घाउ, घोत्लाइ र घुम्तीहरु
मान्छेले समयलाई चानाचानामा अलग्याउन सिकेको छ । सेकेन्ड, सौर्य बर्ष अथवा साल, शताब्दी, शहस्राब्दी । आफूलाई घोत्लिन मसुर र त्यसैले अरु प्रजातिलाई उछिनेर यो पृथ्वीमा उक्सेको ठान्ने हौं हामी । समयको एउटा ठूलोसानो चानो पक्रेर अनेकखाले उचाइ, चौडाइ, लम्बाइजस्ता आयाम नाप्छौं अस्तित्वको, त्यसलाई घोत्लेको भन्छौं । फेरि टिक्नुको सिलसिलाले यो घोत्लाइलाई नवीनताको स्वाद चखाइरहन्छ । तर समाजको उद्देश्य बदलिँदैन, केवल घोत्लाइको आसन बदलिन सक्छ । यस्ता आसन पनि कालक्रममा चक्रिय हुन्छन् भनेर जान्नेबुझ्नेले भन्नेगरेकै हुन् ।
घोत्लाइ धेरै हदसम्म आत्मप्रसारणकारी हुन्छ । समयको पुस्तैनी अतिक्रमणमा यसले आफूलाई टिकाइरहन उद्दत हुन्छ ।समाजमाथि दैहिक पतनको पूर्णविराम नलागेसम्म यो मृत्युजस्तै मानवताको नयाँनयाँ संस्करणहरुमा चेतनाको सिक्का बनेर छापिइरहन्छ ।तर यतिमात्र होइन, यसको संप्रेषणीयताको विशिष्ट निर्धारक वा कारक हुन्छ अवश्यम्भावी खील । मान्छेले विश्वास गर्ने प्रगतिको बोधमा खीलको अनिवार्य भूमिका रहन्छ । उद्विकासको प्रवृत्ति नै यस्तै छ, जन्मअघि प्रसव छ , मृत्यु छापिएको उद्भवको उल्लासित पल छ । घात निल्दै आघात प्रक्षेपित गर्नु नै सभ्यताको सिँढी बन्न पुगेको छ, यसमा विराम वा क्रमभङ्गले ठाउँ पाउन असम्भवप्राय छ । क्रमभङ्गले पूर्णविराम विलीन हुनुपर्ला ।
घातहरु छन्, घाउहरु छन्, घुम्तीहरु छन् । एउटा युगको पीडा र पेलान अर्को युगको स्वस्थ , सुनिश्चित र ‘स्थीर’ अभ्युदयलाई वा त्यस्तो आकांक्षालाई आहुति हुन्छ । पीडितले पिछडिएको न्याय भोग्दछन्, पीडकलाई आधुनिक उपचारको ओखती दिएर सभ्यता अघि बढ्दछ । यो असन्तुलनको कोल्टे अदृश्य तीरझैँ रोपिन्छ समाजको ढलपल चाल सम्हाल्दो पैतालामा । दक्षिण अफ्रिकामा अवर्णनीय अपराधका कहानीलाई पीडितका विदीर्ण छातिबाट उदारताको उँचो सापटीले समेट्न खोज्यो अतिरिक्त सृजनशीलता देखाउँदै समाजले । सामाजिक प्रसवको यो तोड सहिनसक्नु छ , सभ्यताको यस्तो परीक्षणशील छ, पराक्रमी छ । अहिले आफ्नै भूमिमा यसको कच्चा संस्करण देख्छु । घटनाको कुनै स्पष्ट समाधान छैन समय वित्नुवाहेक ।
