Thursday, July 31, 2014

के कविता बन्थ्यो होला ?

के कविता बन्थ्यो होला ?

भोकाले भोकको बारेमा नबोल्नु पर्ने भए,
रोगीले आरोग्यको लोभ नखोल्नु पर्ने भए,
पेलिनेले पेलानको प्रमाण नपस्किनुपर्ने भए,
प्रेमी मनले हरेक ढुकढुकीमा नझस्किनु पर्ने भए,
न कविता बन्थ्यो न त्यस्तो भाव वहन्थ्यो होला ।

कुरा रित्ता आनन्दका हुन्थे होला,
पोखरीझैँ जम्थे होला हाम्रा परिवर्तनका पाइला ।
उग्राउँथ्यौं होला भाग्यवादको सूर्यतल
शौहार्दको आलस्यमय विस्कुन भई ।

तर ताराबाजी लै लै देखि हरेक मगजमा
यो वा त्यो को समर्थन वा विरोधमा
नाराबाजी लेखिएको छ ।
यहाँ गोलीको खाटो मात्र होइन सिउँदोको टाटो पनि राजनीतिक छ ।
ह्वीलचेयर नचल्ने बाटोसमेत तानाशाही छ ।
यो सब नहुन्थ्यो त
मनोगत ‘मोड’ मा चल्ने कलमले के कहन्थ्यो होला ?

केवल ईश्वर नै मात्र भइदिएको भए,
मिथकहरूमा जस्तो हाम्रा मगजहरूमा पनि
हामी कसलाई उभ्याउन समयको कठघरामा
के नै लेख्थ्यौं होला ?
जहीँ पनि आफू अनुपस्थित
ईश्वरचाहिँ प्रस्तुत गराई
आफ्नो कहानीमा आफ्नै कहावत कहीँ पाउँथ्यौं होला ?

कोही कुण्ठित नहुन्थ्यो,
कुण्ठा स्वीकार्नै नपरी थेरापी नचाहिएको भए,
कसैलाई जीवनको क्षणभङ्गुरताको अनवरत छायाँले नलखेट्थ्यो,
दौडिँदादौडिँदै ताली र गालीको अलिकति सिँयाल नचाहिएको भए,
त्यो सिँयाल रसाएका नरसाएका अरु आँखालाई आस्वस्तिको  थोरैतिनो रुमाल नभैदिएको भए,
को कविता बुन्थ्यो र को नै सुन्थ्यो होला ?

भाषाको लेउमा म्याराथुन को दौडन्थ्यो होला ?
थोरै आशाको किनारा नदेखिन्थ्यो त
निराशाको बाढीमा को पौडन्थ्यो होला ?
औजार चलाउने सीपजत्तिकै
उपमा उब्जाउने आदतमा कीर्ति नहुन्थ्यो
त यो शौखिन स्खलन को सहन्थ्यो होला ?

म त सोधेरै थाक्तिनँ
के कविता बन्थ्यो होला ?

31/07/2014

एउटा कविलाई भेट्दा (When You Meet a Poet)

एउटा कविलाई भेट्दा


आफ्नो आस्था छोडीछोडी
तपाईँले कुनै कविलाई नपत्याउनु,
बलियो भुईँमा टेकेको मनलाई
त्यो बाहिरियाको स्वप्नमा नरत्याउनु,,
जब कविले हाँस्न मन लाग्यो भन्छ
तब उसको शैशवदेखिको सामथ्र्य
नहाँस्नुमा खर्चित हुन्छ,
ऊ हाँसोको  चित्र जोगाउन चाहन्छ
भक्तले दियोलाई हात पोलुञ्जेल बार लाएझैँ,
हाँसोलाई पर्खालले हुरीलाईझैँ छेकिरहन्छ,
स–साना छेकबारहरुको एकलास घरहरुमा बसिरहन्छ

तपाईँ आफ्नो जीवन जिउन छोडेर
कविको सापटी अनुभूति नसुन्नु,
तपाईँ भुलिएर रोकिनासाथ
उसको यात्रा अघि बढ्छ,
तपाईँ अघि अडिएर ऊ शिखर चढिसक्छ
टोलाएरै तीर्थ घुम्दछ कहाँकहाँ
ऊ त छटाएरै सङ्ग्राम जित्दछ
जब कविले “मर्नु भयो, मर्छु” भन्छ
कहिल्यै नठान्नुहोस् ऊ पीडाको पहाडले थिचिएको छ,
समीप नजानुहोस् ढाडस र साथको सौगात लिएर
ऊ खस्नुको रोमाञ्च हेर्न यति लालायित हुन्छ
कि बाँचिरहन्छ मृत्युकल्पनाको ओखती पिएर
एउटा जीवनमा आफूलाई अनेकपल्ट मारिरहन्छ
यही अम्मल छोड्न नसकेर बाँचिरहन्छ


