Thursday, April 21, 2016

मस्कट बनेर हाँस्छ काठमाण्डौँ















काठमाण्डौँ केवल बाजेको सेकुवाको काठको मस्कट बनेर हाँस्छ
कुकुरले रातमा मुत्ने भित्तोबाट,
अरु कतै केही बोल्दैन,
आफ्नै लिङ्गपूजामा लीन छ,
हस्तमैथुनले नुहाउँदै आफैँलाई
झिंगासरि जनहरु बोलाउँछ उसको सात्विक भोजमा,
तर ऊ के कल्पिँदै स्खलित हुन्छ
मलाई त के काठमाण्डौलाई नै थाहा नहोला ।
थुइया काठमाण्डौ ! म तेरो लिङ्गपूजादेखि यति अघाइसकें—
तेरो स्तुति पनि गीतजस्तो नसुनिएला,
जँड्याहा बाउको मातेको आलापजस्तो !

म भयको तुवाँलो गृहद्धारबाट बोकेर
रातो हुँदै जाँदैथेँ काठमाण्डौँको फोक्सोतिर,
त्यही बाजेको सेकुवाको मस्कटले मलाई हरियो बनाइदियो
र, म नीलो खोज्नथालेँ छिद्रछिद्र आँखाहरुमा,
टुक्रटुक्रा आकाशहरुमा
सफा टेम्पुमा झुण्डिएर,
एक त्यान्द्रो स्वच्छताको निम्ति होइन
मात्र संयोगले आफूलाई फोक्सोको त्यो कुनोसम्म ढुवानी गराउन
जहाँबाट थोरै अर्थको अक्सिजन मलाई जुट्छ
यो तुवाँलोमा जिउन ।

टुँडालहरु भूकम्पभन्दा अघिदेखि
चिहान बनेका घरबाट लास भएर गनाइरहेछन्,
घरि एउटा फिल्मी वा विज्ञापनका पात्रबाट जन्म लिन
बग्रेल्ती बिलबोर्डका खियालाई कन्याइरहन्छन्,
जात्राहरु क्यालेन्डरका राता म्युजियम महलबाट
विस्मृतिको बार्षिकी मनाइरहन्छन्,
ट्राफिक जाम र हिंस्रक हर्नहरुसँग जुध्दै
मृत्युसंस्कार कुरिरहन्छन्,
जात्रा जलाउने घाट कहाँ छ ?

जात्रा टुँडिखेलका पट्यारलाग्दा आमसभाका अग्निमा जलिरहेछन्,
झाँकी संसद भवनका वाक्वाकी लाग्ने उल्लासका नर्काग्निहरुमा जल्दै
टेलिभिजनका एकएक किस्ता समयमा बिकिरहेछन्,
मै कुनै बेला जागिर नपाएर काठमाण्डौबाट गाउँतिर फ्याँकिइएको
एउटा मित्रप्रति टिठ देखाउँदै भन्दोथें —काठमाण्डौँ सबैको निम्ति होइन !
मानौँ म सम्हाल्न सकूँ सामथ्र्यवान् हुनाले यो दुव्र्यसन
थुइया म ! आकाशतिर थुक्दा अनुहारमा खस्दा
आफ्नै थुक पनि यहाँ आकाशको खकार बनेर खस्छ !
कालो, धुवाँको आधुनिक तिलक !

त्यो हँसमुख मस्कट टुँडालको
सिनो टोकेर हाँसेको छ,
जसरी सूर्य पूर्वको डाँडो नाघेर
यहाँको स्थायी तुवाँलोमा धूमिल बासेको छ ।
फेरि पनि टुँडालहरु मान्छेभन्दा विभत्स मृत्यु मर्दैछन् ।
हो, जम्बी शरिरहरु लिइ
डान्सबारमा मदिरा चाख्न पस्तैछन् ।

र त सोध्छु ए काठमाण्डौँ, भन् न तेरो लिङ्ग के हो?
तेरो स्खलनको बाढीमा केही ठम्याउनै किन यति गाह्रो ?
ए भन् न , काठमाण्डौँ,
केले तँलाई बनाउँछ नरम, देहमा र आत्मामा,
केले तँलाई बनाउँछ साह्रो ?

