Tuesday, November 8, 2016

डेटिङ्ग नं. २

बत्तीहरु खित्का र खरानी ओढेर
कोठाकोठाबाट भित्रबाहिर गरिरहँदा,
नशाले धुत आकाश धिप्पधिप्प दृष्टिले
भुईँतिरको भूलभूलैयातिर टोलाइरहँदा,
कुकुरहरु यहाँ रित्ता आँधिहरुको संखनाद गरिरहेछन्
कतै मीष्ठान्नको स्वाद, कतै रछान
तिख्खरपनको पाण्डवकौरव युद्ध लडिरहेछन्,
तिमी र म मौनताका ससाना वृक्षलाई
पछि घर फर्किने बाटो देखाउन् भनी रोप्नलाई
फुटपाथका धाँजाहरुमा चिम्टीचिम्टी माटो खोजिरहेछौँ, हैन?
स्टेसनहरुबाट गन्तव्यहरु कनीकुथी खोक्तै दौडिइरहेछन्
कि हामी पनि पक्रेर एउटाएउटा टिकटको पुच्छर
चढ्ने कुनै एक मनुको नक्कल नाउमा,
र हेर्ने वतासले र श्वासले कता रोपिदिन्छन् हामीलाई ?
साझा सपनीहरुले एकअर्कालाई सताएको
यसैको लागि, हैन ?
रेष्टुरेन्ट मृत मेनु, पत्रिकाका चिरबिरे थुतुनाको समीकरण :
रित्ता आँखा + मुस्कानको अभिनय = अविश्वासको वाफ उठ्दो प्लेट,
हामीले चम्चा र काँटा चलाएको एकअर्कालाई भनेर
केवल ध्वनिले लोलाउन, हैन ?
कहिलेकाहीँ भित्ताहरुले निलेकी क्षितिज
जब एकै साथ चिम्म आँखाहरुले देखेका हुन्थ्यौँ,
त्यसमा भएनभएका रङ्गहरु डिजिटल रङ्गहरुको कलर ट्रेबाट सापट लिइलिइ
दिन र रात नभनी रङ्गाएको, हैन ?
खैर, हामी विचित्रता र विभिन्नताले तानिएर
एकअर्कालाई मन पराउन हौस्याउँदै
व्यतित भएका होइनौँ र !
तिमीले र मैले एकअर्काको खपतको हिसाव
कति हामीले उकास्न सकेछौँ,
हाम्रो मृत्युले कुनै दिन सोध्ला र !
जिन्दगी !
तँ प्रेम कुन गोजीमा बोकेर हिँड्छस् ?
तेरा भ्वाङ परेका खल्तीहरुमा कस्तो आकार र वजनका वस्तु अडिन्छन् ?
तिम्रो दीर्घ निश्वासले यस्तो भन्दा
तिम्रो कुममा हलुका गरी ढल्किएको म
एकैछिन त साँच्चिकै छट्पटाएकोथें, हैन ?
र त, आऊ, हात समातौँ !
औँलाका कापकापमा कसिऔँ !
म उड्न लागेको छु तातो बेलुनसरि,
तिमी पनि त्यस्तै देखिन्छ्यौ !
ऐय्या नभनौँ, विर्सिदिऔँ औँलाका चोट,
देहहरु नै छुट्टिएर आकाशको विषम उचाइमा विष्फोट पर्खिरहेछन्
अभिशप्त सुसाइड बम्बरसरि एक्लैएक्लै पड्किनुअघि,
आऊ, यो ऐठनबाट व्यूँझिहालौँ !
आऊ, हाम्रो सध्देपनलाई सम्हालौँ !
तिमी यो पुकार सुन्दै त छ्यौ, हैन !
हँ ? केही त बोलिदेऊ न !
२०७३।५।३१

गजल

सपनीमा तिमीलाई डाकूँ म
विपनीमा तिमीमा नै थाकूँ म ।

मायाले मन चोरेर सीताको
पुष्पकमा साथै राखी हाकूँ म ।

कसरी उर्वरण भइयो थाहा छैन
तर हाँगा एउटैमा पाकूँ म ।

स्वतन्त्र रहू सकुञ्जेल तिमी
थुनिँदा मेरै जेलमा जाकूँ म ।

तिमी डल्ला, म टपरी भए
पानी पर्दा घोप्टिएर ढाकूँ म ।
२०७३।०७।२३

Tuesday, September 27, 2016

डेटिङ्ग नं. १

वाहिर मृत्यु नै मृत्यु छ,
केवल अपमानका कुराले
आकाश निसास्सिएर धर्तीमा नाक गाडेको,
त्यस्तोमा आँसुमा चिप्लिएर
धेरै हृदयघातहरु वेहोसीको पर्दा पछाडी लुकेर
अनौठो रिहर्सल गराउँछन् जिन्दगीलाई—
तिमी मलाई यस्तो संघारमा प्रेम गछ्र्यौ ?

भित्र भुङ्ग्रो नै भुङ्ग्रो छ,
नबन्ने घरहरु बनाउन क्लिङ्कर तातेर
भट्टीमा ताल न वेतालको संगीत बजाउँछन्,
मानौँ सूक्ष्म नसाहरु एकै पटक हजारौँ ठाउँ फुटिरहेछन्,
तिमी मेरो कस्तो आवेग मन पराउँछ्यौ ?

