Friday, November 7, 2014

एउटा कन्फेसन् : निर्णय होस् !

आफैँलाई स्वचालित प्रतीज्ञाहरु
दौडाउँछन् अन्धकारको चिसो जिब्रोबाट टाढा . . .
हरेक दिनमा एउटा यस्तो प्रहर हुन्छ
पूरा ब्रह्माण्ड, पूरा सूक्ष्म अणुको
विचरण गर्दछ, आफ्नो भइदिन
हरेक पल तृष्णाको तीर आगततर्फ
हरेक कल्प आगतमा उभिइ थाप्छ विगतको तीर

मचाहिँ कहीँ छैन
छेकिँदै छेकिँदै

नबग्ने चिजहरु
उही, उत्रै देखिनु पर्ने
तर मै बग्दछु

यी ईतिहासको नदीले विर्सिएका कुलेसा बाटाहरुमा
पोखरीको सतहमा तरङ्गझैँ
केन्द्रदेखि किनारासम्म किनारादेखि केन्द्रसम्म
डिम्माभित्रै जन्मिइ मरेझैँ

त्यसो त घृणा प्यारो छ,
एक सेट लुगा र एक झुप्पो लवज
र एक मुट्ठी अक्कललाई जोडले च्यापी
बाँकी सप्पै अज्ञात र विपरित ठान्नुको सन्तुष्टि
रेफ्रिजेरेटरभित्रको शव्जीजस्तै ताजा टिक्छन्

त्यसो त विस्मृति सहज छ,
हिँड्नु र पाइला मेट्नु,
प्रकृतिसँग नजिक छैन र ?
प्रकृतिसँग नजिक चिज राम्रो हुन्न र ?
सुर्ता र स्नेहको डोरीले
कहिलेदेखि कहिलेसम्म जगल्टो पर्ने आफैँभित्र !

मैमात्र जहीँतहीँ छु

हरेक पल एउटा अर्जुन हाँस्छ र रुन्छ
कानमा कृष्णको ज्वारभाटाले कायल
हरेक चोटमा एउटा महाप्रलय कोखाउँछ
अर्को आनन्दको उच्छ्वासले भ्रुणहत्या नगरुञ्जेल

म टेकिएको कहाँ टेक्छु टेकिरहँदा
निर्णय होस् !
5 Nov 2014

Thursday, October 23, 2014

घरको कथा


एउटा भव्य घरको रेखदेख गर्न
साङ्ला र माकुरालाई दिइएको थियो,
कहिलेदेखि भन्ने उनीहरुलाई याद थिएन,
कहिलेसम्मलाई उनीहरुलाई थाहा थिएन ।
तिनले वण्डा गरेका’थे रखवालीको :
माकुराहरु उचाइको हेरचाह गर्थे,
पर्खालरुमा चढ्ने ओर्लने सिँढी बनाउँथे,
उचाइमा, झोलुङ्गेहरुमा बसेरा जमाउँथे,
अण्डा पार्थे, कोरल्थे, हुर्किन्थे,
आमालाई खान्थे, आमा बनेर खाइन्थे,
टल्किने पर्खाललाई झुलको मधुर चित्रकारिताले
आँखामा कम बिझाउने बनाउँथे,
साँच्चै वैभवले पूर्ण त्यो घरलाई
उनीहरु आफू अनुकूल अनुशासित गर्न
अहोरात्र बाँच्थे ।
साङ्लाहरु आफ्नो इतिहासको गहिराईप्रति वफादार रही
गहिरा ओसिला कुनामा सल्बलाउँथे,
पुस्तैनी नयाँ टाउकाहरुमा उम्रिइ
तिनीहरु जिन्दगीको वदलावरहिततालाई धार्मिक निष्ठापूर्वक निर्वाह गर्थे,
नयाँ केही बनाउँदैनथे,
खानलाई त्यहाँ भान्सा आफैँमा पूर्ण थियो,
जे राम्रो छ त्यो खान्थे,
जे सड्दै जान्छ त्यो खान्थे,
जे सडिसकेको छ त्यो खान्थे,
सडनपछि जे बन्छ नयाँ त्यो खान्थे,
हो, जे परिवर्तन हुन्छ
त्यसमा अपरिवर्तित भोगचलन गरिरहन्थे,
घरको सिनित्त र साह्रो भुईँलाई
सडनको वृष्टि र सृष्टिद्धारा
टेक्नलाई नरम तुल्याउँथे,
खेलकुदको निम्ति सम्भावनाहरुले उर्वर बनाउँथे

