Friday, July 17, 2015

कसीहरु १,२,३,४


सिरानीको बाँधमा थकानको नदी समेटेर
टि.भी. स्क्रीनमा होम्दै आँखाका पुतली
म दिनभरको आक्रोश स्खलित भइ
विछ्यौनामा थेग्रिइरहेकोथें
प्रभाती किरणका मदानीहरुले
नमथुन्जेल मेरो कोठाको बैजनी हावा

रातभर छतमा परेको पानी आँगनमा परेको पानीसँग
 आँगनमै आइ लडिरहेथ्यो
कस्को केकति इतिहास भनेर,
रातभर ज्ञात जगतभरि कालो अज्ञातको निगरानी
चौडा सडकमै आइ सुसेलीरहेथ्यो
कस्को छ बढी विश्वास भनेर

दिनभर म सम्झिइरहेकोथें पृथ्वीजस्तै
आज छाप्नुपर्ने हिजोको एक प्रति,
क्यालेन्डरको धूले चौकोसमा ठीक लगाउनु पर्ने
एक पित्को उन्नति,
दिनभर म मैलिइरहेकोथें स्मृतिजस्तै
मेरै मुस्कानको हिलो मलिलो माटोमा,
दिनभर म रोपाईँमा व्यस्त थें, रोप्दै
आकाशका खोप्पीहरुमा अमिला बादल

रातभरि म दिन पचाएर उग्राइरहेको थें
दिनभरि म रात भोकाएर छट्पटाइरहेको थें
अहिले त म खै केही सम्झिन्नँ,
कता गइरहेकोथें कता आइरहेकोथें

July 15, 2015

No comments:

Post a Comment