ताजा पत्रिकाले पुछेको पार्कको बासी सिटमा
हजारौँ प्रेमीप्रेमिकाका वैठकहरुसँग हामी एकै सिलसिलामा जोडिएर
यो मोडतिर मोडिएका होइनौ ?
हामीलाई ढावाका दाँत खिहि¥याउने समोसाहरुको खपतले थेगेका गफगाफले
भविष्यको कस्तो सपना देखाएछ—
गोलमाल, मसालेदार, चपचिल्लो . . . ?

सिनेमाका अँध्यारा गुफामा उमारिएका
रुमानी प्रेमका उज्याला फूलजस्ता सपनाहरु—
आऊ एक पटक आइसक्रिमसरि मीठा यी सपनालाई
थोरै जिन्दगीको गर्मीले परीक्षण गरौँ !

निमेषभरको ढ्याउले खोक्रिएको पेटलाई
सस्तोभन्दा सस्तो अन्नको भाउ वताऔँ ।
आऊ, योजना बनाऔँ,
यो प्रेमको रेफ्रिजेरेटेड ठण्डी उत्रिएपछि
तिमी कुन ग्रिन–कार्ड होल्डर खोज्छ्यौ,
म कुन रेगिस्तान ताक्छु, अड्कल गरौँ !
तिम्रो–मेरो फेसबुकका इन्बक्सभित्र
कस्ता भावमुद्राका स्माइलीले वर्चश्व पाउला हिसाव गरौँ !
तिमी यस्तो हिसावकितावलाई
आशावादको गँजेडी नशाले त खल्बल्याउँदिनौ नि, हैन ?

आजको दिन तथ्यांकैतथ्यांकमा उभिएको छ,
तापक्रमको, नेप्सेको, ब्लडप्रेसरको, मोवाइलको व्यालेन्सको.... खै के–केको
र, त म आतंकैआतंकमा जिएको छु,
यो उम्कँदो फुर्सदमा एक पल तिम्रो आँखामा डुब्दा र तैरिँदा
एक–दुई घुट्को आतंकै पिएको छु,
तिमी पनि यी नानीबाट त्यस्तै पिउँछ्यौ, हैन ?

जति वाहिर मृत्यु आत्मराग अलापिरहन्छ,
जति भित्र ज्वाला आत्मदाह फलाकिरहन्छ,
हाम्रा स्वप्नका रंगीन वेलुनहरु चारै दिशामा
विश्वनगरहरुका चिल्ला भुईँहरुमा लत्रिने गलैँचामा सिइन
तछाँडमछाँड गरिरहेछन्,
विहान आँखा मिच्दा, सम्झ्यौ
त्यो श्वासजस्तो अभ्यस्त जपना ?

तिमी र म विछोडले जन्माएका प्रेमी
मिलनलाई हरेक विन्दुमा तुहाएर आँखा जुधाउनु छ,
यो मौनताले यही वताएकी हौ, हैन ?

खैर, साँझ गल्दैछ,
पृथ्वीले पश्चिम खर्चेर पूर्व छल्दैछ,
न रात न दिनमा एकै छिनलाई यसरी भेटेर
था’छैन हामीभित्र कस्तो सिनेमाको कुन नायक–नायिकाको दृश्य चल्दैछ,
तर यसमा कुनै शंका छैन
त्यो सिनेमामा दर्शकदीर्घामा कोही छैन,
थपडी, सिट्ठी, गाली र तोडफोडको सम्भावना छैन,
अहँ, यो समय नसिकउन्जेल रोकिने छैन !
परस्परमा टाँस्सिएका रित्ता सिनेमाहरु चलिरहँदा
यसको आवाज अरु कुनैको आवाजसँग ठोक्किने छैन,
तिमी निश्चिन्त छ्यौ, हैन ?
२०७३।०५।२२

Thursday, April 21, 2016

मस्कट बनेर हाँस्छ काठमाण्डौँ















काठमाण्डौँ केवल बाजेको सेकुवाको काठको मस्कट बनेर हाँस्छ
कुकुरले रातमा मुत्ने भित्तोबाट,
अरु कतै केही बोल्दैन,
आफ्नै लिङ्गपूजामा लीन छ,
हस्तमैथुनले नुहाउँदै आफैँलाई
झिंगासरि जनहरु बोलाउँछ उसको सात्विक भोजमा,
तर ऊ के कल्पिँदै स्खलित हुन्छ
मलाई त के काठमाण्डौलाई नै थाहा नहोला ।
थुइया काठमाण्डौ ! म तेरो लिङ्गपूजादेखि यति अघाइसकें—
तेरो स्तुति पनि गीतजस्तो नसुनिएला,
जँड्याहा बाउको मातेको आलापजस्तो !

