Monday, November 9, 2015

. . . उभिएका

शारीरिक शिक्षाको कक्षामा
पुष्ट गाला र भकुण्डे भुँडीवाला गुरुले
उपर्खुट्टी लगाएर भन्नुहुन्थ्यो—
आसन मेरुदण्ड सीधा पार्ने किसिमको हुनुपर्छ,
ठाडो होस् या क्षितिजीय
धर्सोको निकटस्त हुनुपर्छ ।

हामी गुरुलाई मान्दथ्यौं,
उहाँको अनुभवी रोब
दण्डदायी स्मृतिका थथर्काहरुबाट जान्दथ्यौं

कक्षामा मेरुदण्ड सीधा राख्न थाल्यौँ
चाहे प्रसंगले डर वा लज्जाभिषेक गरी
शिर निहुराउन नै बाध्य पारेकै किन नहोस्,
हामी सकेसम्म मेरुदण्ड सीधा पार्नुको मापदण्ड
शरीरका अंगअंगमा लागु गर्न थाल्यौं,
केश ठाडो पारेर कोर्न थाल्यौँ,
नाचका नागबेली चाल ब्रेक डान्सका धर्साले फोर्न थाल्यौं
निबन्धहरुमा ठाडो मेरुदण्डको उपमा
सगरमाथा सापट लिइलिइ कोर्न थाल्यौं,
थाकी लेटेको, क्षितिजीय मेरुदण्ड
तराइको समथलको न्यानोले बेर्न थाल्यौँ

हामीले सीधा मेरुदण्ड
सोझो आस्था र निसन्देही सरतलतासँग जोड्न थाल्यौँ,
ईतिहासतिर फर्किइकन
जे–जे मूर्खता–धूर्तता देख्यौँ
तिनलाई सीधा पार्ने साँचोमा ढाली
मीठो मूर्ततामा मोड्न थाल्यौँ,

हामी विद्यालयबाट धेरै टाढा आइसकेका थियौँ
हाम्रा गुरु कहाँ छन्, के गर्दैछन्, त्यसबाट अञ्जान भइसकेका थियौँ
हामी सीधालाई ठाडो र क्षितिजीय धर्साभन्दा बढी
ढल्काइ, कोल्टे, वक्र र चक्रमा,
तेस्रा, चौथा, वहुआयाममा
छानीछानी प्रयोग गर्न अभ्यस्त थियौँ,
योगाशन र आधुनिक व्यायम जानेका हामी
अंग र मगजबीचको सन्तुलन र शासन
बुझ्नु र बुझाउनुमा मस्त थियौँ
मेरुदण्ड मक्किँदै गए पनि
आसनका नवीनताहरुले मख्खिँदै थियौँ ।

हाम्रा गुरु मधुमेहले,
वा मेरुदण्डको क्यान्सरले,
वा वय नथेग्ने देहले,
हराउनुभएछ हामीलाई छोडी ।

गाउँमा बर्षौंपछि पुनर्मिलन भेटघाटमा
हामीले गुरुलाई एक मुट्ठी सम्झियौँ,
उहाँका अन्तिम दिनहरुबारे
आपसमा र वरिपरी सोध्यौँ,
उहाँको जीवनबारे गाउँमा
स्मृतिको द्यौसीभैलो खेल्यौँ,
र, अन्तमा शाहस गरी
उहाँको हार्दो शरीरका अन्तिम फेहरिस्त पढ्दा
यस्तो निक्र्यौल देख्यौँ —

मेरुदण्ड स–साना हाडका खण्डहरु सिक्रीसरि जोडिनुपर्नेमा
बीचबीचमा हावाका फोकाहरु हावाका प्रतिनिधि भइ उभिएका ।
पेटको गोलाकार बढ्दो व्याससँगै नाइटो र मध्य–मेरुदण्ड
प्रतिरोधी खेमामा उभिएका ।
. . . . .  . . . . . उभिएका ।
. . . . . . . . .उभिएका ।
. . . . . उभिएका।


अहिले हामीलाई ‘उभिएका’ मात्र याद छ ।

२०७२ कार्तिक १९




Wednesday, November 4, 2015

रङ्गमात्र चिनिएको थियो

भएको विशेष केही होइन
सपनामा नै सायद
एउटा हातले अर्को हात
उखेलेको— काँधको एक छेउबाट,
एउटा खुट्टोले अर्को खुट्टो
छिर्के लगाएको— हिँडाइको धर्सोबाट,
एउटा आँखोले अर्को आँखोलाई
झुक्याएको— मगजको दृश्यघरको वण्डाबाट
वस् ! प्रकृतिको सन्तुलन मिलेको
शक्तिको नाङ्गो कुस्तीबाट

