Friday, November 7, 2014

एउटा कन्फेसन् : निर्णय होस् !

आफैँलाई स्वचालित प्रतीज्ञाहरु
दौडाउँछन् अन्धकारको चिसो जिब्रोबाट टाढा . . .
हरेक दिनमा एउटा यस्तो प्रहर हुन्छ
पूरा ब्रह्माण्ड, पूरा सूक्ष्म अणुको
विचरण गर्दछ, आफ्नो भइदिन
हरेक पल तृष्णाको तीर आगततर्फ
हरेक कल्प आगतमा उभिइ थाप्छ विगतको तीर

मचाहिँ कहीँ छैन
छेकिँदै छेकिँदै

नबग्ने चिजहरु
उही, उत्रै देखिनु पर्ने
तर मै बग्दछु

यी ईतिहासको नदीले विर्सिएका कुलेसा बाटाहरुमा
पोखरीको सतहमा तरङ्गझैँ
केन्द्रदेखि किनारासम्म किनारादेखि केन्द्रसम्म
डिम्माभित्रै जन्मिइ मरेझैँ

त्यसो त घृणा प्यारो छ,
एक सेट लुगा र एक झुप्पो लवज
र एक मुट्ठी अक्कललाई जोडले च्यापी
बाँकी सप्पै अज्ञात र विपरित ठान्नुको सन्तुष्टि
रेफ्रिजेरेटरभित्रको शव्जीजस्तै ताजा टिक्छन्

त्यसो त विस्मृति सहज छ,
हिँड्नु र पाइला मेट्नु,
प्रकृतिसँग नजिक छैन र ?
प्रकृतिसँग नजिक चिज राम्रो हुन्न र ?
सुर्ता र स्नेहको डोरीले
कहिलेदेखि कहिलेसम्म जगल्टो पर्ने आफैँभित्र !

मैमात्र जहीँतहीँ छु

हरेक पल एउटा अर्जुन हाँस्छ र रुन्छ
कानमा कृष्णको ज्वारभाटाले कायल
हरेक चोटमा एउटा महाप्रलय कोखाउँछ
अर्को आनन्दको उच्छ्वासले भ्रुणहत्या नगरुञ्जेल

म टेकिएको कहाँ टेक्छु टेकिरहँदा
निर्णय होस् !
5 Nov 2014

No comments:

Post a Comment