Sunday, April 3, 2016

सहानुभूतिविनै रोइरहेको छु


म सहानुभूतिविनै रोइरहेको छु
क्यामेरा लिइ खिच्नेहरु
फोटोजेनिक छ भन्दैछन्
घारबाट मह रसाएजस्तो,
मलाई चाहिँ न त पोल्छ आँखा
न चहर्‍याउँछ गाला,
केवल नाकका प्वालमा आइ झुण्डेका थोपाले
तर्साउँछन् आसन बिगार्नेगरी हाच्छिउँ गराइदिने
सोच्दैछु, हाच्छिउँ गरिदिउँ त भन्दिनेछु—
यो कस्तो लाग्यो ‘पिक्चर इन मोसन’ ?

तर म हाँच्छिउँ निषेधित स्टुडियोमा
 सहानुभूतिबिनै रोइरहेछु,
रित्तो मौनता बिक्ने महंगो व्यापारको
विनम्र नोकर भइ ओठ टोकिरहेछु,
‘पर्फेक्ट’ चित्र तयार नहोउञ्जेल
त्वचाका हरेक शूक्ष्म दुलाबाट उम्किन सक्ने
पसिनाका भ्रुणहत्या गरिरहेछु,
शेयर बजारको ढलपल गर्दो सूचक जसरी
‘सर्किट ब्रेकर’ कतिबेला चल्ला कुरिरहेछु ।

२०७२ चैत्र २०

Friday, February 26, 2016

गति बिर्सिएको ज्वालामूखी

सहर गति बिर्सिएको ज्वालामूखी
छतछतबाट भुक्ने कुकुरहरुका गलाबाट
सिक्रिले बाँधिएको स–साना बाँधले रोकिँदै
खोक्छ तातो रहन थोरैथोरै लाभा

जति पनि उमाल्न सकिन्छ, पगाल्न सकिन्छ
साँचोमा ढाल्न सकिन्छ,
साँचोलाई नचाउन सकिन्छ,
केवल सिक्रिको छङ्छङ्, सर्याकसुरुक
सुनिनुपर्छ ।

सहर क्षति बिर्सिएको हतारको घाइते
मलामी जाँदाजाँदै बाटैमा बिहेका भोजका सिता टिप्दै
डकार्छ मुन्टो फर्काएर आकशतिर,
अघिल्लो चोटिभन्दा यसपालि कति परको बादल हल्लाएँ ?
एकछिन हेर्छ र मख्ख पर्छ
उग्राएको स्तनधारीसरि

सडकलाई विस्मृतिको पिलोले
गन्तव्यका पाइलाभरि टोक्दछन्
चर्मरोगी भुस्याहाको निन्द्रासरि,
जति निदाउँछ रछानमा त्यति खुइल्याउँछ आफँैलाई

सहर सडकैसडकको कैदी
हरेक चोकमा एउटा कष्टप्रद आसनमा
अनिच्तिकालसम्म उभिन, कोल्टिन, चेप्टिन विवश,
सार्वजनिक बसभित्रको यात्रुसरि

कहिलेकाहीँ उसको नशामा म बग्दा
उसलाई चाख्न जब म आफैँलाई चाट्छु
मेरो जिब्रो विस्मृतिको हिमपात बनेर
मगजभरि जमिदिन्छ,
र, म आँखा नचाउँदै, औंला चलाउँदै
कोर्दै हिँड्छु रङ्ग र स्वरुपको भरमा
स्वादले बुझिने सत्य

सडक सबैको निम्ति मलामी भइदिइरहेको छ
अञ्जान भइ भीँडमा बगिरहेका ज्ञात–अज्ञात मुढाहरुलाई
एक–एक भङ्गालो तात्तातो पल
तिनका फोक्साभित्रको गर्मीबाट जुटेको
गच्छे अनुसारको बचत पोखेर ।

२०७२।११।१०

Sunday, February 7, 2016

. . . गन्तव्यसम्म ।


















सुकेको रुखमा बाँकी
केही पत्ती पात हल्लाउँदै
वतास बौलाउँदै थियो,
तल भुईँकिराजस्ता टुसा
परेला खोल्नै नसकी निसास्सिँदै थिए,
सूर्य वादललाई आकाश छोडी
कतै गएको थियो
केवल  ‘ नबर्सिनू !’ भनेर