हेर्नेले, देख्नेले, बुझ्नेले
नहेर्नेलाई, नदेख्नेलाई, नबुझ्नेलाई
आपसमा ठाउँ साटिसाटि भने—
विग्रह हुँदैछ,
आदान–प्रदानको दिनरातसरि
समयको भोग–भोजको चक्रियतामा

तर सबैलाई थाहा थियो
भएको केही थिएन,
किनकी सम्झिँदा बिर्सिइएको केही थिएन,
बिर्सिंदा सम्झिइएको केही थिएन,
शान्ति कर्कश कोलाहलमा पोखिएको थिएन,
कोलाहल शान्तिमा घोप्टिएको थिएन,
भोक मरेपछि भोग लगाइएको थिएन,
भोग लगाएपछि भोक सकाइएको थिएन,
सबैलाई थाहा भए बाहेक
विशेष कसैलाई थाहा थिएन,
कालोले, रातोले जे कोरेपनि
रङ्गमात्र चिनिएको थियो
लिपिमा केही बोकिएको थिएन ।

रोशन कोईराला
२०७२ कार्तिक १८

Friday, October 16, 2015

२०७२ सालको दशैं



खै, दशैं अगावै रगतका टाटाले रंगिइसक्यो भूमि,
निधारमा रातोले के शोभा बढाउनु हो !
असहिष्णुताको खेलमा लिप्त, एक्लिंदैछ
छिमेकीबाटै आँगन,
उल्लासको पाइला
सुखको कुन शिखरमा चढाउनु हो !

चाडको शान्त सादगीमा
सद्भावको प्राणदायी श्वास हुनुपर्ने,
यस्पाली सद्भावको उखु
दाँत उखेलिएका मुखहरुमा
टोकाउनु हो कि कोच्याउनु हो !

चाडमा मासुको भोजन त्यसै हुँदो रहेनछ,
सोच्दछु, शिकार र शिकारीले सृष्टि जोगाउन
हाँसीहाँसी कसरी साथ निभाउनु हो !

गर्जो टार्नु वा नक्कल पार्नु,
सवमा पराधिनताको छाप बोकी
फेर्ने श्वास र टेक्ने जमिनबाहेक प्राथमिकतामा राख्दा
कुनकुन चिज पहिले कमाउनु हो !

पृथ्वी घुमिँरहदा, घडी चलिरहँदा
बितेका अमूल्य पल समेट्न
कतिञ्जेल नाडीको सुई उल्टो घुमाउनु हो !

पैतालामा घाउ छ,
अनुहारमा सौन्दर्यलेप दली
घरी आफू, घरी अरुलाई छली
कतिञ्जेल यसरी रमाउनु हो !
२०७२ सालको यो दशैं
कसरी पो मनाउनु हो !

16 Oct, 2015

Sunday, September 13, 2015

ए मेरी ..... !

ए मेरी श्रीमती !
तिमी र म एक–अर्कालाई
आपसी व्याधको संक्रमण,
धाराको पानीसरि
गाग्रीमा, वोतलमा, जेजेमा
दैनिक, रंगविहीन
एकनासको भ्रमण, भरण,
एक–अर्काको जिन्दगी–बागमा
वन्मारा झारको अतिक्रमण,
जागिरजस्तो, नखपि नहुने
फेरिइरहने निर्देशको श्रवण !

ए मेरी अर्धाङ्गिनी !
तिमी र म मायाको थोरै सिमेन्टले जोडिएका
धेरै गिट्टी, ईँट र छड,
दुई मिली थाम्न सके
केही लहरालाई थाङ्ग्रो लगाउन सके
“कस्ले कति ग¥याथ्यो ?”को बडाबड,
दृश्य–अदृश्य हामीबीचको महाभारतको
हामी दुई विपरित गढ,
सधै एकको योजनामा अर्को
आइ लम्पसारिने तुकविनाको लहड ।

ए मेरी भार्‍या !
तिमी र म एक–अर्कालाई
कपासलाई ओसको भरिया,
संघर्षका लामा कोस काट्लाई
बोकेका थोरै ढाडसका पुरिया,
एक्लाका आँखामा टल्किने
खान नमिल्ने गहनागुरिया,
न पहाडको चिसो न तराइको गर्मी,
आवेसका साउने भेलमा बगिरहने
हामी त चुरिया, भार्‍या, खुकुलो, खस्रो चुरिया !