प्रष्ट नदेखिने हुँदा
कहिले कुनै माकुरो तल झथ्र्यो भने पनि
साङ्लाहरुबीच मिसिन सक्थ्यो,
कहिले कुनै साङ्लोले पखेंटाको कसरथ गर्नु परे
माकुरे जालोसँग कबड्डी खेलेर फर्किन्थ्यो,
ती दुबै होलो अन्धकारका साथी थिए,
मिल्दा मिल्थे,
जँुध्दा पनि मिल्थे,
घरभित्र रहुञ्जेललाई मिल्थे,
घरबाहिर टेक्न नपरोस् भनेर पनि मिल्थे,
मिलिरहेका छौँ भन्ने थाहै नपाएर मिल्थे ।

घर बुढो हुँदै गयो,
उसको भाउ वरिपरिको सापेक्षमा
खस्किँदै गयो,
उसको वैभव छिप्पिँदो प्रौढावस्थामा
नभोगिएको जवानीको स्मृति बन्न थाल्यो,
उसका भुजा उमेरको स्याँठले गल्नथाले
उसले आफ्नो अन्त्यको ऐठन
एक्लोपनले गाँजिएका दिनहरु भरी
हरेक प्रहर बाँच्न थाल्यो,
त्यसैले जुरुक्क उठेर एक दिन
घर दक्षिणतिरको तटीय सहरतिर जाने भन्दै लाग्यो,
मक्किएका झ्याल र ढोकाका पल्ला खस्दा
हुरीसरि हावा पस्ता
माकुरा र साङ्ला तिनका संसारसहित
उडेर वाहिर जंगलमा आइपुगे,
घर रित्तो र कमजोर
तटीय सहरको घमाइलो कल्पिँदै हिँड्यो

अहिले साङ्ला र माकुरा
पुनः जंगलमा आइपुगेका छन्,
कुनै भविष्यको खोजी नगरेका उनीहरु
विगतलाई प्राप्त भएका छन्,
बर्षामा ओत र घाममा छहारी खोज्दैछन्,
हरेक पलमा कुनै शिकारीबाट सिध्याइने
भयको अस्तित्वप्रति आस्थावान् बनेका छन् ।

घरको समाचार :
घर समुद्र आइपुग्दा
उसका थाकेका अंगले साथ छोडे,
टुक्राटुक्रमा विखरित भए,
ऊ ईंट, बालुवा, गिटी र लौहको
प्रारम्भिक शिशु बन्यो,
उसलाई एउटा बडेमानको आधुनिक भवन निर्माताले
धर्मसन्तान स्वीकार्दै
आफ्नो ठूलो परिवारको एउटा पर्खाल बनायो ।

