Tuesday, July 29, 2014

रेगिस्तानमा हराएको चिठ्ठी

रेगिस्तानमा हराएको चिठ्ठी

प्रियतम्
यहाँ घरको सुकिलो विहानी
र तिम्रो घमाइलो मुस्कानभन्दा टाढा
निर्दयी घाममा तिम्रो शीतल स्मृतिको त्रिपाल टाँगेर
कपालमा श्रमको शीत लेप्दैछु,
उता खेतमा धानका हरिया व्याड
पानीमा खुट्टा टेकेर, ती उत्ताउला हनुमानहरु,
सूर्य निल्दै होलान्
तिनीहरु पनि मुग्लान उम्किन !

प्रियतम्,
हाम्रा पहाडका खुट्टा धुँदै हुत्तिने खोला
दक्षिणमा हाइ काढ्दै समुद्रको तिर्खा मेटिरहँदा
निष्ठुरी सागर यहाँको सगरमा केही पठाउँदैन,
शीत बसाउँदैन रेतमा मेघ आकाशमा नचाउँदैन
केवल तिम्रो चिठ्ठी एउटा साहारा छ,
तिम्रो स्मृति पसिनाले भिजेका घन्टाहरुभरी आहारा छ !
तर खै अप्रतिभ छु—
अचेल त्यो पनि किन नियमित आउँदैन ?

प्रियतम्,
यहाँको धूले उराठतामा बजारभरी
जीवनको बालुकणझैँ निर्जीब नाच छ
आफ्नै सन्नाटाको विवश पाइलाहरुमा हुत्याइरहने बतास छ,
अनवरत अनिद्रा छ विश्रान्तिलाई बिरानो विनाश छ !
हर रात सपनीमा औंलाहरु खल्तीको
पेटमा डुब्दाडुब्दै पिँध नछोइ ब्यूँझिन्छन्,
प्रिय, ऐठन पखाल्न घोप्ट्याएका घुट्कीहरुभरी
अझै अनिश्चित निद्राहरुको अत्यास छ ।

मेरी प्रिये,
अदृश्य र अघोषित युद्घमा अनायास
आकांक्षाको मसिनो कीर्तिमान ताकी
एउटा स्वयंसेवक सिपाही भर्ती छु,
त्यहाँ खान मात्र कठिन थियो यहाँ खानु मात्र छ,
हिलोमा खेलीखेली कस्सिएका पैताला
सुख्खा हिलोमा पत्र उक्किँदै विलीन हुँदैछन्,
हाडमात्र बाँकी भएर
यहाँको मनतातो मैनका ढिस्कामा जोडिन सक्छन्,
प्रिये भवितव्य गुज्रदालाई भन्नैपर्छ ः
म यो फुस्रे समुद्रको मनतातो छातिमा छिटै
हिउँको करङ भइ बुख्याँचो उभिन्छु होला ।

एउटा सिमलकपासको जोशिलो त्यान्द्रो

एउटा सिमलकपासको जोशिलो त्यान्द्रो


म एउटा धेरै धेरै लामो विकल्पको निर्माणमा व्यस्त थिएँ
मबाट पार भइ जाने अथक एक त्यान्द्रो किरणको
मैभित्रको तर केवल मलाई थाहा हुन नसक्ने ।
कसैले क्रुरतापूर्वक व्यूँझाइदियो,
यस्तो त गर्नै हुन्थेन !
उठ्दा हठात् मेच लड्यो
र खरानीको डल्लो भयो त्यो झट्काले
ज्वाला नै नदेखाई ।

अनेकन् सावधानी र असावधानीहरुको संगममा
शक्ति र बोधको अनायास सञ्चयमा
कति कति समय र खण्डहरुको नक्षत्र उदाएको हुँला,
त्यो एउटा प्राथमिक तर्क हुनेवाला थियो,
त्यही नै परम् भावधारा हुँ’दो थियो,
त्यो जो म मिटेपछि पनि मेरो रहनु थियो,
मेरो मिटाइको निश्चितताभित्रै मिट्यो !