ए मेरी पत्नी !
तिमी र म एक–अर्कालाई
पराइ बटुली चुग्ली लगाउने सकुनी,
जति नहुँदा नहुनी, हुँदा उति नहुनी,
जिन्दगीका पाकेका बालामा टेकी, जुवामा नारिइ
चिप्लो मियोमा गोलगोल घुम्ने दाउनी,
अञ्जान आवेग र आशंकाका पल्टनलाई
छत हाली सुताउने छाउनी,
समाजका श्रमिक हामी, सभ्यताका कृषक
युगका इकाइ बोक्ने, बिर्साइ  र सिकाइ बोक्ने
एक अर्कोलाई, कुहिनाले हिर्काइ
हिँड्ने लड्खडाइ— त्यस्ता पथगामी,
पत्नी ! त्यसरी, हो, त्यसरी,
तिमी र म, हामी !

September 11, 2015

Thursday, August 27, 2015

मेरो घरको ढोका बन्द छ

तिमी भित्र म हुँदा, तिम्लाई थाहा छ,
हामी फल हुन्छौँ ।
म बियाँ ।

हरेक पल एउटा पात, एउटा हाँगो, एउटा लहरो जिन्दगीको
यहीँबाट पलाउँछ, तन्किन्छ, फैलिन्छ
समयमा,
तिमी नहुँदा पनि मैले तिमीलाई खोजिरहनुपर्छ,
घरबिना जिन्दगी अधरविहीन भैदिन्छ ।

तर तिमी जन्मेका छौ मेरै मगजबाट,
बुझ्यौ ? मेरो आवश्यकता मेरै गर्भमा हुर्किरहन्छ !
तिमी नखुल्नु मैले आफैँलाई दुत्कार्नु हो ।

अहिले दुत्कार मात्रै देखिरहेको छु,
मैले बाहिर नै केही समीक्षा गरी शान्त भइ फिर्नु पर्ला जस्तो देखिन्छ ।
तर मचाहिँ भित्र आइ शान्त बन्न सक्छु भन्ने ठान्दैथें !

तै, एक चोटि पस्न पाए देखि,
स्वचालित, बानी परेको आसनमा बस्न पाए देखि,
आफूलाई निश्चिन्ततामा देख्न पाए देखि,
त्यो शान्त तलाउको मुग्ध्याउने चित्र खिँचेर
गहिराइमा मडारिने तरङ्गहरु फुर्सदमा केलाउने थिएँ !
यस्तो बुझीबुझीकन त
भित्र पो कसरी पसूँ ?
उनिएको बलियो वस्त्र छुँ,
उधिनिने धागाको जगल्टोमा कसरी खसूँ ?

बाहिर वैभव र विराटताले
नयाँ नयाँ मित्रताको लोभ देखाउँछ,
मलाई डर लाग्छ तिम्लाई छोडेर गए
फर्किंदा तिम्ले मलाई , मैले तिम्लाई नै
चिन्न छोड्नेछौँ ,
तिम्रो र मेरो रङ्ग
र दृष्टिको ढङ्ग बदलिनेछ ।
यो ढोका र भित्ताका कापहरुमा बसेका
द्वन्द्वका रापहरु हराउनेछन्, निर्भरताका नापहरु हराउनेछन्,
मलाई त्यस्तो लाग्छ ।
त्यसको बदलामा के आउनेछ ?
लाग्छ यही प्रश्नको ताल्चाले तिमी बन्द छौ ।

म फर्किनेछु,
त्यतिञ्जेलमा सायद म साँचो जुटाएर आउँला,
वा त्यो ताल्चामा खिया लागिसक्नेछ
र ढोका उदाङ्ग भइ
घुमन्तेलाई सर्लक्क निल्नेछ ।

