एउटा भव्य घरको रेखदेख गर्न
साङ्ला र माकुरालाई दिइएको थियो,
कहिलेदेखि भन्ने उनीहरुलाई याद थिएन,
कहिलेसम्मलाई उनीहरुलाई थाहा थिएन ।
तिनले वण्डा गरेका’थे रखवालीको :
माकुराहरु उचाइको हेरचाह गर्थे,
पर्खालरुमा चढ्ने ओर्लने सिँढी बनाउँथे,
उचाइमा, झोलुङ्गेहरुमा बसेरा जमाउँथे,
अण्डा पार्थे, कोरल्थे, हुर्किन्थे,
आमालाई खान्थे, आमा बनेर खाइन्थे,
टल्किने पर्खाललाई झुलको मधुर चित्रकारिताले
आँखामा कम बिझाउने बनाउँथे,
साँच्चै वैभवले पूर्ण त्यो घरलाई
उनीहरु आफू अनुकूल अनुशासित गर्न
अहोरात्र बाँच्थे ।
साङ्लाहरु आफ्नो इतिहासको गहिराईप्रति वफादार रही
गहिरा ओसिला कुनामा सल्बलाउँथे,
पुस्तैनी नयाँ टाउकाहरुमा उम्रिइ
तिनीहरु जिन्दगीको वदलावरहिततालाई धार्मिक निष्ठापूर्वक निर्वाह गर्थे,
नयाँ केही बनाउँदैनथे,
खानलाई त्यहाँ भान्सा आफैँमा पूर्ण थियो,
जे राम्रो छ त्यो खान्थे,
जे सड्दै जान्छ त्यो खान्थे,
जे सडिसकेको छ त्यो खान्थे,
सडनपछि जे बन्छ नयाँ त्यो खान्थे,
हो, जे परिवर्तन हुन्छ
त्यसमा अपरिवर्तित भोगचलन गरिरहन्थे,
घरको सिनित्त र साह्रो भुईँलाई
सडनको वृष्टि र सृष्टिद्धारा
टेक्नलाई नरम तुल्याउँथे,
खेलकुदको निम्ति सम्भावनाहरुले उर्वर बनाउँथे
प्रष्ट नदेखिने हुँदा
कहिले कुनै माकुरो तल झथ्र्यो भने पनि
साङ्लाहरुबीच मिसिन सक्थ्यो,
कहिले कुनै साङ्लोले पखेंटाको कसरथ गर्नु परे
माकुरे जालोसँग कबड्डी खेलेर फर्किन्थ्यो,
ती दुबै होलो अन्धकारका साथी थिए,
मिल्दा मिल्थे,
जँुध्दा पनि मिल्थे,
घरभित्र रहुञ्जेललाई मिल्थे,
घरबाहिर टेक्न नपरोस् भनेर पनि मिल्थे,
मिलिरहेका छौँ भन्ने थाहै नपाएर मिल्थे ।
घर बुढो हुँदै गयो,
उसको भाउ वरिपरिको सापेक्षमा
खस्किँदै गयो,
उसको वैभव छिप्पिँदो प्रौढावस्थामा
नभोगिएको जवानीको स्मृति बन्न थाल्यो,
उसका भुजा उमेरको स्याँठले गल्नथाले
उसले आफ्नो अन्त्यको ऐठन
एक्लोपनले गाँजिएका दिनहरु भरी
हरेक प्रहर बाँच्न थाल्यो,
त्यसैले जुरुक्क उठेर एक दिन
घर दक्षिणतिरको तटीय सहरतिर जाने भन्दै लाग्यो,
मक्किएका झ्याल र ढोकाका पल्ला खस्दा
हुरीसरि हावा पस्ता
माकुरा र साङ्ला तिनका संसारसहित
उडेर वाहिर जंगलमा आइपुगे,
घर रित्तो र कमजोर
तटीय सहरको घमाइलो कल्पिँदै हिँड्यो
अहिले साङ्ला र माकुरा
पुनः जंगलमा आइपुगेका छन्,
कुनै भविष्यको खोजी नगरेका उनीहरु
विगतलाई प्राप्त भएका छन्,
बर्षामा ओत र घाममा छहारी खोज्दैछन्,
हरेक पलमा कुनै शिकारीबाट सिध्याइने
भयको अस्तित्वप्रति आस्थावान् बनेका छन् ।
घरको समाचार :
घर समुद्र आइपुग्दा
उसका थाकेका अंगले साथ छोडे,
टुक्राटुक्रमा विखरित भए,
ऊ ईंट, बालुवा, गिटी र लौहको
प्रारम्भिक शिशु बन्यो,
उसलाई एउटा बडेमानको आधुनिक भवन निर्माताले
धर्मसन्तान स्वीकार्दै
आफ्नो ठूलो परिवारको एउटा पर्खाल बनायो ।
23 Oct 2014
No comments:
Post a Comment