म भयको तुवाँलो गृहद्धारबाट बोकेर
रातो हुँदै जाँदैथेँ काठमाण्डौँको फोक्सोतिर,
त्यही बाजेको सेकुवाको मस्कटले मलाई हरियो बनाइदियो
र, म नीलो खोज्नथालेँ छिद्रछिद्र आँखाहरुमा,
टुक्रटुक्रा आकाशहरुमा
सफा टेम्पुमा झुण्डिएर,
एक त्यान्द्रो स्वच्छताको निम्ति होइन
मात्र संयोगले आफूलाई फोक्सोको त्यो कुनोसम्म ढुवानी गराउन
जहाँबाट थोरै अर्थको अक्सिजन मलाई जुट्छ
यो तुवाँलोमा जिउन ।

टुँडालहरु भूकम्पभन्दा अघिदेखि
चिहान बनेका घरबाट लास भएर गनाइरहेछन्,
घरि एउटा फिल्मी वा विज्ञापनका पात्रबाट जन्म लिन
बग्रेल्ती बिलबोर्डका खियालाई कन्याइरहन्छन्,
जात्राहरु क्यालेन्डरका राता म्युजियम महलबाट
विस्मृतिको बार्षिकी मनाइरहन्छन्,
ट्राफिक जाम र हिंस्रक हर्नहरुसँग जुध्दै
मृत्युसंस्कार कुरिरहन्छन्,
जात्रा जलाउने घाट कहाँ छ ?

जात्रा टुँडिखेलका पट्यारलाग्दा आमसभाका अग्निमा जलिरहेछन्,
झाँकी संसद भवनका वाक्वाकी लाग्ने उल्लासका नर्काग्निहरुमा जल्दै
टेलिभिजनका एकएक किस्ता समयमा बिकिरहेछन्,
मै कुनै बेला जागिर नपाएर काठमाण्डौबाट गाउँतिर फ्याँकिइएको
एउटा मित्रप्रति टिठ देखाउँदै भन्दोथें —काठमाण्डौँ सबैको निम्ति होइन !
मानौँ म सम्हाल्न सकूँ सामथ्र्यवान् हुनाले यो दुव्र्यसन
थुइया म ! आकाशतिर थुक्दा अनुहारमा खस्दा
आफ्नै थुक पनि यहाँ आकाशको खकार बनेर खस्छ !
कालो, धुवाँको आधुनिक तिलक !

त्यो हँसमुख मस्कट टुँडालको
सिनो टोकेर हाँसेको छ,
जसरी सूर्य पूर्वको डाँडो नाघेर
यहाँको स्थायी तुवाँलोमा धूमिल बासेको छ ।
फेरि पनि टुँडालहरु मान्छेभन्दा विभत्स मृत्यु मर्दैछन् ।
हो, जम्बी शरिरहरु लिइ
डान्सबारमा मदिरा चाख्न पस्तैछन् ।

र त सोध्छु ए काठमाण्डौँ, भन् न तेरो लिङ्ग के हो?
तेरो स्खलनको बाढीमा केही ठम्याउनै किन यति गाह्रो ?
ए भन् न , काठमाण्डौँ,
केले तँलाई बनाउँछ नरम, देहमा र आत्मामा,
केले तँलाई बनाउँछ साह्रो ?

काठमाण्डौँ, तेरो पालिम्पसेस्ट छातिमा
कति शताब्दीका अग्र्याजम्हरु एक पछि अर्को लिपिबद्ध छन्,
जिन्दगीका वाक्वाकी र ठेसमा
आहट् बनेर प्रतिध्वनित हुन्छन्,
भन् न काठमाण्डौँ, तँ कति शताब्दीको पेग लिएर
‘नक् आउट्’ हुन्छस् ?
कति कल्च्याइको स्याडो–म्यासोचिज्मले
‘फेज आउट’ हुन्छस् ?

कति दुर्गहरु तेरा बन्छन् र भत्किन्छन्
तलैया माटोको स्टामिनामा,
कति स्वर्गहरु तेरा व्यूझिन्छन् र झस्किन्छन्
प्रवासी सपनाका चिनामा ?
काठमाण्डौँ, तैँले चिताएको के हो
हरेक जल्दो चितामा ?

खैर, काठमाण्डौँ, म त अहिले
तँबाट यति मात्र खोज्दछु
कि तेरो खोजाइ र मेरो खोजाइ
सदा रुख र पातको सम्बन्ध जिइरहून्,
तेरा शरीरका अंगहरुले समयको खोपाइबाट
कलाका नवीन आकृति लिइरहून् ।

बैशाख १०, २०७३



Friday, April 8, 2016

दिमाग खुस्किएको एक रात

दिमाग खुस्किएको एक रात
मध्यरातमा पुगि पाक्नुअघि
एकएक चुस्की उज्यालो घुट्क्याएर
तलातलाका झ्यालबाट बाहिर छोडिरहेथ्यो मात अनुसारको खित्का

केही पराग पिइ मातेका खुट्टाहरु
गल्लीका साह्रा गालासँग
मायालु झापडको खेल खेल्दैथे

कुनै कुकुर भुक्थ्यो
र जनाउँथ्यो सभ्यताको जैविक सीमा

त्यत्तिकैमा चल्दथ्यो
....वतास सुस्तरी मनै हरर हो !
भरोसा छैन जीवनको विताउँ हाँसेर . . .
हा ! हा ! हा !
खैर, जस्तोसुकै अग्नि पनि पेटमै हुर्केर बढ्थ्यो
जस्तोसुकै ध्वनि पनि पेटै ताकेर डढ्थ्यो

चिहानघाट मसानघाट छेवैमा थियो,
लास जोगिएको प्रेत दाह गरिएको प्रेतसँग
चौतारीमा आइ बात गथ्र्यो

दिमाग खुस्किएको त्यो रात
दिन अनन्त कालसम्मलाई दैनिकीबाट
चिप्लिएको थियो

त्यसै बेला डार्क म्याटरको स्वायत्त प्रदेशभित्र
एक झिल्को प्रकाश जसरी मोबाइल बज्थ्यो—
“कति बेला आइपुग्नुहुन्छ ?”
विश्रृङ्खलता पराइ भाषाको टुक्का हो,
बुझ्नै गाह्रो !