त्यहाँदेखि यो आलापको वगाल
अनाथ अस्तुझैँ अस्तित्वको मेरो अल्पायामभरी
सिरानी खोज्दै आउँछ, ममता माग्दै घुस्रिन्छ
मलाई निस्तेज पारेर नितान्त निरञ्जनको 
निराकार निर्बोध निख्रिन्छ,
अब म अबोधमा नितल गिरिरहन लाग्दैछु . . .

बोधको वञ्जीले नजोडिइ !

यो नियात्रा हुनै हुँदैनथ्यो, पथविहीन, शर्तविहीन
सोचैसोचको यो सानो जीवलाई,
झुण्डिरहन दिनुपथ्र्याे कुनै ध्रुवीय मध्यमामा,
मच्चिरहन दिनुपथ्र्यो कुनै कार्यालयको भित्तामा पेण्डुलम बनेर,
नौदेखि पाँच, पाँचदेखि नौ
लेखिरहन दिनुपथ्र्यो कुनै नघट्नाकाको दस्तुर,
चेपिरहन दिनुपथ्र्यो ओठको कापमा रसाउञ्जेल सुर्तीजस्तो
एउटा कंगारुकथा

यत्ति मात्र हुनुपथ्र्यो कि ‘यदि’ को
धेरै हाँगाविगा हुनुपथ्र्यो, हजार पातहरुको
हजार सुसेलीको बाढी हुुनुपथ्र्यो वहिरोपनको वस्त्र,
एउटा संकल्प हुुनुपथ्र्यो धेरै निचोडभरी,
एउटै नीति उदाउनुपथ्र्यो  हजार निषेधभरी,
बञ्चितिमा व्योम हुनुपथ्र्यो
विनाशमा—
बालुझैँ निफनिएको विग्रहमा ओम हुनपथ्र्यो,
झिलमिल टल्किनुको तरङ्ग ।
के भन्नु यो शिलबन्दी
ओखरभित्रको अण्डाको नभिजेको आवाज सुनेर ?
के गुन्गुनाउनु कर्मकाण्डको कुन चर्यामा
जुल्फी ध्वनिको नसुल्झिने धर्सो ?
के अँचेट्नु आस्वादनको ओखलभरी
चोक्टाचोक्टा अर्थी भित्र्याइ ?
के मरिमेट्नु मृत्यु सम्झेर
मयल माडीमाडी नुहाउनलाई ?
छन्दजस्तै, छिमल छिमल कल्पनाजस्तै,
सिमलकपासको इन्द्रेणी निल्ने जोशजस्तै,
वलात् विष्फोटित विमतिको सङ्लो विजोकजस्तै,
आगोको लप्कामा झिंजामिजाले लेखेको होसजस्तै,

निगुरो अपत्यारहरुको ओसिलो ओतमा
मक्किइरहने जन्मशिलाहरु, चिरा पर्दाका
फाटाहरुमा उग्राउने उन्मक्त ध्वजाहरु,
विविधिकृत दृश्यभेदकहरुका अन्योन्याश्रित कोलाज

मेरो एउटा मुन्टो बटारेर
एउटा चलाख उल्लूको आसन जित्नुछ,
मबाट एक मुठ्ठी आहारा तौलेर
मेरो मृत्युलाई आइ.सी.यू.मा जिउनु छ

निगुरो अपत्यारहरुको ओसिलो ओतमा
मक्किइरहने जन्मशिलाहरु, चिरा पर्दाका
फाटाहरुमा उग्राउने उन्मक्त ध्वजाहरु,
विविधिकृत दृश्यभेदकहरुका अन्योन्याश्रित कोलाज



Wednesday, July 23, 2014

वताससँग बोल्दै ( त्रिभुवन विमानस्थल अगाडी एउटा आवाराले सुसेलेको धुन )

वताससँग बोल्दै
( त्रिभुवन विमानस्थल अगाडी एउटा आवाराले सुसेलेको धुन )



‘‘पतन अगाडी घमन्ड आउँछ
निभ्दो दीपले क्षणिक तेज फैलाउँछ ।”
                                  —चीनीयाँ आहान


केही छापिन्न यो समयको पत्थरिलो छातिमा,
कोतर्ने अम्लीय आँसु, ठोक्ने भीषणताको घन,
कोपर्ने कामातुर महत्वाकांक्षाको धारिलो नङ्ग्राले
जित्न सकेका छैनन् भुलक्कड झ्याङहरुको बहुलट्ठीपन
जसबाट जन्माइयोस् रहस्यमयीे अमीट मुस्कान,
समयका सन्तानहरुले प्रेमी नजरले सुमर्ने काव्य र केन्द्र ।