23 Oct 2014

Wednesday, October 1, 2014

शरदको नशा

शरदको नशा

स्वस्थ शिशु मस्त निन्द्रामा हाँसेजस्तो छ घडी
मैं पनि हाँस्तो हुँ एकनासको, बैजनी आकास भइ
मैं पनि नाच्दो हुँ केश सुम्सुम्याउने वतास बनी
थोरै धुन गुन्गुनाउँदो हुँ पीङमा मच्चिँदा
संगीत खोज्दो हुँ मिल्दो नाम दिन हृदयलाई
पर्खिरहँदो हुँ पर्खाइहरुको उमङ्गित समाप्ति
पुनः सुचारु नहोउञ्जेललाई
मन ठोक्किइरहन्छ विन्दुहरुमा मनलाई मात्र थाहा हुने
जस्तो बादलले सम्झिन्छ हराइरहँदा उसको बाटाका कुइनेटाहरु,
यस्तो बेलामा उदेकलाग्दा मधुश्रावले मनको कुण्ड छ्यालब्याल पारिदिन्छन्
म बच्चो भएको हुन्छु ब्रह्माण्डको जुन म सधैं रहन्छु यसबेला नबिर्सिइ बन्दछु
बच्चाहरु तिनका सुकिला नाना र कलिला ओठले
मेरो जीर्ण बजारिया बर्षलाई पुनः साम्य पार्छन्,
तयार मट्ट्याङ्ग्रो बनाइदिन्छन् हिउँदको नयाँ गर्ततर्फ
फेरि एक पटक
हुत्तिन,
म जो बर्षभरि आफूलाई खै कस्ताकस्ता जिब्राका लागि पकाइरहन्छु
पुनः रसिलो काँचो बन्दछु आफ्नै निम्ति खाएर,
भारी बिसाएर खाएर
तिथिगत तथ्य कनिकामा बियाँझैँ अग्राह्य छन्
म सर्तहरूका कपडामा बेर्न सक्दिनँ यो सादगी
जुन स्वतन्त्रतापूर्वक श्वास फेर्छ मभित्र
खानु, पिउनु र मस्त रहनुले बन्ने सक्रिय
म त्यस्तो तन्तु जुन भोजले बन्दछ धार्मिक
यसरी चित्रमय चाड लागेको छ
कि म पछि पछुताउको ऋणमा पनि डुब्न सक्छु,
यस्तो बुझेर पनि रोकिन्नँ ।

1 Oct 2014

Saturday, September 27, 2014

विष्फोटक

मैले हेर्ने आकासमा ६०३ वटा कुकुर
मरेर तैरिरहेका थिए,
कागका झुण्ड पखेंटालाई आराम दिई
आहारामैं टेकी टोकिरहेका थिए,
टोकेरै अघाइसकेपछि विविध खेलमा
एक अर्कासँग झोंक्किइरहेका थिए ।
नीलो सगरमा जुन ज्योति हुन्छ,
त्यसबाट तलको लोक झल्काइरहेका थिए,
तल जहाँ जंगल गोलो शिरको हरियो जगल्टो देखिन्थ्यो
त्यहाँ झुसिलकिराहरुलाई उक्साइरहेका थिए,
छिटोछिटो खाएर, अघाएर
पुतली बनेर
माथि पखेंटालाई आराम दिन आउन ।

मैले टेक्ने जमिनमा कुकुरका पदचाप
अजीव चित्र बन्दै बग्दैथे बाढीहरुमा,
जुन असंख्य हिमशिखर बगाउँदै आउँथे
तातो र चिसो एकनास मिसाउँथे
हावाको आलस्यसँग विल्कुल रिसाउँथे,
जुन फोक्सोमा पस्न समेत गथ्र्यो आनाकानी ।

मैले चिन्ने मित्रवर्ग र समुदायमा
मानिसहरु अनेक आवाज निकालेर हाँसिरहेका थिए,
आँसुले कुल्ला गर्थे— आफ्नो हो कि अर्काको, बिर्सिएर
नुनै नुन खान्थे— चोरेको कि कमा’को, बिर्सिएर
सपनामा युद्ध गर्थे— मरेको कि बाँचेको, बिर्सिएर
युद्धमा स्वप्निल देखिन्थे—नशाले हो कि भोकले, नबुझेर
एकदम बुझक्कड देखिन्थे— बुझेर हो कि बुझ्नुलाई मात ख्वाएर . . .