कोही कसैलाई समीपबाट हेरेर
तृप्तिको अग्नि निल्थ्यो र रुन्थ्यो
विग्रहको आँसु,
पातहरु आफ्ना सदाबहार चरित्र बिर्सिएर
नाच्न थाल्थे मृत्युको खैरो अवतरण,
हाँस्नथाल्थे विस्मृत उल्लासको
उत्तरविहीन भ्रमण,
चराहरु टोकिदिन्थे
प्वाँखप्वाँखका भुवाले वतास
र कोरिदिन्थे स्वच्छन्द उडानले आकाश,
यी सवै निशाचर

“म विछ््यौनाको मृत्यु मर्न आउँदैछु,
तिमी बसिराख पसिनाको सुगन्ध पर्खिइ . . .”
धर्ती लर्बराउँथ्यो र घरसम्म प्रसब सहन्थ्यो

दिमाग खुस्किएको एक रात दिमाग
मलाई भन्थ्यो — “एक चोटि डिस्क फम्र्याट गर्दे यार् !”

२०७२ चैत्र २५, १०ः०२ बजे

Sunday, April 3, 2016

एउटा जासुस कथा लेखौँ


आऊ प्यारी,
जिन्दगीको एउटा जासुस कथा लेखौँ,
केही संकेत छोडौँ आशा र विश्वासको,
केही उत्सुक भइ भौंतारिऔँ
अञ्जान भविष्यतिर,
केही मायावी व्यवधानहरु साक्षी राखौँ
हाम्रा भयभीत धड्कनका संगीतहरुको

आऊ प्यारी,
अँध्यारा गल्लीहरुको स्वप्न सहरमा
खोजी गरौँ उज्याला बगैँचाहरु,
नशालु निरन्तरताको आँखा अगाडी
उदाङ्गो पारिदिउँ स्वार्थका भण्डाफोरहरु

आऊ प्यारी,
एक्लोपनको छद्म नियन्त्रणबाट
आत्मसमर्पण गरौँ हामी माथिको द्वैततालाई सबै,
टुक्राहरुको योगलाई विचलित पारी
छरिन दिऔँ संयोगहरुलाई जीवनका पानाभरि,
केवल सोचले जोडिआँै, सन्दर्भले च्याते पनि
दृश्यहरुको दर्शनसँगको खेलसरि


आऊ प्यारी,
मन्त्रणा बनौँ ‘म सही कि म सही ?’को
सून्य सून्य द्वन्द्व बनी,
आफ्नै अपेक्षाहरुको अनपेक्षित
तर्कवितर्कले इन्कार गरी,
समयको धुले पानामा कोरौँ रगतले
नदीका दुई धार बनी

छलको एक समुन्द्रमा
छालका रफ्तारको आविष्कार गरी,
कहिल्यै नचाहेका नासो थुपारौँ
डाइनासोरका प्राची न भण्डारसरि,
परम्पराको सर्को धुवाँ बनौँ
डढ्नु नै जिउनुको सार मानी ।
२०७२ चैत्र १६

आ–आफ्नै चक्रमा



सबै आ–आफ्नै चक्रमा फर्किरहन्छन्
फूलका दलबाट हावाका झोंकाझोंका पिच्छे
बिदाइ भएका सुवासका झुण्ड,
ख्यातिले, पस्नी समाउने हातबाट
अर्को बागमा रोपिन्छन्

बर्षाका एक–एक धर्सा धागा
गानीएका बादलका दुधमुन्टाबाट झर्दै
नदीमा समुन्द्रसम्मको टिकट काट्छन्,
हो, बाटामा ढुङ्गा, माटा, पत्कर र लास चाट्दछन्

सबै आ–आफ्नै बक्रमा मर्किन्छन्
सबै आ–आफ्नै चक्रमा फर्किन्छन् ।
२०७२ चैत्र २०


सहानुभूतिविनै रोइरहेको छु


म सहानुभूतिविनै रोइरहेको छु
क्यामेरा लिइ खिच्नेहरु
फोटोजेनिक छ भन्दैछन्
घारबाट मह रसाएजस्तो,
मलाई चाहिँ न त पोल्छ आँखा
न चहर्‍याउँछ गाला,
केवल नाकका प्वालमा आइ झुण्डेका थोपाले
तर्साउँछन् आसन बिगार्नेगरी हाच्छिउँ गराइदिने
सोच्दैछु, हाच्छिउँ गरिदिउँ त भन्दिनेछु—
यो कस्तो लाग्यो ‘पिक्चर इन मोसन’ ?