टुक्रिएको नजरले
सीमाविहीनता पुकार्दै रेखा कोर्दै भाग्छन्
बाँच्ने प्रत्येक पलहरुमा
आफू च्यातिएको धार समाइ,
आँतको असाम्य क्रोधले कति आकाश उडाउँछ,
पसिनाको कति पातालमा डुबाउँछ,
रिक्तताको कति रेगिस्तानमा रुँघाउँछ, रुवाउँछ
सम्झनाको स्वस्तिहरुबाट संगालेर सहनुको शीतजस्तो शीतलता,
लुकामारी खेल्न लगाउँछ
बालसुलभ विवशताहरुमा हुर्किने  कसरतमा लागेका
हिमालमुनिका हस्तीहरुलाई—
कस्तो तीर्थाटन बनाइरहेका हुन् कुन्नि
जबरजस्ती निरीह घोषित गरेर जिन्दगी ?

चुम्न मनलाग्छ कोइलाजस्तो क्रोधले
अंगालेर आफैंलाई डढ्नेगरी,
खरानीबाट उमार्न मनलाग्छ चमकदार पोथ्रो, सेतो र गहकिलो,
हेर्न मनलाग्छ पसिनाका कुण्डहरुमा
असिञ्चित अवयवहरुको अतिरिक्त चाउरी,
बिगार्न मनलाग्छ उम्केर जाने धर्मव्यवस्था,
बगाउन मन भएर जम्नेगरी
उन्नयनका डोबहरुमा जागृतिको चम्कीलो स्खलन
खेतका गराहरुलाई गर्विला गमला तुल्याएर ,
थाङ्काझैँ नटाँगिने वस्त्र भानुतल फुकालेर ।


तर नाङ्गै दौडिन्छन्,
नौका पार गरेर खोज्दछन्
स्मरणका खाल्डाहरुमा घरेलु यामका अनुभूति,
अलमल्ल दृष्टिले खोस्रिन्छन् श्वासहरुमा संस्कृति
अन्यौलका कम्मल ओढेर अञ्जान पतझड र सिरेटोहरुमा,
जब विच्छेदनका किनारा वाणिज्यको धूलेआँधीले मेटिन्छ ।
के नउछिट्टिएलान् श्रृङ्गारको लेपले

पहिरनको पकडमा नआउने अङ्गहरु !
कहाँ लुक्दाहुन् खोँेच र भीरका
असाम्य आन्दोलन अवचेतनमा प्रवासित भएर ?
के टेक्दाहुन् घँुडामा चढेका पैताला
खच्केको उचाइलाई पुनर्वास गर्न
शिखरहरु निदाएका शिरमा ?

आज नवआगन्तुक भएर तरङ्गित हुन्छ
वसन्ती न्यानो बनेर वतासमा प्रतीज्ञाको संगीत
मैले लुकामारी खेल्ने मैला वनका अँध्यारा बाटाभरी
जहाँ क¥याङकुरुङ टेक्दै हिँड्छु मरेका पातको अशान्ति
र वेर्दछु जोर्नीहरुमा खुकुलिने पहाड वरिपरी
अस्तिपञ्जर भइ हिँडिरहेको सभ्यता,
शिकारीहरुले बसाएको स्वतन्त्र हावामा तैरिने भनिएको सभ्यता,
मौनताका पारखीहरुले थिचोमिचोको घानमा भुटिएर बचाएको सभ्यता,
लालीगुँरासको रक्तिम टाटो र फुलौराका सुख्खा सेतोले रङ्गाएको सभ्यता  ।
ए ! मेरो चौतर्फि झ्यालहरुबाट उम्किरहेको दृष्टि !

