Monday, June 2, 2014

अहिले राजधानीमा

अहिले राजधानीमा


मोटरको पेटमा किराझैँ
क्यान्ड फुड भै सडक टार्दै
आँखाबाट फुटपाथमा
कचेरे झ्यालहरुबाट मट्याङ्ग्रा फ्याँक्दै आफैँलाई
श्वासश्वासको सजगता
हाम्रो तपस्या हो ।

अँध्यारो कम्मल फ्याँकेर सूर्यले
अलिकति शीतमा काँप्दै बार्दलीमा चिप्लिँदा
रातभर गर्मीका डाम छालामा उमारेर
बट्टेकोठाहरुमा अण्डा फुटेका निद्राहरु
भोलिहरुका पहिरन ।

डाँडा छेकिने डाँडाभन्दा अग्ला घर
धमिरे भोकबीच खालीखाली
एकदुई ईँट झरेका खट्प्वाले दन्तलहर
तिरस्कृत ग्रेगर टोकी सिरिङ्ङ
मनभरी झंकृत सपना

चन्द्रमालाई पुछिजाने बादलझैँ
पखालिएका भाकाले नजोडिइ उम्किरहेका
भावनाका पिण्डहरु, भोक र प्यासमा आँख्ला भाँचिएर
नाता गाँस्ने झुण्डहरुको शान्तिपर्व
फक्रिँदै गमलाभरी करेसा

हिउँबाट पग्लेका, फाँटबाट अग्लेका
समुद्रैतिर हान्निएका, च्याङ्लो सीमानाले
रत्तिभर नछानिएका, वगालवगाल बगेका
बाढी भै विचार मेटाउने बीरबलहरु
ठट्टामा छौँ ।

No comments:

Post a Comment