तर म हाँच्छिउँ निषेधित स्टुडियोमा
 सहानुभूतिबिनै रोइरहेछु,
रित्तो मौनता बिक्ने महंगो व्यापारको
विनम्र नोकर भइ ओठ टोकिरहेछु,
‘पर्फेक्ट’ चित्र तयार नहोउञ्जेल
त्वचाका हरेक शूक्ष्म दुलाबाट उम्किन सक्ने
पसिनाका भ्रुणहत्या गरिरहेछु,
शेयर बजारको ढलपल गर्दो सूचक जसरी
‘सर्किट ब्रेकर’ कतिबेला चल्ला कुरिरहेछु ।

२०७२ चैत्र २०

Friday, February 26, 2016

गति बिर्सिएको ज्वालामूखी

सहर गति बिर्सिएको ज्वालामूखी
छतछतबाट भुक्ने कुकुरहरुका गलाबाट
सिक्रिले बाँधिएको स–साना बाँधले रोकिँदै
खोक्छ तातो रहन थोरैथोरै लाभा

जति पनि उमाल्न सकिन्छ, पगाल्न सकिन्छ
साँचोमा ढाल्न सकिन्छ,
साँचोलाई नचाउन सकिन्छ,
केवल सिक्रिको छङ्छङ्, सर्याकसुरुक
सुनिनुपर्छ ।

सहर क्षति बिर्सिएको हतारको घाइते
मलामी जाँदाजाँदै बाटैमा बिहेका भोजका सिता टिप्दै
डकार्छ मुन्टो फर्काएर आकशतिर,
अघिल्लो चोटिभन्दा यसपालि कति परको बादल हल्लाएँ ?
एकछिन हेर्छ र मख्ख पर्छ
उग्राएको स्तनधारीसरि

सडकलाई विस्मृतिको पिलोले
गन्तव्यका पाइलाभरि टोक्दछन्
चर्मरोगी भुस्याहाको निन्द्रासरि,
जति निदाउँछ रछानमा त्यति खुइल्याउँछ आफँैलाई

सहर सडकैसडकको कैदी
हरेक चोकमा एउटा कष्टप्रद आसनमा
अनिच्तिकालसम्म उभिन, कोल्टिन, चेप्टिन विवश,
सार्वजनिक बसभित्रको यात्रुसरि

कहिलेकाहीँ उसको नशामा म बग्दा
उसलाई चाख्न जब म आफैँलाई चाट्छु
मेरो जिब्रो विस्मृतिको हिमपात बनेर
मगजभरि जमिदिन्छ,
र, म आँखा नचाउँदै, औंला चलाउँदै
कोर्दै हिँड्छु रङ्ग र स्वरुपको भरमा
स्वादले बुझिने सत्य

सडक सबैको निम्ति मलामी भइदिइरहेको छ
अञ्जान भइ भीँडमा बगिरहेका ज्ञात–अज्ञात मुढाहरुलाई
एक–एक भङ्गालो तात्तातो पल
तिनका फोक्साभित्रको गर्मीबाट जुटेको
गच्छे अनुसारको बचत पोखेर ।

२०७२।११।१०

Sunday, February 7, 2016

. . . गन्तव्यसम्म ।


















सुकेको रुखमा बाँकी
केही पत्ती पात हल्लाउँदै
वतास बौलाउँदै थियो,
तल भुईँकिराजस्ता टुसा
परेला खोल्नै नसकी निसास्सिँदै थिए,
सूर्य वादललाई आकाश छोडी
कतै गएको थियो
केवल  ‘ नबर्सिनू !’ भनेर

नदीमा माझी रित्तो जाली
जति पर फ्याँक्थ्यो,
रित्तै फर्किँदा उति धेरै थाक्थ्यो,
साँझ पर्दा कुप्रो परेको ऊ
माछो भइ फर्किन्थ्यो जाली घिसार्दै

बटुवाहरु बाटोसँग
हरेक पाइलामा एउटा ढुङ्गा माग्दै
थैलाको सूर्य तात्तातै पुर्याउँथे गन्तव्यसम्म
खाली खुट्टाले अगुल्टा टेक्दै—
एउटा अदृश्य रेखा पारी
थैलाको सूर्य घरसम्मै उदाउँथ्यो

घरीघरी कसैको मलामी देखिन्थ्यो
अन्तरिक्षबाट  ‘चीनको विशाल पर्खाल’ जस्तै,
प्राय प्रेतहरु अलमल्ल आँखाले
बटुवाहरुलाई पर्यटकलाई जसरी हेर्थे
कसैलाई चिन्दैनथे, कसैलाई बोलाउँदैनथे

हावा निरन्तर वहन्थ्यो, साउती मार्थ्यो
मरेको रुख, मरेको मान्छे
प्रत्येकको स्मृति थियो,
अर्कोलाई बताउन सकिन्नथ्यो,
आफ्नो बिर्सन सकिन्नथ्यो
कहिलेकाहीँ धूलोले लेखिदिन्थ्यो हावामा उभिएर केही,
अनि थाकेर भुईँतिरै छरिन्थ्यो सर्वत्र
एक्लै खित्खित् हाँस्तै

२०७२ माघ २० साँझ ६ बजे

Wednesday, December 30, 2015

बग्दाबग्दै


कलकल बग्दाबग्दै खोलो रोकियो ।
चिसो थिएन, जम्यो ।
म तर्दातर्दै, तर्दो भएँ ।
वतासको एक झोंका पुतली जसरी
मेरो वरिपरी नाच्यो
र, पिपलको रुखजसरी चुपचाप उभिइदियो ।
नीला चराहरुको एक झुण्ड सेतो आकाशबाट
वतासका हाँगाहाँगामा बसी सुस्ताए,
तिर्थालुलाई चौतारीसरि ।