नदीमा माझी रित्तो जाली
जति पर फ्याँक्थ्यो,
रित्तै फर्किँदा उति धेरै थाक्थ्यो,
साँझ पर्दा कुप्रो परेको ऊ
माछो भइ फर्किन्थ्यो जाली घिसार्दै

बटुवाहरु बाटोसँग
हरेक पाइलामा एउटा ढुङ्गा माग्दै
थैलाको सूर्य तात्तातै पुर्याउँथे गन्तव्यसम्म
खाली खुट्टाले अगुल्टा टेक्दै—
एउटा अदृश्य रेखा पारी
थैलाको सूर्य घरसम्मै उदाउँथ्यो

घरीघरी कसैको मलामी देखिन्थ्यो
अन्तरिक्षबाट  ‘चीनको विशाल पर्खाल’ जस्तै,
प्राय प्रेतहरु अलमल्ल आँखाले
बटुवाहरुलाई पर्यटकलाई जसरी हेर्थे
कसैलाई चिन्दैनथे, कसैलाई बोलाउँदैनथे

हावा निरन्तर वहन्थ्यो, साउती मार्थ्यो
मरेको रुख, मरेको मान्छे
प्रत्येकको स्मृति थियो,
अर्कोलाई बताउन सकिन्नथ्यो,
आफ्नो बिर्सन सकिन्नथ्यो
कहिलेकाहीँ धूलोले लेखिदिन्थ्यो हावामा उभिएर केही,
अनि थाकेर भुईँतिरै छरिन्थ्यो सर्वत्र
एक्लै खित्खित् हाँस्तै

२०७२ माघ २० साँझ ६ बजे

Wednesday, December 30, 2015

बग्दाबग्दै


कलकल बग्दाबग्दै खोलो रोकियो ।
चिसो थिएन, जम्यो ।
म तर्दातर्दै, तर्दो भएँ ।
वतासको एक झोंका पुतली जसरी
मेरो वरिपरी नाच्यो
र, पिपलको रुखजसरी चुपचाप उभिइदियो ।
नीला चराहरुको एक झुण्ड सेतो आकाशबाट
वतासका हाँगाहाँगामा बसी सुस्ताए,
तिर्थालुलाई चौतारीसरि ।

म हेर्छुमात्र, देखिन्नँ ।

तृष्णाका उत्साही पल्टन
गड्यौलाका बुइ चढेर
राजमार्ग बनेको खोलोतिर आए ।
ओर्तिर र पर्तिरको वनले
यही राजमार्गमा आइ बनभोज खाए ।
वनका बासीहरु टाढाटाढाका
ईंट र ढुङ्गाका मृतवस्तीहरु
आवाद गर्न हिँडे ।

म सोच्छु मात्र, सुनिन्नँ ।

धूलैधूलोमा श्वास फेरिरहेका मृतवस्तीहरु
म र मेरो संसारको कहानी बताउन
आगन्तुकहरुका चमत्कृत चेहराहरुमा
समय भेदन गर्ने चच्छुहरु ताक्नथाले ।
जति समय वित्थ्यो र धूलो छालामा गढिन्थ्यो
उति चिनिनुको अभिलाषाको मौन ज्वालामुखीले
आफ्नै स्मृति डढोस्
त्यसरी पाक्न थाले ।

म कणमात्र हुँ सम्झनेहरुको गणमा, सम्झिइन्नँ ।

झलमल्ल हुँदाहुँदै सूर्य निभ्यो ।
म छाम्छाम्छुम्छुम् गर्दै
खोलाको जगल्टो फुकाल्दै खुट्टाहरुबाट
स्वप्नदोषले नुहाएर
वतासको पिपल ढालेर लात्तिले
तिर्थालु चराहरुको बाँध भत्काइदिइ आकाशतिर
नजिकको मृत वस्तीमा जन्मिन हिडेँ ।

