Friday, November 7, 2014

एउटा कन्फेसन् : निर्णय होस् !

आफैँलाई स्वचालित प्रतीज्ञाहरु
दौडाउँछन् अन्धकारको चिसो जिब्रोबाट टाढा . . .
हरेक दिनमा एउटा यस्तो प्रहर हुन्छ
पूरा ब्रह्माण्ड, पूरा सूक्ष्म अणुको
विचरण गर्दछ, आफ्नो भइदिन
हरेक पल तृष्णाको तीर आगततर्फ
हरेक कल्प आगतमा उभिइ थाप्छ विगतको तीर

मचाहिँ कहीँ छैन
छेकिँदै छेकिँदै

नबग्ने चिजहरु
उही, उत्रै देखिनु पर्ने
तर मै बग्दछु

यी ईतिहासको नदीले विर्सिएका कुलेसा बाटाहरुमा
पोखरीको सतहमा तरङ्गझैँ
केन्द्रदेखि किनारासम्म किनारादेखि केन्द्रसम्म
डिम्माभित्रै जन्मिइ मरेझैँ

त्यसो त घृणा प्यारो छ,
एक सेट लुगा र एक झुप्पो लवज
र एक मुट्ठी अक्कललाई जोडले च्यापी
बाँकी सप्पै अज्ञात र विपरित ठान्नुको सन्तुष्टि
रेफ्रिजेरेटरभित्रको शव्जीजस्तै ताजा टिक्छन्

त्यसो त विस्मृति सहज छ,
हिँड्नु र पाइला मेट्नु,
प्रकृतिसँग नजिक छैन र ?
प्रकृतिसँग नजिक चिज राम्रो हुन्न र ?
सुर्ता र स्नेहको डोरीले
कहिलेदेखि कहिलेसम्म जगल्टो पर्ने आफैँभित्र !

मैमात्र जहीँतहीँ छु

हरेक पल एउटा अर्जुन हाँस्छ र रुन्छ
कानमा कृष्णको ज्वारभाटाले कायल
हरेक चोटमा एउटा महाप्रलय कोखाउँछ
अर्को आनन्दको उच्छ्वासले भ्रुणहत्या नगरुञ्जेल

म टेकिएको कहाँ टेक्छु टेकिरहँदा
निर्णय होस् !
5 Nov 2014

Thursday, October 23, 2014

घरको कथा


एउटा भव्य घरको रेखदेख गर्न
साङ्ला र माकुरालाई दिइएको थियो,
कहिलेदेखि भन्ने उनीहरुलाई याद थिएन,
कहिलेसम्मलाई उनीहरुलाई थाहा थिएन ।
तिनले वण्डा गरेका’थे रखवालीको :
माकुराहरु उचाइको हेरचाह गर्थे,
पर्खालरुमा चढ्ने ओर्लने सिँढी बनाउँथे,
उचाइमा, झोलुङ्गेहरुमा बसेरा जमाउँथे,
अण्डा पार्थे, कोरल्थे, हुर्किन्थे,
आमालाई खान्थे, आमा बनेर खाइन्थे,
टल्किने पर्खाललाई झुलको मधुर चित्रकारिताले
आँखामा कम बिझाउने बनाउँथे,
साँच्चै वैभवले पूर्ण त्यो घरलाई
उनीहरु आफू अनुकूल अनुशासित गर्न
अहोरात्र बाँच्थे ।
साङ्लाहरु आफ्नो इतिहासको गहिराईप्रति वफादार रही
गहिरा ओसिला कुनामा सल्बलाउँथे,
पुस्तैनी नयाँ टाउकाहरुमा उम्रिइ
तिनीहरु जिन्दगीको वदलावरहिततालाई धार्मिक निष्ठापूर्वक निर्वाह गर्थे,
नयाँ केही बनाउँदैनथे,
खानलाई त्यहाँ भान्सा आफैँमा पूर्ण थियो,
जे राम्रो छ त्यो खान्थे,
जे सड्दै जान्छ त्यो खान्थे,
जे सडिसकेको छ त्यो खान्थे,
सडनपछि जे बन्छ नयाँ त्यो खान्थे,
हो, जे परिवर्तन हुन्छ
त्यसमा अपरिवर्तित भोगचलन गरिरहन्थे,
घरको सिनित्त र साह्रो भुईँलाई
सडनको वृष्टि र सृष्टिद्धारा
टेक्नलाई नरम तुल्याउँथे,
खेलकुदको निम्ति सम्भावनाहरुले उर्वर बनाउँथे

प्रष्ट नदेखिने हुँदा
कहिले कुनै माकुरो तल झथ्र्यो भने पनि
साङ्लाहरुबीच मिसिन सक्थ्यो,
कहिले कुनै साङ्लोले पखेंटाको कसरथ गर्नु परे
माकुरे जालोसँग कबड्डी खेलेर फर्किन्थ्यो,
ती दुबै होलो अन्धकारका साथी थिए,
मिल्दा मिल्थे,
जँुध्दा पनि मिल्थे,
घरभित्र रहुञ्जेललाई मिल्थे,
घरबाहिर टेक्न नपरोस् भनेर पनि मिल्थे,
मिलिरहेका छौँ भन्ने थाहै नपाएर मिल्थे ।

घर बुढो हुँदै गयो,
उसको भाउ वरिपरिको सापेक्षमा
खस्किँदै गयो,
उसको वैभव छिप्पिँदो प्रौढावस्थामा
नभोगिएको जवानीको स्मृति बन्न थाल्यो,
उसका भुजा उमेरको स्याँठले गल्नथाले
उसले आफ्नो अन्त्यको ऐठन
एक्लोपनले गाँजिएका दिनहरु भरी
हरेक प्रहर बाँच्न थाल्यो,
त्यसैले जुरुक्क उठेर एक दिन
घर दक्षिणतिरको तटीय सहरतिर जाने भन्दै लाग्यो,
मक्किएका झ्याल र ढोकाका पल्ला खस्दा
हुरीसरि हावा पस्ता
माकुरा र साङ्ला तिनका संसारसहित
उडेर वाहिर जंगलमा आइपुगे,
घर रित्तो र कमजोर
तटीय सहरको घमाइलो कल्पिँदै हिँड्यो

अहिले साङ्ला र माकुरा
पुनः जंगलमा आइपुगेका छन्,
कुनै भविष्यको खोजी नगरेका उनीहरु
विगतलाई प्राप्त भएका छन्,
बर्षामा ओत र घाममा छहारी खोज्दैछन्,
हरेक पलमा कुनै शिकारीबाट सिध्याइने
भयको अस्तित्वप्रति आस्थावान् बनेका छन् ।

घरको समाचार :
घर समुद्र आइपुग्दा
उसका थाकेका अंगले साथ छोडे,
टुक्राटुक्रमा विखरित भए,
ऊ ईंट, बालुवा, गिटी र लौहको
प्रारम्भिक शिशु बन्यो,
उसलाई एउटा बडेमानको आधुनिक भवन निर्माताले
धर्मसन्तान स्वीकार्दै
आफ्नो ठूलो परिवारको एउटा पर्खाल बनायो ।

23 Oct 2014

Wednesday, October 1, 2014

शरदको नशा

शरदको नशा

स्वस्थ शिशु मस्त निन्द्रामा हाँसेजस्तो छ घडी
मैं पनि हाँस्तो हुँ एकनासको, बैजनी आकास भइ
मैं पनि नाच्दो हुँ केश सुम्सुम्याउने वतास बनी
थोरै धुन गुन्गुनाउँदो हुँ पीङमा मच्चिँदा
संगीत खोज्दो हुँ मिल्दो नाम दिन हृदयलाई
पर्खिरहँदो हुँ पर्खाइहरुको उमङ्गित समाप्ति
पुनः सुचारु नहोउञ्जेललाई
मन ठोक्किइरहन्छ विन्दुहरुमा मनलाई मात्र थाहा हुने
जस्तो बादलले सम्झिन्छ हराइरहँदा उसको बाटाका कुइनेटाहरु,
यस्तो बेलामा उदेकलाग्दा मधुश्रावले मनको कुण्ड छ्यालब्याल पारिदिन्छन्
म बच्चो भएको हुन्छु ब्रह्माण्डको जुन म सधैं रहन्छु यसबेला नबिर्सिइ बन्दछु
बच्चाहरु तिनका सुकिला नाना र कलिला ओठले
मेरो जीर्ण बजारिया बर्षलाई पुनः साम्य पार्छन्,
तयार मट्ट्याङ्ग्रो बनाइदिन्छन् हिउँदको नयाँ गर्ततर्फ
फेरि एक पटक
हुत्तिन,
म जो बर्षभरि आफूलाई खै कस्ताकस्ता जिब्राका लागि पकाइरहन्छु
पुनः रसिलो काँचो बन्दछु आफ्नै निम्ति खाएर,
भारी बिसाएर खाएर
तिथिगत तथ्य कनिकामा बियाँझैँ अग्राह्य छन्
म सर्तहरूका कपडामा बेर्न सक्दिनँ यो सादगी
जुन स्वतन्त्रतापूर्वक श्वास फेर्छ मभित्र
खानु, पिउनु र मस्त रहनुले बन्ने सक्रिय
म त्यस्तो तन्तु जुन भोजले बन्दछ धार्मिक
यसरी चित्रमय चाड लागेको छ
कि म पछि पछुताउको ऋणमा पनि डुब्न सक्छु,
यस्तो बुझेर पनि रोकिन्नँ ।

1 Oct 2014

Saturday, September 27, 2014

विष्फोटक

मैले हेर्ने आकासमा ६०३ वटा कुकुर
मरेर तैरिरहेका थिए,
कागका झुण्ड पखेंटालाई आराम दिई
आहारामैं टेकी टोकिरहेका थिए,
टोकेरै अघाइसकेपछि विविध खेलमा
एक अर्कासँग झोंक्किइरहेका थिए ।
नीलो सगरमा जुन ज्योति हुन्छ,
त्यसबाट तलको लोक झल्काइरहेका थिए,
तल जहाँ जंगल गोलो शिरको हरियो जगल्टो देखिन्थ्यो
त्यहाँ झुसिलकिराहरुलाई उक्साइरहेका थिए,
छिटोछिटो खाएर, अघाएर
पुतली बनेर
माथि पखेंटालाई आराम दिन आउन ।

मैले टेक्ने जमिनमा कुकुरका पदचाप
अजीव चित्र बन्दै बग्दैथे बाढीहरुमा,
जुन असंख्य हिमशिखर बगाउँदै आउँथे
तातो र चिसो एकनास मिसाउँथे
हावाको आलस्यसँग विल्कुल रिसाउँथे,
जुन फोक्सोमा पस्न समेत गथ्र्यो आनाकानी ।

मैले चिन्ने मित्रवर्ग र समुदायमा
मानिसहरु अनेक आवाज निकालेर हाँसिरहेका थिए,
आँसुले कुल्ला गर्थे— आफ्नो हो कि अर्काको, बिर्सिएर
नुनै नुन खान्थे— चोरेको कि कमा’को, बिर्सिएर
सपनामा युद्ध गर्थे— मरेको कि बाँचेको, बिर्सिएर
युद्धमा स्वप्निल देखिन्थे—नशाले हो कि भोकले, नबुझेर
एकदम बुझक्कड देखिन्थे— बुझेर हो कि बुझ्नुलाई मात ख्वाएर . . .

