बिगतबाट
त्यति राम्ररी बोल्न सक्तिनँ,
इनारको पीँधबाट शब्दहरु आफैँमा लड्बडिएर आउँछन्, होइन र ?
मेरो शरीर हो मेरो बर्तमान,
एक पाइला अघि चाल्दा मैले बिगतलाई फ्याँकिसकें ।
अगाडी पहाड देखिन्छ,
त्यो कसैको बोझ होइन ।
म यहीँ तल बस्न सक्छु र पनि केही हुन्छु ।
म चढ्न सक्छु र आरोही बन्न सक्छु ।
तर कतिञ्जेल ?
यो कतिञ्जेलको प्रश्न मेरो निम्ति पोषण हो कि बिष ?
यसैमा त हो अल्मिलिएको म,
अञ्जान क्षेत्रका दोबाटामा भन्दा पनि,
नवीन स्वादका ज्वारभाटामा भन्दा पनि ।
जिन्दगीको बीउ हो कि मौज्दातबाट
म हाँगो फैलँदै हो कि मौज्दात घट्दै
जहाँ जति आइपुगेको हुँ वा गएको, सिद्धिएको हुँ
इक्विलिब्रियममै हुन्छु
भने यहाँ मेरो के छ गाठ्ठे ! के छ मेरो ?
ए आकाशको नीलो जति सप्पै, एक चोटि भनिदे !
ए पवनको बल जति सप्पै, एक झोंका भनिदे !
ए सूर्यको टलक जति सप्पै, एक चोटि उजेलिदे !
भनिदे !
म मेरा भयका ईश्वरहरु खडा गरी आस्थाका दानव मार्दामार्दा
कति किस्तामा
बाँचेको वा मरेको ठहरिनेछु
भनिदे !
ए पलपलको दिल्लगी !
तेरो तुक वा बेतुकको दर्शन,
तेरो आफ्नै भर्सन,
जे भेट्छस् , धूलो वा धरहरा
शहर वा टहरा,
एउटा समातेर भनिदे !
जिन्दगीले सिक्दै जानेछ,
भाषा बदलेरै भए पनि भनिदे !
May 18, 2015
No comments:
Post a Comment