Wednesday, July 29, 2015

उसका फोक्साभित्रका बिकार

उसका फोक्साभित्रका बिकार

ए साथी, भन न, उसले कसरी भोगिने ?
रोगीले भोग्दा उमात्र नरोगिने
आत्मियताबाट जोगिने
ग्राहकद्धारा सजिलै रोजिने
उसको श्रृङ्गारसरि मुस्कानको लेप तल
रत्तिभर नखोजिने ?

भन न ए साथी, उसले कसरी जोखिने,
ढल्केको पातको शीतसरि
भुईँमै नझरी रोकिने,
पराइ मुखमा लिइ जिब्रोलाई डेरा
मोलको दाँतले नटोकिने ?

भन त साथी मुर्दाहरुसँगको संसर्गमा
कसरी गुम्दो संवेदना रोकिने,
टम्म भइसक्दा वेदनाको बाढी
उसका आँखाका बाँध नपोखिने

ए भन न साथी, मखमलझैँ अधर
कहिले गँगटोझैँ झोंकिने,
हाइड्राउलिक ब्रेक लाग्न आउने शरीर
कंक्रिटको कायामा ठोकिने,
मधुरस चाख्न आउने भ्रमर
कालकुटले कोकिने,
म चुप लाग्नै सक्या छैन, ए साथी
तिमी र म, उसका फोक्साभित्रका बिकार
कहिले अन्तिम खोकाइले खोकिने ?
July 29, 2015 10:35 PM

Friday, July 17, 2015

कसीहरु १,२,३,४


सिरानीको बाँधमा थकानको नदी समेटेर
टि.भी. स्क्रीनमा होम्दै आँखाका पुतली
म दिनभरको आक्रोश स्खलित भइ
विछ्यौनामा थेग्रिइरहेकोथें
प्रभाती किरणका मदानीहरुले
नमथुन्जेल मेरो कोठाको बैजनी हावा

रातभर छतमा परेको पानी आँगनमा परेको पानीसँग
 आँगनमै आइ लडिरहेथ्यो
कस्को केकति इतिहास भनेर,
रातभर ज्ञात जगतभरि कालो अज्ञातको निगरानी
चौडा सडकमै आइ सुसेलीरहेथ्यो
कस्को छ बढी विश्वास भनेर

दिनभर म सम्झिइरहेकोथें पृथ्वीजस्तै
आज छाप्नुपर्ने हिजोको एक प्रति,
क्यालेन्डरको धूले चौकोसमा ठीक लगाउनु पर्ने
एक पित्को उन्नति,
दिनभर म मैलिइरहेकोथें स्मृतिजस्तै
मेरै मुस्कानको हिलो मलिलो माटोमा,
दिनभर म रोपाईँमा व्यस्त थें, रोप्दै
आकाशका खोप्पीहरुमा अमिला बादल

रातभरि म दिन पचाएर उग्राइरहेको थें
दिनभरि म रात भोकाएर छट्पटाइरहेको थें
अहिले त म खै केही सम्झिन्नँ,
कता गइरहेकोथें कता आइरहेकोथें

July 15, 2015

Wednesday, July 8, 2015

चोकै छेउको पेटीमा कचौरा थापेर

हरेक श्वास बास्ना र गन्धको जन्ती र मलामी
एक साथ,
हरेक पल वाहनहरुको खोकाइ र बोकाइ
आँखामा केही परेको हो ? कि आँखै अन्तै सरेको हो ?

चाकमा, ढलानको चिसो अंगालो
तालुमुनिको नाकभित्र अटेसमटेस हुन्छ एक लत्को ट्राफिक जाम
सिँ.....
थुक्या हो... पट्ठोको चिल्लो जुत्तामा परेछ हा हा हा
उस्ले उबेला सिक्का देको थ्यो ? अँ.... याद आएन..... अडिएको त थियो, लियो कि दियो !
चाकमा ढलानको चिसो अंगालो
कस्तो श्वास फेर्न गाह«ो भो !
चाकमा ढलानको चिसो अंगालो
ढलानको चाकमा चिसो अंगालो
ढल्केको चाकमा चिसो अंगालो
चाकको ढलानमा चिसो अंगालो . . . . . . .

उता हेर्‍यो घडीको बिस्कुन
छेउमा बुट, जुत्ता, चप्पल, स्यान्डल, स्टिलेट्टोको भङ्गालो
कस्लाई फुर्सद निहुरिन, मोल सोध्न, घडी किन्न घडी हेर्दै कुनै घडी !
यता हेर्‍यो मोजाको बिस्कुन
मोजा रेलिङमा झुण्डिएर आफ्ना विकिसकेका साथीका दलन देख्दैछन्
पैतालपैतालमा, बरा !
मेरो त चाकै पंैतालो
मोजाले नथाम्ने भो !

टाङटुङ्टाङटुङ्टाङटुङ्टाङटुङ्टाङटुङ्
कुन असत्तीले लत्याइदियो !
माटोक्ने ! स्याले ! माटोक्ने !
च्याप्प, च्याप्प , च्याप्प माटोक्ने !
माटोक्नेको खल्तीभित्र खन्द्र्याङखुन्द्रुङ मेरो सिक्का माटोक्ने !
तेइ खाते होला !
खाओस् माटोक्नेले !
त्यो डकार्छ, मेरो चै हुँडल्ने भो पेट ।
माटोक्ने ! तेइसँग चै आलोपालो !
माटोक्नेले कचौरो त फिर्ता ल्याउन जान्या छ . . .

July 9, 2015

Tuesday, July 7, 2015

श्राप दिएर गैदिई

सुभकामना ठानी होली, श्राप दिएर गैदिई
"फेरि कबिता फुरोस् भोलि ! ", बलात् भनेर गैदिई
थाहा छ मलाई, भन्या छु उसलाई
मेरो भावना कति काँचो छ,
मेरो चेतना कस्तो बुख्याँचो छ
तैपनि, खै, "तँ नाङ्गिइ !" भनेर गैदिई
अहम् को बिस्कुन थापी रमिता गराइ
कहिल्यै नसुध्रिने नाचको तालमा
शिरदेखि पाउसम्म "बाङ्गिइ !" भनेर गैदिई

उसको कुशलक्षेमको सोधाइ
ट्राफिक बत्तिको बदलाबजति पनि टिकेन,
मेरो थकानको फेहरिस्त, भावनात्मक बजारको
उसको छोटो 'विन्डो सपिङ्ग'मा बिकेन,
खै, जे चिज कम नाफाको मार्जिन बोकी
मेरो भण्डारको कुनोको अन्धकारमा बस्थ्यो
त्यसलाई बाहिरको 'शो केस'मा सार् ! भनेर गैदिई
सामान्य मूल्यको ढाडस पनि नदिइ
बस् संक्षिप्त आदेश दिएर गैदिई

साथी, न्यानो खोजेथें एक्लोपनको सिरेटोमा
पौडी खेल्ने मौषम देखी क्यार
'स्वीम सुट'को नाप दिएर गैदिई
सुभकामना ठानी होली श्राप दिएर गैदिई
मीठो वार्तालापको सट्टा यो आलाप दिएर गैदिई
कति भनौं, ए साथी, अझै बुझेनौ ?
अङ्कमालको सट्टा पराया धाप दिएर गैदिई
उसले मलाई भोलि पनि . . .

July 7, 2015