निकै बेरपछि हातको ह्वीस्की घुट्क्याइ,
डोरीजस्तो हावामा सुरेली खेल्दै
म यो गगनचुम्बीको तालुबाट
तल झर्दा पो थाहा भयो
म शिर तल पाउ माथि भइ उडिरहेको थिइनँ
खसिरहेको थिएँ,
रिक्तताबाट पूर्णमा गढिरहेको थिएँ,
जंगलभरिका झुसिलकिराका पेट च्यातेर
पखेंटा निकालिदिन
एक गोला विष्फोटक बनी
खसालिइरहेको थिएँ ।

Sept 27, 2014

Thursday, September 11, 2014

मेरो साथीको बारेमा एउटा गलत कविता


मेरो साथीको बारेमा एउटा गलत कविता

मेरो एउटा साथी छ
जो मायामा विल्कुल अगाडी रहन चाहन्छ,
कसैले उसलाई ऊ आफैँले भन्दा अधिक माया गरेको
ऊ सहनै सक्तैन,
भन्दछ, —“त्यो विल्कुल मेरो एकाधिकार हो !”
ऊ यसलाई कस्तै खाले हुँकार मान्दैन,
केवल आफ्नो जिउने अन्तिम आधार,
जस्तो कि सूर्यको,
आफूमा अनगिन्ती विष्फोट गराएर बलिरहने ।
तर यो त मेरो हेराइ हो
जसमा म सूर्यले पनि उसलाई हराएको देख्छु ।

म भन्छु उसलाई,
तँ मरिरहेछस्,
तेरो आत्मप्रेम भष्मासुरको वरदान हो ...
निर्जीव चिजहरुको नियम
सजीवहरुमा चल्दैन ...
तँ अनेक चिज र चेष्टाको यस्तो संगम होस्
मानौं समयको नदीमा बग्ने पानी,
जुन जताबाट पनि वग्न सक्छ
जुन जहीँ पनि वग्न सक्छ, सोसिन सक्छ,
किनाराबीचको सहज राजमार्गबाट
अनायास खोसिन सक्छ,
तैंले पानीको नियति स्वीकार्नै पर्छ ।

हामीबीचको सामिप्य,
सिक्काको दुई पाटा,
कहिल्यै एकले अर्कालाई नदेख्ने,
हामीबीचको वार्ता
मादलका दुई गाला,
संगीत, एउटै ढुकढुकी ।
एकले अर्कोलाई सुनाउने तँछाडमछाडमा,
एकले अर्कोलाई सुन्ने तँछाडमछाडमा
एकले अर्कोलाई सधैँ बहिरा ।

मेरो त्यस्तो साथी
मेरो अनन्य मित्र कसरी भो ?
जो स्वयं बाँडिन चाहँदैन,
उसको थाहा मलाई कसरी भो ?
कतै ऊ मेरो सर्वप्रिय दुश्मन त होइन,
जसलाई मैले बचाउनै पर्छ आफू बाँच्न,
उज्यालोलाई अन्धकारजस्तो,
हुनुलाई नहुनुजस्तो ?

ए मेरो साथी,
तँ आफूलाई जोगाइराख् जत्ति नै,
तँ सिध्दिनलाई नै होस बनेको
मैनवत्तीको मैनजस्तो,
अरु पनि चाहँदा हुन् आफ्नै लागि बल्न,
ती मूर्ख बनिरहेछन्,
बलेर तेरो मैनको अंश देखाइरहेछन्,
भएको मैन खेर जान नदिएस् !
बलेस् तँ पनि !
सबै बलेर सिध्दिइसकेपछि
अन्धकारको सग्लो दृश्य उतार्न
एक्लै के बल्छस् जगत्मा ?

ऊ मेरो ऐनाबाट मतिर फर्केर
मुस्कुराउँछ,
सत्ते ! म भन्नै सक्तिनँ मलाई कति दुख्छ
उसले मलाई नदेखेको,
उसले मलाई नसुनेको,
र,
उसको मुस्कान त्यस्तो बेजोड भएको ।

Sept 11, 2014

Monday, September 8, 2014

त्यो पुतली

त्यो पुतली

एउटा प्रत्यक्ष कुराकानी
जस्तो कि माटोसँग बर्षातको,
जस्तो कि हर्ष अकस्मातको
हिँड्दाहिँड्दै वुट्यानहरुबीच एउटा पुतली आई
एकै छिन काँधमा बस्ताको,
के तपाईँको सर्ट अलिक बुट्टेदार भैदियो ?
एउटा प्रकृतिको तुच्छ प्राणलाई क्षणभरलाई झुक्याइदियो ?
अनि त्यो सदालाई त्यहीँ अवतरित भैदियो,
फुत्त उडेर चरोझैँ गएन भने ?
सुन्दर भुवाझैँ वत्तिएर पन्सेन भने ?

मेरो काँधमा पुतली बसेर
भन्न थाल्यो काँध उसको हो ।
भन्नै पर्दा त्यसो त भनेन,
तर उडेर पनि गएन।
म हिंसा नमान्ने मान्छे,
त्यो पुतलीमा रत्तिभर झुसिलकिरा देख्न सकिनँ,
न त परजिवी जुका,
किनकी त्यसले खानाको त के कुरा
उसको सुन्दर शरीरप्रति उतिसारो ध्यान नदिनूको पनि
त्यस्तो नराम्रो मानेन ।
मसँग मच्छड मार्ने विद्युतीय व्याट नभएको होइन,
केवल आफ्नै काँधमा प्रहारको विचार ठीकझैँ सुझेन,
प्याट्ट पार्न हत्केला नभएको होइन,
स्वयम्लाई धाप मार्न मनासिब लागेन,
बस्! त्यो पुतली मार्न मलाई जुरेन ।


कुनै झन्झट पनि थिएन पुतलीको साथ।
मैले कपडा फुकाल्दा ऊ उड्थ्यो कोठाभरि,
नुहाइसकेपछिको हिलो त्वचामा बस्दैनथ्यो
कुत्कुताउने स्पर्श दिन,
मेरा काँधमा त्यसै बस्तैनथ्यो मैले केही नविच्छ्याएसम्म ।
म सुत्दा शिरको भुवामा नरम टेक्थ्यो,
शिरमै सिरक ओढाए,
खाटको अग्लो डिलमा पुग्थ्यो,
तर रहन्थ्यो छेवैमा ।

सम्भोगको बेला श्रीमतीले भनिन्
त्यो पुतली हेरिरहेछ,
मैलाई भने खिन्नता भैदियो
उनले पुतलीलाई हेरिबसिन् ।

खासमा पुतली कस्तो थियो देख्ता
त्यो म भन्न सक्तिनँ ।
ऐना अगाडी उभिएर हेर्दा
प्रतिबिम्बले उति देखाउँदैनथ्यो ।
भन्न सक्थें खास केही थिएन,
केवल सुन्दर ।
कसरी ?
त्यो त प्रश्न नै हुने थिएन ।

पुतलीलाई मैले पालिरहेको थिइनँ,
विहानबेलुका कुकुरलाईझैँ डुलाउन लग्नुपर्दैनथ्यो उसलाई,
केटाकेटीलाईझैँ ख्वाउनुप्याउनु पर्दैनथ्यो,
बडो आत्मनिर्भर थियो ।
बाहिर हिँड्दा मेरो लुगामा फगत् एउटा बुट्टा भइदिन्थ्यो,
कसैले देखिहाले प्रश्नसम्म बन्दैनथ्यो ।
पुतली विल्कुल हलुंगो थियो ।



हाटमा तरकारी र फलफुल छानिरहँदा
ऊ जेमा बस्थ्यो त्यो म किन्थें,
ऊ काम पनि लागिरहेको थियो ।

अफिसमा ऊ मोनिटरको माथि बसेर हेथ्र्यो,
म घन्टौं उसलाई विर्सिएर हराइरहेको,
सायद ऊ मलाई हेरेर हराउँदै हुन्थ्यो ।


हाकिमको टेबुलमा मैले फिँजाएको कागजमा
एकचोटि ऊ विस्कुनझैँ थपक्क बसिदियो,
मलाई कम्ती डर भएन ऊ प्याट्ट पारिएला भन्ने !
म त पुरै उसकै वरिपरी घुमिरहन्थें ।

यस्तो भैदियो म पुतलीविना हलचल गर्न नसक्ने भएँ,
मानौं मेरो जीवनको ऊ मुदित नजर भैदियो,
तपस्वीको तपस्याजस्तो ।
बजारमा एक दिन एउटा फुस्रे अनुहार भएको बालकले मेरो कोट तान्दा
ऊ भुर्र उडेर बसिदियो उसको केशमा,
अनि विल्कुल भैदियो केसकै रंग !