काठमाण्डौँ, तेरो पालिम्पसेस्ट छातिमा
कति शताब्दीका अग्र्याजम्हरु एक पछि अर्को लिपिबद्ध छन्,
जिन्दगीका वाक्वाकी र ठेसमा
आहट् बनेर प्रतिध्वनित हुन्छन्,
भन् न काठमाण्डौँ, तँ कति शताब्दीको पेग लिएर
‘नक् आउट्’ हुन्छस् ?
कति कल्च्याइको स्याडो–म्यासोचिज्मले
‘फेज आउट’ हुन्छस् ?

कति दुर्गहरु तेरा बन्छन् र भत्किन्छन्
तलैया माटोको स्टामिनामा,
कति स्वर्गहरु तेरा व्यूझिन्छन् र झस्किन्छन्
प्रवासी सपनाका चिनामा ?
काठमाण्डौँ, तैँले चिताएको के हो
हरेक जल्दो चितामा ?

खैर, काठमाण्डौँ, म त अहिले
तँबाट यति मात्र खोज्दछु
कि तेरो खोजाइ र मेरो खोजाइ
सदा रुख र पातको सम्बन्ध जिइरहून्,
तेरा शरीरका अंगहरुले समयको खोपाइबाट
कलाका नवीन आकृति लिइरहून् ।

बैशाख १०, २०७३



Friday, April 8, 2016

दिमाग खुस्किएको एक रात

दिमाग खुस्किएको एक रात
मध्यरातमा पुगि पाक्नुअघि
एकएक चुस्की उज्यालो घुट्क्याएर
तलातलाका झ्यालबाट बाहिर छोडिरहेथ्यो मात अनुसारको खित्का

केही पराग पिइ मातेका खुट्टाहरु
गल्लीका साह्रा गालासँग
मायालु झापडको खेल खेल्दैथे

कुनै कुकुर भुक्थ्यो
र जनाउँथ्यो सभ्यताको जैविक सीमा

त्यत्तिकैमा चल्दथ्यो
....वतास सुस्तरी मनै हरर हो !
भरोसा छैन जीवनको विताउँ हाँसेर . . .
हा ! हा ! हा !
खैर, जस्तोसुकै अग्नि पनि पेटमै हुर्केर बढ्थ्यो
जस्तोसुकै ध्वनि पनि पेटै ताकेर डढ्थ्यो

चिहानघाट मसानघाट छेवैमा थियो,
लास जोगिएको प्रेत दाह गरिएको प्रेतसँग
चौतारीमा आइ बात गथ्र्यो

दिमाग खुस्किएको त्यो रात
दिन अनन्त कालसम्मलाई दैनिकीबाट
चिप्लिएको थियो

त्यसै बेला डार्क म्याटरको स्वायत्त प्रदेशभित्र
एक झिल्को प्रकाश जसरी मोबाइल बज्थ्यो—
“कति बेला आइपुग्नुहुन्छ ?”
विश्रृङ्खलता पराइ भाषाको टुक्का हो,
बुझ्नै गाह्रो !

कोही कसैलाई समीपबाट हेरेर
तृप्तिको अग्नि निल्थ्यो र रुन्थ्यो
विग्रहको आँसु,
पातहरु आफ्ना सदाबहार चरित्र बिर्सिएर
नाच्न थाल्थे मृत्युको खैरो अवतरण,
हाँस्नथाल्थे विस्मृत उल्लासको
उत्तरविहीन भ्रमण,
चराहरु टोकिदिन्थे
प्वाँखप्वाँखका भुवाले वतास
र कोरिदिन्थे स्वच्छन्द उडानले आकाश,
यी सवै निशाचर

“म विछ््यौनाको मृत्यु मर्न आउँदैछु,
तिमी बसिराख पसिनाको सुगन्ध पर्खिइ . . .”
धर्ती लर्बराउँथ्यो र घरसम्म प्रसब सहन्थ्यो

दिमाग खुस्किएको एक रात दिमाग
मलाई भन्थ्यो — “एक चोटि डिस्क फम्र्याट गर्दे यार् !”