म हेर्छुमात्र, देखिन्नँ ।

तृष्णाका उत्साही पल्टन
गड्यौलाका बुइ चढेर
राजमार्ग बनेको खोलोतिर आए ।
ओर्तिर र पर्तिरको वनले
यही राजमार्गमा आइ बनभोज खाए ।
वनका बासीहरु टाढाटाढाका
ईंट र ढुङ्गाका मृतवस्तीहरु
आवाद गर्न हिँडे ।

म सोच्छु मात्र, सुनिन्नँ ।

धूलैधूलोमा श्वास फेरिरहेका मृतवस्तीहरु
म र मेरो संसारको कहानी बताउन
आगन्तुकहरुका चमत्कृत चेहराहरुमा
समय भेदन गर्ने चच्छुहरु ताक्नथाले ।
जति समय वित्थ्यो र धूलो छालामा गढिन्थ्यो
उति चिनिनुको अभिलाषाको मौन ज्वालामुखीले
आफ्नै स्मृति डढोस्
त्यसरी पाक्न थाले ।

म कणमात्र हुँ सम्झनेहरुको गणमा, सम्झिइन्नँ ।

झलमल्ल हुँदाहुँदै सूर्य निभ्यो ।
म छाम्छाम्छुम्छुम् गर्दै
खोलाको जगल्टो फुकाल्दै खुट्टाहरुबाट
स्वप्नदोषले नुहाएर
वतासको पिपल ढालेर लात्तिले
तिर्थालु चराहरुको बाँध भत्काइदिइ आकाशतिर
नजिकको मृत वस्तीमा जन्मिन हिडेँ ।

२०७२ पौष ०३

Wednesday, December 23, 2015

सडक

सडकले जिब्रो जसरी म मिस्रिको डल्लो हूँ चाह्यो
म चामलको बियाँसरि कोतर्दै हिडेँ,
अमिलोको पित्कोसरि र्‍यालको वाढी ल्याउँदै बगेँ,
खोकीको ख्वाक्कसरि
हावाको रकेट बनेर गुज्रेँ,
टन्सिलको दुखाइसरि
बरफको ढिक्को बनेर जमेँ,
सडकको समयलाई मैले
पत्थरको कुहाइसरि निलिदिएँ,
खोलाको बगाइसरि
अनगिन्ती पिइदिएँ

सडकले म थाकूँ र चौतारो खोजूँ भन्ने चाह्यो
मैले बीच सडकमा पाल हाली सुतिदिएँ,
चौतारी बसेको वृक्षको जरामा
कुकुरले जस्तै मुतिदिएँ,
उसको सोझो आतिथ्यलाई
झाँडीजंगलतिर अल्मलिई
घुमाउरो प्रत्युत्तर फर्काइदिएँ

सडकले पैतालाका चप्पल देखी
जुत्ता पसलको बाटो देखायो,
भोकले भाँसिएका आँखालाई
छेउका लहलहाउँदा फसलतिर लोभ्यायो,
निसास्सिएका फोक्सालाई
सिनिक्क बगैँचाका सुगन्धी झोंकाले मतायो,
सडकले झुपडीका स्मृतिमा
न्याना बस्तीका निन्द्राको प्रस्ताव ल्यायो,
म सिरेटोको बर्को ओढी
आफूलाई मौन ढुवानी गरिरहेँ

अन्त्यमा, सडकले
मेरा पैतालाका राता पाप्राहरुमा
आफूलाई मोजासरि सिलायो,
जुत्तासरि बसायो,
घोडाको टापसरि घुसायो,
र मलाई निश्चित अवधिको निम्ति
मालिक ठहर्‍यायो ।







Sunday, December 6, 2015

साँझले मलाई घर लग्दैछ

साँझ संगीत भएर बग्दैछ
म मिथ्या रागहरु
गाडीका हर्न र पसलका प्वालहरुबाट उम्लिइ आउने
योजना र हारका फेहरिस्तमा
सडकभरि सुन्छु,
बसाईँ यहाँ भएका घर अन्तै भएकाहरु
मजस्तै अस्थायी हाँस्छन्
र फुस्किँदाफुस्किँदैको मनोगाँठो
के लेखिराख्नु र डायरीमा ? भन्दै
भोलिलाई टिपोटको एउटा बक्यौता थमाउँदै
उक्लन्छन् आकासे पुलहरु,
ओर्लन्छन् मोटरका पाउदानीहरु ।

यौवनका नरम डाँक्ला
पत्तै नपाइ पाकिरहेछन्,
थोरै गाँसमा सकिइरहेछन्,
बडो नमिठो भइ नजिकको स्मृतिबाट
आजतिर हेर्दैछन् एक्वेरियमभित्रका माछासरि !

औसत आयूको तन्किइरहेको पहिरनमा
म कति उक्सिँदैछु मेरो वय र काया ?
किट्न खोज्दैछु यात्राको मध्यविन्दु
जहाँदेखि उल्टो दौडिन, हिँड्न, घस्रिन
म स्वतन्त्र हुनेछु
प्रयोजन सकिएको अन्तरिक्षयानजस्तो (अरु चिज यथावत् रहे ) !