अत्तालिएँ म, कसरी उसलाई चिनूँ ? कसरी उसलाई टिपूँ ?
ऊ स्वयं फूलका काखकाखमा उडिहिँड्ने,
फूल त थिएन !
म हनुमानलाई त्यही बालकको केशरासि
मानौं सञ्जीवनी पहाड भैदियो,
मैले पुतलीको निम्ति उसलाई घर ल्याएँ ।
श्रीमती अवाक भइन्, छिमेकी सतर्क ।
त्यो बालक हप्तादिनमै कतै गयो गुनासो नगरिकन,
अनि पुतली फेरि मेरै काँधमा आइ बस्न थाल्यो ।

अचेल श्रीमती पनि गुनासो गर्दिनन्,
घरीघरी उनको गालाको भिरालोमा गइ बसिदिन्छ
उनले चालै नपाइ,
उनले थाहै नपाइ मेरो पुतली स्वीकारिन् क्यार ।

मचाहिँ डराइरहन्छु
जति नै भरपर्दो पनि
त्यो पुतलीलाई केही भैदेला भन्ने,
त्यसलाई खाइदिनसक्ने माउसुली, भ्यागुता, छेपारा
कतैबाट आइदेलान् भन्ने,
श्रीमतीको  उक्सेको पेटमा दौडिने उसलाई
बेपर्वाहीको विषले मारिदेला भन्ने ।
जीवनमा दुर्लभ हुने प्रत्यक्ष कुराकानी
कोपिलाझैँ चुँडिएला भन्ने ।
यसमा मलाई बडो आफैँसँग डर लाग्छ ।

9 Sept 2014

Thursday, August 28, 2014

एक पल (A Moment)

एक पल

धुवाँको वहुरङ्गी गुलाफ
आकाशको वैजनीतिर उड्यो
पहाडले चुम्बन पठाउँदा त्यसरी
मैदान हरियो हाँस्यो
चराहरु कावा खाँदै अघाएझैँ गरी
निकै वेरसम्म तल झरेनन्

सूर्यको झलमल्ल पर्दामा
यो यात्री प्रतिविम्ब गुमाएर
घरी वनतिर घरी आफूभित्र हेर्दै
आह्लाद अटेसमटेस भइ
फ्यात्त पाकेर झर्‍यो प्रस्तर मेचमा

क्यामेरा हल्लिएर छातिमा टकराउँदा
आँखाले सबै निल्यो
हृदयमा सल्क्यो अगेनोझैँ चित्र,
रापका राता पातहरु फक्रिए
मुटूमा मह बग्यो सलल

A Moment

A many-hued rose of smoke
Billowed towards the sky's purple
When the hill sent a kiss thus
The Plain grinned green
Birds hovering, seeming content
Descended not for a long time

On the sun's screen
Losing his reflection, this traveler
Looking towards the woods now, looking into himself then,
Being overcome with ecstasy,
Fell ripened, with a thud, on the rock-bench

As the dangling camera hit the bosom
Eyes swallowed all
A picture stole into the heart like fire,
Red petals of radiance bloomed
Ambrosia spilled in the heart

Tuesday, August 26, 2014

सडकको तनाव र क्याफे प्राङ्गणको चिया गफ ( The Tension in the Street and the Banter at the Cafe Premises)

सडकको तनाव र क्याफे प्राङ्गणको चिया गफ

विलौनाहरु वेलुनझैँ अनेक रङ्गमा फुक्थे, फुट्थे
ती थुकका छिटा
अर्काका परेलामा झुण्डिएर
झरीको थोपा हुन्थे
आफ्नो प्रतिबिम्ब टल्किन,
यो सडकको तनावको किनारमा
यो चियाको चुस्कीबीच गजब थियो मेरी गो राउण्ड !
पारी छे आँखैमा सुम्सुम्याउँदै
अञ्जानअञ्जान, एउटा डिल पक्रेर एउटी परी,
अर्को छेवैमा हाँस्छ, फलाक्छ,
कराउँछ हाँस्छ
ल ! हो त ! अर्को पनि छ
झन् अर्की पनि छे

छे
छन्
तिनीहरुआकाशभरी
जतिजति मधर्तीमा जरा फाट्छु, खिपिन्छु,
उफ्रिइउफ्रिइ, चर्किइ चर्किइ,
यो नाचबारे नसुनेका होलान्
तर तालमै कम्मर भाँचीभाँची,
मलाई समेत थाहा थिएन जुन संगीत रहेछ ।

सडकमा रगत वग्न लाग्यो,
खुट्टैछेउ आयो भेल, ढल यतै कतै पथ्र्यो क्यार !
सोचेँ – चाटिदिउँ !
अम्लै तानियो
लौ उत्तानो परेर लड्न क्या काइदा—
अव त नीलो आकाश आँखा सुम्सुम्याउँथ्यो
लंकेश्वरको अन्तिम चित्कार लेखिएको
सूर्य टल्केको श्वेत वादलु अक्षरहरुमा
अघिका प्यारी प्याराहरु रित्तिएका चिया कपहरुले
उगाउँदै थिए यो सित्तैको रेड लेबल, म लडिबडी गर्थें
तिनीहरुका नदीनाला, तापक्रमहरुमा,
मगजमा चाहिँ म कस्तो विकृत भएँछु धेरैवटा  
परिचय गरिनँ चोइटाहरुसँग
वरु यी सबै एउटै शरीर भैदिए पनि
आफ्नै आफ्नो परिवार जमघट गराइ दशैं मनाउँजस्तो भयो
सत्ते ! चोक्टाचोक्टा, फाल्सा फाल्सा पारेर निलेछन्
एउटैले खा’को भए पनि त हुन्थ्यो !

The Tension in the Street and the Banter at the Cafe Premises

Grievances, like balloons of various colors, blew up, bursted
Those spittle-blobs
Dangling on others' eyelashes
Became drops of rain
To mirror one's own image.
At the margin of this street tension,
Between sips of tea, it was an amazing merry-go-round !
Across sits, a she, stroking right on my eyes,
Quite quite unknown, an angel holding by a ridge;
Another one, a he, laughs on my side, blabbers
shouts, laughs
Oh! Yes indeed! There is him too !
And her as well !
(he) is
(she) is
(they) are
They-all-over-the-sky
As much as I-into-the-earth branch out into roots, get woven into,
Leaping-springing, hollering-yelling,
Mustn't no one have heard of this dance
Yet gyrating to the rhythm,
Which I too didn't know was music.

Blood began spilling on the street,
Flooding right to my legs- the drain must have been somewhere here!
I reckoned- I'll take a lick.
But as I dipped the whole finger got pulled away!
So nice it is to lay flat on the back-
Now the blue sky stroked my eyes
With words of Ravana's last screams written
In the sunshined letters of white clouds . . .

The beloved ones from a while before were scooping up with emptied tea cups
That red-label for free, as I squirmed about
In their rivers and rivulets, temperatures,
And in minds I happened to be so deteriorated, variegated
That I didn't introduce myself to splinters.
If only these were one body
I should have gathered for each one their own family and celebrated Dashain, so I felt.
Truly! They swallowed me as pieces, clots
Could just one of them have eaten me!


Sunday, August 17, 2014

उनी ईंटका टुक्राले पुरिएकी भेटिइन्

उनी ईंटका टुक्राले पुरिएकी भेटिइन्


“नानी, त्यो छेउछाउको जंगल
बाघको बाग हो, चितुवाको चरन हो
ठूलो विरालोको विरासत हो,
त्यहाँ गट्टा खेल्न नजानू,
झिस्मिसे र गोधूलिहरुमा
घरभन्दा टाढा नरहनू,
ङ्याँक्न सक्छन् तिमीलाई,
दाजुको हात समात्नु,
बाबुको साथ रहनू,
आमाको काख नछोड्नु,
नानी, एक्लै खेल्न नजानू साथीहरुसँग ... ....
यता हामी बस्नेचाहिँ हाम्रो आफ्नो
प्यारो न्यानो
मानिसहरुको जंगल हो,
यहाँ सम्बन्धहरुका लहराले
आत्मियताका सुगन्धी फूल बोक्छन्
यहाँ विश्वासको पोषणले
मानव बचेरा स्वतन्त्र भइ उड्छन्,
यतै बस्नुपर्छ नानी,
यतै फल्नुपर्छ, फूल्नुपर्छ,
उताको जंगल हामीले लाखौं बर्ष
कठोर संघर्ष
गरेर खेपेर
छोडेका हौं,
नानी यतै बस्नुपर्छ ।”


ईँटमा पातहरुको अस्तु हुन्छ,
 पातहरुले सोसेको सूर्य हुन्छ,
ईंटका टुक्रा आगोको फूलका
कति हजार कोमल दल बोक्छन्,
ईंटका टुक्रा आगोको रक्त बोक्छन्,
ईंट मानव जंगलका दरिला जरा मात्र होइनन्,
ईंट चिहान हुन्, चिहान् बनाउँछन्,
नरम माटो कठोर भएर ईंट
हावामा खाल्डा खन्छन्,
उनी ईंटले खनेको खाल्डोमा भेटिइन् ।

आगोका फूलका दलहरु करोडौंकरोडले
उनी पुरिएकी थिइन्,
पुष्पले यसरी थिचिएकाले होला
उनी केही बोलिरहेकी थिइनन्,
हावाको खाल्डोमा सुतेकीले सायद
उनले फोक्सालाई दुःख दिइनन्,
उनले ईंटलाई स्वीकारेझैँ देखियो―
उनका नशामा ईंटका राता बालुवा कण जमेका थिए ।

“नानी, एकपल्ट बोलिदेऊ
चितुवाहरुको भेद खोलिदेऊ
आठबर्षे जीवनबाट
मृत्युको बाहुपास तोडिदेऊ !
तिमीलाई सुनाएको परीकथाको
यो अन्त्य भाग पनि सुनिदेऊ !
यो जमिनमा तिम्रो शरीरले
यसरी लमतन्न लेखेको हरप
जुरुक्क उठेर मेटिदेऊ !
नानी, एक पल्ट बोलिदेऊ !”
17 August 2014

8-year-old ‘gang-raped’, murdered 

Monday, August 4, 2014

मलाई प्रश्न सोधेको मन पर्दैन

मलाई प्रश्न सोधेको मन पर्दैन


मलाई प्रश्न सोधेको मन पर्दैन ।
जस्तो कसैले श्वास खेर फाल्छ —
के राम्रो, भक्कानो वा खित्का ?
निरर्थकताले म गल्दछु ।
लाग्दछ वैज्ञानिकलाई सोधिएको होस्—
तातो राम्रो या चिसो ?
अझ मनपर्दैन प्रश्न भइदिएको,
प्रश्नउत्तरको प्याराडाइम बनाइबनाइ
यस्तो र उस्तोको लागि
यस्तो  र उस्तो सहिदिएको !
किन सहेको ?
पटमूर्खको विद्धता उग्रिएझैँ लाग्छ—
जीवन जिउनै सकिएन !
मानौं जीवनको विकल्प होस् ।

स्वगत्, सार्वभौम संकल्प हो भन्न मनलाग्छ जीवन ।
स्वच्छन्द हुनु यसको कोसिस !
हो, यस्तो उत्तर दिन खोज्नुको औडाहा मनपर्दैन ।
तर उठ्छ, कोसिस कस्तो ?
चरोको विस्टाबाट टमाटर उम्रिनुजस्तो ।
टमाटरले विष्टा भूलाइदिनू,
विस्टाले टमाटर उठाइदिनू ?
रुपान्तरणको रौनक !
बस् ! फक्लेटा छुट्टिएर जानुको संकल्प ।
समुद्रले वतास चढेर आइ
हरेका बर्षात्मा त्यो सारथि विर्सेजस्तो ।
नवजात, निर्दोश ।
धरती, नवप्रेमिकालाई, हरेक अंगमा रागले सिँचेजस्तो ।
स्वादझैँ वेहोस ।
अर्को गृष्ममा नटिपिउञ्जेल !
वादलका कम्मलमा उनीका झुत्ता नसिइउञ्जेल !