२०७२ चैत्र २५, १०ः०२ बजे

Sunday, April 3, 2016

एउटा जासुस कथा लेखौँ


आऊ प्यारी,
जिन्दगीको एउटा जासुस कथा लेखौँ,
केही संकेत छोडौँ आशा र विश्वासको,
केही उत्सुक भइ भौंतारिऔँ
अञ्जान भविष्यतिर,
केही मायावी व्यवधानहरु साक्षी राखौँ
हाम्रा भयभीत धड्कनका संगीतहरुको

आऊ प्यारी,
अँध्यारा गल्लीहरुको स्वप्न सहरमा
खोजी गरौँ उज्याला बगैँचाहरु,
नशालु निरन्तरताको आँखा अगाडी
उदाङ्गो पारिदिउँ स्वार्थका भण्डाफोरहरु

आऊ प्यारी,
एक्लोपनको छद्म नियन्त्रणबाट
आत्मसमर्पण गरौँ हामी माथिको द्वैततालाई सबै,
टुक्राहरुको योगलाई विचलित पारी
छरिन दिऔँ संयोगहरुलाई जीवनका पानाभरि,
केवल सोचले जोडिआँै, सन्दर्भले च्याते पनि
दृश्यहरुको दर्शनसँगको खेलसरि


आऊ प्यारी,
मन्त्रणा बनौँ ‘म सही कि म सही ?’को
सून्य सून्य द्वन्द्व बनी,
आफ्नै अपेक्षाहरुको अनपेक्षित
तर्कवितर्कले इन्कार गरी,
समयको धुले पानामा कोरौँ रगतले
नदीका दुई धार बनी

छलको एक समुन्द्रमा
छालका रफ्तारको आविष्कार गरी,
कहिल्यै नचाहेका नासो थुपारौँ
डाइनासोरका प्राची न भण्डारसरि,
परम्पराको सर्को धुवाँ बनौँ
डढ्नु नै जिउनुको सार मानी ।
२०७२ चैत्र १६

आ–आफ्नै चक्रमा



सबै आ–आफ्नै चक्रमा फर्किरहन्छन्
फूलका दलबाट हावाका झोंकाझोंका पिच्छे
बिदाइ भएका सुवासका झुण्ड,
ख्यातिले, पस्नी समाउने हातबाट
अर्को बागमा रोपिन्छन्

बर्षाका एक–एक धर्सा धागा
गानीएका बादलका दुधमुन्टाबाट झर्दै
नदीमा समुन्द्रसम्मको टिकट काट्छन्,
हो, बाटामा ढुङ्गा, माटा, पत्कर र लास चाट्दछन्

सबै आ–आफ्नै बक्रमा मर्किन्छन्
सबै आ–आफ्नै चक्रमा फर्किन्छन् ।
२०७२ चैत्र २०


सहानुभूतिविनै रोइरहेको छु


म सहानुभूतिविनै रोइरहेको छु
क्यामेरा लिइ खिच्नेहरु
फोटोजेनिक छ भन्दैछन्
घारबाट मह रसाएजस्तो,
मलाई चाहिँ न त पोल्छ आँखा
न चहर्‍याउँछ गाला,
केवल नाकका प्वालमा आइ झुण्डेका थोपाले
तर्साउँछन् आसन बिगार्नेगरी हाच्छिउँ गराइदिने
सोच्दैछु, हाच्छिउँ गरिदिउँ त भन्दिनेछु—
यो कस्तो लाग्यो ‘पिक्चर इन मोसन’ ?

तर म हाँच्छिउँ निषेधित स्टुडियोमा
 सहानुभूतिबिनै रोइरहेछु,
रित्तो मौनता बिक्ने महंगो व्यापारको
विनम्र नोकर भइ ओठ टोकिरहेछु,
‘पर्फेक्ट’ चित्र तयार नहोउञ्जेल
त्वचाका हरेक शूक्ष्म दुलाबाट उम्किन सक्ने
पसिनाका भ्रुणहत्या गरिरहेछु,
शेयर बजारको ढलपल गर्दो सूचक जसरी
‘सर्किट ब्रेकर’ कतिबेला चल्ला कुरिरहेछु ।

२०७२ चैत्र २०