निकै बेरपछि हातको ह्वीस्की घुट्क्याइ,
डोरीजस्तो हावामा सुरेली खेल्दै
म यो गगनचुम्बीको तालुबाट
तल झर्दा पो थाहा भयो
म शिर तल पाउ माथि भइ उडिरहेको थिइनँ
खसिरहेको थिएँ,
रिक्तताबाट पूर्णमा गढिरहेको थिएँ,
जंगलभरिका झुसिलकिराका पेट च्यातेर
पखेंटा निकालिदिन
एक गोला विष्फोटक बनी
खसालिइरहेको थिएँ ।

Sept 27, 2014

Thursday, September 11, 2014

मेरो साथीको बारेमा एउटा गलत कविता


मेरो साथीको बारेमा एउटा गलत कविता

मेरो एउटा साथी छ
जो मायामा विल्कुल अगाडी रहन चाहन्छ,
कसैले उसलाई ऊ आफैँले भन्दा अधिक माया गरेको
ऊ सहनै सक्तैन,
भन्दछ, —“त्यो विल्कुल मेरो एकाधिकार हो !”
ऊ यसलाई कस्तै खाले हुँकार मान्दैन,
केवल आफ्नो जिउने अन्तिम आधार,
जस्तो कि सूर्यको,
आफूमा अनगिन्ती विष्फोट गराएर बलिरहने ।
तर यो त मेरो हेराइ हो
जसमा म सूर्यले पनि उसलाई हराएको देख्छु ।

म भन्छु उसलाई,
तँ मरिरहेछस्,
तेरो आत्मप्रेम भष्मासुरको वरदान हो ...
निर्जीव चिजहरुको नियम
सजीवहरुमा चल्दैन ...
तँ अनेक चिज र चेष्टाको यस्तो संगम होस्
मानौं समयको नदीमा बग्ने पानी,
जुन जताबाट पनि वग्न सक्छ
जुन जहीँ पनि वग्न सक्छ, सोसिन सक्छ,
किनाराबीचको सहज राजमार्गबाट
अनायास खोसिन सक्छ,
तैंले पानीको नियति स्वीकार्नै पर्छ ।

हामीबीचको सामिप्य,
सिक्काको दुई पाटा,
कहिल्यै एकले अर्कालाई नदेख्ने,
हामीबीचको वार्ता
मादलका दुई गाला,
संगीत, एउटै ढुकढुकी ।
एकले अर्कोलाई सुनाउने तँछाडमछाडमा,
एकले अर्कोलाई सुन्ने तँछाडमछाडमा
एकले अर्कोलाई सधैँ बहिरा ।

मेरो त्यस्तो साथी
मेरो अनन्य मित्र कसरी भो ?
जो स्वयं बाँडिन चाहँदैन,
उसको थाहा मलाई कसरी भो ?
कतै ऊ मेरो सर्वप्रिय दुश्मन त होइन,
जसलाई मैले बचाउनै पर्छ आफू बाँच्न,
उज्यालोलाई अन्धकारजस्तो,
हुनुलाई नहुनुजस्तो ?

ए मेरो साथी,
तँ आफूलाई जोगाइराख् जत्ति नै,
तँ सिध्दिनलाई नै होस बनेको
मैनवत्तीको मैनजस्तो,
अरु पनि चाहँदा हुन् आफ्नै लागि बल्न,
ती मूर्ख बनिरहेछन्,
बलेर तेरो मैनको अंश देखाइरहेछन्,
भएको मैन खेर जान नदिएस् !
बलेस् तँ पनि !
सबै बलेर सिध्दिइसकेपछि
अन्धकारको सग्लो दृश्य उतार्न
एक्लै के बल्छस् जगत्मा ?