जस्को नाममा भए पनि घर घरै हो ।
जस्को साथमा भए पनि जीवन आफ्नै हो ।
जीवन आफ्नै नाममा लेखूँ भन्दै हररात
सपनीमा माछा भइ खोलासँग भनिरहन्छु,
के भनें हरेक बिहान सम्झिने कोसिस गरिरहन्छु,
हरेक साँझ यो अपूर्ण निरन्तरता
सडकसँग दौडाइरहन्छु,

यसबीच निश्चित पाइलाको मूल्य लिई
साँझले मलाई एक रात
एक बिहानीसम्म घर लग्दैछ ।

२०७२।०८।१८

Monday, November 9, 2015

. . . उभिएका

शारीरिक शिक्षाको कक्षामा
पुष्ट गाला र भकुण्डे भुँडीवाला गुरुले
उपर्खुट्टी लगाएर भन्नुहुन्थ्यो—
आसन मेरुदण्ड सीधा पार्ने किसिमको हुनुपर्छ,
ठाडो होस् या क्षितिजीय
धर्सोको निकटस्त हुनुपर्छ ।

हामी गुरुलाई मान्दथ्यौं,
उहाँको अनुभवी रोब
दण्डदायी स्मृतिका थथर्काहरुबाट जान्दथ्यौं

कक्षामा मेरुदण्ड सीधा राख्न थाल्यौँ
चाहे प्रसंगले डर वा लज्जाभिषेक गरी
शिर निहुराउन नै बाध्य पारेकै किन नहोस्,
हामी सकेसम्म मेरुदण्ड सीधा पार्नुको मापदण्ड
शरीरका अंगअंगमा लागु गर्न थाल्यौं,
केश ठाडो पारेर कोर्न थाल्यौँ,
नाचका नागबेली चाल ब्रेक डान्सका धर्साले फोर्न थाल्यौं
निबन्धहरुमा ठाडो मेरुदण्डको उपमा
सगरमाथा सापट लिइलिइ कोर्न थाल्यौं,
थाकी लेटेको, क्षितिजीय मेरुदण्ड
तराइको समथलको न्यानोले बेर्न थाल्यौँ

हामीले सीधा मेरुदण्ड
सोझो आस्था र निसन्देही सरतलतासँग जोड्न थाल्यौँ,
ईतिहासतिर फर्किइकन
जे–जे मूर्खता–धूर्तता देख्यौँ
तिनलाई सीधा पार्ने साँचोमा ढाली
मीठो मूर्ततामा मोड्न थाल्यौँ,

हामी विद्यालयबाट धेरै टाढा आइसकेका थियौँ
हाम्रा गुरु कहाँ छन्, के गर्दैछन्, त्यसबाट अञ्जान भइसकेका थियौँ
हामी सीधालाई ठाडो र क्षितिजीय धर्साभन्दा बढी
ढल्काइ, कोल्टे, वक्र र चक्रमा,
तेस्रा, चौथा, वहुआयाममा
छानीछानी प्रयोग गर्न अभ्यस्त थियौँ,
योगाशन र आधुनिक व्यायम जानेका हामी
अंग र मगजबीचको सन्तुलन र शासन
बुझ्नु र बुझाउनुमा मस्त थियौँ
मेरुदण्ड मक्किँदै गए पनि
आसनका नवीनताहरुले मख्खिँदै थियौँ ।

हाम्रा गुरु मधुमेहले,
वा मेरुदण्डको क्यान्सरले,
वा वय नथेग्ने देहले,
हराउनुभएछ हामीलाई छोडी ।

गाउँमा बर्षौंपछि पुनर्मिलन भेटघाटमा
हामीले गुरुलाई एक मुट्ठी सम्झियौँ,
उहाँका अन्तिम दिनहरुबारे
आपसमा र वरिपरी सोध्यौँ,
उहाँको जीवनबारे गाउँमा
स्मृतिको द्यौसीभैलो खेल्यौँ,
र, अन्तमा शाहस गरी
उहाँको हार्दो शरीरका अन्तिम फेहरिस्त पढ्दा
यस्तो निक्र्यौल देख्यौँ —

मेरुदण्ड स–साना हाडका खण्डहरु सिक्रीसरि जोडिनुपर्नेमा
बीचबीचमा हावाका फोकाहरु हावाका प्रतिनिधि भइ उभिएका ।
पेटको गोलाकार बढ्दो व्याससँगै नाइटो र मध्य–मेरुदण्ड
प्रतिरोधी खेमामा उभिएका ।
. . . . .  . . . . . उभिएका ।
. . . . . . . . .उभिएका ।
. . . . . उभिएका।


अहिले हामीलाई ‘उभिएका’ मात्र याद छ ।

२०७२ कार्तिक १९




Wednesday, November 4, 2015

रङ्गमात्र चिनिएको थियो

भएको विशेष केही होइन
सपनामा नै सायद
एउटा हातले अर्को हात
उखेलेको— काँधको एक छेउबाट,
एउटा खुट्टोले अर्को खुट्टो
छिर्के लगाएको— हिँडाइको धर्सोबाट,
एउटा आँखोले अर्को आँखोलाई
झुक्याएको— मगजको दृश्यघरको वण्डाबाट
वस् ! प्रकृतिको सन्तुलन मिलेको
शक्तिको नाङ्गो कुस्तीबाट

