Sunday, September 13, 2015

ए मेरी ..... !

ए मेरी श्रीमती !
तिमी र म एक–अर्कालाई
आपसी व्याधको संक्रमण,
धाराको पानीसरि
गाग्रीमा, वोतलमा, जेजेमा
दैनिक, रंगविहीन
एकनासको भ्रमण, भरण,
एक–अर्काको जिन्दगी–बागमा
वन्मारा झारको अतिक्रमण,
जागिरजस्तो, नखपि नहुने
फेरिइरहने निर्देशको श्रवण !

ए मेरी अर्धाङ्गिनी !
तिमी र म मायाको थोरै सिमेन्टले जोडिएका
धेरै गिट्टी, ईँट र छड,
दुई मिली थाम्न सके
केही लहरालाई थाङ्ग्रो लगाउन सके
“कस्ले कति ग¥याथ्यो ?”को बडाबड,
दृश्य–अदृश्य हामीबीचको महाभारतको
हामी दुई विपरित गढ,
सधै एकको योजनामा अर्को
आइ लम्पसारिने तुकविनाको लहड ।

ए मेरी भार्‍या !
तिमी र म एक–अर्कालाई
कपासलाई ओसको भरिया,
संघर्षका लामा कोस काट्लाई
बोकेका थोरै ढाडसका पुरिया,
एक्लाका आँखामा टल्किने
खान नमिल्ने गहनागुरिया,
न पहाडको चिसो न तराइको गर्मी,
आवेसका साउने भेलमा बगिरहने
हामी त चुरिया, भार्‍या, खुकुलो, खस्रो चुरिया !

ए मेरी पत्नी !
तिमी र म एक–अर्कालाई
पराइ बटुली चुग्ली लगाउने सकुनी,
जति नहुँदा नहुनी, हुँदा उति नहुनी,
जिन्दगीका पाकेका बालामा टेकी, जुवामा नारिइ
चिप्लो मियोमा गोलगोल घुम्ने दाउनी,
अञ्जान आवेग र आशंकाका पल्टनलाई
छत हाली सुताउने छाउनी,
समाजका श्रमिक हामी, सभ्यताका कृषक
युगका इकाइ बोक्ने, बिर्साइ  र सिकाइ बोक्ने
एक अर्कोलाई, कुहिनाले हिर्काइ
हिँड्ने लड्खडाइ— त्यस्ता पथगामी,
पत्नी ! त्यसरी, हो, त्यसरी,
तिमी र म, हामी !

September 11, 2015