२०७२ पौष ०३

Wednesday, December 23, 2015

सडक

सडकले जिब्रो जसरी म मिस्रिको डल्लो हूँ चाह्यो
म चामलको बियाँसरि कोतर्दै हिडेँ,
अमिलोको पित्कोसरि र्‍यालको वाढी ल्याउँदै बगेँ,
खोकीको ख्वाक्कसरि
हावाको रकेट बनेर गुज्रेँ,
टन्सिलको दुखाइसरि
बरफको ढिक्को बनेर जमेँ,
सडकको समयलाई मैले
पत्थरको कुहाइसरि निलिदिएँ,
खोलाको बगाइसरि
अनगिन्ती पिइदिएँ

सडकले म थाकूँ र चौतारो खोजूँ भन्ने चाह्यो
मैले बीच सडकमा पाल हाली सुतिदिएँ,
चौतारी बसेको वृक्षको जरामा
कुकुरले जस्तै मुतिदिएँ,
उसको सोझो आतिथ्यलाई
झाँडीजंगलतिर अल्मलिई
घुमाउरो प्रत्युत्तर फर्काइदिएँ

सडकले पैतालाका चप्पल देखी
जुत्ता पसलको बाटो देखायो,
भोकले भाँसिएका आँखालाई
छेउका लहलहाउँदा फसलतिर लोभ्यायो,
निसास्सिएका फोक्सालाई
सिनिक्क बगैँचाका सुगन्धी झोंकाले मतायो,
सडकले झुपडीका स्मृतिमा
न्याना बस्तीका निन्द्राको प्रस्ताव ल्यायो,
म सिरेटोको बर्को ओढी
आफूलाई मौन ढुवानी गरिरहेँ

अन्त्यमा, सडकले
मेरा पैतालाका राता पाप्राहरुमा
आफूलाई मोजासरि सिलायो,
जुत्तासरि बसायो,
घोडाको टापसरि घुसायो,
र मलाई निश्चित अवधिको निम्ति
मालिक ठहर्‍यायो ।







Sunday, December 6, 2015

साँझले मलाई घर लग्दैछ

साँझ संगीत भएर बग्दैछ
म मिथ्या रागहरु
गाडीका हर्न र पसलका प्वालहरुबाट उम्लिइ आउने
योजना र हारका फेहरिस्तमा
सडकभरि सुन्छु,
बसाईँ यहाँ भएका घर अन्तै भएकाहरु
मजस्तै अस्थायी हाँस्छन्
र फुस्किँदाफुस्किँदैको मनोगाँठो
के लेखिराख्नु र डायरीमा ? भन्दै
भोलिलाई टिपोटको एउटा बक्यौता थमाउँदै
उक्लन्छन् आकासे पुलहरु,
ओर्लन्छन् मोटरका पाउदानीहरु ।

यौवनका नरम डाँक्ला
पत्तै नपाइ पाकिरहेछन्,
थोरै गाँसमा सकिइरहेछन्,
बडो नमिठो भइ नजिकको स्मृतिबाट
आजतिर हेर्दैछन् एक्वेरियमभित्रका माछासरि !

औसत आयूको तन्किइरहेको पहिरनमा
म कति उक्सिँदैछु मेरो वय र काया ?
किट्न खोज्दैछु यात्राको मध्यविन्दु
जहाँदेखि उल्टो दौडिन, हिँड्न, घस्रिन
म स्वतन्त्र हुनेछु
प्रयोजन सकिएको अन्तरिक्षयानजस्तो (अरु चिज यथावत् रहे ) !

जस्को नाममा भए पनि घर घरै हो ।
जस्को साथमा भए पनि जीवन आफ्नै हो ।
जीवन आफ्नै नाममा लेखूँ भन्दै हररात
सपनीमा माछा भइ खोलासँग भनिरहन्छु,
के भनें हरेक बिहान सम्झिने कोसिस गरिरहन्छु,
हरेक साँझ यो अपूर्ण निरन्तरता
सडकसँग दौडाइरहन्छु,

