खै, दशैं अगावै रगतका टाटाले रंगिइसक्यो भूमि,
निधारमा रातोले
के शोभा बढाउनु हो !
असहिष्णुताको
खेलमा लिप्त, एक्लिंदैछ
छिमेकीबाटै आँगन,
उल्लासको पाइला
सुखको कुन शिखरमा
चढाउनु हो !
चाडको शान्त
सादगीमा
सद्भावको
प्राणदायी श्वास हुनुपर्ने,
यस्पाली सद्भावको
उखु
दाँत उखेलिएका
मुखहरुमा
टोकाउनु हो कि
कोच्याउनु हो !
चाडमा मासुको
भोजन त्यसै हुँदो रहेनछ,
सोच्दछु, शिकार र शिकारीले सृष्टि जोगाउन
हाँसीहाँसी कसरी
साथ निभाउनु हो !
गर्जो टार्नु वा
नक्कल पार्नु,
सवमा पराधिनताको
छाप बोकी
फेर्ने श्वास र टेक्ने
जमिनबाहेक प्राथमिकतामा राख्दा
कुन–कुन चिज पहिले कमाउनु हो !
पृथ्वी घुमिँरहदा,
घडी चलिरहँदा
बितेका अमूल्य पल
समेट्न
कतिञ्जेल नाडीको
सुई उल्टो घुमाउनु हो !
पैतालामा घाउ छ,
अनुहारमा
सौन्दर्य–लेप दली
घरी आफू, घरी अरुलाई छली
कतिञ्जेल यसरी
रमाउनु हो !
२०७२ सालको यो दशैं
कसरी पो मनाउनु
हो !
16 Oct, 2015