त कोही उँघ्दै भन्छ जीवन जागरण हो ।
कोही जागेझैँ स्वप्नसागर !
उत्तर यसरी प्रश्न ।

मलाई प्रश्नवाचकको घुमाउरो काया मनपर्दैन ।
त्यो विन्दु विस्ट्याउँछ ।
निर्बोध सन्तोषको सङ्गलोपन धमिल्याउँछ ।
मगजमा अपच बढाउँछ ।
सम्भावनाको अथाह सतह जति फैलाउँछ
उति गहिराइ न्यून गराउँछ ।

खासमा मलाई हाँसो र खित्काबारे सोचेको मनपर्दैन ।
सोचेर तिनको स्वतन्त्र प्रसार रोकेको मन पर्दैन ।
खासमा मलाई मैले ममात्र बोकेको मनपर्दैन ।
सृष्टिको केवल आफूलाई केन्द्र तोकेको मनपर्दैन ।
अन्योलको कस्तो सौर्य आँधि हुँ कार्वोनको यो कायामा ?
मलाई टिकाउने कोषहरुको हरपलको कसिलो कोसिसमा
म सिंगो यसरी आफैँबाट टक्टकिन खोजेको
मलाई विल्कुल मन पर्दैन ।
केवल मन नपर्नू
मेरो जीवन धान्ने सत्य हुनु
मलाई जीवनलाई मृत्युसरि मनपर्दैन ।

Saturday, August 2, 2014

मलाई एक्लै छाडिदिनुहोस् ! म काव्यलाई मिल्काएर आउँछु ।

मलाई एक्लै छाडिदिनुहोस् ! म काव्यलाई मिल्काएर आउँछु ।

अधुरो बाँचिरहेको छु ।
यो जिन्दगी नै हुनुपर्छ ।
अन्यथा किन यस्तो गुन्जायस ?
थाहा पाउन सक्नु, त्योभन्दा अरु के खोज्नु ?
यै दर्शनको पहिलो विज्ञप्ति हुनुपर्छ ।
मूर्ख भएर हाँसिरहेको छु ।
मूर्खता बेजोड आख्यान हुनुपर्छ ।
नडुबेको भए विज्ञताले त कतिञ्जेल टिक्नदेला
सत्य पन्छाई हाँस्य ?
सत्य थाहा नहुनु, त्यो भन्दा अरु के खोज्नु ?
सुखको यही परम् सत्य हुनुपर्छ . . . . .

यसलाई कविता मान्नु,
सिवाय मूर्खता के हुनसक्छ ?
यसमा दर्शनको लयात्मक लेपन नदेख्नु
प्रयोगको प्रसार नभेट्नु
कुनै विद्धता सिद्ध गर्छ ?
उपमा–सिल्प नहुँदैमा, न्यून मानिस त कोही हुँदैन ।
यसो भनी सीपै विना कोही उच्च हुन सक्छ ?
कोरा कुरा कोरेर कागजमा
कतै काव्यको रचना हुनसक्छ ?
कच्चा कुरा कहँदै क्रोधले
कतै काव्यको भत्सर्ना हुनसक्छ ?
कठिन कुरा लेख्दैमा कलमले
कठोर गुत्थी कहीँ सुल्झिहाल्छ ?
विषद् कविता लेख्दैमा कुनै विषयमा
त्यो विषयमा संसार बदलिहाल्छ ?
बदलिहाल्यो भने विषय र विश्व,
काव्य कति कला र कति राजनीति हुन्छ ?
एउटा यति कम हुँदा अर्को कति बढी हुन्छ ?

केलाई कविता मान्नु ? केलाई नमान्नू ?
त्यो बोधहीन बादलले हान्ने बाँकटे
जसले एकै पलमा गृष्म हरिदिन्छ ।
त्यो ..... त्यो ..... त्यो ......
खैर छोडिदिउँ !

केलाई किन कविता मान्न वा नमान्नमा कतिञ्जेल लाग्नु ?
माने के हुन्छ नमाने के हुन्छ ?
श्रेय कमाउने सकिएलान्, काव्य सकिन्छ ?
‘सवारी निषेध’ लाई कविता माने ‘मुनामदन’ मर्दछ ?
मरिहाले मुना मर्ली,
त्यो मृत्युले ऊ त्यो बाटो हिँडेकी सग्ली महिलालाई
कुनै फरक पर्दछ ?

रुपक, उपमा, लय
तीनै झण्डै फर्केछन् फेरि !
म त तिनलाई प्रवासमा ठेल्दाठेल्दा थाकिसकें ।
यो शब्दको लास कुनै सुगन्धी रास बन्नुहुन्न,
म यसलाई छरपष्ट पार्न, सढाउन लागिसकें ।
मलाई एक्लै छाडिदिनुहोस् !
म काव्यलाई मिल्काएर आउँछु ।



Thursday, July 31, 2014

के कविता बन्थ्यो होला ?

के कविता बन्थ्यो होला ?

भोकाले भोकको बारेमा नबोल्नु पर्ने भए,
रोगीले आरोग्यको लोभ नखोल्नु पर्ने भए,
पेलिनेले पेलानको प्रमाण नपस्किनुपर्ने भए,
प्रेमी मनले हरेक ढुकढुकीमा नझस्किनु पर्ने भए,
न कविता बन्थ्यो न त्यस्तो भाव वहन्थ्यो होला ।

कुरा रित्ता आनन्दका हुन्थे होला,
पोखरीझैँ जम्थे होला हाम्रा परिवर्तनका पाइला ।
उग्राउँथ्यौं होला भाग्यवादको सूर्यतल
शौहार्दको आलस्यमय विस्कुन भई ।

तर ताराबाजी लै लै देखि हरेक मगजमा
यो वा त्यो को समर्थन वा विरोधमा
नाराबाजी लेखिएको छ ।
यहाँ गोलीको खाटो मात्र होइन सिउँदोको टाटो पनि राजनीतिक छ ।
ह्वीलचेयर नचल्ने बाटोसमेत तानाशाही छ ।
यो सब नहुन्थ्यो त
मनोगत ‘मोड’ मा चल्ने कलमले के कहन्थ्यो होला ?

केवल ईश्वर नै मात्र भइदिएको भए,
मिथकहरूमा जस्तो हाम्रा मगजहरूमा पनि
हामी कसलाई उभ्याउन समयको कठघरामा
के नै लेख्थ्यौं होला ?
जहीँ पनि आफू अनुपस्थित
ईश्वरचाहिँ प्रस्तुत गराई
आफ्नो कहानीमा आफ्नै कहावत कहीँ पाउँथ्यौं होला ?

कोही कुण्ठित नहुन्थ्यो,
कुण्ठा स्वीकार्नै नपरी थेरापी नचाहिएको भए,
कसैलाई जीवनको क्षणभङ्गुरताको अनवरत छायाँले नलखेट्थ्यो,
दौडिँदादौडिँदै ताली र गालीको अलिकति सिँयाल नचाहिएको भए,
त्यो सिँयाल रसाएका नरसाएका अरु आँखालाई आस्वस्तिको  थोरैतिनो रुमाल नभैदिएको भए,
को कविता बुन्थ्यो र को नै सुन्थ्यो होला ?

भाषाको लेउमा म्याराथुन को दौडन्थ्यो होला ?
थोरै आशाको किनारा नदेखिन्थ्यो त
निराशाको बाढीमा को पौडन्थ्यो होला ?
औजार चलाउने सीपजत्तिकै
उपमा उब्जाउने आदतमा कीर्ति नहुन्थ्यो
त यो शौखिन स्खलन को सहन्थ्यो होला ?

म त सोधेरै थाक्तिनँ
के कविता बन्थ्यो होला ?