कविलाई अपत्यारले हेर्नुहोला, सङ्काले श्पर्श गर्नुहोला
उसलाई आकाशमा उड्न नदिनुहोला,
धर्तीमा बस्न नदिनुहोला
बाँकी कुनै तलाऊमा तैरिन जाओस् !
ऊ प्रताडित हुनुपर्ने प्रजाति हो
सुखको सूर्यले ऊ ओइलाउँछ,
स्वतन्त्रताको जति नै बिगुल फुके पनि
आफ्नै स्वतन्त्रताको हत्यारा हो भन्ने बुझ्नुहोला
उसले यो गर् त्यो नगर् भन्ला
ऊ आफैँ भित्र–बाहिर, सोच–शरीर
निषेध र अवज्ञा हो, यो बुझ्नुहोला !

त्यो दोधारेलाई  दुई आँखाले
अरु चीजजस्तो एउटै नदेख्नुहोला !
जे भन्दैन त्यहाँ बढी हेर्नुहोला
जे भन्छ त्यहाँ धेरै नखोज्नुहोला !

When You Meet a Poet

Leaving behind your faith
Believe not in a poet,
Let not you heart standing on firm ground
Be enamored with that outsider's dream;
When a bard says he wants to laugh,
The whole of his strength is then
Expended to not laugh,
He wishes to preserve an image of laughter.
Just as a faithful fences a holy flame until his hands burn,
He keeps barricading laughter like walls to wind
He keeps residing in the desolate abode of trivial obstructions.

Leaving off living you life
Listen not to his accounts of borrowed experiences;
Just as you stop in confusion
His journey courses ahead,
Standing before you, he'll have claimed a summit.
Brooding, he pilgrimages just about anywhere
Wins wars merely being in a trance
When the poet says," I'd rather die, I'll die"
Never should you think he's pressed down by a mountain of pain,
Approach not him with presents of assurances and companionship.
So tempted is he to view the romance of fall
That he goes on living gulping on the potion of his fancies of death,
Keeps rendering himself dead for the umpteenth time in one lifetime
And survives clinging to this addictive habit he cannot get rid of.

Pray perceive a poet with incredulity, touch him with doubt,
Let him not fly in the sky
Nor lay upon land,
May he float in a lagoon someplace else!
He is of a species deserving of hardship,
He'll wither under the sunlight of contentment.
Much as he blows on the bugle of freedom
Pray understand that he is his own freedom's murderer
He might exhort ̶   Do this! Don't do that!
He is himself, in-out, mind-body
Restriction and violation, pray understand that!

See not with your two eyes this two-face
One like any other thing,
Seek more in what he keeps silent on
Look less in on what he breaks word.

3/26/2013

Tuesday, July 29, 2014

अन्त्यमा,

अन्त्यमा,

लत्पत गफगाफ जीवनका पानाभरी
रङ्गैरङ्गको वेढङ्गमा पुछिएर
भएको एउटै स्पष्ट स्वप्न
धमिल्याइरहेछन्,
आकार अस्पस्ट्याइरहेछन्,
उडान भर्न लाग्दा आकाश धूमिल्याइरहेछन्,
मलाई मेरै कैदी शंकाहरुको
यातनाप्रद कैदमा धकेलिरहेछन्
मनभरी सयौँ दुर्घटनाका अघटित 
ढ्याङ्ग्रा ठोकेर ।

जुरेली भइ बुट्यानहरुका केशमा
बुर्कुशीका लञ्चप्याडहरु
अड्याइ हिँड्दा, अग्ला रुखहरुबाट
हुरीबतास उँदी हतास भइ
अनिदो देख्छछु दिवास्वप्नहरु,—
एउटा हाँगोको दुर्बल दुर्दशा
ममाथि पनि साकार हुनसक्छ पूर्णतया,
दैलोझैँ ।

के होला अवान्तरमा
घटित भइरहनसके इन्द्रियहरुलाई ?
कस्तो रहला भाव र भोक
एक–अर्काको मूल्यमा ?
खण्डले पूरा जित्दैन, पूराले
जाबो खण्ड सिक्दैन —
के बस्ला निरन्तरमा
नीति नरहेपछि ?

बादल हट्दा

बादल हट्दा
                                                  
सन्ध्याको तीरमा सुन्तले वाढीमा तैरिन्छु
स्मृतिहरुका वहना खियाउँदै, पसिनाले तिर्खाउँदै ।
नुनिलो मह तप्किन्छ, आँखाहरु हार्दछन्
हाँसोको प्रतीज्ञा,
हेर्न खोज्दछन् उमङ्गको हरियो ऐनामा
वाटाभरिका असारे रोपाईँहरु र
खोटविहीन सँगीतनिसृत लामबद्घ लिपिको आख्यान ।

आज दिनभर अनवरत सम्भोगले
लहलहाएका वालीहरुमा
घाम र पानी थकित छन् !
सप्तरङ्गी आभामा देखिएका सम्भावनाका पल्टन
यात्री मानसपटलमा
नवीन सिक्काझैँ गाढा छन् !
यो टङ्कण र ट्यारट्यार् !
यो तृप्ति र आशाको आन्तरिक स्फुरण !
यो स्थीरता र संश्लेषण !