तँलाई कोचिदिउँ उत्तरी हिउँको बाक्लो पिरामिडभित्र ?
अनि पर्खेलास् हजार बर्षले जन्माएको मगजहरुको आन्दोलित चिरफार
खुम्चिएको लिपि बनेर !
ए ! ताल फुटेर छरिएको भगुवा छवि,
म तँलाई उगाएर राख्न तम्सेको छुइनँ तेरो टुक्रेको थर्ममिटरभित्र,
वरु जाकिदिउँ कि मूर्तिजस्तो मुखुण्डोभित्र
र ठड्याइदिउँ घण्टहरुले घेरिएको महल अगाडी द्धारे बनाएर
हातमा  बुद्धहस्ताक्षारित तरवार दिएर ?

नत्र के देख्दछु यी आँखाले
टुँडालजस्ता पर्दाहरुको वेशर्मी !
कति खपिरहन्छु ऋणजस्तो
पसिना नउमार्ने गर्मी ?
कति पीर्दछु बेमतलब कानहरुलाई
कपोकल्पित धन र धमासको मुजुरा ?

यो खुइले खल्वाट्बाट चम्किएर उफ्रिने किरण
भोरलाई कस्तो संग्रह हो ?
मैले तलको सोचमग्न चाउरीमा
अन्यथा के पढ्ने हो ?
   
नत्र के देख्दछु यी आँखाले
टुँडालजस्ता पर्दाहरुको वेशर्मी !
कति खपिरहन्छु ऋणजस्तो
पसिना नउमार्ने गर्मी ?

Tuesday, July 22, 2014

श्पर्श

श्पर्श

मैले सम्झेँ— मसँग एउटा प्रश्न थियो,
हिँड्दा बाटाभरी दृष्टिको
माकुरे जालसँगै झुलझैँ फैलिँदै जान्थ्यो
र रातमा  रित्तै खुम्चिएर आउँथ्यो, बिलाउँथ्यो ।
मैले कसलाई सोधूँला भन्ठानेको थिएँ ?

कसैलाई एकपटक सूम्पिदिन्छु — जनाउँदै
गमक्क परेर थप्थपाएको थिएँ,
त्यो कान हो या कोलाहल
हुनुको श्पर्शले अझै पनि निद्रालु हातहरु
तापविहीन ज्वरोले काँप्दछन्,
त्यसैले त मनोरोगीझैँ सम्झिन खोज्छु,
खित्काले हुन्छ या अश्रुझरी जेले,
कतैबाट बजाउला, बगाएर उक्काउला पुरिएको—
भन्दै कोसिस गरिरहन्छु,
प्रश्नको छापमा पात्र,
पात्रको पृष्ठमा प्रश्न ।

यसो भनिहिँड्दा स्मरण घना जंगल भएर
पाकेर, तालुमा नाङ्गिन थालिसक्यो ,
ढुकढुकी पलपलमा यात्राको
पाइला नाप्दै सडकबीचबाट
आस्वस्तिको नशालु किनारा लागिसक्यो,
र पनि नसम्झिइ त छोड्दिनँ कसैगरी,
स्मरण रहेसम्म, प्राण नगएसम्म—
यसो भन्छु,
आफैँबाट पो कसरी बचूँ ?

Sunday, July 20, 2014

छाता खोज्दै

छाता खोज्दै

बर्षातमा
अनवरत सेचनको भंगालो छेउ
फुटपाथ अरठ्ठ भइन्जेल सुन्निँदा
हल्लीहल्ली तैरिने छाताले ठुङ्गिदै,
पानीका छर्रालाई आँखा झिम्क्याएर

च्यापच्यापे पाइला कस्तो चपल चिप्लेकीरा भइ
खैरो मक्केको घाममा
साँझमा चाँदनी टेक्छु सडकभरी—
म पनि सुलुलु चिप्लिनु पर्ने हो
छानोको छरितो खहरेझैँ

जहीँतहीँ राता गहना छन्
तिनीहरु चाडको स्निग्ध उल्लासमा
ब्रत अघिको रुमानी प्रवासमा—
भने मैले भित्रभित्रै ताप्नुपर्ने हो
त्यो रित्तो घरको भुङ्ग्रे अँगेनो ?