31/07/2014

एउटा कविलाई भेट्दा (When You Meet a Poet)

एउटा कविलाई भेट्दा


आफ्नो आस्था छोडीछोडी
तपाईँले कुनै कविलाई नपत्याउनु,
बलियो भुईँमा टेकेको मनलाई
त्यो बाहिरियाको स्वप्नमा नरत्याउनु,,
जब कविले हाँस्न मन लाग्यो भन्छ
तब उसको शैशवदेखिको सामथ्र्य
नहाँस्नुमा खर्चित हुन्छ,
ऊ हाँसोको  चित्र जोगाउन चाहन्छ
भक्तले दियोलाई हात पोलुञ्जेल बार लाएझैँ,
हाँसोलाई पर्खालले हुरीलाईझैँ छेकिरहन्छ,
स–साना छेकबारहरुको एकलास घरहरुमा बसिरहन्छ

तपाईँ आफ्नो जीवन जिउन छोडेर
कविको सापटी अनुभूति नसुन्नु,
तपाईँ भुलिएर रोकिनासाथ
उसको यात्रा अघि बढ्छ,
तपाईँ अघि अडिएर ऊ शिखर चढिसक्छ
टोलाएरै तीर्थ घुम्दछ कहाँकहाँ
ऊ त छटाएरै सङ्ग्राम जित्दछ
जब कविले “मर्नु भयो, मर्छु” भन्छ
कहिल्यै नठान्नुहोस् ऊ पीडाको पहाडले थिचिएको छ,
समीप नजानुहोस् ढाडस र साथको सौगात लिएर
ऊ खस्नुको रोमाञ्च हेर्न यति लालायित हुन्छ
कि बाँचिरहन्छ मृत्युकल्पनाको ओखती पिएर
एउटा जीवनमा आफूलाई अनेकपल्ट मारिरहन्छ
यही अम्मल छोड्न नसकेर बाँचिरहन्छ


कविलाई अपत्यारले हेर्नुहोला, सङ्काले श्पर्श गर्नुहोला
उसलाई आकाशमा उड्न नदिनुहोला,
धर्तीमा बस्न नदिनुहोला
बाँकी कुनै तलाऊमा तैरिन जाओस् !
ऊ प्रताडित हुनुपर्ने प्रजाति हो
सुखको सूर्यले ऊ ओइलाउँछ,
स्वतन्त्रताको जति नै बिगुल फुके पनि
आफ्नै स्वतन्त्रताको हत्यारा हो भन्ने बुझ्नुहोला
उसले यो गर् त्यो नगर् भन्ला
ऊ आफैँ भित्र–बाहिर, सोच–शरीर
निषेध र अवज्ञा हो, यो बुझ्नुहोला !

त्यो दोधारेलाई  दुई आँखाले
अरु चीजजस्तो एउटै नदेख्नुहोला !
जे भन्दैन त्यहाँ बढी हेर्नुहोला
जे भन्छ त्यहाँ धेरै नखोज्नुहोला !

When You Meet a Poet

Leaving behind your faith
Believe not in a poet,
Let not you heart standing on firm ground
Be enamored with that outsider's dream;
When a bard says he wants to laugh,
The whole of his strength is then
Expended to not laugh,
He wishes to preserve an image of laughter.
Just as a faithful fences a holy flame until his hands burn,
He keeps barricading laughter like walls to wind
He keeps residing in the desolate abode of trivial obstructions.

Leaving off living you life
Listen not to his accounts of borrowed experiences;
Just as you stop in confusion
His journey courses ahead,
Standing before you, he'll have claimed a summit.
Brooding, he pilgrimages just about anywhere
Wins wars merely being in a trance
When the poet says," I'd rather die, I'll die"
Never should you think he's pressed down by a mountain of pain,
Approach not him with presents of assurances and companionship.
So tempted is he to view the romance of fall
That he goes on living gulping on the potion of his fancies of death,
Keeps rendering himself dead for the umpteenth time in one lifetime
And survives clinging to this addictive habit he cannot get rid of.

Pray perceive a poet with incredulity, touch him with doubt,
Let him not fly in the sky
Nor lay upon land,
May he float in a lagoon someplace else!
He is of a species deserving of hardship,
He'll wither under the sunlight of contentment.
Much as he blows on the bugle of freedom
Pray understand that he is his own freedom's murderer
He might exhort ̶   Do this! Don't do that!
He is himself, in-out, mind-body
Restriction and violation, pray understand that!

See not with your two eyes this two-face
One like any other thing,
Seek more in what he keeps silent on
Look less in on what he breaks word.

3/26/2013

Tuesday, July 29, 2014

अन्त्यमा,

अन्त्यमा,

लत्पत गफगाफ जीवनका पानाभरी
रङ्गैरङ्गको वेढङ्गमा पुछिएर
भएको एउटै स्पष्ट स्वप्न
धमिल्याइरहेछन्,
आकार अस्पस्ट्याइरहेछन्,
उडान भर्न लाग्दा आकाश धूमिल्याइरहेछन्,
मलाई मेरै कैदी शंकाहरुको
यातनाप्रद कैदमा धकेलिरहेछन्
मनभरी सयौँ दुर्घटनाका अघटित 
ढ्याङ्ग्रा ठोकेर ।

जुरेली भइ बुट्यानहरुका केशमा
बुर्कुशीका लञ्चप्याडहरु
अड्याइ हिँड्दा, अग्ला रुखहरुबाट
हुरीबतास उँदी हतास भइ
अनिदो देख्छछु दिवास्वप्नहरु,—
एउटा हाँगोको दुर्बल दुर्दशा
ममाथि पनि साकार हुनसक्छ पूर्णतया,
दैलोझैँ ।

के होला अवान्तरमा
घटित भइरहनसके इन्द्रियहरुलाई ?
कस्तो रहला भाव र भोक
एक–अर्काको मूल्यमा ?
खण्डले पूरा जित्दैन, पूराले
जाबो खण्ड सिक्दैन —
के बस्ला निरन्तरमा
नीति नरहेपछि ?

बादल हट्दा

बादल हट्दा
                                                  
सन्ध्याको तीरमा सुन्तले वाढीमा तैरिन्छु
स्मृतिहरुका वहना खियाउँदै, पसिनाले तिर्खाउँदै ।
नुनिलो मह तप्किन्छ, आँखाहरु हार्दछन्
हाँसोको प्रतीज्ञा,
हेर्न खोज्दछन् उमङ्गको हरियो ऐनामा
वाटाभरिका असारे रोपाईँहरु र
खोटविहीन सँगीतनिसृत लामबद्घ लिपिको आख्यान ।

आज दिनभर अनवरत सम्भोगले
लहलहाएका वालीहरुमा
घाम र पानी थकित छन् !
सप्तरङ्गी आभामा देखिएका सम्भावनाका पल्टन
यात्री मानसपटलमा
नवीन सिक्काझैँ गाढा छन् !
यो टङ्कण र ट्यारट्यार् !
यो तृप्ति र आशाको आन्तरिक स्फुरण !
यो स्थीरता र संश्लेषण !

विकराल वादल विगत भएको छ, हाल हाँसो हो,
तर म हिजो केवल वाढी देख्थेँ क्षितिजपारी,
आज फैलिएको छ ढलपल प्रमेय पुष्टि आँखाभरी ।
अहिले धरतीको ढुकढुकी समातेर उभिएको छु गर्भाधारी !
मिर्मिरेमा पूर्वतिर प्रमोदित फल फलाउन,
उत्पे्ररित पाउहरुलाई उकालो बाटो हिँडाउन ।                                        

छोटो यात्रा

छोटो यात्रा

आकाश बोकेर ल्याएछ क्यार
बादलले घाममा
ओसिलो बिस्कुन सुकाउन,
चौर चराउन ओर्लेछ बतास
चिसा हिमशिखरबाट
आफ्नो चम्किलो बैंश

रङ्ग उघार्न पल्टेछ ऋतु
समयको विछ्र्यौनामा उत्तानो परेर
लाली प्वाँख प्रणयमा मागेर
पहाडी कदहरुमा पोत्न गुराँसको,
तिर्खा पसिनासरि उक्लिईँरहँदा
तालु र कन्चटहरुमा, थुप्रै नाभिहरुबाट चुहिँदै

खोक्दो हो खोंच क्षयरोगीझैँ
उसको गोप्य शीतल कोढ,
तेर्सो ढाड सूर्यतिर तेर्छाइ—
तोप ताकेको हो,
कि फ्याँकी थाकेको ?

वरिपरी कडा वस्तुहरु
विनम्र शरण खोज्छन्
मांसपेशी र मनभित्र,
को केमा अट्छ, के बढ्छ ?
एउटा छोटो यात्रामा
कसले के चढ्छ ?

एक हर्षाश्रु

एक हर्षाश्रु

हेर न चिचिलो प्रभात साँझमा पाकेको,
तपस्या गर्ने रहर नै भङ्ग गर्दै
चरीहरुले मनभरी रहस्य उघारेका,
अनि लम्कँदो ब्रह्माण्डको अर्धैय आत्मा
मेरो आँखामा एकै पलमा अटाएको
र, म भावतरङ्गका रेसारेसा समेटेर
तिम्रो सिङ्गो अनुभूति बन्न प्रयत्नशील
क्षणभरलाई !

यहाँ छोएरै केही नसकिने देख्छु प्रिये,
जान्नु कसरी ? —रहस्य ! नजान्नु झनै त्यसो,
तर मृत्युमा समेत जीवनको गुरुत्वाकर्षले
सोच त के स्वप्नबाटसमेत तिमीले तान्छ्यौ क्यार,
कहालीको खाटा स्मरणबाट पनि उक्किइसकेको छ
कोरलिएको अण्डाझैँ
तिमीले गर्भेको यो नवजीवनमा !

ए रिसायौ हैन मेरो बोलीमा रात छिप्पेको देखेर !
नरिसाउ है, अब यो छालाको थकान तल
माटोको शान्त संगीत सुनौँ
यी कल्याणी पुष्पका केशसुगन्धीवयली सुँघौँ
हाम्रा ढुकढुकी यी पैतालातलको
तृणमा रमाएको हेरौँ
भर्खरै जागेको जूनले
सप्तर्षिको सप्को समाएको हेरौँ
मेरी प्रिये ! यो अथाह अन्धताको आँखामा मिलौँ
ऐक्यताको एक हर्षाश्रु बनेर !

