Thursday, August 27, 2015

मेरो घरको ढोका बन्द छ

तिमी भित्र म हुँदा, तिम्लाई थाहा छ,
हामी फल हुन्छौँ ।
म बियाँ ।

हरेक पल एउटा पात, एउटा हाँगो, एउटा लहरो जिन्दगीको
यहीँबाट पलाउँछ, तन्किन्छ, फैलिन्छ
समयमा,
तिमी नहुँदा पनि मैले तिमीलाई खोजिरहनुपर्छ,
घरबिना जिन्दगी अधरविहीन भैदिन्छ ।

तर तिमी जन्मेका छौ मेरै मगजबाट,
बुझ्यौ ? मेरो आवश्यकता मेरै गर्भमा हुर्किरहन्छ !
तिमी नखुल्नु मैले आफैँलाई दुत्कार्नु हो ।

अहिले दुत्कार मात्रै देखिरहेको छु,
मैले बाहिर नै केही समीक्षा गरी शान्त भइ फिर्नु पर्ला जस्तो देखिन्छ ।
तर मचाहिँ भित्र आइ शान्त बन्न सक्छु भन्ने ठान्दैथें !

तै, एक चोटि पस्न पाए देखि,
स्वचालित, बानी परेको आसनमा बस्न पाए देखि,
आफूलाई निश्चिन्ततामा देख्न पाए देखि,
त्यो शान्त तलाउको मुग्ध्याउने चित्र खिँचेर
गहिराइमा मडारिने तरङ्गहरु फुर्सदमा केलाउने थिएँ !
यस्तो बुझीबुझीकन त
भित्र पो कसरी पसूँ ?
उनिएको बलियो वस्त्र छुँ,
उधिनिने धागाको जगल्टोमा कसरी खसूँ ?

बाहिर वैभव र विराटताले
नयाँ नयाँ मित्रताको लोभ देखाउँछ,
मलाई डर लाग्छ तिम्लाई छोडेर गए
फर्किंदा तिम्ले मलाई , मैले तिम्लाई नै
चिन्न छोड्नेछौँ ,
तिम्रो र मेरो रङ्ग
र दृष्टिको ढङ्ग बदलिनेछ ।
यो ढोका र भित्ताका कापहरुमा बसेका
द्वन्द्वका रापहरु हराउनेछन्, निर्भरताका नापहरु हराउनेछन्,
मलाई त्यस्तो लाग्छ ।
त्यसको बदलामा के आउनेछ ?
लाग्छ यही प्रश्नको ताल्चाले तिमी बन्द छौ ।

म फर्किनेछु,
त्यतिञ्जेलमा सायद म साँचो जुटाएर आउँला,
वा त्यो ताल्चामा खिया लागिसक्नेछ
र ढोका उदाङ्ग भइ
घुमन्तेलाई सर्लक्क निल्नेछ ।

 20 April 2015

Thursday, August 13, 2015

कान्छाको धर्मपरिवर्तन र तागाधारीको प्रश्न


—बाँस काटेर कता लग्यौ हो कान्छा ?
—हजूर, चर्च बनाउन सघाउँदैछु ।
—आम्माम्माम्माम्माम्माम्मा ! तिम्ले धर्म छोड्या ?
—हजूर, धर्म लिन चै खोज्या, धर्मबाट अरुले जस्तै लिन पनि खोज्या ।
   खै, नयाँ रक्सी लाग्या हो कि, धर्म पाएजस्तो भा’छ ।
   पैले धर्मको फलामे टोपी
   बालख गणेशको काँधाँ मत्ताको शिरसरि
   थे’न थाप्लाँ कम्ताको भारी !
   ऐले मगज हो कि सन्क्या विदेशी झिलिमिलीले !
   प्वाँखैप्वाँखको टोपी यै खप्पराँ
   ला’एजस्तो भा’छ ।
   तै, तिर्खोले यो कुवा, र वरै, के भनोस् त्यो कुवा,
   ऐलेलाई पिउन गतिलै भेट्टाएजस्तो भा’छ ।
—पानी फेर्दा झाडा हुन्छ, था’छैन ?
—पुरानो कुवामा मान्छे, हजूर, मान्छे चिनिचिनिकन डस्ने
   ढोडिया सर्प भएसि,
   घाउ दिन नछोड्ने, मारिहाल्न नसक्ने
   बरु गोमन भा’हुने, गोमन नभएसि
   ऐले भ्यागुता र मच्छडमात्र लाग्ने कुवा भेट्टाएजस्तो भा’छ ।
—तिम्रो यो कर्म अधर्मी छ ।
—कर्मबाट धर्म भेटूँ भन्दैछु । हेरौं एस्पाला कत्तिको मिल्ती बन्छ ।
   पुरानो रोग निको पार्न
   यो नयाँ संक्रमणको सुइ कान्छाले ला’छ ।
   आफ्नै कुवाबाट कान्छाले भोलि
   मोल तिरेर किन्नुपर्ला कोकाकोलासरि पानी,
   तै संस्कार र वेभारको जंगली अंधकारबाट बच्न
   कान्छाले बरु त्यो निर्दयी बजारको फेर समा’छ ।

  कान्छो नास्तिक हुन नि खुला छैन,
  अरुको आस्थाको दाम्लोले उसको घाँटी अँठ्या’छ ।
  दाम्लो सहजै छिनिन्न नसासरि,
  पराया अगुल्टोले दाम्लो डढाउनुपर्‍या’छ,
  जल्दै, हजूर, आफैँ जल्दै, शान्तिको
  गोठ नजलाउने बाटो रोज्नु पर्‍या’छ ।

—शान्ति भन्छौ ! तिम्रो भ्रान्ति हो यो !
—तिम्लाई त निकै पोल्दो रै’छ । यै भ्रान्तीलाई अलिकति क्रान्ति सम्झेर बाटो लाग ।

August 13, 2015

Tuesday, August 4, 2015

तुक

मलाई बाँच्दै फुसर्द छैन,
वा मर्दै विश्राम छैन,
सोस्ने, ओकल्ने निरन्तरताबाट
एक पल अंश स्थिर प्राप्य छैन
त म कुन विन्दुबाट,
खोलाको जो म पानी छु
खोलाकै पुच्छर वा मुख खोजूँ ?
खै, कसरी
र किन, म जीवनको तुक खोजूँ ?

मैले खोजेर के हुन्छ,
बाटो ठम्याइ, रोजेर के हुन्छ
जब नरोज्दै रोजिसक्छु,
नसुन्दै बोलिसक्छु,
जब स्मृति नै स्मृतिको कारण हुनसक्छ,
जव संस्कृति नै विकृतिको व्याकरण बन्नसक्छ,
एउटा तथ्य जो क्षणभरलाई मीठो कथ्य हुनसक्छ,
त्यसलाई कल्पको उज्ज्वल सत्य मानी
सपनाको भारी किन बोझूँ ?
खै, कसरी
र किन, म जीवनको तुक खोजूँ ?

कोषिकामा विश्व छ, विश्व एक कोषिका,
चेतको सीमा भत्काइभत्काइ विभिषिका किन रोजूँ ?
तै, श्रापितझैँ छु, त्यो बुझ्दा ‘मैँ’ छु
‘मैं छु’ भन्दा बाँचेझैँ छु,
खै नबुझी नबुझी बुझाइको बोझ बोकी, लाग्छ म हिंडूँ ,
त्यसैले त लाग्छ सोधूँ
खै कसरी,
र किन, म जीवनको तुक खोजूँ ?

August 4, 2015