हेर्नेले, देख्नेले, बुझ्नेले
नहेर्नेलाई, नदेख्नेलाई, नबुझ्नेलाई
आपसमा ठाउँ साटिसाटि भने—
विग्रह हुँदैछ,
आदान–प्रदानको दिनरातसरि
समयको भोग–भोजको चक्रियतामा

तर सबैलाई थाहा थियो
भएको केही थिएन,
किनकी सम्झिँदा बिर्सिइएको केही थिएन,
बिर्सिंदा सम्झिइएको केही थिएन,
शान्ति कर्कश कोलाहलमा पोखिएको थिएन,
कोलाहल शान्तिमा घोप्टिएको थिएन,
भोक मरेपछि भोग लगाइएको थिएन,
भोग लगाएपछि भोक सकाइएको थिएन,
सबैलाई थाहा भए बाहेक
विशेष कसैलाई थाहा थिएन,
कालोले, रातोले जे कोरेपनि
रङ्गमात्र चिनिएको थियो
लिपिमा केही बोकिएको थिएन ।

रोशन कोईराला
२०७२ कार्तिक १८

Friday, October 16, 2015

२०७२ सालको दशैं



खै, दशैं अगावै रगतका टाटाले रंगिइसक्यो भूमि,
निधारमा रातोले के शोभा बढाउनु हो !
असहिष्णुताको खेलमा लिप्त, एक्लिंदैछ
छिमेकीबाटै आँगन,
उल्लासको पाइला
सुखको कुन शिखरमा चढाउनु हो !

चाडको शान्त सादगीमा
सद्भावको प्राणदायी श्वास हुनुपर्ने,
यस्पाली सद्भावको उखु
दाँत उखेलिएका मुखहरुमा
टोकाउनु हो कि कोच्याउनु हो !

चाडमा मासुको भोजन त्यसै हुँदो रहेनछ,
सोच्दछु, शिकार र शिकारीले सृष्टि जोगाउन
हाँसीहाँसी कसरी साथ निभाउनु हो !

गर्जो टार्नु वा नक्कल पार्नु,
सवमा पराधिनताको छाप बोकी
फेर्ने श्वास र टेक्ने जमिनबाहेक प्राथमिकतामा राख्दा
कुनकुन चिज पहिले कमाउनु हो !

पृथ्वी घुमिँरहदा, घडी चलिरहँदा
बितेका अमूल्य पल समेट्न
कतिञ्जेल नाडीको सुई उल्टो घुमाउनु हो !

पैतालामा घाउ छ,
अनुहारमा सौन्दर्यलेप दली
घरी आफू, घरी अरुलाई छली
कतिञ्जेल यसरी रमाउनु हो !
२०७२ सालको यो दशैं
कसरी पो मनाउनु हो !

16 Oct, 2015

Sunday, September 13, 2015

ए मेरी ..... !

ए मेरी श्रीमती !
तिमी र म एक–अर्कालाई
आपसी व्याधको संक्रमण,
धाराको पानीसरि
गाग्रीमा, वोतलमा, जेजेमा
दैनिक, रंगविहीन
एकनासको भ्रमण, भरण,
एक–अर्काको जिन्दगी–बागमा
वन्मारा झारको अतिक्रमण,
जागिरजस्तो, नखपि नहुने
फेरिइरहने निर्देशको श्रवण !

ए मेरी अर्धाङ्गिनी !
तिमी र म मायाको थोरै सिमेन्टले जोडिएका
धेरै गिट्टी, ईँट र छड,
दुई मिली थाम्न सके
केही लहरालाई थाङ्ग्रो लगाउन सके
“कस्ले कति ग¥याथ्यो ?”को बडाबड,
दृश्य–अदृश्य हामीबीचको महाभारतको
हामी दुई विपरित गढ,
सधै एकको योजनामा अर्को
आइ लम्पसारिने तुकविनाको लहड ।

ए मेरी भार्‍या !
तिमी र म एक–अर्कालाई
कपासलाई ओसको भरिया,
संघर्षका लामा कोस काट्लाई
बोकेका थोरै ढाडसका पुरिया,
एक्लाका आँखामा टल्किने
खान नमिल्ने गहनागुरिया,
न पहाडको चिसो न तराइको गर्मी,
आवेसका साउने भेलमा बगिरहने
हामी त चुरिया, भार्‍या, खुकुलो, खस्रो चुरिया !

ए मेरी पत्नी !
तिमी र म एक–अर्कालाई
पराइ बटुली चुग्ली लगाउने सकुनी,
जति नहुँदा नहुनी, हुँदा उति नहुनी,
जिन्दगीका पाकेका बालामा टेकी, जुवामा नारिइ
चिप्लो मियोमा गोलगोल घुम्ने दाउनी,
अञ्जान आवेग र आशंकाका पल्टनलाई
छत हाली सुताउने छाउनी,
समाजका श्रमिक हामी, सभ्यताका कृषक
युगका इकाइ बोक्ने, बिर्साइ  र सिकाइ बोक्ने
एक अर्कोलाई, कुहिनाले हिर्काइ
हिँड्ने लड्खडाइ— त्यस्ता पथगामी,
पत्नी ! त्यसरी, हो, त्यसरी,
तिमी र म, हामी !

September 11, 2015