एक पल

एक पल

धुवाँको वहुरङ्गी गुलाफ
आकाशको वैजनीतिर उड्यो
पहाडले चुम्बन पठाउँदा त्यसरी
मैदान हरियो हाँस्यो
चराहरु कावा खाँदै अघाएझैँ गरी
निकै वेरसम्म तल झरेनन्

सूर्यको झलमल्ल पर्दामा
यो यात्री प्रतिविम्ब गुमाएर
घरी वनतिर घरी आफूभित्र हेर्दै
आह्लाद अटेसमटेस भइ
फ्यात्त पाकेर झ¥यो प्रस्तर मेचमा

क्यामेरा हल्लिएर छातिमा टकराउँदा
आँखाले सबै निल्यो
हृदयमा सल्क्यो अगेनोझैँ चित्र,
रापका राता पातहरु फक्रिए
मुटूमा मह बग्यो सलल

गमला फुटाल्नु (एउटा अवकाशप्राप्त फौजीको मनोदशा)

 गमला फुटाल्नु                                                                                                                                                 
 (एउटा अवकाशप्राप्त फौजीको मनोदशा)


यो साँझ संगीनले बोझिल थिएन,
मेरो कल्पनालाई उड्नैपर्ने तोड थिएन, थकान थिएन,
सायद त्यसैले म एउटा पस्नी र कुटो लिएर निस्केँ
मैले दूर राख्दै आएको छेवैको बगैँचामा
(मैले बगैँचा वा करेसा कुनै भन्न नहुने हो,
त्यहाँ न कोमलता थियो न फलनको परिश्रमी लगाव)।
रिसाएका गमलालाई घेरेको थियो वालसुलभ झारको झुण्डले,
बर्षाको अनवरत तृष्णातृप्ति पाएर, सुइरा टाउका उठाएर
ब्यूँझाउँथे उँचो कुलमा कैदी मलिन चेहराहरुलाई ः
मैले देख्नसक्थेँ ईश्र्याले जल्ने उर्जा पनि जुटेको थिएन तिनलाई,
बाटुला, निर्मम भुईँमा बजारिएथे तिनका कोलम्बस जराहरु,
वाहिर खुला, घना, विकास र विलासका सम्भावनाले घातक रसिलो जमिन र जल
मिलेर जिस्काउँथे बादलको घुम्टोबाट चियाउने प्रेमीलाई,
घरी लज्जा र लमतन्न फैलिएको विलासी आलस्य,
अथवा यदाकदा जवानीमा जुट्ने शीतलव कान्ति ।
वेपर्वाहमा सन्ध्याले विहानी अंगालेको थियो,
पर्वाहको होसियारीमा प्रभातले निशा संगालेको थियो ।
             

मैले पिएको समयले म र वृक्षहरुबीचको दूरी व्यापक थियो,
प्रत्येक पाइला एउटा कडा व्यायाम, अघि बढ्नु नै एउटा आसन,
यो सानो सोच सागर, यो दृष्टिप्रसार तीर्थाटन,
अनि लेउको पहिलो स्पर्श वालसुलभ अचम्म र उल्लास ।
केही कुत्कुताउँथ्यो मनभित्रको भोकोलाई हरित झ्याङको ओसिलो आग्रह
स्वासमा निल्दा प्रणय बन्थ्यो न कि केवल व्यतित हुनु,
पस्नीको पाषाणता असंगत बन्थ्यो जीवीत जरा, रसिला गुँदहरुमा,
गमलाहरु दृष्टिमा पाछ्दथे, जवानीको पल्टन, रुखो नियमन ।
मेरा हाडहरुभित्र खलबल मच्चियो, आक्रोशको पृथ्वीकम्प
मेरो खप्पर गमलामा अवतरित भयो, त्रासद विकल्प
मेरा औंला अंकुराएका तीखा तृणका मुनामा धँसे
मेरो वजन पुतलीहरुको विरत् विहारमा तैरिन लाग्यो
र पिटिदिएँ कोरलिएको चल्लाझैँ फटफटाएर कुमाले माटो,
र खोलिदिएँ मुर्छाएका जराहरुले जित्नलाई स्थलसागर ।

कुटो, पस्नी र गमलाका ठूलासाना बिटा− भग्नावशेष !
अर्को दिन छिमेकीहरुले आँगनमा लापरवाही देख्नेथे,
उनीहरुका गृह वरिपरि रङ्गीचङ्गी सज्जा छ
उनीहरुका आँखामा मैले नसिक्नुको नमज्जा छ,
म र मेरो घर उरण्ठेउलो हाँस्य हुनेथ्यो उनीहरुलाई,
हरेक साँझ झारमा लेटेको देख्नु, कस्तो लहड हो?
अब आँखाहरु ठोक्किँदा मुस्कान फ्याँक्न खोज्छु,
वाल्यकालको खेल हो, यो उमेरमा पनि भकुण्डोझैँ पक्रेर फिर्ता गर्छन्,
निरन्तर खेल हो, खेलिरहेको छु सीमित यामहरुको मैदानमा
जसरी लेटिरहेको छु बदलिरहेको घाँसमा,
सुँघिरहेको छु आफ्नो छालाभन्दा बाहिरको गन्ध,
ग्रहण गरिरहेको छु यो छातिभन्दा पनि वाहिर धड्किने संगीतहरु ।

पशुपति प्रांगणमा हिप्पीको होलो हुँकार

पशुपति प्रांगणमा हिप्पीको होलो हुँकार


आँखाभरी जालो परेको छ च्याटच्याटे हिलोको वाफ,
सेलाएर जलविन्दुहरुमा नबन्ला वादल वीर्यबर्षात् हुन,
थकान लुप्त भएको, नशा रिक्त वगेको,
हावाको ध्वजा लहराउन छोडेको सून्य विन्दुमा
सून्य विन्दुमा बाटो सुरु हुनुपर्ने, त्यो खोइ ?

एउटा, वा दुईटासम्म रंगको घुर्माइलो वजन
वतासको विश्राममा अडिदिएको भए,
खुकुलिँदै गएका पूर्ववसन्ती पत्करका बुइ चढी
उडिन्थ्यो पनि होला तल भुईसम्म,
चूर्णमा चूर्ण खैरो मिसिन,
त्यो अल्प ऋतु खोइ ?

पुराना, तात्नै नसक्ने बैजनी ढुंगाको यो गलैँचामा
कक्रिँदै, थोरै लुक्दै, धेरै देखाउँदै,
मानौँ उन्मक्त फक्रिँदै लुते तिघ्रा, पाखुरा, खाल्डे आँखाहरुमा,
सुन्दै तामा र पित्तल टकराएका झंकार ध्वनि,
सुन्दै प्रतिस्पर्धामा ओर्लिएका चाकरीका भक्ती गीत,
पोखिँदैछु कि भयको, असुरक्षाको पिलन्धरे पहिरोमा
फुस्रोफुस्रो माटो ?

अलिकति गमलालाई भनी उठाएर लैजाऊ हो मलाई पनि !
अलिकति आँगन लिप्न भनी कोतरेर जाओ हो कोप्रे हातले !
अलिकति शौच पुछ्नलाई भए पनि लोटाको पानीले झिस्मिसेमा ।

ए नांगो ऋतु ओढिसकेँ, पालुवाले फेरिन्छु कहिले ?
अपांग जरो काटिसकेँ, टेकेर वानरझैँ सुरेली खेल्छु कहिले ?
फोक्सोमा धुनी लगाएको छु त स्याँठ रोकिन्छ कहिले ?
निरन्तर छटाएको छु, निद्रा पर्छु कहिले ?
अनुनयको अभिनय अभिनय मात्रै रहिदिएजस्तो !
अदृश्य भाँडो लिइ भिक्षा थाप्न बसेजस्तो !
उफ् मिथक सबै मिथ्या भइदिएजस्तो सूर्यको पूर्वी सुरुवात विरुद्ध ।
यो जवान चाउरी वरु छालै काढेर लैजाऊ !
लौ न पूजारी हो सबैथोक विर्साउने एउटा धून बजाऊ!
कृष्णलाई कज्याऊ, रामलाई बोलाऊ !
शिवलाई समाएर नचाऊ
इन्द्रलाई उठाउ इथरसरी !

इच्छा

इच्छा



ऊ यतिसम्म महत्वाकांक्षी थियो:
भन्थ्यो—“तल हिँड्दै जाँदा मैले
माथिमाथि सगरमा पदचापको टाटो बस्नेछ चाँदीको,”
अनि रवाफिलो ठट्टाले हाम्रा लुते विस्मयहरुलाई
नम्र लात्तिले सिरानी हुत्याएर
व्यूँझाउँथ्यो —“मेरो उर्जाको अविस्तार
ब्रह्माण्डकै अकाल मृत्यु हो !”

जागिर खाएको दिन

जागिर खाएको दिन



सरल विहानको नरम सूर्य
पूर्वबाट कोखाउँदै
स्वस्थ पेट बोकेको पाइलाको
एक–एक प्रति भित्र लुक्दै
अपरान्हको कीर्तनमा उम्लिएको छ

मगजभरी, चीज, चित्र
डिम्मा कोरलिइ जुम्लिएको छ
सडकका तिघ्राले सुलुत्त निचोरिएका
पुष्प वृक्ष बाटिकामा सुगन्ध
रगतैरगतले पोलिएको छ

नाकमास्तिर आँखाभित्र प्रकाशले
ननिहुरिइ पस्ता
नाकको डाँडी भाँचिएको छ
पिलोको पृथ्वीजस्तो ढुकढुकीसँग
सेकेण्ड, मिनेट, दिनरात . . . . नाता गाँसिएको छ . . .
काममा एकजोर पोषाक छ समान

सामानमा साइनोको सुन्तले स्वाद
केस्रा–केस्राको वजनमा तिख्खर भइ हिन्हिनाउँछ
घोडचढी थाकिरहन्छ तबेलासम्म पुगेर
घोडा रेसकोर्सभरी राजा हो जात्रामा
अन्तिम रेखा कट्दा
रित्तो रङ्गशाला उसैसँग
केही सम्झिएर तिर्खाउँछ ।

कहिले फल्छौ मेरा गट्टा खेलिने बीउहरु ?

कहिले फल्छौ मेरा गट्टा खेलिने बीउहरु ?



केही दिनहरु वितृष्णाका हुन्छन्,
केही आशक्तिका पूरा,
धेरैचाहिँ विस्मृतिका हुन्छन्
मुलायम आँकुरा,
तर तत्व एउटा रहिरहन्छ सूर्यसँगै
जुन तरल डल्लो हुन्छ स्वप्नको—
त्यसमा मैले ताकेको स्वर्ग नदेख्ने
ए सन्तती हो !
तिमीहरुका हलुका होसहरुले
कुनै आकाशमा उडान गराउने छैनन्
ती बोसो खापिएका भद्दा शरीर
कतै चढ्न काम लाग्ने छैनन्,
गुरुत्वाकर्षमा त्यति त
नैतिकता अझै छ बाँकी
अवास्तविक यानहरुलाई उड्न नदिन !