ऊ मेरो ऐनाबाट मतिर फर्केर
मुस्कुराउँछ,
सत्ते ! म भन्नै सक्तिनँ मलाई कति दुख्छ
उसले मलाई नदेखेको,
उसले मलाई नसुनेको,
र,
उसको मुस्कान त्यस्तो बेजोड भएको ।

Sept 11, 2014

Monday, September 8, 2014

त्यो पुतली

त्यो पुतली

एउटा प्रत्यक्ष कुराकानी
जस्तो कि माटोसँग बर्षातको,
जस्तो कि हर्ष अकस्मातको
हिँड्दाहिँड्दै वुट्यानहरुबीच एउटा पुतली आई
एकै छिन काँधमा बस्ताको,
के तपाईँको सर्ट अलिक बुट्टेदार भैदियो ?
एउटा प्रकृतिको तुच्छ प्राणलाई क्षणभरलाई झुक्याइदियो ?
अनि त्यो सदालाई त्यहीँ अवतरित भैदियो,
फुत्त उडेर चरोझैँ गएन भने ?
सुन्दर भुवाझैँ वत्तिएर पन्सेन भने ?

मेरो काँधमा पुतली बसेर
भन्न थाल्यो काँध उसको हो ।
भन्नै पर्दा त्यसो त भनेन,
तर उडेर पनि गएन।
म हिंसा नमान्ने मान्छे,
त्यो पुतलीमा रत्तिभर झुसिलकिरा देख्न सकिनँ,
न त परजिवी जुका,
किनकी त्यसले खानाको त के कुरा
उसको सुन्दर शरीरप्रति उतिसारो ध्यान नदिनूको पनि
त्यस्तो नराम्रो मानेन ।
मसँग मच्छड मार्ने विद्युतीय व्याट नभएको होइन,
केवल आफ्नै काँधमा प्रहारको विचार ठीकझैँ सुझेन,
प्याट्ट पार्न हत्केला नभएको होइन,
स्वयम्लाई धाप मार्न मनासिब लागेन,
बस्! त्यो पुतली मार्न मलाई जुरेन ।


कुनै झन्झट पनि थिएन पुतलीको साथ।
मैले कपडा फुकाल्दा ऊ उड्थ्यो कोठाभरि,
नुहाइसकेपछिको हिलो त्वचामा बस्दैनथ्यो
कुत्कुताउने स्पर्श दिन,
मेरा काँधमा त्यसै बस्तैनथ्यो मैले केही नविच्छ्याएसम्म ।
म सुत्दा शिरको भुवामा नरम टेक्थ्यो,
शिरमै सिरक ओढाए,
खाटको अग्लो डिलमा पुग्थ्यो,
तर रहन्थ्यो छेवैमा ।

सम्भोगको बेला श्रीमतीले भनिन्
त्यो पुतली हेरिरहेछ,
मैलाई भने खिन्नता भैदियो
उनले पुतलीलाई हेरिबसिन् ।

खासमा पुतली कस्तो थियो देख्ता
त्यो म भन्न सक्तिनँ ।
ऐना अगाडी उभिएर हेर्दा
प्रतिबिम्बले उति देखाउँदैनथ्यो ।
भन्न सक्थें खास केही थिएन,
केवल सुन्दर ।
कसरी ?
त्यो त प्रश्न नै हुने थिएन ।

पुतलीलाई मैले पालिरहेको थिइनँ,
विहानबेलुका कुकुरलाईझैँ डुलाउन लग्नुपर्दैनथ्यो उसलाई,
केटाकेटीलाईझैँ ख्वाउनुप्याउनु पर्दैनथ्यो,
बडो आत्मनिर्भर थियो ।
बाहिर हिँड्दा मेरो लुगामा फगत् एउटा बुट्टा भइदिन्थ्यो,
कसैले देखिहाले प्रश्नसम्म बन्दैनथ्यो ।
पुतली विल्कुल हलुंगो थियो ।



हाटमा तरकारी र फलफुल छानिरहँदा
ऊ जेमा बस्थ्यो त्यो म किन्थें,
ऊ काम पनि लागिरहेको थियो ।

अफिसमा ऊ मोनिटरको माथि बसेर हेथ्र्यो,
म घन्टौं उसलाई विर्सिएर हराइरहेको,
सायद ऊ मलाई हेरेर हराउँदै हुन्थ्यो ।


