आऊ प्यारी,
जिन्दगीको एउटा जासुस कथा लेखौँ,
केही संकेत छोडौँ आशा र विश्वासको,
केही उत्सुक भइ भौंतारिऔँ
अञ्जान भविष्यतिर,
केही मायावी व्यवधानहरु साक्षी राखौँ
हाम्रा भयभीत धड्कनका संगीतहरुको
आऊ प्यारी,
अँध्यारा गल्लीहरुको स्वप्न सहरमा
खोजी गरौँ उज्याला बगैँचाहरु,
नशालु निरन्तरताको आँखा अगाडी
उदाङ्गो पारिदिउँ स्वार्थका भण्डाफोरहरु
आऊ प्यारी,
एक्लोपनको छद्म नियन्त्रणबाट
आत्मसमर्पण गरौँ हामी माथिको द्वैततालाई सबै,
टुक्राहरुको योगलाई विचलित पारी
छरिन दिऔँ संयोगहरुलाई जीवनका पानाभरि,
केवल सोचले जोडिआँै, सन्दर्भले च्याते पनि
दृश्यहरुको दर्शनसँगको खेलसरि
आऊ प्यारी,
मन्त्रणा बनौँ ‘म सही कि म सही ?’को
सून्य सून्य द्वन्द्व बनी,
आफ्नै अपेक्षाहरुको अनपेक्षित
तर्कवितर्कले इन्कार गरी,
समयको धुले पानामा कोरौँ रगतले
नदीका दुई धार बनी
छलको एक समुन्द्रमा
छालका रफ्तारको आविष्कार गरी,
कहिल्यै नचाहेका नासो थुपारौँ
डाइनासोरका प्राची न भण्डारसरि,
परम्पराको सर्को धुवाँ बनौँ
डढ्नु नै जिउनुको सार मानी ।
२०७२ चैत्र १६
No comments:
Post a Comment