पानीको फोकाझैँ हाँसोको
अर्थहीन आतसबाजीमा झलमल्ल सितारा कल्पेर
एउटा–एउटा आफूलाई वण्डा गरिरहँदा तिमेरुले
म बर्षहरुको पसिनाकुण्डमा तैरिएर
उही साझा घाममा डढिरहेको छु,
तिमेरु छेउछाउको छहारी छाँटेर
नैयासयरमा शीतलता भोगिरहेछौ,
म जीवनभरका हिउँदको भारले
यो चर्को वयस्क दिनमा काँपिरहेछु,
तिमेरु ठट्टा गर्छौ स्वतन्त्रताको
अरुले बुनेका मौषम नटेर्ने कपडा लगाएर—
तर कतिञ्जेल ?
यो धूलैधूलोको अनगिन्ती प्रसवित धसान
जो छौ र देख्छौ,
त्यहाँ पनि इच्छा छ,
आँसु र अस्तु छ त्यसको,
दर्शनले नफिट्ने र प्रकाशले नपिट्ने
बोध तुइएका विराटताहरुमा
उच्चतम् प्रकल्प छ त्यस्को,
तिमेर्का मूर्ख धोकोहरुमा
ध्वंश–सिर्जनाको प्रयत्नपरीक्षणको
अदृश्य द्वार छ त्यस्को,
नत्र मेरै डामिएझैँ उक्सेका नशामा हेर !
अनुत्तरित भोका चाउरीका
बक्रिय प्रश्नचिन्हहरुमा हेर !
तिमेर्का बाहना र विनोदको
यो तालसतह माथिको सदा थकित सयरमा हेर !
चञ्चल छालहरुले उथलपुथल बोक्ने
आफ्नै आकृतिका दृष्टिछलहरुमा हेर !
केही नपक्रिएसम्म त आफ्नै हाँसोले खाला हंश
त्यस्को बेर छैन मूर्खहरु हो !
जबसम्म साना रहन्छौ
तिमीहरुलाई संसार धेर छैन !

इतिहास

इतिहास


जनजिब्रोका सुत्रहरुमा मच्चिँदै मच्चिँदै
अन्ततः कुनै टाकुरोमा आइँदैन हुत्तिएर,
भुर्इँमै रहिन्छ समयभरी,
माथिबाट खोला बगिरहन्छ
पेट माड्दै नयाँनयाँ मौषमले ।
घरीघरी धारले एउटा ढुङ्गा पल्टाउँछ
र एउटा अस्त्रको झिल्को बाल्दछ,
अनि धार क्षणभर मोटाउँछ
त्यो कीर्तिमानधारी विजयको उन्मादमा
पुनः साम्य हुन ।

माछाहरु बिहेवारी गर्छन्, मर्छन् ।
बाँच्नलाई टोक्छन्, टोक्नाले मर्छन्,
पछुताउँछन्, रमाउँछन्, रोकिँदैनन्—
रङ्गहरु, कोरकार
तिनका तृष्णा, तिनका त्याग ।
घरीघरी आगोको र आहूतिको
स्पर्धा पनि चलिरहेछ जलराज्यमा
भ्mण्डैझण्डै जितेर . . . हार्न,
बेस्सरी ठेस लागेर ऐया! आत्था! गर्न,
गीत गाउन, मादल बजाउन,
कम्मर हल्लाउन,
निद्रा बसाउन, निद्रा जगाउन,
बर्बराउन, दूरी, दृष्टि र द्रव्यका
कनिकुथी स्मृति–नक्सा बनाउन,
सुक्नुअघि मरेपछिको टपरी गाँसिन
पनि आहतैआहतबीच खिलिन्छन्
समयसमयभरी एकआपसमा,
बरा उनिएका माछाका अस्तिपञ्जरको
कमलो डोरीमा मच्चिँदा !

खाली पन्ना

खाली पन्ना



खाली पन्ना अगाडी पर्दैमा
तपाईँ के लेख्नुहुन्छ ?
जब पुस्तैनी भोक तपाईँको
रत्त दगुर्ने, दगुर्न सक्ने, समानान्तर सडकहरुभरी
अहम्को मूर्ति खडा गर्न चोक खोजिरहन्छ,
जब इच्छाहरुलाई जिन्दगीको झाडुले
दुखाइदुखाइ बढार्छ र भन्दछ पनि—
संगीत कस्तो सुनिन्छ,
क्यार्र् क्यार्र् ?

तपाईँ आफू हुनुभरिको आकाशभरी
छाएको, स्वीकार्नुहुन्छ त्यो छाता न्यायको
र घोचिरहनुहुन्छ विवेकको सियोले
आफ्नो मथिङ्गललाई,
चिमोटिरहनुहुन्छ आफ्ना कर्णगुफाहरुमा
प्रतिध्वनि अरुका स्वरहरुको,
र हाँसिरहनुहुन्छ विवेकको विपर्यास बनेर
निद्रासमेत कति कति !?

र त पसिना छुट्छ ः
खाली पन्ना पनि सम्भव छ कतै ?
जीवनमा कहाँ पाइन्छ काँचो माटो
जुन पहाडले थिचिनु वा तराइमा निथ्रिनुको भेदले
मुक्त र एकनासको छ,
जसमा कति युगमा वृक्षको पोष पर्नु वा
खडेरीले प्रसवित हुनुको वजन अनुपस्थित रहन्छ,
जहाँ खुकुलिनु र साँघुरिनुको
आफ्नै अभिन्न जेनेटिक पुल छ,
अनुपातमा फरक
र आगतमा ।

खाली पन्नाका समानान्तर रेखाहरु छली हुन्छन् ः
उस्तै देखिए’नि भिन्न हुन्छन्,
भिन्न भएर पनि उस्तै हुन्छन् ।
खाली पन्ना जगत्को गजब स्लेट हो
हरेक पुछाइमा सपाट देखिने
तर निरन्तर मैलिइरहने !
खाली पन्ना चुम्बकीय क्षेत्र हो
आफूमा लौहभण्डार हेरी पगाली होसियारीपूर्वक
मसी बनाएर बगाउनुपर्ने ।


कुनाको जीव

कुनाको जीव



कुनाको जीव भएको छु, भित्ताहरुको बन्दी
आज हाडहरुमा कता न कताको स्याँठ पस्ता पो थाहा हुँदैछ
म त लुगाले गुडिया भएँछु
एक्लो आफ्नो संसारको
तातो चुम्बन भन्दा परको ।
व्यग्र अंगालोबाट बञ्चित
चुहुनै नसक्ने आँसुको अड्डा भएँछु ।

एकनासका धर्साबद्घ लिपिका लस्करहरुमा लुक्दालुक्दै लावण्य खोजीमा
लिप्त भएँछु विलुप्तिमा,
मैले अमूर्तताका आयामहरुका अन्वेषणमा अल्मिलिएर
अग्ला अग्ला पहाड उमारेंछु आफ्नाहरुबीच
आँखा बरिपरी, आँगनभरी, आकाश छोपिनेगरी ।
अहिले उदासीनताको सिरेटोमा
शीत भरिने भाँडो भएको छु,
बिर्कोविहीन, बर्कोविहीन ।

कल्पनाले कुपोषित भएँछु,
कोकिलको क्रन्दन अब कविता उमार्दैन, कमलले अब कागज कुर्दैन,
र त भोकमा भावनाको भवन भग्न छ
र त शिरमा स्वार्थी शोक छ,
सत्यको सुविधा नत्याग्ने संकल्प
असंतृप्त छ अभ्यासको आगतभरी ।
मर्न सकुँला त साँच्चै
बाँचेर नपुगनपुग यसैगरी ?

मीठा कुरा, गाह्रा कुरा

मीठा कुरा, गाह्रा कुरा



“तिमीलाई मनपर्छ बर्षाको नाच ?”
उमङ्गित नृत्य छ उनको आवाज ।
“हो मनपर्छ, तर नाच कस्तो त्यो बुझिनँ ।”
“खस्नुको शौम्य कान्ति ।”
“तर त्यसमा झटारोजस्तो झर्को पनि
अक्सर हुन्न र ?”
“धर्तीले त नरम स्पर्श नै ठान्छे,
छानो पो रिसाइ झर्किन्छ त !”

“तिमीले सुनेका छौ बतासको सन्नाटा ?”
उनको प्रश्नमा छ जिन्दगीको ज्वारभाटा ।
“कहिलेकाहीँ, आफ्नै ढुकढुकी सुनिरहेको बेला ।”
“त्यसभित्र पलेँटी कसेको सुन्यता ?”
“ढोकासम्म पुगेर सायद कुनै छायाँ देखेर
तर्सेर फर्केको छु ।”
“मैनबत्तीको कम्पित ज्वालामा एक पटक
सल्बलाइरहने कालो छाती नियाल त !”

“तिमीले देखेका छौ रङ्गको अँध्यारो ?”
मैले मानिनँ यसको संवेग फर्काउन गाह्रो ।
“अँध्यारो हो क्यान्भास, छाप्न ज्योतिको चित्र
उज्यालोको विजय हो रङ्गीन विश्व ।”
“ए, अब लयमा लहसिन लाग्यौ ?”
“लय हो लर्बराउनुको उज्यालो,
त्यो उज्जालोको चित्र हो मेरो प्रेम ।”
“त्यो चित्रको चच्छु हो हाम्रो प्रेम ।
तिमी पनि यो बोध दीर्घकाल संगाल !”