यसबीच निश्चित पाइलाको मूल्य लिई
साँझले मलाई एक रात
एक बिहानीसम्म घर लग्दैछ ।

२०७२।०८।१८

Monday, November 9, 2015

. . . उभिएका

शारीरिक शिक्षाको कक्षामा
पुष्ट गाला र भकुण्डे भुँडीवाला गुरुले
उपर्खुट्टी लगाएर भन्नुहुन्थ्यो—
आसन मेरुदण्ड सीधा पार्ने किसिमको हुनुपर्छ,
ठाडो होस् या क्षितिजीय
धर्सोको निकटस्त हुनुपर्छ ।

हामी गुरुलाई मान्दथ्यौं,
उहाँको अनुभवी रोब
दण्डदायी स्मृतिका थथर्काहरुबाट जान्दथ्यौं

कक्षामा मेरुदण्ड सीधा राख्न थाल्यौँ
चाहे प्रसंगले डर वा लज्जाभिषेक गरी
शिर निहुराउन नै बाध्य पारेकै किन नहोस्,
हामी सकेसम्म मेरुदण्ड सीधा पार्नुको मापदण्ड
शरीरका अंगअंगमा लागु गर्न थाल्यौं,
केश ठाडो पारेर कोर्न थाल्यौँ,
नाचका नागबेली चाल ब्रेक डान्सका धर्साले फोर्न थाल्यौं
निबन्धहरुमा ठाडो मेरुदण्डको उपमा
सगरमाथा सापट लिइलिइ कोर्न थाल्यौं,
थाकी लेटेको, क्षितिजीय मेरुदण्ड
तराइको समथलको न्यानोले बेर्न थाल्यौँ

हामीले सीधा मेरुदण्ड
सोझो आस्था र निसन्देही सरतलतासँग जोड्न थाल्यौँ,
ईतिहासतिर फर्किइकन
जे–जे मूर्खता–धूर्तता देख्यौँ
तिनलाई सीधा पार्ने साँचोमा ढाली
मीठो मूर्ततामा मोड्न थाल्यौँ,

हामी विद्यालयबाट धेरै टाढा आइसकेका थियौँ
हाम्रा गुरु कहाँ छन्, के गर्दैछन्, त्यसबाट अञ्जान भइसकेका थियौँ
हामी सीधालाई ठाडो र क्षितिजीय धर्साभन्दा बढी
ढल्काइ, कोल्टे, वक्र र चक्रमा,
तेस्रा, चौथा, वहुआयाममा
छानीछानी प्रयोग गर्न अभ्यस्त थियौँ,
योगाशन र आधुनिक व्यायम जानेका हामी
अंग र मगजबीचको सन्तुलन र शासन
बुझ्नु र बुझाउनुमा मस्त थियौँ
मेरुदण्ड मक्किँदै गए पनि
आसनका नवीनताहरुले मख्खिँदै थियौँ ।

हाम्रा गुरु मधुमेहले,
वा मेरुदण्डको क्यान्सरले,
वा वय नथेग्ने देहले,
हराउनुभएछ हामीलाई छोडी ।

गाउँमा बर्षौंपछि पुनर्मिलन भेटघाटमा
हामीले गुरुलाई एक मुट्ठी सम्झियौँ,
उहाँका अन्तिम दिनहरुबारे
आपसमा र वरिपरी सोध्यौँ,
उहाँको जीवनबारे गाउँमा
स्मृतिको द्यौसीभैलो खेल्यौँ,
र, अन्तमा शाहस गरी
उहाँको हार्दो शरीरका अन्तिम फेहरिस्त पढ्दा
यस्तो निक्र्यौल देख्यौँ —

मेरुदण्ड स–साना हाडका खण्डहरु सिक्रीसरि जोडिनुपर्नेमा
बीचबीचमा हावाका फोकाहरु हावाका प्रतिनिधि भइ उभिएका ।
पेटको गोलाकार बढ्दो व्याससँगै नाइटो र मध्य–मेरुदण्ड
प्रतिरोधी खेमामा उभिएका ।
. . . . .  . . . . . उभिएका ।
. . . . . . . . .उभिएका ।
. . . . . उभिएका।


अहिले हामीलाई ‘उभिएका’ मात्र याद छ ।

२०७२ कार्तिक १९