीहरु प्रस्तर


पार्वती ! यी नैराश्यका अतल चच्छुमा हेर
तिमीले ऐनामा देखेको स्निग्ध कमल !
त्यस तल निराशाको गहिरो मुखद्वार हेर !
त्यस तलको अमेट निराकार अन्धकार हेर !
तै पनि तिमीमा रोप्दैछु, अलिकति शान्ति,
क्षणभंगुर विस्मृति,
विनास्वप्न ।


हेर विकल्पहीन बाँच्नुको सजाय !
तिम्रा तपस्याहरुको छोटो विश्रामले
यो नित्यताको वतास न त थामिन्छ
न यो प्रश्वाशको पवन रोकिन्छ वहन भुवनहरुमा !
तिम्रो तुच्छ प्रपञ्चको पोकोमा
न अटाउनैसक्छ कुनै वस्तु नयाँ !
न त उब्जिनै सक्छ सुकिलो टुसोझँै
स्मृतिको भूमिमा रहस्य नवीन !
न त जितिने छ एक टुक्रो शहादत जुटाएर
एउटा कण स्वतन्त्रता !


पार्वती ! यो विराट विस्मृतिको
कसरी सुन्दर ऐना भयौ सूक्ष्म ?
किन अवाक् छ्यौ अन्ततः
मागेको पाएर, कामनाविहीन ?
कस्तो रित्तताले भरिएर
अहिले रंगहीन भएकी छ्यौ ?
पार्वती ! म चिसिँदैछु तिमीलाई च्यापेर !
सुन्नसक्छ्यौ भने के गरुँ सुनुवाइ ?
पार्वती ! म तिमी हुँ
कि तिमी म हौ ?
हे सुन्दरी ! यो मादक धुवाँले
म छटाइरहेको छु नित्यतामा
तिमी सग्लो यथार्थ भइ प्रकट होऊ !
संग्लीय मबाट !
यो बाहूपासमा तिमी अर्को बोली होऊ !
पार्वती ! मेरो लागि चिरकालसम्म
तिमी अबोध्य रहस्य भैदेऊ
यी अश्रुधाराले सेचिएर !
February 27, 2014 at 7:08pm