विकराल वादल विगत भएको छ, हाल हाँसो हो,
तर म हिजो केवल वाढी देख्थेँ क्षितिजपारी,
आज फैलिएको छ ढलपल प्रमेय पुष्टि आँखाभरी ।
अहिले धरतीको ढुकढुकी समातेर उभिएको छु गर्भाधारी !
मिर्मिरेमा पूर्वतिर प्रमोदित फल फलाउन,
उत्पे्ररित पाउहरुलाई उकालो बाटो हिँडाउन ।                                        

छोटो यात्रा

छोटो यात्रा

आकाश बोकेर ल्याएछ क्यार
बादलले घाममा
ओसिलो बिस्कुन सुकाउन,
चौर चराउन ओर्लेछ बतास
चिसा हिमशिखरबाट
आफ्नो चम्किलो बैंश

रङ्ग उघार्न पल्टेछ ऋतु
समयको विछ्र्यौनामा उत्तानो परेर
लाली प्वाँख प्रणयमा मागेर
पहाडी कदहरुमा पोत्न गुराँसको,
तिर्खा पसिनासरि उक्लिईँरहँदा
तालु र कन्चटहरुमा, थुप्रै नाभिहरुबाट चुहिँदै

खोक्दो हो खोंच क्षयरोगीझैँ
उसको गोप्य शीतल कोढ,
तेर्सो ढाड सूर्यतिर तेर्छाइ—
तोप ताकेको हो,
कि फ्याँकी थाकेको ?

वरिपरी कडा वस्तुहरु
विनम्र शरण खोज्छन्
मांसपेशी र मनभित्र,
को केमा अट्छ, के बढ्छ ?
एउटा छोटो यात्रामा
कसले के चढ्छ ?

एक हर्षाश्रु

एक हर्षाश्रु

हेर न चिचिलो प्रभात साँझमा पाकेको,
तपस्या गर्ने रहर नै भङ्ग गर्दै
चरीहरुले मनभरी रहस्य उघारेका,
अनि लम्कँदो ब्रह्माण्डको अर्धैय आत्मा
मेरो आँखामा एकै पलमा अटाएको
र, म भावतरङ्गका रेसारेसा समेटेर
तिम्रो सिङ्गो अनुभूति बन्न प्रयत्नशील
क्षणभरलाई !

यहाँ छोएरै केही नसकिने देख्छु प्रिये,
जान्नु कसरी ? —रहस्य ! नजान्नु झनै त्यसो,
तर मृत्युमा समेत जीवनको गुरुत्वाकर्षले
सोच त के स्वप्नबाटसमेत तिमीले तान्छ्यौ क्यार,
कहालीको खाटा स्मरणबाट पनि उक्किइसकेको छ
कोरलिएको अण्डाझैँ
तिमीले गर्भेको यो नवजीवनमा !

ए रिसायौ हैन मेरो बोलीमा रात छिप्पेको देखेर !
नरिसाउ है, अब यो छालाको थकान तल
माटोको शान्त संगीत सुनौँ
यी कल्याणी पुष्पका केशसुगन्धीवयली सुँघौँ
हाम्रा ढुकढुकी यी पैतालातलको
तृणमा रमाएको हेरौँ
भर्खरै जागेको जूनले
सप्तर्षिको सप्को समाएको हेरौँ
मेरी प्रिये ! यो अथाह अन्धताको आँखामा मिलौँ
ऐक्यताको एक हर्षाश्रु बनेर !

एक पल

एक पल

धुवाँको वहुरङ्गी गुलाफ
आकाशको वैजनीतिर उड्यो
पहाडले चुम्बन पठाउँदा त्यसरी
मैदान हरियो हाँस्यो
चराहरु कावा खाँदै अघाएझैँ गरी
निकै वेरसम्म तल झरेनन्

सूर्यको झलमल्ल पर्दामा
यो यात्री प्रतिविम्ब गुमाएर
घरी वनतिर घरी आफूभित्र हेर्दै
आह्लाद अटेसमटेस भइ
फ्यात्त पाकेर झ¥यो प्रस्तर मेचमा

क्यामेरा हल्लिएर छातिमा टकराउँदा
आँखाले सबै निल्यो
हृदयमा सल्क्यो अगेनोझैँ चित्र,
रापका राता पातहरु फक्रिए
मुटूमा मह बग्यो सलल