स¥याक् स¥याक् स¥याक् स¥याक्
छ्याप्प !
पैयाँले छेपेको हिलोजस्तै
केहीछिन अडिनुपर्ने हो
मुस्कानको मीठो न्यानो
समयभरी ?
समयका पैँयाहरुले कति छेपे कति
कति रङ्गका पोसन
क्यानभास नै अदृश्य हो कि ?
सडकको यही मैलो जलकुण्डमा हेर्छु—
वेमौषमी होलीको रित्तो रित्तो प्रीति,

बर्षात्ले छाती रुझाउँदैछ—
तिघ्राभरी तिरस्कार बोकीबोकी
को निदाउन सक्छ निश्चिन्त भएर ?
समय पाकेर, हाँगा नै नुहाएर,
फतक्कै भुईँमा झर्न लागिसक्दा ?

टिप्नुप¥यो संकल्पको पुष्पकमा
आफ्नै चहकिलो चाल !
एकचोटि झझल्काहरुको इन्जेक्सनले तताएर
भुङ्ग्रे बनाइ यी ओठ
पस्नुप¥यो त्यो गाउन टाँगेको गल्लीमा !
न्यानो भलाकुसारी गर्न !
अलिकति गीत अलिकति धुन
टाउकामा हाल्न !

Saturday, July 19, 2014

त्रसित

त्रसित

मुखमा बुजो लगाएको पनि हुँ
अर्थलाई मियो निश्चित गरेर
जुन जीवन नथग्ने थाङ्ग्रो साबित भो,
न त खनजोत हुन गो
न त रहन गो दाउनीको चाडजस्तो अपेक्षा—
भा’को देखेर पनि
परम्पराको हाडमा भोकमरीका फ्रयाक्चरहरु
स्मरणको कायामा उछिट्टिइ बसेको देखेँ—
सटिक त चलनभित्रै पर्दोरहेनछ,
कसै गरे पनि पत्याउनलाई, सरल केही देखिनँ ।

कि त मन्द मन्द जीवन
उग्रतामा पनि बाँचेको ठान्नुप¥यो,
कि त स्मरणजति सबै जलाइ
पलपलको गोजी च्यात्नुप¥यो—
हरेक पीँधच्यूत पलमा
सीमाको एउटा अङ्क थाप्न
कि त यही जीवनको बाँध हाल्नुप¥यो !

तै पनि बग्दछु !
किनारा हुँदा बाढीले भत्किइ बालुवा–ग्रेगर बनी,
बाढी हुँदा निथ्रुक्क बगर बनी—
रोकिने सिल्प कठिन रहेछ,
तपस्याको आवाजझैँ शान्तिमा गुञ्जिँदो रहेछ,
स्मरणको सुगन्धझैँ शीतल, छुइँदो रहेछ
जागृतिको जेथा बनी !
आज छ्याङ्ग सबथोक बुझिरहँदा
हर्षभरी त्रस्त छु !

Wednesday, July 16, 2014

विश्वविद्यालय पस्ता

विश्वविद्यालय पस्ता

सहरका प्रत्येक नशामा, जोर्नीमा
शिक्षाका खुद्रा पसलमा खुट्टा खासै अडिँदैनथे
तिनले के गति सोसून् ?
ठाडा भित्ताहरु !
बर्षात्का तीर पनि छर्रा उडाएर तर्किन्थे !
उसै तरुण मनले लाहाछाप पायो
स्नातक सक्नुको सार्वजनिक सिद्धि !

लखरलखर डुल्ने पैताला
भर्खरभर्खर खुल्ने फैसला,
यत्तिले नाप्यो के बुद्घि ?

होहल्लाझैँ कीर्तिको ज्ञानकुञ्ज गुञ्जियो
कानमा, ध्यानमा, मनमा !
ए ! अब सोच्नु के ?
सहरको कब्जियती पेटमा गड्गडाउँदै
एक लठ्ठी भाँचेजस्तो मोडमा मोडिइ
पस्तै छायाँदार परिसरमा
पखाल्दै अघिको शहरी धूलो पहिरनबाट
सिर्रसिर्र चल्दो शीतल पवनमा
चटाउँदै आँखा, ओजनदार आइसक्रिमझैँ
परपर कम्पाउण्डमा ठडिएका हिमालहरुमा,
टक् टक् चिल्लो जुत्ता टड्काइ
पत्रेढुङ्गाका कार्पेटमा
तपस्या गर्न पसें वनतिर
लौ पुगें कत्रो कुटीमा !

सपनासरि सुविस्ताले पुगेको छु,
सुनको ढ्याक बनी फर्कूँ !