निरन्तर फिलिङ्गो (Incessant Flame)

निरन्तर फिलिङ्गो



उसले त्यो कुनामा कुँद्दैथियो
आँखाको अम्लले छायाँभरी
झिंगाहरुको झूल,
अम्लाहरु हाँसोको स्वतन्त्र चिप्लेटीमा चिप्लिँदै
काँपिरहन्थे ज्वरोको अपेक्षामा नाच,
त्यहाँ पस्ता सबै निभ्थ्यो ऊ बल्थ्यो
त्यो कहिल्यै नभिजिएको रङ्गभरी

त्यो त एक दिनको कुरा थियो,
सदा त झ्यालको पल्लासँग परेवा
प्रभातमा जोरी खोज्दै विस्ट्याउँदा,
जोडीजोडी आएर, झिर्का त्यान्द्रा ल्याएर
उसलाई शिशाबाटै नानीमा ठुँगेर
चुच्चोमै अलिकति घाउ चखाउन लग्थे वचेराहरुलाई
पेट हुँडलिएको र रत्न ओकलिएको
अपरान्हभरी

तैपनि कसरीकसरी कुन समुद्रले हो
घोलिन्थ्यो, किनारामा कडा फल छालमा पथ्र्यो
अर्को तटमा पछारिन्थ्यो, कुटुकुटु खाइन्थ्यो
मृत्युको झिरझिरे कोषकोषको जलनमा,
र खितितिति खितितिति
अनुदिन हुन्थ्यो एउटै स्मरणमा,
केवल उसको आफ्नो स्मरणमा

र त हुनेवाला उसको नानीमा हुन्थ्यो
भावनाको एउटा धर्सो तीर आगततर्फ
विचरित भएर उकहाँ आउँथ्यो, सधैँ मुन्टो लुकाएर
कुनाहरुमा लुकेका हसिना ती नानीको गुरुत्वाकर्षमा
तानिएर आउँथे, उसलाई नचाउँथे,
हर्षको बाली पकाउँथे, थचक्क बसेका रमितेलाई
हुलहुलै उठाएर ख्वाउँथे,

ऊ कहिल्यै व्यस्त हुन सकेन
विकल्प अंश नलाग्दा, देख्यो होला
बादलबीच हराइरहने सूर्यमा
समयको विशाल वक्रीय फाँटमा
फलिरहने, चाखिइरहने, कोयो फ्याँकिइरहने,
भूईँमा उम्रिइरहने, अथवा अनन्तको ट्वाल्ल सून्य,
आवाज सुत्ने भ्याक्कुम

खटिया यहाँ निद्रा कहाँ,
खाना यहाँ स्वाद वहाँ— हुँदा
निद्राहरुले विशाल याममा मक्किएर
हायलकायल भइरहँदा जुनसुकै बेला
कल्पनाको सुन्दर खाँबो भएर
ऊ स्वप्नहरुको उर्वर भूमिमा
द्वारझैँ पूर्णविराम बन्नसक्छ ।



Incessant Flame

In that nook he was etching
All over shadow with the acid of his eyes
A veil of flies; fingers,
Slipping on the unhindered slide of mirth,
Shivered as if dancing expecting fever,
On entering everything dulled he glowed
All through the hue never before seeped into

That was a one-day thing.
Customarily, when pigeons in the dawn took to scuffling
With glass window-panes and left droppings,
Coming in couples, bringing in kindling
Pecking him in the pupils even from beyond glass,
Took on their beaks some of the wound to their fledglings for a taste
In the whole of the afternoon of stirred up bowels and puking of gems.

And yet somehow by some sea
He would be dissolved; upon beach he would crash a hard shell-fruit in the waves,
Wreck on another shore, get nibbled at
In the deathly burning up of cells,
And tittering- giggling
Be translated into a memory
Just into his memory.

So would the to-be reside in his pupils;
A straight shaft of emotion charging towards the yet-to-come
Would return back to him completing excursion; those angels
With their heads ever bowed, hiding in nooks,
Pulled by the gravity of the pupils
They would come, make him dance,
Ripen crops of happiness; onlookers slumped on the ground,
Them they would raise in hordes to feed,

He could never be busy
For he inherited no alternative; he must have seen
In the sun getting lost amid clouds,
In the great curvy expanse of time,
Fruiting, being tasted, being sowed after being eaten,
Sprouting on the ground a sapling, the staring void of eternity,
The vacuum where sound sleeps

Bed hither sleep whither,
Meal here savor there so being,
Withering in the season become tremendous with slumbers,
Wrought up so, he might, at any moment
Stand a handsome pillar
In the fertile land of dreams,
A gatepost of termination.
 

पल्टनेकी श्रीमती

पल्टनेकी श्रीमती


केसभरी पीठोझैँ बादलका छिटा खसिरहेको
यो अपरान्ह मेरो आह्लादको आयूझैँ हलुङ्गो छ,
हामीबीचको प्रेमको  मलिन कान्ति
सम्झनाहरुबीचबाट झकाउँदै उठ्दै गरिरहँदा,
यो पर्खाइमा मेरो विश्वास
कठै, घामविहीन ओइलाइरहेको छ !

निरक्षर बर्षात् छ धूलझैँ
जस्ताको छानोमा गिर्नु मात्र छ,
रोदनको रँडाको सुनिन्न,
हार्नु छ भवितव्यले भवितव्य जिन्दगीबाट छुट्टिन्न,
उफ् आवाज नै स्खलित छ आँसुको !

म के चपेटूँ दृश्यसून्य भएर रङ्गहरु !
के भरुँ भोको ढिकीझैँ ढुकढुकीमा
रक्तसंचारित हुने भावतरङ्गहरु !
कहाँ पल्टूँ थोरै निद्रा समेटेर हाँसोको
भोलिलाई नयनका पर्दा उघारी बोलाउन ?

तैपनि भन्दैछु, एकैपल्टको हाँसो हुन्नँ बाबै !
बाँसको फूल ! केराको फल !— जिउन्नँ !!
मेरा यौवनका जराहरु धेरै याम उभ्याउन
पलपलका हाँगामा फक्रिन उक्साइरहेका छन्,
“तँ उक्सेकी तृण होइनस्,
दीर्घ पुष्पदार वृक्ष होस्” भनिरहेछन्,
“आकास छेड्नु पर्दैन,
धर्ती पक्रेर ढकमक्क बन् !”
मैले मन थामे पनि उत्साहले उनीहरु
मेरो आगतभरीको कालप्रक्षेपण नाप्दैछन्—
 तँ यति याम फुल्न सक्छेस्,
यति काल छेक अनि फल हुल्नसक्छेस् पोल्टामा,
तैँले सिर्जेर जमिनमा
यति जीवनमा नवीन स्मृति बन्नसक्छेस् !

सायद त्यसैले अहिले
यो बादलबीचको फैलँदो छिद्रमा
म देख्दैछु विवेकको उज्यालो उदय,
सूर्य तापेर अलिक हरित भएका पुर्जाहरुमा
म स्वीकार्दै छु विनीत विदाइको विजय,
म व्यूँझिँदैछु आत्मसमर्पणको उँघाईबाट
आफ्नै बगैँचामा एकछिन भ्रमर भइ रमणमा रत्तिन
मनभरी वसन्त बगाइ
दृष्टिभरी जिजिविशा जगाइ . . .

सहरमा एक्ली केटी

सहरमा एक्ली केटी

पोखरीको निद्राबाट कालोकालो
पर्दाको आँखीझ्यालबाट चियाउँदै
नशाभित्रको नश्लमा विगतको
वेपर्वाहीको कायाक्रिडा हेर्दै, काला नानीहरुमा
हिराको हराएको चमक खोज्दै
निश्पट्ट रात्रिको कम्मलमा गुटमुटिन्छु ।

तिमी वायूको स्पर्श भइ हराएका छौ ।
तिमी आँधीको ओत भइ तैरेका छौ ।

टेबलमाथिको शिशाकलमको सुख्खा मसी रित्तो छ ।
माथि भित्ताको सिलिङ फेन घुम्दाघुम्दै निदाएको छ ।
झ्यालभित्रको परावर्तन बाहिरको निस्तेजले चिसो छ ।
किरमिर कोरिएको पानाजस्तो कोठा छ अनायास ममा ।

फ्याट्ट केही भनूँझैँ अस्पष्ट छ विहानी,
सिँढी उस्तै सोचमग्न सडकसम्म झरिरहनुमा,
एक्लो जीवनको स्वच्छन्दतामा बगैँचामा
केही जगल्टा टिप्छ अनारे रुख,
किरा परेका फल र केही सग्ला दाना बोकेर थैलोमा
चित्रझैँ अर्को टेबुलमा पुगेर
टेबुल कोल्टाइएको भित्तामा अड्किन्छु ।
सबै नौलो छ, नयाँ एउटा खबर छैन ।

भित्ताभरी निशब्दता, विन्दु बोलचालभरी ।
स्क्रीनभरी, जिस्काइका मैला ऐनाजस्ता बोलावटभरी ।
भीडभाडका धिप्पधिप्प स्पर्शभरी ।
आफ्नै अनुभूतिको दाउनीभरी, आक्कलझुक्कल हाँसोभरी ।

छिप्पिएको सूर्य छलझैँ छाउँछ क्षितिजभरी ।
बाजाको भेल छ बजार बिक्रि हुन
खल्तीखल्तीको दाइजोमा ।
मूल्यको मयल छ बजार मायाले माडिन ।

के गर्ने अलिकलि भोकमा, अलिकति झोंकमा,
अटाइनअटाइमा अल्मलिएको चोकमा आँखा सोहोरेर ?
डमरु नभएकी बघिनीको सिँयालरहित जंगलमा
घर नै चिडियाघर भएर फैलिदिन्छ,
अस्वीकारको ऐजेरु अङ्ग भइ उम्रिदिन्छ —
भनेको सम्झिइसम्झिइ एउटा झिल्के दृष्टि टिपेर
भोकभोकै सिरानी लगाइ सुत्नु छ ।
भोलि पक्कै कुनै नयाँ खबर हात लाग्छ !

https://soundcloud.com/roshan-koirala-614434584/sounds-from-monday-morning

यो विस्तार


यो विस्तार

सम्झनाको एउटा सलाइ काँटी
मभित्र कोरेर हँसाइदियौ न्यानो मुस्कान
गगनदर्शी यी आँखामा
एक जोडी तारा चम्काएर,
म बीचको विराट खालीपनमा
तैरिइ तैरिइ हराएँ
भेट्टिनुको उन्मुक्ततामा ।

सुन्दरताको अर्थ रहेन ।
हुनुको जन्म भयो,
नहुनु पूरा भयो ।
शरीर नबोकेको आवाज
शरीरभरीको ओजन भयो,
गन्ध भयो, गीत भयो ।
आपसी अवतारण भयो ।

केवल खवरको संप्रेषण सबै भयो ।
लौ जीवनकै विप्रेषण जिउने जाँगर भयो !
यो के चमत्कार भयो !
म त एउटा ढङ्गको ढुङ्गामा खोपिन्छु भन्दैथेँ
निश्वासको कचौरोभरी बोकेर समय —
अनायासै तरल विस्तारको आविष्कार भयो !