 20 April 2015

Thursday, August 13, 2015

कान्छाको धर्मपरिवर्तन र तागाधारीको प्रश्न


—बाँस काटेर कता लग्यौ हो कान्छा ?
—हजूर, चर्च बनाउन सघाउँदैछु ।
—आम्माम्माम्माम्माम्माम्मा ! तिम्ले धर्म छोड्या ?
—हजूर, धर्म लिन चै खोज्या, धर्मबाट अरुले जस्तै लिन पनि खोज्या ।
   खै, नयाँ रक्सी लाग्या हो कि, धर्म पाएजस्तो भा’छ ।
   पैले धर्मको फलामे टोपी
   बालख गणेशको काँधाँ मत्ताको शिरसरि
   थे’न थाप्लाँ कम्ताको भारी !
   ऐले मगज हो कि सन्क्या विदेशी झिलिमिलीले !
   प्वाँखैप्वाँखको टोपी यै खप्पराँ
   ला’एजस्तो भा’छ ।
   तै, तिर्खोले यो कुवा, र वरै, के भनोस् त्यो कुवा,
   ऐलेलाई पिउन गतिलै भेट्टाएजस्तो भा’छ ।
—पानी फेर्दा झाडा हुन्छ, था’छैन ?
—पुरानो कुवामा मान्छे, हजूर, मान्छे चिनिचिनिकन डस्ने
   ढोडिया सर्प भएसि,
   घाउ दिन नछोड्ने, मारिहाल्न नसक्ने
   बरु गोमन भा’हुने, गोमन नभएसि
   ऐले भ्यागुता र मच्छडमात्र लाग्ने कुवा भेट्टाएजस्तो भा’छ ।
—तिम्रो यो कर्म अधर्मी छ ।
—कर्मबाट धर्म भेटूँ भन्दैछु । हेरौं एस्पाला कत्तिको मिल्ती बन्छ ।
   पुरानो रोग निको पार्न
   यो नयाँ संक्रमणको सुइ कान्छाले ला’छ ।
   आफ्नै कुवाबाट कान्छाले भोलि
   मोल तिरेर किन्नुपर्ला कोकाकोलासरि पानी,
   तै संस्कार र वेभारको जंगली अंधकारबाट बच्न
   कान्छाले बरु त्यो निर्दयी बजारको फेर समा’छ ।

  कान्छो नास्तिक हुन नि खुला छैन,
  अरुको आस्थाको दाम्लोले उसको घाँटी अँठ्या’छ ।
  दाम्लो सहजै छिनिन्न नसासरि,
  पराया अगुल्टोले दाम्लो डढाउनुपर्‍या’छ,
  जल्दै, हजूर, आफैँ जल्दै, शान्तिको
  गोठ नजलाउने बाटो रोज्नु पर्‍या’छ ।

—शान्ति भन्छौ ! तिम्रो भ्रान्ति हो यो !
—तिम्लाई त निकै पोल्दो रै’छ । यै भ्रान्तीलाई अलिकति क्रान्ति सम्झेर बाटो लाग ।

August 13, 2015

Tuesday, August 4, 2015

तुक

मलाई बाँच्दै फुसर्द छैन,
वा मर्दै विश्राम छैन,
सोस्ने, ओकल्ने निरन्तरताबाट
एक पल अंश स्थिर प्राप्य छैन
त म कुन विन्दुबाट,
खोलाको जो म पानी छु
खोलाकै पुच्छर वा मुख खोजूँ ?
खै, कसरी
र किन, म जीवनको तुक खोजूँ ?

मैले खोजेर के हुन्छ,
बाटो ठम्याइ, रोजेर के हुन्छ
जब नरोज्दै रोजिसक्छु,
नसुन्दै बोलिसक्छु,
जब स्मृति नै स्मृतिको कारण हुनसक्छ,
जव संस्कृति नै विकृतिको व्याकरण बन्नसक्छ,
एउटा तथ्य जो क्षणभरलाई मीठो कथ्य हुनसक्छ,
त्यसलाई कल्पको उज्ज्वल सत्य मानी
सपनाको भारी किन बोझूँ ?
खै, कसरी
र किन, म जीवनको तुक खोजूँ ?

कोषिकामा विश्व छ, विश्व एक कोषिका,
चेतको सीमा भत्काइभत्काइ विभिषिका किन रोजूँ ?
तै, श्रापितझैँ छु, त्यो बुझ्दा ‘मैँ’ छु
‘मैं छु’ भन्दा बाँचेझैँ छु,
खै नबुझी नबुझी बुझाइको बोझ बोकी, लाग्छ म हिंडूँ ,
त्यसैले त लाग्छ सोधूँ
खै कसरी,
र किन, म जीवनको तुक खोजूँ ?

August 4, 2015