हाकिमको टेबुलमा मैले फिँजाएको कागजमा
एकचोटि ऊ विस्कुनझैँ थपक्क बसिदियो,
मलाई कम्ती डर भएन ऊ प्याट्ट पारिएला भन्ने !
म त पुरै उसकै वरिपरी घुमिरहन्थें ।

यस्तो भैदियो म पुतलीविना हलचल गर्न नसक्ने भएँ,
मानौं मेरो जीवनको ऊ मुदित नजर भैदियो,
तपस्वीको तपस्याजस्तो ।
बजारमा एक दिन एउटा फुस्रे अनुहार भएको बालकले मेरो कोट तान्दा
ऊ भुर्र उडेर बसिदियो उसको केशमा,
अनि विल्कुल भैदियो केसकै रंग !

अत्तालिएँ म, कसरी उसलाई चिनूँ ? कसरी उसलाई टिपूँ ?
ऊ स्वयं फूलका काखकाखमा उडिहिँड्ने,
फूल त थिएन !
म हनुमानलाई त्यही बालकको केशरासि
मानौं सञ्जीवनी पहाड भैदियो,
मैले पुतलीको निम्ति उसलाई घर ल्याएँ ।
श्रीमती अवाक भइन्, छिमेकी सतर्क ।
त्यो बालक हप्तादिनमै कतै गयो गुनासो नगरिकन,
अनि पुतली फेरि मेरै काँधमा आइ बस्न थाल्यो ।

अचेल श्रीमती पनि गुनासो गर्दिनन्,
घरीघरी उनको गालाको भिरालोमा गइ बसिदिन्छ
उनले चालै नपाइ,
उनले थाहै नपाइ मेरो पुतली स्वीकारिन् क्यार ।

मचाहिँ डराइरहन्छु
जति नै भरपर्दो पनि
त्यो पुतलीलाई केही भैदेला भन्ने,
त्यसलाई खाइदिनसक्ने माउसुली, भ्यागुता, छेपारा
कतैबाट आइदेलान् भन्ने,
श्रीमतीको  उक्सेको पेटमा दौडिने उसलाई
बेपर्वाहीको विषले मारिदेला भन्ने ।
जीवनमा दुर्लभ हुने प्रत्यक्ष कुराकानी
कोपिलाझैँ चुँडिएला भन्ने ।
यसमा मलाई बडो आफैँसँग डर लाग्छ ।

9 Sept 2014

Thursday, August 28, 2014

एक पल (A Moment)

एक पल

धुवाँको वहुरङ्गी गुलाफ
आकाशको वैजनीतिर उड्यो
पहाडले चुम्बन पठाउँदा त्यसरी
मैदान हरियो हाँस्यो
चराहरु कावा खाँदै अघाएझैँ गरी
निकै वेरसम्म तल झरेनन्

सूर्यको झलमल्ल पर्दामा
यो यात्री प्रतिविम्ब गुमाएर
घरी वनतिर घरी आफूभित्र हेर्दै
आह्लाद अटेसमटेस भइ
फ्यात्त पाकेर झर्‍यो प्रस्तर मेचमा

क्यामेरा हल्लिएर छातिमा टकराउँदा
आँखाले सबै निल्यो
हृदयमा सल्क्यो अगेनोझैँ चित्र,
रापका राता पातहरु फक्रिए
मुटूमा मह बग्यो सलल

A Moment

A many-hued rose of smoke
Billowed towards the sky's purple
When the hill sent a kiss thus
The Plain grinned green
Birds hovering, seeming content
Descended not for a long time

On the sun's screen
Losing his reflection, this traveler
Looking towards the woods now, looking into himself then,
Being overcome with ecstasy,
Fell ripened, with a thud, on the rock-bench

As the dangling camera hit the bosom
Eyes swallowed all
A picture stole into the heart like fire,
Red petals of radiance bloomed
Ambrosia spilled in the heart