सुकरातले मर्नुपर्दा धेरै जना रोएथे । उनलाई त मृत्युमा विश्वास नै थिएन तर उनका परम् चेला प्लेटोले निकै घोत्लिन बाध्य हुनुप¥यो । आखिरमा सही चाहिँ के हो— सुकरातको वेफिक्रीपन वा उनका शुभचिन्तकहरुको शोक ? येशुले भोगेको किला आज जगत्कै मस्तिस्कमा ऐतिहासिक मोड बनेर स्तम्भित छ । त्यो घुम्तीले कस्तो शिशु उमा¥यो समाजरुपी ? के त्यो सामान्य दुर्घटनामात्र हुन सम्भव थिएन ? यो प्रश्नले उति अर्थ राख्दैन जब खीलको अविदित क्रमलाई सामाजिक प्रजननको अन्तरकालीय लर्कोमा मेरुदण्डझैँ दबिएको देख्छौँ ।
घोत्लाई अनुशरणात्मक हुने गर्दछ, अनुकरणात्मक पनि हुन्छ । मान्छेको स्मरण र आकांक्षाको सन्तुलनविन्दु बनेर प्रकटीकरण हुन्छ घोत्लिनुको धर्म । कुनै विशेष कालखण्डमा बाँच्नुको आकस्मिकताले ऐतिहासिक घोत्लाइको नदीलाई अखण्डित तुल्याइराखेको पाउँछु । तर सवै घोत्लाइले मञ्च पाउँदैन । यो उँच र नीच, अमिरी र गरिबीले रङ्गीविरङ्गी संसारमा कहिले एउटा जमातको जागिर र जगत्को जोहो बन्दछ घोत्लाइ । घोत्लाइका जत्थाहरु आ–आफ्ना अस्त्र बोकेर क्षणिक आधिपत्यको निम्ति भौतिक लडाइँमा होमिन बाध्य देखिन्छन् । एउटा लडाइँबाट जसोतसो उभिन्छ समाज, घाइते तर क्षणिक भए पनि शान्तिकालमा शत्रुविहीन भएर, आफूभित्रै अर्को मुठभेडको विरुवा उमार्दै । एउटा घुम्तीको नवीनता अर्कोमा आएर समाप्त हुन्छ । एउटा घाउको खाटा अर्को घाउको संक्रमणको लागि मलिलो भूमि बन्दछ । तर डरलाग्छ, शंका उव्जन्छ यो द्वन्द्वको अटूटतामाथि । जेले मार्दैन त्यसले बलियो बनाउँछ भन्छन् । मारिने डर लाग्छ । तर बलियो नभए पनि बाँचिदैन । बलियो हुने अरु उपाय भेट्न घोत्लिन्छु । केहीले चित्त बुझाउन नसक्दा यसलाई असाध्य भनेर निर्णय गर्न खोज्छु । तर सत्यको निरपेक्षता स्वीकार्न आत्माभिमान र मनुस्वत्वले दिँदैन । एउटै सत्य हुन सक्तैन भन्छु र तार्किक हुन्छु— म अपूर्ण छु यस्तो विषय केलाउनलाई । यहाँ अलिक सान्त्वना मिल्छ । तर सान्त्वना मीठो कल्पनाझैँ लाग्छ, यसले संसारको नियति बदल्न सक्छ ? निकै जेलिएको छु । म वरिपरी पनि मानसहरु जेलिएकै होलान् । उनीहरुका एक एक आङरुपी खोलहरुमा पसेर करोडौँ धड्कन खेप्न सक्तिनँ । तैपनि मभित्र करोडौँ पाटपूर्जा विद्रोही बनेर फुत्किन खोज्छन् । आफू नै अराजकताको भकुण्डो संगठन छु ।एउटा उल्लासमा ठोक्किन्छु, अर्को विष्मात्मा विझिन्छु । अन्यौल नै अन्तरङ्ग अंशझैँ लाग्छ अनन्तको । तर केहीमा टिक्न सकिन्न, केहीमा टिक्न सक्तिनँ । एउटै सग्लोपन बोकेर अरु सब चर्काइबाट रित्तिन सक्तिनँ । त्यसैले होला मनुष्यत्वको उपलब्ध वृत्ति बाध्यकारी छ, विकल्पहीन छ । यो स्वीकार्न सके, हुनसक्छ यसैबाट स्वतन्त्रताको झिनो भए पनि अनुभूति जन्मिन सक्छ ।
Nov 18, 2011