बत्तीहरु खित्का र खरानी ओढेर
कोठा–कोठाबाट भित्र–बाहिर गरिरहँदा,
नशाले धुत आकाश धिप्पधिप्प दृष्टिले
भुईँतिरको भूलभूलैयातिर टोलाइरहँदा,
कुकुरहरु यहाँ रित्ता आँधिहरुको संखनाद गरिरहेछन्
कतै मीष्ठान्नको स्वाद, कतै रछान
तिख्खरपनको पाण्डव–कौरव युद्ध लडिरहेछन्,
तिमी र म मौनताका स–साना वृक्षलाई
पछि घर फर्किने बाटो देखाउन् भनी रोप्नलाई
फुटपाथका धाँजाहरुमा चिम्टीचिम्टी माटो खोजिरहेछौँ, हैन?
स्टेसनहरुबाट गन्तव्यहरु कनीकुथी खोक्तै दौडिइरहेछन्—
कि हामी पनि पक्रेर एउटा–एउटा टिकटको पुच्छर
चढ्ने कुनै एक मनुको नक्कल नाउमा,
र हेर्ने वतासले र श्वासले कता रोपिदिन्छन् हामीलाई ?
साझा सपनीहरुले एक–अर्कालाई सताएको
यसैको लागि, हैन ?
रेष्टुरेन्ट मृत मेनु, पत्रिकाका चिरबिरे थुतुनाको समीकरण :
रित्ता आँखा + मुस्कानको अभिनय = अविश्वासको वाफ उठ्दो प्लेट,
हामीले चम्चा र काँटा चलाएको एक–अर्कालाई भनेर
केवल ध्वनिले लोलाउन, हैन ?
कहिलेकाहीँ भित्ताहरुले निलेकी क्षितिज
जब एकै साथ चिम्म आँखाहरुले देखेका हुन्थ्यौँ,
त्यसमा भए–नभएका रङ्गहरु डिजिटल रङ्गहरुको कलर
ट्रेबाट सापट लिइलिइ
दिन र रात नभनी रङ्गाएको, हैन ?
खैर, हामी विचित्रता र विभिन्नताले तानिएर
एक–अर्कालाई मन पराउन हौस्याउँदै
व्यतित भएका होइनौँ र !
तिमीले र मैले एक–अर्काको खपतको हिसाव
कति ‘हामी’ ले उकास्न सकेछौँ,
हाम्रो मृत्युले कुनै दिन सोध्ला र !
जिन्दगी !
तँ प्रेम कुन गोजीमा बोकेर हिँड्छस् ?
तेरा भ्वाङ परेका खल्तीहरुमा कस्तो आकार र वजनका वस्तु अडिन्छन् ?
तिम्रो दीर्घ निश्वासले यस्तो भन्दा
तिम्रो कुममा हलुका गरी ढल्किएको म
एकैछिन त साँच्चिकै छट्पटाएकोथें, हैन ?
र त, आऊ, हात समातौँ !
औँलाका कापकापमा कसिऔँ !
म उड्न लागेको छु तातो बेलुनसरि,
तिमी पनि त्यस्तै देखिन्छ्यौ !
ऐय्या नभनौँ, विर्सिदिऔँ
औँलाका चोट,
देहहरु नै छुट्टिएर आकाशको विषम उचाइमा विष्फोट पर्खिरहेछन्—
अभिशप्त सुसाइड बम्बरसरि एक्लै–एक्लै पड्किनुअघि,
आऊ, यो ऐठनबाट व्यूँझिहालौँ !
आऊ, हाम्रो सध्देपनलाई सम्हालौँ !
तिमी यो पुकार सुन्दै त छ्यौ, हैन !
हँ ? केही त बोलिदेऊ न !
२०७३।५।३१